उपनिर्वाचन शान्तिपूर्ण : ६२ प्रतिशत मतदान

झापा, १६ मंसिर । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता निता पोख्रेल अर्यालले जानकारी दिनुभयो । उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा [...] The post उपनिर्वाचन शान्तिपूर्ण : ६२ प्रतिशत मतदान appeared first on Jhapa Online.

Dec 1, 2024 - 13:36
 0
उपनिर्वाचन शान्तिपूर्ण : ६२ प्रतिशत मतदान

झापा, १६ मंसिर । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता निता पोख्रेल अर्यालले जानकारी दिनुभयो ।

उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा २ लाख २६ हजार ७९९ मतदाता रहेकोमा हालसम्मको प्राप्त विवरण अनुसार करिब ६२ प्रतिशत मतदान भएको निर्वाचन प्रवक्ता अर्यालले बताउनुभयो । मतदान कार्य समाप्त भई मतपेटिका सुरक्षित रूपमा सङ्कलन भएपछि तत्काल मतगणना प्रारम्भ गर्न निर्देशन दिइएको आयोगले जनाएको छ ।

उपनिर्वाचन प्रयोजनका लागि २५ वटा राजनीतिक दल दर्ता भएकोमा २० राजनीतिक दलको तर्फबाट उम्मेदवारी परेको थियो । ओखलढुङ्गा र कैलाली जिल्लाको जिल्ला समन्वय समितिको प्रमुखमा क्रमशः नेपाली काँग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) को मात्र अन्तिम उम्मेदवारी कायम भएको थियो भने रुकुम (पूर्वी भाग) जिल्ला पुथा उत्तरगंगा गाउँपालिका वडा नं. २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार जगत घर्तीको मात्र अन्तिम उम्मेदवारी कायम भएको थियो ।

एक एक जनाको उम्मेदवारी कायम भएका बाहेक नगरपालिकाका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिकाका अध्यक्ष दुई, उपाध्यक्ष चार तथा वडा अध्यक्ष ३३ गरी जम्मा ४१ पदका लागि भएको उपनिर्वाचनमा राजनीतिक दलका २ सय ७४ जना र स्वतन्त्र १ सय २ जना गरी जम्मा ३ सय ७६ जना उम्मेदवार रहनुभएको थियो ।

एउटा मात्रै मतदान स्थल रहेका १५ वटा वडाको वडा अध्यक्ष पदको मतगणना सम्बन्धित मतदान स्थलमा नै हुने व्यवस्था मिलाइएको छ भने अन्य स्थानमा सबै मतदान स्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गरी मतगणना हुनेछ ।

मतगणना स्थलमा मतपेटिका ल्याइसकेपछि लगत्तै स्थानीय तह उपनिर्वाचन निर्देशिका, २०८१ र मतगणनासम्बन्धी आयोगबाट भएको निर्देशन बमोजिम मतगणना प्रारम्भ हुनेछ । मतगणनाको परिणाम आयोगका वेबसाइट result.election.gov.np मा हेर्न सकिने छ ।

स्थानीय तह उपनिर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउने कार्यमा सहयोग, समन्वय र सहकार्यका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत, स्थानीय प्रशासन, निर्वाचनमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, उम्मेदवारका प्रतिनिधि, मतदाता, पर्यवेक्षक, सञ्चारमाध्यम, निजी क्षेत्र, नागरिक समाजलगायत सबैप्रति निर्वाचन आयोगले आभार प्रकट गरेको छ ।

साथै मतगणनाको कार्यलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने गराउने कार्यमा समेत राजनीतिक दल, मतदाता, उम्मेदवार, सञ्चारकर्मी, पर्यवेक्षक लगायत सबै सरोकारवालाको सहयोग हुने आयोगले विश्वास लिएको छ ।

The post उपनिर्वाचन शान्तिपूर्ण : ६२ प्रतिशत मतदान appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register