रुस-चीन एकता तोड्ने ट्रम्पसँग त्यस्तो के उपाय छ ?

दुई तानाशाहबीचको व्यक्तिगत सम्बन्धबाहेक वासिङ्गटनप्रतिको उनीहरुको साझा अविश्वास र समकालीन बहुध्रुवीय विश्वमा अझ शक्तिशाली हुने आशाले अमेरिकाको मूल्यमा रुस–चीन साझेदारीलाई स्थिर र अझ गहिरो बनाउने आधार छँदैछ ।

Dec 13, 2024 - 11:07
 0
रुस-चीन एकता तोड्ने ट्रम्पसँग त्यस्तो के उपाय छ ?

गत अक्टोबरको एक अन्तर्वार्तामा राजनीतिक टिप्पणीकार कार्ल टक्करसनसँग डोनाल्ड ट्रम्पले भनेका थिए – ”एउटा कुरा जुन म कहिल्यै चाहन्नँ, त्यो हो – रुस र चीनको एकता । म तिनीहरुको एकतालाई तोड्न गइरहेको छु र मलाई लाग्छ – म त्यो गर्न सक्ने छु ।’

निर्वाचन अभियानका क्रममा ट्रम्पले बारम्बार यो भने कि उनीले ‘२४ घन्टाभित्र’ युक्रेनमा युद्ध रोक्ने छन् र चीनका लागि उनी जो बाइडनभन्दा कडा साबित हुनेछन् ।

तर, ट्रम्पले यी दुई देशको एकता तोड्ने उनको ठ्याक्कै योजना चाहीँ के हो ? कहिल्यै प्रष्ट पारेका छैनन् । प्रारम्भिक सम्भावना यो देखिन्छ – आगामी ट्रम्प प्रशासनले रुससँगको तनाव घटाउने, सम्बन्ध सुधार्ने र रुस–चीन साझेदारीलाई क्षति पुर्‍याउने प्रयास गर्न सक्नेछ ।

५० वर्षअघि अमेरिकी तत्कालीन विदेशमन्त्री हेनरी किसिञ्जरले गरेकोभन्दा यो ठीक उल्टो काम हुनेछ । किसिञ्जरले सोभियत सङ्घ–चीन सम्बन्धलाई तोड्न चीनसँगको शत्रुतालाई सहजीकरण गरेका थिए । अहिले रुससँगको शत्रुता सहजीकरण गर्नुपर्ने छ ।

यो विचारधारा ट्रम्प दुनियाँका धेरै व्यक्ति माझ लोकप्रिय छ । यसभित्र ट्रम्प प्रशासनका लागि नियुक्तिको छनोटमा परेकाहरु पनि छन् । जस्तो कि – ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारका लागि छनोट गरेका कांग्रेस सदस्य माइकल वाल्ट्ज । उनी रुस-युक्रेन युद्धलाई जतिसक्दो चाँडो अन्त्य गरी त्यसपछि स्रोतसाधनलाई ‘चिनियाँ कम्युनिष्ट पार्टीको ठूलो खतरा सामना गर्न’ तिर लगाउनुपर्ने धारणा राख्दछन्।

बेइजिङ र मस्कोका नेता भने केही हप्तापछि सुरु हुने ट्रम्पको नयाँ कार्यकाल चिन्ता, आशा र निराशा मिश्रित भावले पर्खिरहेका छन् । क्रेमलिनका शीर्ष नेताको यस बीचको रणनीति ट्रम्प ह्वाइटहाउस सार्नुअघि युक्रेनमा ठूलो मात्राको भीडन्तको सम्भावना टार्नु हो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आश छ –अमेरिकामा ट्रम्प प्रशासनको सुरुवातले युक्रेनमा शत्रुताको औपचारिक अन्त्य नहोला तर, किभले पाइरहेको पश्चिमी समर्थनमा उल्लेखनीय कमी आउँछ ।

बेइजिङका सरोकार भने बिल्कुलै उल्टा छन् । नोभेम्बरको एसिया–प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलनमा बाइडनसँगको भेटमा राष्ट्रपति स‍ी चिनफिङलाई डेमोक्र्याटिक पार्टीको प्रशासनबाट चीनसँगको अमेरिकी सम्बन्धमा खासै बाधा नआउने सङ्केत गरेको थियो ।

अब रिपब्लिकन टिम प्रशासनमा आउँदैछ । चुनावी अभियानका बयानबाजीले होस् वा ट्रम्पले नियुक्तिका लागि छनोट गरेकाहरूको विशेषताले चीन चिन्तित हुनुपर्ने कारण छ ।

