स्वर्गीय रतन टाटाप्रति भारतीय प्रधानमन्त्री मोदीको भावुक ब्लग

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वर्गीय उद्योगपति रतनलाल टाटाको बारेमा आफ्नो निजी वेबसाइटमा एक ब्लग लेखेका छन् । ‘भारतका रतनको प्रस्थान’ शीर्षक दिइएको संस्मरण लेख नरेन्द्र मोदी डट इनमा पोष्ट गरिएको छ । ब्लगमा प्रधानमन्त्री मोदीले टाटाको जीवनका विभिन्न पक्ष केलाउँदै आफूसँगका सहकार्यको पनि चर्चा गरेका छन् । मोदी गुजरातको मुख्यमन्त्री हुँदा टाटाका कम्पनीले […]

Nov 10, 2024 - 12:16
 0
स्वर्गीय रतन टाटाप्रति भारतीय प्रधानमन्त्री मोदीको भावुक ब्लग

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वर्गीय उद्योगपति रतनलाल टाटाको बारेमा आफ्नो निजी वेबसाइटमा एक ब्लग लेखेका छन् । ‘भारतका रतनको प्रस्थान’ शीर्षक दिइएको संस्मरण लेख नरेन्द्र मोदी डट इनमा पोष्ट गरिएको छ ।

ब्लगमा प्रधानमन्त्री मोदीले टाटाको जीवनका विभिन्न पक्ष केलाउँदै आफूसँगका सहकार्यको पनि चर्चा गरेका छन् । मोदी गुजरातको मुख्यमन्त्री हुँदा टाटाका कम्पनीले त्यहाँ उल्लेखनीय लगानी गरेको चर्चा गरेका छन् ।

मोदीले टाटालाई उपलब्धि सहजतापूर्वक लिन सक्ने विनम्रताका प्रतीक भनेका छन् । उनको नेतृत्वकालमा टाटा समूहले नयाँ उचाइ हासिल गरेकोसमेत उल्लेख गरेका छन् ।

प्रस्तुत छ, प्रधानमन्त्री मोदीको ब्लगको अनुवाद :

आज श्री रतन टाटाजीको निधनको एक महिना हुँदैछ । गत महिना आजैको दिन जब मलाई उनी बितेको खबर मिल्यो, त्यो बेला म आसियान शिखर सम्मेलनका लागि निस्कने तयारीमा थिएँ ।

रतन टाटाजी हामीबाट टाढा हुनुभएको वेदना अहिले पनि मेरो मनमा छ । यो पीडा बिर्सन सजिलो छैन । रतन टाटाजीको रूपमा भारतले आफ्नो एक महान् सपुत गुमाएको छ । एक अमूल्य रत्न गुमाएको छ ।

आज पनि सहर, इलाकादेखि गाउँसम्म मानिस उनको अभावलाई गहिरो गरी अनुभूति गरिरहेका छन् । यी दु:ख हामी सबैको साझा हो । चाहे कोही उद्योगपति होस्, उदीयमान उद्यमी होस् वा कोही पेशाकर्मी, जोकसैलाई उनको निधनले दु:ख पुर्‍याएको छ ।

पर्यावरण रक्षामा जोडिएका, समाज सेवामा जोडिएका मानिस पनि उनको निधनले उत्तिकै दुखी छन् । र, यो दु:ख भारतमा मात्र हैन, विश्वभरि नै महसुस गरिएको छ ।

युवाका लागि रतन टाटा एक प्रेरणाका स्रोत थिए । उनको जीवन र व्यक्तित्वले हामीलाई यो स्मरण गराउँछ कि कुनै पनि यस्तो सपना हुँदैन, जो पूरा गर्न नसकियोस् । कुनै यस्तो लक्ष्य हुँदैन, जसलाई प्राप्त गर्न नसकियोस् ।

रतन टाटाजीले सबैलाई यो सिकाएका छन् कि विन्रम स्वभावले अरुको मद्दत गर्दाखेरि पनि सफलता पाउन सकिन्छ । रतन टाटाजी भारतीय उद्यमशीलताको असल परम्पराका प्रतीक थिए । उनी विश्वसनीयता, उत्कृष्टता र उच्चस्तरीय सेवाजस्ता मूल्यहरूको अडिग प्रतिनिधि थिए । उनको नेतृत्वमा टाटा समूह संसारभरि सम्मान, इमानदारी र विश्वसनीयताको प्रतीक बनेर नयाँ उच्चाइमा पुग्यो । यसका बाबजुद उनले आफ्ना उपलब्धिहरूलाई पूर्ण विनम्रता र सहजताका साथ स्वीकार गरे ।

