जनकपुरमा राम-जानकी विवाहको ‘भव्य’ तयारी, अयोध्याबाट आउने ५०० जन्तीको प्रतीक्षा

जनकपुरधाम । ‘चलुसखी देव चुमाओन हे, जनक जीके अङ्ना । दुल्हा बनल है श्रीराम !’ (सखीसंगीहरू जनकको आँगन जाउँ । जहाँ रामलाई चुमाउने छु, किनकि श्रीराम दुलाहा बनेका छन् ।) यस्तै सुमधुर लोकगीत–संगीतबीच प्रत्येक वर्ष जनकपुरमा मनाइने राम-जानकी विवाह पञ्चमी महोत्सव आज (आज)देखि विधिवत शुभारम्भ भएको छ । सातदिवसीय यस महोत्सवको आज पहिलो दिन नगर […]

Dec 1, 2024 - 06:59
 0
जनकपुरमा राम-जानकी विवाहको ‘भव्य’ तयारी, अयोध्याबाट आउने ५०० जन्तीको प्रतीक्षा

जनकपुरधाम । ‘चलुसखी देव चुमाओन हे, जनक जीके अङ्ना । दुल्हा बनल है श्रीराम !’ (सखीसंगीहरू जनकको आँगन जाउँ । जहाँ रामलाई चुमाउने छु, किनकि श्रीराम दुलाहा बनेका छन् ।)

यस्तै सुमधुर लोकगीत–संगीतबीच प्रत्येक वर्ष जनकपुरमा मनाइने राम-जानकी विवाह पञ्चमी महोत्सव आज (आज)देखि विधिवत शुभारम्भ भएको छ । सातदिवसीय यस महोत्सवको आज पहिलो दिन नगर दर्शनको कार्यक्रम रहेको छ ।

मिथिलाञ्चलको वैवाहिक परम्परालाई जीवित राख्दै प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीको दिन मनाइँदै आएको यस महोत्सवलाई नेपाल–भारतबीचको आदिमकालीन सांस्कृतिक सम्बन्धको रुपमा पनि लिइन्छ ।

प्राचिन मिथिला र अहिले मधेस प्रदेशको राजधानी जनकपुरधाममा सीताराम विवाह पञ्चमी महोत्सव आजदेखि पौराणिक प्रचलनअनुसार मनाइँदै छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । सो महोत्सवमा सहभागी हुन यसपटक लाखौँ श्रद्धालु यहाँ आएका छन् । सो क्रममा श्रद्धालुले जानकी मन्दिरलगायत यहाँस्थित देवालयमा आज बिहानैदेखि पूजाअर्चना गरिरहेका छन् ।

सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा उपस्थित हुने विश्वास गरिन्छ । यसर्थ यसका बासिन्दा हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुने गरेका छन् ।

मैथिल संस्कृतिअनुसार विवाह महोत्सव मनाइने क्रममा राम मन्दिर र जानकी मन्दिरबाट रामसीताको प्रतिमालाई सुसज्जित डोलीमा राखी रङ्गभूमिमा लगिन्छ । अनि स्वयम्बर र परीक्षण विधि भएपछि जानकी मन्दिरमा ल्याइ विवाह संस्कार सम्पन्न गरिन्छ ।

त्यस्तै सो अवसरमा निस्किने भगवानको डोला शोभायात्रामा सहभागी हुनेले महोत्सवमा दैवी विवाह भएको अनुभव गर्दै आफूलाई धन्य सम्झन्छन् ।
राजर्षि जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्सेनि मार्ग महिनाको शुक्ल पक्ष पञ्चमी तिथिमा राम जानकी विवाहपञ्चमी मेला लाग्छ ।

सीतोपाख्यान उत्तरार्द्धमा सीता स्वयम्बरका बारेमा उल्लेख भएअनुसार आश्विन पूर्णिमाका दिन अयोध्या नरेश दशरथ नन्दन राजकुमार श्रीरामचन्द्रले प्राचीन शिवधनुषलाई भाँचेको र त्यसपछि मार्ग शुक्ल पञ्चमी तिथिमा राम–जानकीको विवाह भएको प्रसङ्ग उल्लेख गरिएको छ ।

