रवि लामिछाने प्रकरणबाट ‘नयाँ हौँ’ भन्नेले के पाठ सिक्ने ?

पुरानो खेलमा पुरानै राजनीतिक दल र नेता पोख्त हुन्छन् । नयाँ र वैकल्पिकले पुरानो खेल कसरी जित्छन् ? नेपालको राजनीतिक मैदानमा ‘नयाँ हौँ’ र ‘नयाँ गर्छौँ’ भन्नेले बुझ्न नसकेको कुरा नै यही हो । ती नयाँ खेल खेल्न र पुरानालाई जित्न चाहन्छन् तर पुरानै तरिकाले, जो सम्भव नै छैन ।

Dec 24, 2024 - 08:02
 0
रवि लामिछाने प्रकरणबाट ‘नयाँ हौँ’ भन्नेले के पाठ सिक्ने ?

गोर्खा मिडिया नेटवर्क प्रालिसँग सम्बन्धित कुख्यात सहकारी ठगी प्रकरण अब छानबिन समाप्त भई अभियोजन तथा न्यायिक निरूपणको चरणमा प्रवेश गरेको छ । यो घटनाको कानूनी भार तथा न्यायिक प्रक्रियाबारे पङ्क्तिकारलाई केही भन्नु छैन । अब जे गर्ला अदालतले गर्ला, अदालतले जे फैसला गर्ला त्यही मान्य र नजिर स्थापित होला । तर, राजनीतिक रुपमा भने यो प्रकरणको चर्चा भइ नै रहने छ ।

रवि लामिछाने समर्थक रास्वपा पङ्क्तिले सायद सधैँ ‘राजनीतिक प्रतिशोध’ नै भन्ला वा कुनै दिन भन्दाभन्दै थाकेर यो प्रकरण नै बिर्सन चाहला । काङ्ग्रेस–एमाले लगायत शासक पार्टी, व्यक्ति र वृत्तले ‘कानूनी शासनमा कर्मको फल सबैले भोग्नै पर्छ’ भन्दै प्रकरणको प्रतिरक्षा गर्लान् । आफूले ठीक र जायज काम गरेको बयानबाजी आगामी चुनावसम्म कायम राख्लान् । आगामी चुनावमा काङ्ग्रेस-एमाले गठबन्धन सरकारले सुशासनका लागि गरेको योगदानका रुपमा यो प्रकरणको चर्चा होला ।

तेस्रो साखुल्ले र अवसरवादी दृष्टिकोण बोक्ने समूह पनि देखिएको छ । त्यसले ‘रविमाथि राज्यले अलिक धेरै नै ज्यादती गर्यो’ भन्दै रवि र रास्वपा समर्थक भावनाको राजनीतिक दोहन र उपयोग गर्न खोज्ने छ । यो तप्काले ‘रवि निर्दोष छन्’ र ‘कारबाही हुनु हुँदैन’ पनि भन्न सक्ने छैन । छानबिन र अभियोजनको अहिलेको प्रक्रियाबारे चित्त बुझाउन पनि सक्ने छैन । यसले अन्योलपूर्ण र द्विअर्थी कुरा गरेर भोटको राजनीति गर्न खोज्ने छ ।

 गत आम निर्वाचनमा रास्वपाले करिब ११ प्रतिशत मत पाएको थियो, जो देशको चुनावी समीकरण र गणितीय दृष्टिले उल्लेखनीय हो । रविप्रति सहानुभूति देखाएजस्तो गरेर रास्वपा समर्थकलाई आफूतिर तान्नु र आगामी चुनावमा त्यसलाई भोटको बाकसमा बदल्न प्रयास गर्नु यो पक्षको राजनीतिक अभिष्ट हो ।

यी तीनका अतिरिक्त यस प्रकरणबारे समाजमा चौथो दृष्टिकोण पनि छ । त्यो हो–विधिको शासनको निष्पक्ष पालनाको चाहना । यो दृष्टिकोणबाट हेर्दा न रविप्रति अन्धभक्ति देखाउन, उनको निजी नैतिक सङ्कट र व्यक्तिगत आर्थिक मामिलाको राजनीतिक प्रतिरक्षा गर्न जरूरी छ, न उनीप्रति राजनीतिक प्रतिशोध साँध्नु उचित हो न उनको मानवीय स्थितिको भावनात्मक दोहन गरेर राजनीतिक उपयोग गर्न खोज्नु कुनै राम्रो काम हो ।