अरुका सपनालाई खुलेर समर्थन गर्ने, अरुका सपना पूरा गर्न सहयोग गर्ने, यो टाटाको सबैभन्दा शानदार गुणमध्ये एक थियो । हालैका वर्षमा उनी भारतको स्टार्टअप इकोसिष्टमको मार्गदर्शन र भविष्यका सम्भावनाले भरिएका उद्यममा लगानी गर्नेका रूपमा चिनिएका थिए ।

उनी युवा उद्यमीका आशा र आकाङ्क्षाहरू बुझ्न सक्थे । साथै, भारतको भविष्यलाई आकार दिन सक्ने तिनको क्षमतालाई पहिचान गर्न सक्थे । भारतीय युवाहरूको प्रयासलाई समर्थन गरेर, नयाँ सपना देख्ने नयाँ पुस्ताको जोखिम लिएर उनले सीमाभन्दा परसम्म जान हौसला दिए । उनका यी कदमले भारतमा नवआविष्कार र उद्यमशीलता संस्कृति विकसित गर्न निकै ठूलो मद्दत गर्‍यो । आउने दशकमा यसका सकारात्मक प्रभाव भारतभरि अवश्य देखिनेछन् ।

रतन टाटाले सधैँ उच्च गुणस्तरको वस्तु, उच्च गुणस्तरको सेवामा जोड दिए । भारतीय उद्यमलाई वैश्विक मापदण्डमा स्थापित हुने बाटो देखाए । आज भारत सन् २०४७ सम्म विकसित हुने लक्ष्यका साथ अघि बढिरहेको छ । हामी वैश्विक मापदण्ड स्थापित गरेर नै संसारभरि आफ्नो ध्वजा फहराउन सक्दछौँ ।

मलाई आशा छ, उनको यो दुरदृष्टिले हाम्रो देशको भावी पुस्तालाई प्रेरित गर्नेछ । भारतले विश्वस्तरको गुणस्तरका लागि आफ्नो पहिचान मजबुत बनाउनेछ ।

रतन टाटाको महानता बैठक कोठा वा सहयोगीलाई मद्दत गर्न मात्र सीमित थिएन । सबै जीवजन्तुप्रति उनको मनमा करुणा थियो । जनावारप्रति उनको गहिरो प्रेम जगजाहेर थियो । उनी पशुहरूको हितप्रति केन्द्रित प्रयासलाई बढावा दिन्थे । अक्सर उनी आफ्नो कुकुरको तस्वीर शेयर गर्थे । त्यो उनको जीवनको एक अभिन्न हिस्सा थियो ।

मलाई सम्झना छ, जब मान्छे रतन टाटाजीलाई अन्तिम बिदाई गर्न जम्मा भएका थिए, उनको त्यो कुकर ‘गोवा’ पनि त्यहाँ रसिला आँखा लिएर पुगेको थियो ।

रतन टाटाको जीवनले यो कुराको स्मरण गराउँछ कि नेतृत्वको आकलन उपलब्धिले मात्र गर्न सकिँदैन । बरु कमजोर मानिसको हेरचाह गर्ने उसको क्षमतालाई पनि गर्नु पर्दछ ।

उनी हरदम ‘राष्ट्र प्रथम’ को भावनालाई सर्वोपरि राख्थे । २६/११ को आतङ्कवादी हमलापछि उनले मुम्बईको प्रतिष्ठित ताज होटल फेरि पूर्ण तत्परताको साथ खोल्नु, राष्ट्रलाई एक जुट बनाएर फेरि उभिने प्रयासको प्रतीक थियो ।

उनको यो कदममा एक ठूलो सन्देश थियो– भारत रोकिँदैन, भारत निडर छ र भारत आतङ्कवाद सामु झुक्न अस्वीकार गर्दछ ।