पुटिनको घिटकिसो

युक्रेनका लागि ट्रम्पको शान्ति योजनाका विस्तृत विवरण बिरलै उपलब्ध छन् । यसका सम्भाव्यताबारे रुसी वरिष्ठ अधिकारीहरूले सीमित टिप्पणी सार्वजनिक गरेका छन् । ट्रम्पसँग औपचारिक वार्ता गर्न क्रेमलिनलाई अझै केही हप्ता आवश्यक पर्दछ । यो अवधिलाई युक्रेन युद्धको सबैभन्दा खतरनाक अवधिका रुपमा हेरिदैँछ ।

करिब १ वर्ष लामो पीडादायी छलफलपछि बाइडन प्रशासनले अन्ततः किभलाई नाटो सदस्य राष्ट्रहरुद्धारा उत्पादित र उपलब्ध लामो दूरीका हतियार प्रयोग गर्ने अनुमति दिएको छ । अन्तर्राष्ट्रिय मान्यता प्राप्त रुसी भूभागका सैन्य लक्ष्यलक्षित अमेरिकी ‘एटाक्समस’ र ब्रिटिश ‘स्टोर्म स्याडो’ क्षेप्यास्त्रहरू अहिले किभसँग छ ।

रुसी रक्षा मन्त्रालयअनुसार नोभेम्बर १९ मा एक अमेरिकी क्षेप्यास्त्र ब्रायन्स्क क्षेत्रको हतियार भण्डारण डिपोमा दागिएको थियो । त्यसको दुई दिनपछि रुसले उत्तर कोरियाली जर्नेलहरूलाई होस्ट गर्ने कमाण्ड पोस्ट भएको रुसको कुर्स्क क्षेत्रमा बेलायती ‘स्टोर्म स्याडो’ प्रहार गरिएको थियो ।

रुसीलाई पछाडि धकेल्ने यी अवरोध उनीहरूलाई पीडादायी बनेका हुन सक्दछ । तर, लडाइँको महत्वपूर्ण मोड भने हैन । रुसले पूर्वी मोर्चामा विस्तारै थप जमिन प्राप्त गर्दैछ । क्रेमलिनको मुख्य चिन्ता भने मस्कोद्वारा प्रष्ट भनिएका आणविक अवरोध र लक्ष्मणरेखाप्रति पश्चिमी अवहेलना हो ।

पुटिनले बारम्बार यो भनेका छन् – युक्रेनीले नाटो कर्मचारीको सहयोगबिना अमेरिकी र बेलायती क्षेप्यास्त्र प्रयोग गर्न सक्दैनन् । तसर्थ क्रेमलिनको दृष्टिकोणमा यो युक्रेनको काँधमा राखेर पश्चिमाले रुसलाई गोली हानेजस्तै हो ।

क्रिमियालगायतका अतिक्रमित युक्रेनी क्षेत्रमा रुस नाटोको गोलाबारी स्वीकार गर्न बाध्य भएको छ । यस्तो कारबाही रुसद्धारा निर्धारित लक्ष्मण–रेखाको उल्लङ्घन हो । यो हुथी विद्रोही र उत्तर कोरियाजस्ता बदमास पात्रहरूमाथिको सीमित सैन्य समर्थन प्रावधानको उपयोगजस्तै देखिन्छ ।

तर, अतिक्रमित युक्रेनी भूभागको साटो रुसी सीमाभित्रै आक्रमण हुनु एकदमै फरक कुरा हो । क्रेमलिनको विचारमा यस्तो कार्य चाँडोभन्दा चाँडो रोकिनु पर्दछ ।

नोभेम्बर १९ को कथित पश्चिमा आक्रमकताको प्रतिक्रियामा रुसले नयाँ आणविक सिद्धान्त प्रकाशित गर्‍यो । यसले आणविक हतियार प्रयोगको सीमालाई उल्लेखनीय रुपमा कम गर्दछ । युक्रेनजस्ता गैरआणविक राज्यविरुद्ध आणविक राज्यको पक्षबाट लामो दूरीको आणविक आक्रमण गर्न मार्ग प्रशस्त गर्दछ ।

तर, रुसको यो मौखिक धम्कीलाई पश्चिमाले खासै महत्व दिएन । नोभेम्बर २१ मा रुसले आणविक क्षमता भएको डिनिप्रोको सैन्य प्लान्टमा मिसाइल प्रहार गर्‍यो । तर, यसको विस्फोट अपेक्षाकृत सानो र पेलोड पनि थोरै थियो । यसको अर्थ –क्रेमलिनले आणविक क्षमता वृद्धि उत्सुकता प्रदर्शनका लागि आफ्नो राजनीतिक उद्देश्य मात्र सङ्केत गरेको हो ।

