रविलाई बयानका लागि अदालत उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगीलगायत आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि आज (बिहीबार) कास्की जिल्ला अदालत उपस्थित गराइएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोप लागेका उनको बयान आज लिन लागिएको अदालत स्रोतले जनाएको छ । यसअघि आइतबार पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर […]

Dec 26, 2024 - 06:41
 0
रविलाई बयानका लागि अदालत उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगीलगायत आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि आज (बिहीबार) कास्की जिल्ला अदालत उपस्थित गराइएको छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोप लागेका उनको बयान आज लिन लागिएको अदालत स्रोतले जनाएको छ ।

यसअघि आइतबार पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेकाको अदालतमा बयान चलिरहेको छ । यसअघि पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको थियो । मंगलबारदेखि लीला पछाईंको बयान जारी छ । पछाईको बयान सकेर लामिछानेको बयान सुरू गर्ने अदालतको तयारी छ ।

लामिछानेको बयान यसअघि बुधबार नै लिने तयार थियो । तर अन्यको नसकिएपछि उनको पछि सरेको हो ।

लामिछानेको मुद्दा जिल्ला न्यायाधीश नीतिज राईको इजालसमा छ । बयान सकिएपछि लामिछानेको थुनछेक बहस हुनेछ ।

लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता गरिएको छ । ७४ करोड ३४ लाख ७१ हजार रुपैयाँ बढी बिगो दाबी गरी पूर्वडीआईजी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर गरिएको हो । प्रतिवादी रामबहादुर खनालसँग १४ करोड ३० लाख ९१ हजार नौ सय ११ र पछाईंसँग २४ करोड ६७ लाख सात हजार २४ रुपैयाँ बिगो दाबी गरिएको छ ।

सहकारी ठगीतर्फ लामिछानेलाई तीन करोड ३७ लाख ६५ हजार र जोशीविरुद्ध पाँच करोड २६ लाख ६५ हजार र दीपेश पुनसँग दुई करोड १४ लाख आठ हजार आठ सय ४३ रुपैयाँ बिगो माग गरिएको छ । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

सहकारी ठगीको मुद्दा दर्ता भएसँगै लामिछानेको सांसद पद निलम्बित भएको छ ।

सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । उनीमाथि कास्कीसहित अन्य जिल्लामाकसमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जीबी राईलगायत अन्य आरोपी भने अझै पनि फरार छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register