व्यक्तिगत रूपमा मलाई उनलाई विगत केही दशकमा असाध्यै नजिकबाट जान्ने सौभाग्य मिल्यो । हामीले गुजरातमा सँगै मिलेर काम गरेका थियौँ । त्यहाँ उनका कम्पनीले ठूलो मात्रामा लगानी गरे । त्यसमध्ये केही यस्ता परियोजना पनि सामेल थिए, जसलाई लिएर उनी निकै भावुक थिए ।

जब म केन्द्र सरकारमा आएँ, हाम्रो घनिष्ठता जारी नै थियो । उनी हाम्रो राष्ट्र निर्माण प्रयासका एक प्रतिबद्ध अंशियार थिए । स्वच्छ भारत अभियानप्रतिको रतन टाटाको उत्साहले विशेष रूपमा मेरो मन छोएको थियो ।

उनी यो जनआन्दोलनको एक प्रमुख समर्थक थिए । उनी यो कुरा राम्ररी बुझ्थे कि स्वच्छता र स्वास्थ्य बानी-व्यहोरा भारतको प्रगतिका लागि कति महत्त्वपूर्ण छ । अक्टोबरको सुरुवातमा स्वच्छ भारत अभियानको १० औं वर्षगाँठमा उनको भिडिओ सन्देश मलाई अहिले पनि सम्झना छ । यो भिडियो सन्देश उनको अन्तिम सार्वजनिक उपस्थितिमध्ये एक बन्यो ।

क्यान्सरविरुद्धको लडाइँ एक यस्तो लक्ष्य थियो, जो उनको मनको नजिक थियो । मलाई २ वर्षअघिको असामको त्यो कार्यक्रम सम्झना हुन्छ, जहाँ हामीले संयुक्त रूपमा राज्यका विभिन्न क्यान्सर अस्पतालका उद्घाटन गरेका थियौँ।

ती सम्बोधनका क्रममा उनले स्पष्ट रूपमा भनेका थिए कि उनी आफ्ना जीवनका अन्तिम वर्षहरू हेल्थ सेन्टरका लागि समर्पित गर्न चाहन्छन् । स्वास्थ्य सेवा र क्यान्सरसम्बन्धी हेरचाहलाई शुलभ र मितव्ययी बनाउने उनको प्रयास यस कुराको प्रमाण थियो कि उनी बिमारीसँग जुझिरहेका मानिसप्रति कति गहिरो समवेदना राख्दथे ।

म रतन टाटालाई एक विद्धान् व्यक्तिका रूपमा पनि सम्झना गर्दछु र उनी अक्सर मलाई विभिन्न सवालमा लेख्ने गर्दथे, चाहे ती शासनसँग जोडिएका सवाल होऊन् वा कुनै कामको प्रशंसा होस् । उनी चुनावमा विजयपछि बधाई सन्देश दिन पनि लेख्ने गर्दथे ।

केही हप्ताअघि म स्पेन सरकारका प्रधानमन्त्री पेड्रो साञ्चेजसँग बडोदरामा थिएँ । हामीले संयुक्त रूपमा एक विमान फ्याक्ट्रीको उद्घाटन गरेका थियौँ । यसै कारखानाबाट सी–२९५ विमान भारतमै बनाइने छ ।
रतन टाटाले पनि यसबारे काम सुरु गरेका थिए । त्यो बेला मलाई रतन टाटाको धेरै ठूलो अभाव महसुस भएको थियो ।

आज हामी यदि उनको सम्झना गर्दछौँ भने हामीले त्यो समाजको पनि सम्झना गर्नु पर्दछ, जसको उनले कल्पना गरेका थिए । जहाँ व्यापारले असल कार्यका लागि एक शक्तिको काम गरोस् । जहाँ प्रत्येक व्यक्तिको क्षमतालाई महत्त्व दिइयोस् । जहाँ प्रगतिको आकलन सबैको कल्याण र खुसीको आधारमा गरियोस् ।

रतन टाटा आज पनि ती जिन्दगी र सपनामा जीवित छन्, जसलाई उनले सहारा दिए र तिनका सपनालाई साकार बनाए ।

भारतलाई एक उच्च स्तरको, सहृदय र आशाले भरिएको भूमि बनाएबापत् आगामी पुस्ता उनीप्रति सदैव आभारी रहनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register