रवि फेरी पक्राउ पर्लान् ? कसरी बढ्नेछ अबको प्रक्रिया ?
यदि जिल्ला अदालत काठमाडौंले पनि धरौटी माग गरेर छाड्ने आदेश दियो भने उनलाई फेरि रूपन्देही, चितवन र पर्सामध्ये एक जिल्ला लैजाने सम्भावना छ । जहाँ उनीविरुद्ध अनुसन्धान भइरहेको छ ।

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा रिहा भएका रवि लामिछाने काठमाडौं आउँदैछन् ।
उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि सहकारी ठगीलगायतका मुद्दामा अभियोगपत्र दायर भएको छ । यस्तै, रूपन्देही प्रहरीले सहकारी ठगीमा अनुसन्धान गरेर अभियोगपत्र जिल्ला सरकारी वकिललाई पठाएको छ । जिल्ला अदालत रूपन्देहीमा अभियोगपत्र दर्ता गर्ने तयारी भइरहेको छ ।
चितवन र पर्सामा पनि लामिछानेलगायतविरुद्ध सहकारी ठगीमा अनुसन्धान भइरहेको छ । यस्तो अवस्थामा अब लामिछानेविरुद्ध प्रक्रिया कसरी अघि बढ्छ भन्ने चासोको विषय बनेको छ ।
लामिछाने जहाजबाट आज दिउँसो काठमाडौं आउने तयारी छ । रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाकाअनुसार बिहानै काठमाडौं आउने तयारी भएपनि टिकट नपाउँदा ढिलो भएको छ ।
लामिछाने दिउँसो काठमाडौं उत्रिए सकेसम्म आजै जिल्ला अदालत काठमाडौंमा उपस्थित हुने तयारी छ । आज उपस्थित हुन नसकेको अवस्थामा भोलि सार्वजनिक बिदा भएकोले आइतबार मात्रै उनी अदालतमा हाजिर हुनेछन् ।
अदालतमा हाजिर भएलगत्तै उनको बयान लिइनेछ । त्यसपछि पोखरामा भएको प्रक्रियाअनुसार सरकारी पक्ष र लामिछाने पक्षका वकिलको थुनछेक बहस हुनेछ । दुवै पक्षको बहस सुनिसकेपछि अदालतले थुनामुक्त गर्ने वा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्नेछ ।
यदि जिल्ला अदालत काठमाडौंले पनि धरौटी माग गरेर छाड्ने आदेश दियो भने उनलाई फेरि रूपन्देही, चितवन र पर्सामध्ये एक जिल्ला लैजाने सम्भावना छ । जहाँ उनीविरुद्ध अनुसन्धान भइरहेको छ ।
तर, अहिलेसम्म चितवन, रूपन्देही र पर्सा प्रहरीले लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएका भने छैनन् ।
नेपाल प्रहरीका एक उच्च अधिकारीकाअनुसार जिल्ला अदालत काठमाडौंबाट धरौटीमा छाड्ने आदेश आउँदा अन्य जिल्लामा मुद्दा दर्ता नभएको अवस्थामा प्रहरीले उनलाई भाग्नसक्ने कारण देखाएर फेरि हिरासतमा लिन सक्नेछ ।
तर, थुना बाहिर राखेर पनि अनुसन्धान गर्न सकिने व्यवस्थाका कारण प्रहरीले उनलाई पक्राउ नगर्न पनि सक्छ । त्यो अधिकार सम्बन्धित प्रहरीलाई नै हुनेछ । यदि मुद्दा दायर भएको छ भने पोखरा, काठमाडौंमा भएको जसरी प्रक्रिया अघि बढ्नेछ ।
प्रहरी स्रोतकाअनुसार आइतबार काठमाडौंमा बहस सुरु भए त्यसपछिको साता अर्को जिल्लामा अभियोगपत्र पेस गरेर त्यहाँ लामिछानेलाई लैजाने सम्भावना छ ।
यसरी एकपछि अर्को गर्दै चारवटै जिल्ला अदालतले धरौटी लिएर छाड्ने आदेश गरेमात्रै उनी थुनामुक्त हुनेछन् । यदि कुनै अदालतमा धरौटी रकम बुझाउन नसके वा कुनै एक अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्यो भने उनी हिरासतमा बस्नु पर्नेछ ।
यदी उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले थुनामा पठाउने आदेश दियो भने अन्य जिल्लामा पनि सम्बन्धित पक्षले अनुसन्धान अगाडि बढाउन सक्ने कानून व्यवसायी बताउँछन् ।
बिहीबार जिल्ला अदालत कास्कीले पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा ६५ लाख धरौटीमा लामिछानेलाई छाडेको थियो ।
What's Your Reaction?






