युक्रेन युद्धमा रुसलाई सहयोग गर्नु पर्ने उत्तर कोरियाली स्वार्थ के हो ?

जुनको सहमतियता उत्तर कोरियाले हतियार बिक्री वापत ५.५ बिलियन डलर, सेना तैनाथी वापत ५७२ मिलियन डलर र अनुदानबापत ३३० मिलियन डलर रूसबाट प्राप्त गरिसकेको छ ।

Dec 18, 2024 - 08:07
 0
युक्रेन युद्धमा रुसलाई सहयोग गर्नु पर्ने उत्तर कोरियाली स्वार्थ के हो ?

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलो पटक राष्ट्रपति निर्वाचित भएको ४ महिनापछि सन् २००० मा उत्तर कोरिया भ्रमण गरेका थिए । त्यतिखेर उत्तर कोरियाका नेता वर्तमान किम जोङ–उनका पिता किम जोङ–इल थिए । त्यसपछि पुटिनलाई मस्कोको प्योङयाङ्ग सम्बन्धले खासै आकर्षित गरेन ।

२४ वर्षपछि सन् २०२४ को जुनमा पुटिन दोस्रो पटक प्योङयाङ्ग पुगे । पुटिनको दोस्रो उत्तर कोरिया भ्रमण हुँदा युक्रेन युद्ध २ वर्ष २ महिनामा चल्दै थियो । युद्धमा रूस प्रतिरक्षात्मक जस्तो देखिएको थियो ।

पुटिनको यो भ्रमणपछि उत्तर कोरिया रूसको पक्षबाट युक्रेन युद्धमा प्रत्यक्ष सामेल हुने निर्णयमा पुग्यो । उत्तर कोरियाली नेता किम जोङ–उनले त्यस्तो जोखिमपूर्ण निर्णय लिए, जसको आकलन बिरलै गरिएको थियो । उत्तर कोरियाजस्तो सानो र आर्थिक रुपमा कमजोर राष्ट्र रूसको तर्फबाट युक्रेन युद्धमा सामेल हुने निर्णयका जोखिम धेरै हुन्छन् ।

अहिले युक्रेनको क्रुस्क क्षेत्रमा कम्तीमा ११ हजार उत्तर कोरियाली सेना तैनाथ गरिएको अनुमान छ । साथै, उत्तर कोरियाले रूसलाई आक्रामक ड्रोन, क्षेप्यास्त्रलगायत हातहतियार र सैन्य सामग्रीसमेत आपूर्ति गरिरहेको छ । उत्तर कोरियाको यस्तो निर्णयले रूसले युद्धमा एक बलियो सहयोगी प्राप्त गरेको छ । तर, युद्धमा रूसलाई सहयोग गर्नु पर्ने वा मैदानमा प्रत्यक्ष सैन्य तैनाथी गर्नु पर्ने उत्तर कोरियाको स्वार्थ वा बाध्यता चाहिँ के होला ?

विश्लेषक ठान्दछन् कि यो बाध्यता कम, उत्तर कोरियाको स्वार्थ र अवसर बढी हो ।

क्रुस्क रूसले अधिनस्थ गरेर गुमाएको युक्रेनी भूभाग हो । रूस फेरि क्रुस्क कब्जामा लिने प्रयत्नमा छ । क्रुस्क कब्जा गर्ने पछिल्लो संघर्षमा कम्तीमा ३० उत्तर कोरियाली सेना मारिएका छन् । सयौं घाइते भएको समाचार छ ।

रूस–युक्रेन युद्ध उत्तर कोरियाको सरोकारको हैन । तर, प्योङयाङ्ग यो युद्धमा सामेल हुनुलाई आवश्यकता र गौरवको विषय ठानिरहेको छ । यसका मुख्य तीनवटा कारण छन् ।

पहिलो – उत्तर कोरियाले हातहतियारलगायतका सैन्य सामग्री रूसलाई बेच्ने अवसर पाएको छ । उत्तर कोरिया सैन्य–अर्थतन्त्र भएको देश हो । उसँग आणविक भट्टीलगायत अन्य हतियार र सैन्य सामग्री उत्पादन गर्ने कारखाना छन् । तर, उसले आफ्ना सैन्य सामग्रीको बिक्रीका लागि उचित अन्तर्राष्ट्रिय बजार पाइरहेको थिएन । युक्रेन युद्धले यो आवश्यकतालाई एक हदसम्म पूरा गर्दिएको छ ।

दोस्रो– उत्तर कोरियाले रूसबाट तेल र खाद्यान्नलगायत अभाव भइरहने दैनिक उपभोग्य वस्तुको आपूर्ति पाइरहेको छ । त्यो पनि सस्तो मूल्य र सहयोगमा । उत्तर कोरियाले रूसबाट अनुदानमा नगद सहयोगसमेत पाइरहेको बताइन्छ ।

तेस्रो–उत्तर कोरिया समकालिन विश्व परिवेशबाट एक्लिएको थियो । रुससँगको सानिध्य र सहकार्यले उसको कुटनीतिक संलग्नता बढेको छ । अलगाव र एक्लोपनको अनुभूतिबाट बाहिर निस्कन पाएको छ ।