उक्त विवाह भएको खुशीयालीमा सम्झनास्वरूप जनकपुरधाममा प्रत्येक वर्ष विवाह पञ्चमी पर्व मनाउने परम्परा बसेको हो ।

राम र जानकीको स्वयम्बर भएको जनविश्वास रही–आएको उक्त स्थानमा विवाह पञ्चमीका दिन जनकपुरधामस्थित राम मन्दिरबाट जन्तीसहित भगवान् रामको डोलालाई नगर परिक्रमा गराइन्छ । त्यसपछि जानकी मन्दिरबाट बाजागाजासहित लावा–लस्करका साथ जानकीको डोला लगेर स्वयम्बर गरिन्छ । त्यसपछि दुवै डोला नगरको परिक्रमा गर्दै जानकी मन्दिरमा पुगी मिथिलाको संस्कृतिअनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छ ।

हजारौं वर्ष पहिले त्रेता युगमा मिथिलापति शिरध्वज जनकले सीता स्वयम्बरको आयोजना गर्दा देश–देशान्तरका सयौं राजा र राजकुमार उपस्थित हुन पुगेको ऐतिहासिक तथा पौराणिक मान्यता छ । अहले पनि हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्रको रूपमा रहेको जनकपुरधाममा स्वदेशका मात्र नभएर भारतबाट आएका लाखौं श्रद्धालु डोला परिक्रमाको दर्शन तथा पूजापाठ गर्न उपस्थित हुन्छन् ।

हुन त जनकपुरधाममा हरेक महिनाको पूर्णिमाका दिन पनि मासिक रूपमा मेला लाग्छ । त्यस्तै चैत्र शुक्ल नवमी तिथिमा रामको जयन्ती मनाउँदै रामनवमी मेला लाग्छ । त्यसको एक महिनापछि वैशाख शुक्ल नवमी तिथिमा जानकी प्राकट्य महोत्सवको उपलक्ष्यमा जानकी नवमीको उत्सव सम्पन्न हुन्छ ।

त्यस्तै श्रावण शुक्ल तृतीयादेखि पूर्णिमासम्म झुला महोत्सव तथा फाल्गुण शुक्ल पक्षमा १५ दिवसीय मिथिला पञ्चकोशी परिक्रमा (जनकपुरधामदेखि पाँच कोषको दूरीमा रहेको जानकीको बाल लीलासित सम्बद्ध ठाउँहरूको परिक्रमा) गरिन्छ । उक्त परिक्रमाको अन्त्यमा फागु पूर्णिमाका दिन जनकपुरधामको अन्तःगृह परिक्रमा गरिन्छ । भीडभाडका साथ परिक्रमा सम्पन्न हुन्छ । तर ती सबै उत्सव, चाडपर्व र समारोहमध्ये रामजानकी विवाह उत्सव विशेष छ । हजारौं वर्ष पहिले मार्ग शुक्ल पञ्चमी तिथिमा भएको रामजानकी विवाहको सम्झना हरेक वर्ष गर्ने गरिन्छ । रामजानकी विवाह पञ्चमी मेला सबैभन्दा बढी श्रद्धा, निष्ठा र उत्साहका साथ मनाइने गरिन्छ ।

यस वैवाहिक समारोहको पूर्वाङ्गस्वरुप मार्गशुक्ल द्वितीया तिथिका दिन अयोध्याबाट साधु सन्तहरू समेतको एउटा जन्तीको डफ्फा (बाराती समूह)लाई जनकपुरधाम आइपुग्दा भव्य स्वागत गर्ने गरिन्छ । अयोध्याबाट आउने जन्तीको समूहलाई यसअघि नै सीमाबाट नेपाली भूमिमा प्रवेश गर्नासाथ मटिहानी, जलेश्वर, पिपरा, लादोबेला र जनकपुरधाममा भव्य गर्ने परम्परा छ ।