विधिको शासन अनुसार जति हुनु पर्ने हो त्यति हुनु पर्दछ न धेर न कम । र, सहकारी ठगीको कारबाही रविमाथि मात्रै हैन, जो कोहीमाथि हुनु पर्दछ, चाहे ती सत्तारुढ दलका नेता नै किन नहुन्

खासमा रवि लामिछानेको मुद्दा गोर्खा मिडिया नेटवर्क प्रालिको १५% संस्थापक सेयर विवादसँग जोडिएको थियो । विभिन्न सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा आएको कुल रकमको १५ प्रतिशतमा उनी जिम्मेवार हुन्थे र त्यसबापतको बिगो वा दण्ड उनले भोग्न पर्ने हुन्थ्यो । तर, सरकारले सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको मामिलालाई समेत जोडेको छ । यो कति निष्पक्ष छ, जनमत त्यति प्रष्ट छैन ।

खासमा रवि लामिछानेको मुद्दा गोर्खा मिडिया नेटवर्क प्रालिको १५% संस्थापक सेयर विवादसँग जोडिएको थियो । विभिन्न सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा आएको कुल रकमको १५ प्रतिशतमा उनी जिम्मेवार हुन्थे र त्यसबापतको बिगो वा दण्ड उनले भोग्न पर्ने हुन्थ्यो । तर, सरकारले सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको मामिलालाई समेत जोडेको छ । यो कति निष्पक्ष छ, जनमत त्यति प्रष्ट छैन ।

रविमाथि जुन प्रकारले छानबिन भयो वा मुद्दा थपिदै गयो, यो देशका सबै भ्रष्ट, ठग आरोपीमाथि ठीक यही प्रकारको छानबिन किन नहुने ? यो प्रश्न त उठ्छ नै । विधिको शासनमा सबै बराबर हुनु पर्दछ, चाहे ती भ्रष्टाचार, ठगी र वित्तीय अनुशासनहीनताका आरोपी नै किन नहुन् । यो देशमा रवि लामिछानेले भन्दा १०० गुणा बढी ठगी, भ्रष्टाचार र आर्थिक अनियमितता गर्नेको ठूलो पङ्क्ति शासनकै वरिपरि छ । तिनले अहिलेसम्म उन्मुक्ति किन पाइरहेका छन् ? रविकै जस्तो गरी सम्पत्ति शुद्धिकरण ऐनको प्रावधान ती सबैमाथि किन लागू भइरहेको छैन ?

लामिछाने प्रकरणलाई बुझ्ने उपरोक्त ४ दृष्टिकोणको भिन्नताका बाबजुद यसको राजनीतिक पक्ष भने धेरैवटा पाठ सिक्नु पर्ने खालको छ ।

गत आम निर्वाचनमा रास्वपाको उदय हुँदा त्यसमा लागेका वा नलागेका, भोट हाल्ने वा नहाल्ने यहाँसम्मकी अन्य पार्टीमा भएका मानिसको समेत त्यसप्रति एकप्रकारको सहानुभूति आकर्षण र लगाव थियो । तर, त्यस्तो आकर्षण पार्टी र त्यसका मूल नेता लामिछानेले एकपछि अर्को गर्दै आफैँले समाप्त गर्दै गए ।

रास्वपाले यसबीच छोटो अवधिमै ५ वटा ठूला राजनीतिक गल्ती गरेको थियो । यसबारे धेरै चर्चा र टिप्पणी भइसकेको छ । तथापि, स्मरणका लागि यहाँ दोहोर्‍याउन चाहन्छु । सम्भवत यी गल्ती नगरेको भए पार्टीमाथि अहिले यति ठूलो अस्तित्व सङ्कटको स्थिति नआउन सक्दथ्यो

एक–‘नो नट एगेन’ भनेर भोट पाएको पार्टी चुनाव सकिने बित्तिकै पुरानैसँगको सत्ता साझेदारीका लागि तिनका घरघर मन्त्री पदको भिख माग्दै कटौरा थापेर हिँड्नु सरासर राजनीतिक बेइमानी थियो । त्यो मतदाताको अपमान र निर्वाचनको जनादेशविरुद्ध समेत थियो । तै, पहिलो पटक नयाँको अज्ञानता वा अनुभवहीनता हुन सक्ने भन्दै मतदाताले क्षमा गर्दिएका थिए ।

