बढ्यो काठमाडौंमा वायु प्रदूषणः विज्ञ भन्छन्– पटका पट्काउन कडाइका साथ नियन्त्रण गरौं

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारसँगै लुकिछिपी पड्काउने पटकाका कारण वायु प्रदूषण बढेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ले शुक्रबार साँझ काठमाडौंको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ६० रहेको जनाएको छ । एक दिनअघि अर्थात् बिहीबार मात्रै काठमाडौंमा एक्यूआई एक सयभन्दा कम देखिएको थियो । इन्टेक्सका अनुसार शुक्रबार साँझसम्म काठमाडौं विश्वको आठौँ प्रदूषित […]

Nov 2, 2024 - 01:57
 0
बढ्यो काठमाडौंमा वायु प्रदूषणः विज्ञ भन्छन्– पटका पट्काउन कडाइका साथ नियन्त्रण गरौं

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारसँगै लुकिछिपी पड्काउने पटकाका कारण वायु प्रदूषण बढेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ले शुक्रबार साँझ काठमाडौंको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ६० रहेको जनाएको छ ।

एक दिनअघि अर्थात् बिहीबार मात्रै काठमाडौंमा एक्यूआई एक सयभन्दा कम देखिएको थियो । इन्टेक्सका अनुसार शुक्रबार साँझसम्म काठमाडौं विश्वको आठौँ प्रदूषित सहरको सूचिमा सूचिकृत रहेको थियो । शनिबार चीनको बेइजिङ विश्वको पहिलो प्रदूषित सहरको रुपमा सूचिकृत भएको छ । विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले तिहारमा पट्काउने गरिएको पटकाका कारण वायु तथा ध्वनी प्रदूषण गराउने भएकाले पटका पट्काउन कडाइका साथ नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् ।

उनका अनुसार एक्युआई शून्यदेखि ५० राम्रो अर्थात् ग्रीन सङ्केतले चिनिन्छ । ५१ देखि एक सयसम्मको एक्यूआईलाई ‘होसियार रहुँ’ अथवा पहेँलो सङ्केतले चिनिन्छ । यसैगरी १०१ देखि १५० सम्मलाई अस्वस्थ जसमा श्वासप्रश्वास र मुटु रोगका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ । १५१ देखि २०० सम्मको एक्यूआईलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ । २०१ देखि ३०० सयलाई धेरै अस्वथ्य मानिन्छ ।

काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्यूआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख गरेको छ ।

पटका पट्काउँदा विभिन्न रासायनिक पदार्थहरू जस्तै– सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड र धुलोका कणहरू वायुमण्डलमा फैलने र प्रदूषण बढाउने भन्दै सतर्कता अपनाउन वातावरणविद्हरूले आग्रहसमेत गरेका छन् ।

वातावरणविद् भूषण तुलाधारले पटकाजस्ता विषाक्त ग्यासहरूले हावा प्रदूषित बनाउने र यसकारण श्वासप्रश्वाससम्बन्धी समस्या उत्पन्न गर्ने भन्दै पटका पड्काउनमा रोक लगाउनुपर्नेमा जोड दिएका छन् ।

वातावरण अभियन्ता राजन थापा दिपावलीसँगै एकमहिनाअघि गएको बाढी तथा पहिरोका कारण धुलो उठ्ने, गाडीले बाहिरका धुलो काठमाडौं भित्र्याउने तथा तातो हावा र चिसो हावाको मिश्रणका कारण पनि प्रदूषण गराएको बताउँछन् । ‘दिपावालीको समयमा भारतमा बढी पटका पट्काउदा प्रदूषण गराएपछि अहिले त त्यहाँको सरकारले नियन्त्रण पनि गर्न थालेको छ । पटका मात्रै नभएर अन्य कारण पनि प्रदूषण हुन थालेको छ,’ उनले भने, ‘अब चिसोमा आगो बाल्ने क्रम बढ्छ । यसले अझै प्रदूषण बढ्दै जानेछ ।’

पटकाबाट निस्कने धुवाँ र ग्यासले एलर्जी, आँखा पोल्ने, छाला चिलाउने, दम, र स्वासप्रश्वाससम्बन्धी समस्या उत्पन्न गर्छ। विषाक्त ग्यासहरूका कारण कलेजो, फोक्सो र मुटुको समस्या पनि हुन सक्ने भन्दै सतर्कता अपनाउन जनश्वास्थ्यविद्हरूले आग्रह गरेका छन् ।

उनीहरूले पटकाका कारण हुने ठूलो आवाजले मानसिक तनाव, निद्रा नलाग्ने समस्या र उच्च रक्तचापको जोखिम बढाउने तथा यसले कानमा स्थायी क्षति पुर्याउन सक्ने चेतावनी दिएका छन् ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थसम्बन्धी कसुरको दफा १३८ मा विष्फोटक पदार्थ उत्पादन गर्न नहुने व्यवस्था छ । उक्त व्यवस्थामा भनिएको छ, ‘कसैले इजाजतपत्र प्राप्त नगरी वा इजाजतपत्र प्राप्त गरेको भए पनि इजाजतपत्रमा उल्लेख भएका सर्त र बन्देजविपरीत हुने गरी कुनै पनि किसिमको विष्फोटक पदार्थ बनाउन, तयार गर्न वा उत्पादन गर्न हुँदैन ।’

सामान्यतः विष्फोटक पदार्थ भन्नाले डिटोनेटर, ब्लाष्टिकक्याप, विद्युतीय ब्लाष्टिक क्याप, फ्युज, आतिसवाजी, पटका र त्यस्तै प्रकृतिका अन्य विष्फोटक पदार्थ सम्झनु पर्छ भनी स्पष्टीकरणमा उल्लेख छ । उपदाफा २ को (क) मा कडा विष्फोटक पदार्थ भए १० वर्षसम्म कैद र रु एक लाखसम्म जरिवानाको व्यवस्था छ । (ख)मा नरम विष्फोटक पदार्थ भए पाँच वर्षसम्म कैद र रु ५० हजारसम्म जरिबाना र (ग)मा सामान्य विष्फोटक पदार्थ भए तीन वर्षसम्म कैद वा रु ३० हजारसम्म जरिवानाको व्यवस्था छ । -रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register