यस अवसरमा दुई दिनपूर्व नै तृतीया तिथिमा राम मन्दिरमा जानकी मन्दिरबाट साधु सन्त र नगरका प्रमुखजनहरूको उपस्थितिमा तिलकोत्सव (कुरा छिन्ने काम, वाग्दान) सम्पन्न हुन्छ । त्यसको भोलिपल्ट चतुर्थी तिथिको सन्ध्यामा मिथिला परम्पराअनुसार कन्यापक्षका तर्फबाट गरिने ’मटकोर’ कर्म गङ्गासागरमा पुगेर निर्वाह गरिन्छ । पञ्चमी तिथिमा राम मन्दिरबाट श्रीरामचन्द्रको डोला बाजागाजाका साथ नगरपरिक्रमा गर्दै रङ्गभूमि मैदानमा पुग्दछ । त्यहाँ पहिलेदेखि नै जानकी मन्दिरबाट जानकी माताको मूर्ति सुसज्जित मण्डपका साथ मन्दिरका महन्त, साधुसन्त र समाजका प्रबुद्ध नागरिक सम्मिलित सरियाती दल (घरगाउँले समूह वा माइती पक्ष)ले स्वागत गर्छन् ।

साथै राम मन्दिरबाट पुगेको डोलालाई जानकी मन्दिरबाट पुर्याइएको मण्डपमा पाँचपटक परिक्रमा गराएर रामलाई पुष्पहार अर्पण गरिन्छ । राम मन्दिरबाट पुगेको मण्डपबाट महन्थले जानकीलाई माला लगाइ आरतीपूजनपछि स्वयम्बर पूरा हुन्छ । त्यसपछि राम मन्दिरको मण्डप अगाडि राखेर सबै पछि–पछि लाग्छन् र जानकी मन्दिर पुर्याएर आरती पूजन गरिन्छ । त्यसपछि राम मन्दिरको डोला लावालस्करका साथ राममन्दिर फर्कने गर्दछ भने त्यसै रात मिथिला परम्पराअनुसार भगवान् रामचन्द्र र माता जानकीको वैवाहिक कार्यक्रम सम्पन्न हुन्छ ।

विवाह महोत्सवमा सहभागी हुन आउने पर्यटकहरूका कारण यतिबला जनकपुरका होटल, लज र धर्मशालाहरू भरिभराउ छन् । साथै भक्तजनको सुविधाका लागि स्थानीय संघ संस्थाहरूले ठाँउ–ठाँउमा बासको प्रबन्धका लागि पन्डाल निर्माण गरिदिएका छन् ।

मिथिलाबासी उत्साहपूर्वक तयारीमा जुट्दै

धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्वको यस पर्वलाई भव्यताका साथ मनाउन मिथिलावासी उत्साहपूर्वक तयारीमा जुटेका छन् ।

त्रेता युगको ऐतिहासिक विवाहलाई स्मरण गर्दै प्रत्येक वर्ष साताव्यापी रूपमा मनाइने विवाह पञ्चमी महोत्सवलाई सभ्य र भव्य बनाउन जानकी मन्दिर परिवार, जनकपुरधाम उपमहानगरपालिका, मधेस प्रदेश सरकार, युवा क्लब तथा स्थानीयबासी उत्साहका साथ तयारीमा जुटेका हुन् ।

पाँच वर्षको अन्तरालमा पञ्चवर्षीय महामहोत्सवमा विशेष रूपमा भारतको अयोध्या रामजन्मभूमिबाट जन्ती आउने हुँदा उत्साह अझै थपिएको र विशेष व्यवस्था गरिने जनकपुरधाम जानकी मन्दिरका महन्तका उत्तराधिकारी रामरोशन दास वैष्णले बताए । उनले भगवान् राम र माता सीताको पौराणिक विवाह उत्सवलाई जीवन्त बनाउन जनकपुरधाम अहिले चहलपहल र उत्साहले भरिएको उनले उल्लेख गरे ।