दोस्रोपटकको सत्तारोहणपछि मान्छेले यो पार्टीप्रति रुचि देखाउन छोडे । ‘यो पनि उस्तै हो, काम छैन’ भन्ने पर्न थाल्यो । रास्वपाका दुवै पटकका सत्तारोहण स्वार्थ–बझानयुक्त र अनैतिक थिए ।

दुई– स्वार्थ–बझान हुने गरी गृह मन्त्रालय लिइसकेपछि कि आफ्नै कार्यकालमा सहकारी ठगी प्रकरणलाई कुनै निकास दिन सक्नु पर्ने हुन्थ्यो । लामिछानेले जीबी राईलाई पक्राउ गर्न सक्ने सूचना र क्षमता आफूसँग रहेको भनेर सत्ताबाहिर हुँदा ध्वाँस पिट्ने गरेका थिए । जीबी राईलाई साँच्चै पक्रिएर बकाउन सकेको भए घटनाले अर्कै रूप लिन्थ्यो । तर, त्यो सत्य थिएन । लामिछानेले आफ्ना कमजोरी ढाकछोप गर्न मात्र गृह मन्त्रालयलाई प्रयोग गर्न खोजिरहेका थिए, जो झन् खतरनाक कुरा थियो ।

तीन– सञ्चार माध्यमप्रति निर्माण गर्न खोजेको ‘१२ भाइ को भाष्य’, लामिछाने समर्थकको मिडियाप्रतिको आम घृणा र कैलाश सिरोहिया प्रकरण बिल्कुल नाजायज थियो । सञ्चार माध्यमका कुनै गल्ती नै छैनन्, सबै राम्रा छन्, यो दूधले धोएको पवित्र छ भन्ने हैन, तर लोकतान्त्रिक राज्यका शासकले सञ्चार माध्यमप्रति त्यसप्रकारको प्रतिशोधपूर्ण कारबाही र भ्रमपूर्ण भाष्य स्थापित गर्नु राजनीतिक रुपमा गलत काम, अझ आत्मघाती कदम हुन्छ । राजनीतिक दल र नेताका लागि यस्ता काम सर्वथा प्रत्युत्पादक हुन्छन् ।

सिरोहियामाथि अन्य कुनै घटना वा मुद्दामा कारबाही भएको भए सायद त्यति ठूलो नकारात्मक प्रभाव पर्ने थिएन होला । तर, सहकारी ठगी सम्बन्धि समाचार लेखेको आधारमा ५० वर्षअघिको नागरिकता छानबिन आफैँमा दूराग्रहपूर्ण थियो ।

चार–व्यक्तिका निजी सङ्कट र पार्टीका संस्थागत प्रक्रियाबीच राजनीतिक भेद गर्न रास्वपाले सकेन । गोर्खा मिडिया नेटवर्क प्रालि र रास्वपा पार्टीबीच कुनै संस्थागत सम्बन्ध थिएन । त्यो रास्वपा बन्नुभन्दा अगाडिको घटना थियो । तसर्थ, व्यक्तिका रुपमा रवि लामिछाने यसमा जोडिन्थे तर, रास्वपा भन्ने पार्टी जोडिन जरुरी थिएन । विवाद उठ्नेबित्तिकै सभापति लामिछानेले राजीनामा गरेर अर्को नेता छानेर पार्टी अघि बढेको भए टन्टै साफ हुन्थ्यो ।

कानूनी प्रक्रिया र सफाइपछि उनी पुनश्च: पदमा फर्किन सक्थे । रास्वपाले लोकतान्त्रिक संस्कृति र विश्व प्रचलनको यति सामान्य राजनीतिक समझसम्म राखेन । यहाँनेर पनि यो नयाँ पार्टीको कुनै नयाँ र उन्नत लोकतान्त्रिक संस्कृति देखिएन ।

