चीनको ‘कृत्रिम सूर्य’ परियोजनाले पायो नयाँ सफलता

चीनको यो परियोजनालाई सामान्यतः ‘कृत्रिम सूर्य’ बनाउने योजना भन्ने गरिएको छ । यो प्रयत्न सफल हुँदा सौर्य प्रणाली बाहिरबाटै अनन्त हरित तथा स्वच्छ उर्जा स्रोत प्राप्त हुने छ ।

Jan 24, 2025 - 07:13
 0
चीनको ‘कृत्रिम सूर्य’ परियोजनाले पायो नयाँ सफलता

काठमाडौं । चिनियाँ वैज्ञानिकले यो हप्ता ‘कृत्रिम सूर्य’ परियोजनामा उल्लेखनीय सफलता हासिल गरेका छन् ।

सिन्ह्वाका अनुसार चीनको अनहुई प्रदेशको हेफेई केन्द्रमा जनवरी २०, २०२५, सोमबार यस्तो परीक्षण गरिएको हो ।

सोमबारको परीक्षणले ‘फ्युजन पावर जेनेरेसन’लाई १०६६ सेकेन्ड दिगो उचाइमा पुर्‍याएको द एक्सपेरिमेन्टल एडभान्स सुपरकन्डक्टिङ टोकामक (इष्ट) को दाबी छ । 

१००० सेकेन्डको प्लाज्मा प्रवाह परीक्षणको लक्ष्य भएपनि कृत्रिम सूर्यले १०६६ सेकेन्ड प्रवाह गरेको थियो । उनीहरूले यसअघिको आफ्नै ४०३ सेकेन्डको रेकर्ड ब्रेक गरेका हुन् ।

‘इष्ट’ चाइनिज एकेडमी अफ साइन्स अफ प्लाज्मा फिजिक्स (सिएएसआईपीपी) को प्रभाग हो । यसले ‘म्यागनेटिक फ्युजन् इनर्जी’ को अनुसन्धान गर्दै आएको छ ।

‘इष्ट’ ले सन् २००६ बाट यस सम्बन्धी अध्ययन अनुसन्धान सुरु गरेको थियो । सन् २०२३ मा ४०३ सेकेन्डको परीक्षण गरिएको थियो । त्यसको तुलनामा यसपटकको परीक्षण करिब ३ गुणा ठूलो हो ।

चीनको यो परियोजनालाई सामान्यतः ‘कृत्रिम सूर्य’ बनाउने योजना भन्ने गरिएको छ । यो प्रयत्न सफल हुँदा सौर्य प्रणाली बाहिरबाटै अनन्त हरित तथा स्वच्छ उर्जा स्रोत प्राप्त हुने छ ।

सोमबारको परीक्षणमा कृत्रिम सूर्यले १० करोड डिग्री सेल्सियस तापक्रम उत्पादन गरेको थियो । सूर्य केन्द्रको तापक्रम क्षमता १ करोड ५० लाख डिग्री सेल्सियस मानिन्छ । यसका आधारमा परीक्षण गरिएको कृत्रिम सूर्यको तापक्रम झण्डै ६ गुणा बढी हो । 

वैज्ञानिकहरूले यस क्षेत्रमा विगत ७० वर्षदेखि अध्ययन अनुसन्धान गर्दै आएका थिए । तर, यो स्तरको सफलता पहिलोपटक प्राप्त भएको हो ।

सीएएसआइपीपीका निर्देशक सोङ यून ताओका अनुसार, ‘कृत्रिम सूर्यले यति दिगो समय यति धेरै प्लाज्मा प्रवाह गर्नु आफैँमा ठूलो उपलब्धि हो । यसले ‘फ्युजन् रियाक्टर’ विकासमा उल्लेखनीय योगदान गर्ने छ ।’

‘इष्ट’ प्रभाग प्रमुख गोङ सियान यु भन्छन्, ‘यो क्षमतास्तरले हरित तथा स्वच्छ उर्जा विकास दोब्बरले बढाउन सक्छ ।’

चीन अन्तर्राष्ट्रिय थर्मोन्युक्लियर एक्सिरिमेन्टल रियाक्टर (आईटिइआर) कार्यक्रमको सातौँ सदस्य राष्ट्र हो । ७ आणविक उर्जा शक्ति राष्ट्रले सन् २००६ मा यस्तो सम्झौता गरेका थिए । आईटिइआरको सबैभन्दा ठूलो परीक्षण केन्द्र दक्षिणी फ्रान्समा निर्माणाधीन छ ।

चुम्बकीय शक्तिलाई प्लाज्मा प्रवाहमा रूपान्तरण गर्ने यन्त्रलाई ‘टोकामक’ भनिन्छ । रुसी वैज्ञानिक ओलेग लेभेरेन्टिभले सन् १९५० को एक कार्यपत्रमा यस सम्बन्धी अवधारणा अघि सारेका थिए । चर्चित रुसी वैज्ञानिक आन्द्रेई साखारोभले यसको सैद्धान्तिक अवधारणा परिमार्जन गरेका थिए ।

सन् १९५४ मा रुसी वैज्ञानिकहरूले पहिलोपटक ‘टोकामक’ बनाएका थिए ।

चीनका अतिरिक्त रुस, अमेरिका, भारत, दक्षिण कोरिया, जापान र युरोपेली सङ्घको युरोपियन एटोमिक इनर्जी कम्युनिटी ‘आईटिइआर’ का सदस्य छन् । यो परियोजनाको मुख्य उद्देश्य भविष्यका लागि दिगो स्वच्छ उर्जा स्रोतको खोजी गर्नु हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register