पञ्चवर्षीय विवाह महामहोत्सवको तयारीलाई व्यवस्थित बनाउन सम्पूर्ण मिथिलावासी लागि परेको बताउँदै उनले भने, ‘यो मिथिलाको धार्मिक, संस्कृति उत्सवसँग जोडिएको पर्व हो, जसको तयारीमा प्रत्येक वर्ष मिथिलाका प्रत्येक नागरिक खुला मनले लाग्ने गर्छन् र अयोध्याबाट आएका पाहुनाका लागि खाना तथा वासको व्यवस्था पनि पूर्णरुपमा हाम्रो जिम्मेवारी हो ।’

जसअन्तर्गत जनकपुरधाका मारवारी सेवा समिति, कलवार कुट्टी, सुडी कुट्टी, रौनियार सेवा समितिले आवासको व्यवस्था गरेका छन् । उक्त स्थानका भोजनको व्यवस्था जानकी मन्दिरको तर्फबाट आयोजना हुने महन्तका उत्तराधिकारी रामरोशन दासले जानकारी दिए ।

महन्तका उत्तराधिकारी दासका अनुसार विवाह पञ्चमीको अवसरमा जनकपुरधामवासी मात्र नभएर स्थानीय सरकार तथा यहाँका युवा क्लबहरू पनि तयारीमा जुटेका छन् । यहाँका चौक–चौराहा मठ–मन्दिरहरू पनि सजाउन थालिएका छन् ।

यस्तो छ जनकपुरधाम उपमहानगरको तयारी

जनकपुरधाम उपमहानगरपालिकाले पनि विवाह पञ्चमी तयारीमा तीव्र रुपमा लागेको छ । त्रेता युगमा भगवान् राम र माता सीताको विवाहलाई स्मरण गर्दै मनाइने विवाह पञ्चमी महामहोत्सवलाई सफल बनाउन जनकपुरधाम उपमहानगरपालिकाले विशेष तयारी गरिरहेको छ । जनकपुरधाममा नेपाल र भारतलगायत विभिन्न देशबाट लाखौं तीर्थयात्री र पर्यटकको आगमन हुने भएकाले उपमहानगरपालिकाले व्यवस्थापनका लागि विभिन्न उपायहरू अपनाएको छ ।

रङ्गभूमि मैदानका हुने धनुष यज्ञका लागि पाँच सय दर्शनार्थीका लागि मञ्च व्यवस्थापनको कार्य भइरहेको छ । जनकपुरधाम आउने श्रद्धालु भक्तजनको विश्रामका लागि धनुष यज्ञ मञ्चभन्दा दक्षिणतर्फ पाँच हजार श्रद्धालु अटाउने क्षमताको विश्रामस्थल निर्माण गरिँदै छ भने तिरहुतिया गाछीमा पनि विश्रामका लागि पण्डा लगाउने तयारी भइरहेको जनकपुरधामको प्रमुख मनोजकुमार साहले जानकारी दिए । अयोध्याबाट आउने पाँच सय जना जन्तीका लागि कलवार कुट्टीमा व्यवस्था गरिने बताए ।

यस्तै, यातायात व्यवस्थापनका लागि जनकपुरधाम प्रवेश गर्ने मुख्य चारवटा नाकामा ठूला सवारीसाधन व्यवस्थित गरिनेछ, जहाँ जटही नाकाबाट आउने सवारीसाधनलाई हनुमाननगर, मुजेलिया भएर आउेन सवारीलाई कबर्ड हल, पुलचोकबाट आउनेलाई बावन विघा र कपिलेश्वर भएर आउनेलाई सवारीलाई कपिलेश्वरको अस्थायी बसपार्क राख्ने व्यवस्था मिलाइएको नगर प्रमुख साहले बताए ।