पाँच– नयाँ नेता छानेर पार्टी अघि बढ्नु र लामिछाने प्रकरणलाई न्यायिक निरुपण हुन दिनुको साटो पार्टी भीडतन्त्र प्रवर्द्धन गर्नतिर गयो । लामिछानेको गिरफ्तारीपछि सडकमा भएका प्रदर्शन भीडतन्त्रका भद्दा दृष्य थिए, जसले जुनकुनै विधिको शासनमा विश्वास गर्ने लोकतन्त्रवादीको मन दुखाउँथ्यो । अझ ‘लामिछाने आजीवन यो पार्टीका अध्यक्ष रहने छन्’ जस्ता घोषणाले त यसको छवि र राजनीतिक आकर्षणलाई ह्वात्तै समाप्त पार्यो ।

मानौँ कि यी पाँच गल्ती रास्वपाले नगरेको भएको के हुन्थ्यो ? घटनाक्रम अहिलेको भन्दा केही न केही फरक र सहज हुन्थ्यो ।

यो रास्वपाको विवेक र छनोटको विषय हो । यो धर्तीमा कोही कसैका कुरा सुन्न, मान्न बाध्य छैन । यस्ता कुरा उनीहरूलाई अनावश्यक अर्ति उपदेशजस्तो लाग्लान्, भन्नु पनि बेकार छ । यो विश्लेषण रास्वपाका मित्रहरूलाई सुझाव, अर्ति उपदेश प्रयोजनका लागि हैन, नेपालमा ‘नयाँ हौँ’ भन्नेले सिक्न पर्ने पाठका लागि हो । आम राजनीतिक शिक्षाका लागि हो ।

खैर, यो रास्वपाको विवेक र छनोटको विषय हो । यो धर्तीमा कोही कसैका कुरा सुन्न, मान्न बाध्य छैन । यस्ता कुरा उनीहरूलाई अनावश्यक अर्ति उपदेशजस्तो लाग्लान्, भन्नु पनि बेकार छ । यो विश्लेषण रास्वपाका मित्रहरूलाई सुझाव, अर्ति उपदेश प्रयोजनका लागि हैन, नेपालमा ‘नयाँ हौँ’ भन्नेले सिक्न पर्ने पाठका लागि हो । आम राजनीतिक शिक्षाका लागि हो ।

राजनीतिक सङ्घर्षमा तपाईंले निहुँ, कमजोरी र ठाउँ दिनु हुन्छ भने विरोधी र सत्ता पक्षले तपाईंलाई हान्छ, हान्छ त्यसमा के आश्चर्य छ ? नयाँ दलको उदय र वैकल्पिक तथा स्वतन्त्र राजनीतिको बढ्दो लहरले पुराना दल र नेताहरू त्यसै पनि अस्तित्व सङ्कटको अनुभूतिले चिन्तित थिए, अहिले पनि छन् । यसलाई कसरी रोक्ने भन्ने विषयमा उनीहरूको केही न केही रणनीति हुन्छ नै ।

उनीहरूलाई नयाँ, वैकल्पिक र स्वतन्त्र जनमतको प्रतिनिधित्व गर्नेहरूलाई तर्साउन, कमजोर पार्न र दमन गर्न कुनै न कुनै निहुँ त चाहिएकै थियो । प्रश्न यो हैन कि तिनीहरूले दमन गरे, प्रतिशोध साँधे, प्रश्न यो हो कि तपाईंले त्यस्का लागि ठाउँ दिनु भो ।

गत जेष्ठ ३० गतेको कुरा हो । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाले आफूलाई ‘नयाँ शक्ति’ भन्न र २०७३ जेष्ठको नयाँ शक्ति पार्टी स्थापनाको रङ्गशालाको इतिहास जोड्दै स्थापना दिवस मनाउन थालेको रहेछ । मलाई पनि त्यो कार्यक्रममा शुभकामना दिन आमन्त्रण थियो ।

कार्यक्रममा रास्वपा सभापति रवि लामिछाने पनि थिए । उनी उपप्रधानमन्त्री तथा गृहमन्त्री पदमा नै थिए । आफ्नो छोटो प्रतिक्रियामा मैले ‘तपाईंहरू जुन बाटो हिँड्दै हुनुहुन्छ त्यो बिल्कुलै गलत छ, यसले नयाँ र वैकल्पिकहरूलाई थप बदनाम गर्छ, सङ्कटमा पार्छ’ भन्न चाहेँ, भाषा, शब्द फरक थियो होला, अर्थ त्यही लाग्ने गरी भनेँ । आफ्नो भाषणमा उनले मेरा जस्ता प्रतिक्रियालाई ‘आफू र आफ्नो पार्टीले छोटो समयमा गरेको राजनीतिक प्रगतिप्रति ईर्ष्याको कारण’ आएको उत्तर दिन खोजेका थिए ।