मस्कोको दृष्टिकोणमा बल अब वासिङ्गटनको कोर्टमा फर्किएको छ । पुटिनले बारम्बार पश्चिमा नेतालाई प्रष्ट चेतावनी दिएका छन् । उनले रुसमा नयाँ थप आक्रमण र युक्रेनमा सेना पठाउनेजस्ता कुनै पनि कदमको लक्षित प्रतिरोधका साथ जवाफ दिने भनेका छन् ।

यसो गर्दा ट्रम्पको शपथ र क्रेमलिन अनुकुल हुने द्वन्द्व अन्त्यको वार्ता गर्ने अवसरको नयाँ झ्याल खोल्न स्थितिलाई स्थिर राख्न सकिने आशा उनले गरेका छन् । क्रेमलिन यो कुरामा सचेत छ कि बाइडन प्रशासन युक्रेनलाई दिइएका हतियार प्रयोग बाधा हटाउनेलगायत पछिल्ला चालले भविष्यमा हुने छलफलमा वासिङ्गटनलाई लाभ हुनेछ ।

यही करण हो कि मस्कोले सम्भावित खतरनाक भिडन्तलाई टार्ने प्रयत्न गर्दैछ । जस्तो कि नोभेम्बर २१ पछि बाइडन प्रशासनले थपेका नयाँ आर्थिक प्रतिबन्ध र युक्रेनी सशस्त्र बललाई लेन्ड माइन आपूर्ति गर्ने निर्णयलाई पनि छल्दैछ ।

ट्रम्पको दोस्रो कार्यकाल रुसका लागि सहज सवारी होला भन्ने क्रेमलिनको अपेक्षा छैन । ट्रम्पका उपराष्ट्रपति जेडी भान्स र युक्रेनका लागि विशेषदूत किथ केलोगलगायत राष्ट्रिय सुरक्षा समूहका सदस्यहरु हालको सीमा रेखामा युद्धविराम र लामो स्थिरता माग गर्दछन् । सन् १९९१ को प्रावधानमा आधारित भएर युक्रेनलाई नाटो सदस्यताबाट रोक्न चाहन्छन् ।

यी कुरा मस्कोको पक्षमा जस्तो देखिन सक्छ । तर, पुटिन आफ्ना मौलिक र अधिकतमवादी लक्ष्यबाट यी बिन्दुमा झर्लान्‌ जस्तो लाग्दैन । ती भनेको पुटिनकै शब्दमा युक्रेनको असैनिकीकरण र वि–नाजीकरण हो । जसको अर्थ कम्तिमा किभमा सत्ता परिवर्तन र युक्रेनको विदेश नीतिमा मस्कोको भिटो अधिकार हो ।

यी लक्ष्य वार्ताको टेबुलबाटै प्राप्त भए क्रेमलिन खुशी हुन्छ, नत्र रुसी नेताले युद्ध जारी राख्नेछन् । उनीहरुको आशा हुनेछ कि युद्ध र समय रुसको पक्षमा हुनुपर्नेछ । पश्चिमा थकान र युक्रेनलाई हतियार आपूर्ति गर्न अनिच्छा र कटौती क्षमताले युक्रेनलाई सीमित र रुसलाई फाइदा गर्ने छ ।

चीनप्रतिको नयाँ आक्रमकता

राष्ट्रपति सीसँग बाइडनबाट ट्रम्पमा शक्ति सङ्क्रमणको अवधिमा अमेरिका–चीन सम्बन्ध सापेक्षिक शान्ति अवधि हुने आशा गर्नुपर्ने पुटिनकोभन्दा अरु नै फरक कारण छन् । ट्रम्पले पदभार ग्रहण गरिसकेपछि बेइजिङको अवस्था थप जोखिमपूर्ण हुन सक्दछ ।

हालैका वर्ष वासिङ्गटन र बेइजिङले आफ्नो सम्बन्धमा स्थिरता र पूर्वानुमानीयता कायम गर्न कडा मेहनत गरेका छन् । अमेरिकी राष्ट्रपतिका सुरक्षा सल्लाहकार ज्याक सुलिभान र चिनियाँ विदेशमन्त्री वाङ निरन्तर सम्पर्कमा छन् । यसका अतिरिक्त अन्य थुप्रै सूचना सम्पर्क संयन्त्र क्रियाशील छन् ।