यसैगरी, उपमहानगरपालिकाले विवाह पञ्चमी लक्षित विभिन्न स्थानमा एक सयभन्दा बढी अस्थायी शौचालयको व्यवस्था गरिएको छ । साथै उपमहानगर, जानकी मन्दिर तथा युवा क्वल र सुरक्षा निकायको समन्वय र सहकार्यमा विवाह पञ्चमीलाई व्यवस्थित बनाउने तयारीमा जुटेको साहले बताए ।

उपमहानगरले एक सय एनसीसी क्याडर र पाँच सय स्वयंसेवक परिचालन गर्नेछ भने नगर प्रमुख साहले श्रद्धालुका लागि सुत्ने व्यवस्था मिलाउन प्रदेश सरकारसँग पनि आग्रह गरेको बताए ।

‘विवाह पञ्चमी लक्षित जनकपुरधामका मुख्य सडक, गल्ली र मठमन्दिर क्षेत्रलाई सफा र व्यवस्थित बनाउन व्यापक सरसफाइ अभियान सञ्चालन गरिएको छ । जहाँ जानकी मन्दिर र वरपरका सार्वजनिक स्थानमा फोहोर व्यवस्थापनका लागि डस्टबिन राख्ने व्यवस्था समेत गरिएको छ,’ उनले भने ।

कस्ताे छ ट्राफिक अवस्था ?

पञ्चवर्षीया विवाह पञ्चमी महामहोत्सव भएकाले गत वर्षभन्दा यो वर्ष सवारी साधन र दर्शनार्थीको चाप बढ्ने अनुमान गरिएको छ । उक्त चापलाई व्यवस्थित गर्न धनुषा ट्राफिक कार्यालयले विशेष व्यवस्था मिलाएको छ । जसअन्तर्गत कार्यालयको सामाजिक सञ्चालमा सवारीसाधन पार्किङस्थालको नक्सा नै पोस्ट गर्ने योजना गरेको छ भने विवाह पञ्चमीलक्षित ट्रफिक व्यवस्थापनका लागि धनुषा ट्राफिक कार्यालयबाट एक सय ४० जना ट्रापिक प्रहरी परिचालन गरिने छ ।

ट्राफिक कार्यालय धनुषाका प्रमुख हरिबहादुर ओलीले जनकपुरधाम उपमहानगरपालिकाभित्र स्थायी पार्किङस्थल नहुँदा सवारी साधन व्यवस्थापनमा थप चुनौती थपिएको बताए । सोको सम्पूर्ण जिम्मेवारी आफ्नो निगरानीमा भइरहेको उनले जानकारी दिए । ‘ढल्केबर भएर प्रवेश गरिने सवारीसाधनका लागि मुजेलियामा ब्यारिगेट लाग्छ र कबर्ड हलमा पार्किङको व्यवस्था हुन्छ । मोटरसाइकललगायत साना सावारीसाधनलाई पिराडी चौकसम्म आउने दिइने छ । चक्रपथबाट कुनै पनि सवारीसाधन भित्र छिर्न दिइने छैन,’ उनले भने ।

एम्बुलेन्स र भीआईपी व्यक्तिका लागि छुट्टै रुट निर्धारण गरिएको छ । सिटी होटल, प्रदेश कार्यालय, बाह्रबिघाको उत्तर गेट हुँदै प्रादेशिक अस्पतालसम्म एम्बुलेन्सको व्यवस्था गरिएको छ । यस्तै पुल्चोक भएर आउने सवारीसाधनलाई त्यहीँको अस्थायी बसपार्कमा राख्ने व्यवस्था गरिएको छ । कदम र भानुचौकबाट कुनै पनि सवार साधन भित्र प्रवेश गर्न पाउँदैनन् ।

जटही नाकाबाट प्रवेश गर्ने सवारी ६ लेनमा एकतर्फी मिलाएर पार्किङ गरिने र साना सवारी मुरली चौकसम्म आउन दिने व्यवस्था छ । त्यस्तै झाँकीसहितका सवारीसाधन तिरहुतिया गाछीमा राखिनेछ । भिठ्ठामोड नाकाबाट आउने सवारीलाई बेला पुल नजिक सडक छेउमा मिलाएर राखिनेछ भने कुर्थाबाट आउने सवारीरीलाई बलुवा प्रहरी चौकी क्षेत्रमा राखिने व्यवस्था गरिएको छ ।