उनलाई लागेको थियो कि देशको राजनीतिमा धेरै ठूलो प्रगति गरिसकेँ, तर त्यस्ता अस्वाभाविक र द्रुत प्रगतिको जोखिम पक्षलाई उनी बुझ्न चाहिरहेका थिएनन् । रास्वपाजस्ता पार्टीलाई पुराना दलले सकेसम्म उपयोग गर्दछन्, मुसोजस्तो खेलाउँछन् र अन्ततः थाङ्नोजस्तो बनाएर चुट्न थाल्छन् भन्ने नबुझिने कुरा थिएन । त्यति पनि नबुझ्नेले ठूला कुरा गर्नु बेकार थियो ।

यो सत्य हो कि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रारम्भमा रास्वपा र रवि लामिछानेको बचाउ गर्न खोजेकै हुन् । ओलीकै समर्थन र जोडबलमा रविलाई तत्कालीन प्रधानमन्त्री प्रचण्ड सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री दिन राजी भएका थिए । रास्वपाप्रति प्रचण्ड र काङ्ग्रेसको रवैया प्रारम्भदेखि नै संदिग्ध थियो । तर, ओली र एमालेले रास्वपालाई आफ्नो ‘जुनियर पार्टनर’ बनाउन खोजेकै हो ।

यहाँनेर ओली, प्रचण्ड र देउवाभन्दा बढी चलाख देखिएका थिए । ओलीले रास्वपा र लामिछानेको मायाले त्यसो गरिरहेका थिएनन् । उनी रास्वपामाथि दमन गर्नु अघि उपयोग गरेर त्यसलाई थाङ्ग्रो सावित गर्न चाहन्थे । नभन्दै भयो त्यस्तै । दुईपटकको अस्वाभाविक सत्तारोहणपछि रास्वपा थाङ्ने भयो । त्यसपछि सबै पुराना दल मिलेर त्यसलाई बेस्सरी चुट्न थाले ।

हामी जस्ता मान्छेको मनसाय पुराना दल र नेताले यस्तो अवसर पाउनु अघि नै कथित नयाँ र वैकल्पिकहरू सच्चिउन भन्ने थियो जसलाई लामिछानेले ‘उनको प्रगतिप्रतिको ईर्ष्या’ ठाने ।

नेपालमा नयाँ र वैकल्पिक राजनीतिको यात्रा बढो कष्टकर र जोखिमपूर्ण छ । तसर्थ यसमा फुकीफुकी कलापूर्ण कदम चाल्न जरुरी हुन्छ । पुराना दलको राजनीतिक अनुभवले यसमा काम गर्दैन । यो खेल नै भिन्नै हो । पुरानो राजनीतिका नियमबाट यो खेल्न सकिँदैन ।

पुरानो खेलमा पुरानै राजनीतिक दल र नेता पोख्त हुन्छन् । नयाँ र वैकल्पिकले पुरानो खेल कसरी जित्छन् ? त्यो सम्भव नै छैन । यदि जित्ने हो भने पुराना दल र नेताहरूलाई उनीहरूको ज्ञान र अनुभव कम भएको वा नभएको नयाँ खेल र मैदानमा तान्नु पर्दछ । नयाँ नियममा घिसार्न सक्नु पर्दछ । अनि मात्र त्यो सम्भव हुन्छ ।

नेपालको राजनीतिक मैदानमा ‘नयाँ हौँ’ र ‘नयाँ गर्छौँ’ भन्नेले बुझ्न नसकेको कुरा नै यही हो । ती नयाँ खेल खेल्न र पुरानालाई जित्न चाहन्छन् तर पुरानै तरिकाले, जो सम्भव नै छैन । नयाँ शक्ति र डा.बाबुराम भट्टराईदेखि रवि लामिछाने र रास्वपासम्म दोहोरिएको दूर्भाग्य त्यही हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register