यही कारणले ताइवानमा जनवरीको चुनाव हुनसक्यो । ताइवानी जलडमरु र दक्षिण चीन सागरका उष्ण बिन्दुहरुको ताप कम गर्न सक्यो । व्यावधानकारी व्यापार तथा निर्यात नियन्त्रण युद्ध टार्न सक्यो ।

नोभेम्बरको बाइडन–सी भेटघाटले पुष्टि गरेको छ कि उनीहरुले जनवरी २० सम्म यो स्थितिलाई विस्तार गर्न चाहेका छन् । बहिर्गमित हुन लागेको वासिङ्गनको बाइडन प्रशासनले डिसेम्बर २ मा चिनियाँ चिप्स निर्माण क्षेत्रलाई लक्षित गरी लगायतका नयाँ निर्यात नियन्त्रण मापदण्डहरूको बदलामा बेइजिङले तुरुन्तै केही महत्वपूर्ण खानीजन्य वस्तुको अमेरिका निर्यात प्रतिबन्ध गरेको छ ।

तर, यी चाल पहिल्यैदेखि तम्तयार थिए, आश्चर्यजनक थिएनन् । अहिलेलाई दुबै पक्षसँग शान्ति र संयम अपनाउनुपर्ने कारण छन् । बाइडन युक्रेन र मध्यपूर्वको युद्ध सामना गरिरहेका छन् । चीन खराब आर्थिक अवस्थाको बीचमा अनावश्यक टकरावको मुडमा छैन ।

पुटिनसँग ट्रम्पबाट आशावादी हुनुपर्ने कारण छन् भने राष्ट्रपति सीका लागि चिन्तित हुनुपर्ने प्रशस्त कारण छन् । पहिलो कार्यकालमा ट्रम्पले व्यापार युद्ध सुरु गरे । चीनको वरिष्ठ प्राविधिक कम्पनी हुवेइविरुद्ध आर्थिक प्रतिबन्ध लगाए । हुवेइका सामग्री प्रयोग सञ्जाल भएका अमेरिकी साझेदार देशलाई ती प्रतिस्थापन गर्न दबाब दिए । हिन्द–प्रशान्त अमेरिकी रणनीति, साझेदारी र सैन्य सम्पत्ति बलियो बनाए । कोभिड–१९ महाव्याधीको अवधिमा चीनविरुद्ध गलत प्रचारबाजी गरे ।

राष्ट्रपति सीका लागि यसपटकको स्थिति योभन्दा पनि खराब हुन सक्दछ । सन् २०१६ मा चिनियाँ अर्थतन्त्र अहिलेको भन्दा धेरै बलियो वृद्धिमार्गमा थियो । अमेरिकी अर्थतन्त्रले अहिले सङ्कटको सामना गरिरहेको थियो । आज यो तालिका पल्टिएको छ । धेरै हदसम्म यो विगत दशकको सीकै आर्थिक नीतिको कारणले भएको छ ।

ट्रम्पले भेला गर्न थालेका सुरक्षा सल्लाहकार र व्यापारी समूह चीनप्रति आक्रामक दृष्टिकोण राख्दछन् । ती बेइजिङको जोखिम सामना गर्न थप प्रतिरक्षा खर्च, नयाँ आर्थिक प्रतिबन्ध, आयात नियन्त्रण मापदण्ड, शुल्क वृद्धि र ताइवानका लागि थप समर्थनको पैरवी गर्दछन् ।

ट्रम्पले नियुक्त गर्न लागेका नयाँ वरिष्ठ अधिकारीहरु अधिकांश यात चीनबारे बिल्कुलै अनविज्ञ छन् या वर्षौँदेखि चीन गएका पनि छैनन् बरु ताइवानमा धेरै समय बिताएका छन् ।

त्यसैगरी, राष्ट्रपति सीको वर्तमान समूहका सदस्य विशेषत उनका उच्च अर्थशास्त्रीय अधिकारी वासिङ्गटनबाट राम्ररी परिचित छैनन् । सन् २०२२ यता सीलाई घेरेर बसेका उनका प्रमुख स्टाफ काई क्यु, उपप्रधानमन्त्री हे लाइफङ तुलनात्मक रुपमा कमजोर अन्तर्राष्ट्रिय प्रोफाइल भएका व्यक्ति हुन् । उनीहरु अंग्रेजी बोल्दैनन् । पार्टी पोलिटब्यूरोमा पदोन्नति भएदेखि नै वासिङ्गटनमा पहुँच नभएका अधिकारी मानिन्छन् ।