विवाह पञ्चमीको अवसरमा आएका सवारीसाधनको भीडले ट्राफिक व्यवस्थापनलाई थप चूनौतीपूर्ण बनाएको हुँदा सम्पूर्ण नगरबासी तथा श्रद्धालु भक्तजनमाँझ सभ्य र मर्यादित बनाउन ट्राफिक नियम उल्लंघन नगर्न र नगराउन आग्रह गर्दै ट्रापिक व्यवस्थापनको चुनौती बुझिदिन प्रहरीको अनुरोध छ ।

यो व्यवस्था विशेषगरी २० र २१ गतेका लागि लागू गरिने छ । तर, श्रद्धालुको भिडभाड सामान्ययता १९ गते बेलुकादेखि नै सुरु हुन्छ ।

२१ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन 

सांस्कृतिक धरोहरको रुपमा रहेको धार्मिक तथा सांस्कृतिक पर्व रामजानकी विवाह पञ्चमी महोत्सवलाई सभ्य र भव्य बनाउन २१ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने छ । अयोध्याबाट आउने जन्तीलाई मध्येनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

दुई जना डीएसपी, एक इन्सपेक्टर र एक वरिष्ठ सईको कमान्डमा चारवटा टोली परिचालन गरिने उनले बताए । आउटर र इनर गरी सात सेक्टरमा विभाजन गरी १ हजार ४५१ प्रहरी र साढे ७५० भन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिने योजना रहेको धनुषाका प्रहरी प्रमुख तिवारीले बताए ।

‘सुरक्षा व्यवस्थाअन्तर्गत हेल्प डेस्क, प्राथमिक उपचार, रिजर्व टिमलगायतका टोली परिचालन गरिने छन्, सीसीटीभी क्यामेरा जडानसँगै ड्रोन क्यामेराले निगरानी गरिने छ । साथै प्रदेश र केन्द्रबाट पनि सुरक्षाकर्मी माग गरिएको छ,’ उनले भने ।

प्रदेश सरकारले ६०० पाहुनालाई कम्बल वितरण गर्ने

उद्योग, वाणिज्य तथा सकिल अलि मियाँले मधेस सरकार मन्त्रालय परिसरको पर्खालमा विवाह पञ्चमी लक्षित मिथिला चित्रकला बनाउन लागिएको बताए ।

‘मिथिला चित्रकलाकै माध्यमबाट रामजानकी विवाह झल्किनु पर्छ,’ उनले भने । विवाह पञ्चमी महामहोत्सवलाई भव्य बनाउन सौन्दर्यका लागि मिथिला चित्रकला, विभिन्न पाँच स्थानमा पण्डाल, खानेपानी तथा २०० अस्थायी शौचालयलगायतको व्यवस्था गरिएको उनले बताए ।

उनले भारतबाट आएका पाहुनालाई प्रतिव्यक्ति एक गरी प्रदेश सरकारको तर्फबाट ६०० कम्बल वितरणको व्यवस्थासमेत गरिएको छ ।
यस्तो छ साताव्यापी विवाह पञ्चमी तालिका

मङ्सिर १६ गते (आइतबार) नगर दर्शन, १७ गते पुष्प वाटिका फूलबारी लीला, १८ गते धनुष यज्ञ र बरात आगमनको स्वागत हुनेछ ।

यस्तै १९ गते तिलकोत्सव, २० गते मटकोर महोत्सव, २१ विवाह महोत्सव र २२ गते रामकलेवा उत्सवको आयोजनापछि साताव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न हुनेछ ।
आयोध्यबाट आएका अतिथिहरूलाई २३ गते स–सम्मान बिदा गरेपछि उनीहरू आयोध्या फर्किने कार्यक्रम रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register