यी तीन वटै कुरा उत्तर कोरियाका लागि ठूला अवसर हुन् ।

उत्तर कोरिया र रूसबीचको सैन्य सहयोग नयाँ भने हैन । सन् १९५०–५३ को कोरिया युद्धमा उत्तरलाई तत्कालिन सोभियत सेनाको सहयोग थियो । कोरिया युद्धमा सोभियत संघ र चीनले उत्तर कोरिया र अमेरिकालगायत पश्चिमा देशले दक्षिण कोरियालाई साथ दिएका थिए । फलतः कोरिया विभाजित भई २ वटा देश बनेको थियो । उत्तर कोरिया–रूस सैन्य सहकार्यको इतिहास करिब ७५ वर्ष अघि नै यसरी सुरु भएको हो ।

उत्तर कोरियाले पश्चिमा देशबाट आर्थिक प्रतिवन्धको सामना गर्दै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा उत्तर कोरियाली नेता किम जोङ–उनसँग बारम्बार बैठक गरेका थिए । विश्वले उत्तर कोरियालाई आणविक हतियार कार्यक्रम त्याग्न आग्रह गर्दै आए पनि उसले मानेको छैन ।

भूगोल र जनसंख्यामा सानो देश भए पनि उत्तर कोरियासँग विश्वको चौथो ठूलो सेना छ । उत्तर कोरिया क्षेत्रफलमा विश्वको ९८ औं र जनसंख्यामा ४५ औं ठूला देश हो । तर, यससँग आणविक हतियारसहितको करिब १३ लाखको सेना छ । यो चीन, भारत र अमेरिकापछि विश्वको चौथो ठूलो हो ।

उत्तर कोरियाले युक्रेन युद्धमा रूसलाई बिक्री गरेका हातहतियारको संचालन र मर्मतका लागि समेत उसकै सेना चाहिन्छ । हतियारको प्राविधिक पक्षलाई सहजीकरण गर्नु पर्ने आवश्यकताले पनि क्रुस्क क्षेत्रमा उत्तर कोरियाली सेना पठाइएको हुन सक्दछ ।

पुटिन प्योङयाङ्ग जानुअघि सन् २०२३ को सेप्टेम्बरमा किम जोङ–उन रूस गएका थिए । दुई नेताबीच लामो अन्तरङ्ग कुराकानीपछि विश्वासको वातावरण बन्दै गएको थियो । पुटिनको भ्रमणका बेला त प्रतिरक्षा र सहकार्य सम्झौतामै हस्ताक्षर भयो । त्यसपछि उत्तर कोरियाले क्रुस्कमा उत्तर कोरियाली सेनाको टुकडी पठायो ।

उत्तर कोरियाले रुसलाई अहिलेसम्म २० हजार कन्टेनरबाट हतियार र सैन्य सामग्री आपूर्ति गरिसकेको छ । रूससँग यस्तो सम्झौता हुनुअघि उत्तर कोरियाली हतियार उत्पादन कारखानाले बजार अभावको कारण संचालन क्षमता र उत्पादन कटौती गर्नु परेको थियो । अहिले ति पूर्ण क्षमतामा संचालित छन् भनिन्छ । उत्तर कोरियाले विशेषतः ड्रोन र मिसाइलको उत्पादन बढाएको छ ।

जुनको सहमतियता उत्तर कोरियाले हतियार बिक्री वापत ५.५ बिलियन डलर, सेना तैनाथी वापत ५७२ मिलियन डलर र अनुदानबापत ३३० मिलियन डलर रूसबाट प्राप्त गरिसकेको छ ।

अर्कोतिर युक्रेन युद्ध उत्तर कोरियाली सेनाका लागि प्रत्यक्ष युद्ध अभ्यास र अनुभवको अवसर पनि हो । उत्तर कोरियाले आफ्ना पछिल्ला क्षेप्यास्त्र केएन–२३ र केएन–२४ पहिलोपटक युद्धमै परीक्षण गर्ने अवसर पाएको छ । यसले दक्षिण कोरियालगायत उत्तर कोरियाका शत्रु राष्ट्र दबाबमा पर्ने छन् ।

उत्तर कोरियामा कम्युनिष्ट पार्टी र जुछेँ विचारधाराका नाममा तीन पुस्तादेखि ‘किम परिवार’ले शासन गरिरहेको छ । सत्तारुढ कोरियाली श्रमिक पार्टी सन् १९४८ मा स्थापना भएको थियो । उत्तर कोरियाका संस्थापक नेता किम इल–सुङ थिए । उनी १९९४ सम्म ४६ वर्ष सत्तामा रहे । उनका छोरा किम जोङ–इल सन् १९९४ देखि सन् २०११ सम्म १७ वर्ष सत्तामा रहे । सन् २०११ यता नाती किम जोङ–उनको शासन चलिरहेको छ ।

युक्रेन युद्धमा उत्तर कोरियाको संलग्नताले किम जोङ–उनको शासनको औचित्य र वैधतालाई पुनर्स्थापित गर्न समेत मद्धत गर्दछ । देशको सेना युद्धमा संलग्न भएको बेला आन्तरिक राजनीतिक असन्तुष्टि शिथिल हुन सक्ने छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register