ट्रम्पको पहिलो कार्यकाल अमेरिका–चीन सम्बन्ध अनौपचारिक सम्पर्क सुत्रमा धनी थियो, त्यो काम दोस्रो कार्यकालमा अमेरिकी अर्बपति इलोन मस्कले गर्न सक्छन् ।

चीनको सबैभन्दा ठूलो आश मस्क नै हुन् । मस्कको चीनमा बहुआयामिक व्यापारिक चासो छ । उनको विद्युतीय सवारी साधान उत्पादन गर्ने कम्पनी टेस्लाको साङ्घाइ शहरमा कारखाना छ । कम्तीमा यो कार्यकालभरि मस्क अमेरिकी राष्ट्रपतिसँग नजिकको राम्रो सर्तमा रहनेछन् ।

कोही विपरित किसिञ्जर छैन

ट्रम्पको दोस्रो कार्यकालमा सबै प्रकारका अनिश्चिताको दौरान पुटिन र सी बढी चिन्तित रहेको अन्तिम कुरा भने उनले रुस–चीन एकता तोड्न कस्तो प्रयास गर्लान् भन्ने हो यद्यपि, उनले यस्तो वाचा चुनावी अभियानको क्रममा गरेका हुन् ।

पहिलो कुरा – ट्रम्पले युक्रेन मामिलामा पुटिनलाई सन्तुष्ट पार्ने वार्ता गर्न सक्दछन् कि सक्दैनन्, हेर्न बाँकी छ । यदि क्रेमलिनका मुख्य सरोकार सम्बोधन गरिएन भने मस्को राम्ररी नै लडिरहन सक्दछ । त्यस्तो बेला बेइजिङको मूल्यमा मस्कोसँगको सम्बन्ध सुधार गर्ने सम्पूर्ण योजना अनिश्चित हुनेछ ।

यदि सम्बद्ध सबै पक्ष युक्रेनबारे सम्झौतामा पुग्दछ र ट्रम्पले रुसमाथिका आर्थिक प्रतिबन्धलगायत अरु व्यावधान सहज बनाउँछन् भने पनि रुसी अर्थतन्त्रमाथि मडारिरहेका बादल तुरुन्तै हट्ने छैनन् । मस्कोलाई थप नगद प्रवाहको समर्थन गर्न रुसबाट गरिने युरोपेली खरिद वृद्धि आवश्यक पर्दछ । त्यसको अहिलेसम्म कुनै सुनिश्चितता छैन । किनकि धेरैजसो युरोपेली राजधानी पुटिनको रुसप्रति आशङ्कित छन् । रुसमाथिको आर्थिक निर्भरतालाई युद्धपूर्वको अवस्थामा फर्काउन चाहँदैनन् ।

रुस आर्थिक रुपमा चीनमाथि धेरै निर्भर भइसकेको छ । बितेका २ वर्ष यता रुसमा ४० प्रतिशत आयात चीनबाट हुन्छ । ३० प्रतिशत निर्यात चीन जान्छ । यो निर्भरता अझ गहिरो हुँदैछ । यसलाई रातारात पूर्ववत् गर्न सकिँदैन ।

यो निर्भरता उल्टाउनका लागि अमेरिका र युरोपले रुससँग द्विपक्षीय व्यापार र समन्वयित प्रयास बढाउनुपर्ने हुन्छ । यो ट्रम्पको नेतृत्वकालमा परिकल्पना गर्न गाह्रो छ ।

अन्तिम कुरा – पुटिन र सीलाई राम्रो थाहा छ कि यो ट्रम्पको अन्तिम कार्यकाल हो । उनीपछि त्यस्तो राष्ट्रपति आउन सक्दछ, जसले रिपब्लिकन ट्रम्पका नीतिलाई सजिलै उल्टाइदिन सक्छ । उता पुटिन र सी भने सन् २०२९ मा ट्रम्पको कार्यकाल समाप्त हुँदासमेत सत्तामा रहने योजनामा छन् ।

दुई तानाशाहबीचको व्यक्तिगत सम्बन्धबाहेक वासिङ्गटनप्रतिको उनीहरुको साझा अविश्वास र समकालीन बहुध्रुवीय विश्वमा अझ शक्तिशाली हुने आशाले अमेरिकाको मूल्यमा रुस–चीन साझेदारीलाई स्थिर र अझ गहिरो बनाउने आधार छँदैछ ।

(द फोरेन अफियर्सबाट अनुदित)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register