५ हजार करोडका मालिक शेफअली : पटौदीका ‘छोटे नवाब’देखि बलिउड अभिनेतासम्म

काठमाडौं । बलिउड अभिनेता शेफअली खानमाथि आफ्नै घरमा चक्कु प्रहार भएपछि मुम्बईको लीलावती अस्पतालमा उपचार भइरहेको छ । बिहीबार बिहानपख भएको यो घटनाको समयमा शेफबाहेक परिवारका अन्य सदस्यहरू पनि घरमै थिए, जो पूर्णरूपमा ठीक छन् । शेफको जीवन र करियरलाई आकार दिन उनको परिवारले महत्वपूर्ण भूमिका खेलेको छ । पटौदी परिवारमा जन्मेका शेफलाई जन्मदेखि नै […]

Jan 16, 2025 - 09:41
 0
५ हजार करोडका मालिक शेफअली : पटौदीका ‘छोटे नवाब’देखि बलिउड अभिनेतासम्म

काठमाडौं । बलिउड अभिनेता शेफअली खानमाथि आफ्नै घरमा चक्कु प्रहार भएपछि मुम्बईको लीलावती अस्पतालमा उपचार भइरहेको छ ।

बिहीबार बिहानपख भएको यो घटनाको समयमा शेफबाहेक परिवारका अन्य सदस्यहरू पनि घरमै थिए, जो पूर्णरूपमा ठीक छन् ।

शेफको जीवन र करियरलाई आकार दिन उनको परिवारले महत्वपूर्ण भूमिका खेलेको छ । पटौदी परिवारमा जन्मेका शेफलाई जन्मदेखि नै शाही शान र ग्लैमरले घेरेको छ ।

शेफकी आमा शर्मिला टैगोर एक चर्चित अभिनेत्री हुन् भने बुवा मन्सूर अली खान पटौदी स्टार क्रिकेटर थिए ।

शेफलाई बलिउडका ती अभिनेता र निर्माताहरूमा गनिन्छन्, जसले राजनीति, धर्म र व्यक्तिगत जीवनमा खुलेर आफ्नो विचार व्यक्त गर्छन् ।

बलिउडको ‘छोटे नवाब’

शेफका पिता मन्सूर अली खान एक प्रसिद्ध भारतीय क्रिकेटर हुन् भने पटौदी परिवारका पूर्वउत्तराधिकारी पनि । जहाँ आमा शर्मिला टैगोर एक चर्चित बलिउड अभिनेत्री हुन्, जो नोबेल पुरस्कार विजेता रवीन्द्रनाथ टैगोरसँग नाता पर्दछ ।

स्वतन्त्रतापछि पनि सन् १९७१ सम्म मन्सुरलाई ब्रिटिश युगको रियासत पटौदीको नवाबको उपाधि कायम राख्न अनुमति दिइएको थियो । यसपछि भारत सरकारले सबै रियासतहरू खारेज गरिदियो ।

यस परिवारको इतिहास २०० वर्षभन्दा पुरानो छ । गुरूग्रामबाट ३०-३५ किलोमिटर टाढा पटौदीमा बनेको सेतो दरबार पटौदी परिवारको प्रतीक हो ।

सन् २०११ मा मन्सूर अली खानको मृत्युपछि हरियाणाको पटौदी गाउँमा शेफलाई ताज पहिराइएको थियो र उनलाई १०औं नवाब बनाइएको थियो ।

शेफ अहिले पटौदी परिवारका ‘नवाब’ हुन् । यो औपचारिक उपाधि नभएपनि अहिले उनलाई बलिउडमा ‘छोटे नवाब’ भनिन्छ ।

आमाबाट बढी प्रभावित

सन् १९६० को दशकमा भारतीय क्रिकेट टोलीको नेतृत्व सम्हालेका मन्सुर पटौदीले भारतका लागि ४७ टेस्ट खेलेका थिए, जसमध्ये ४० टेस्ट खेलमा भारतको कप्तानी गरेका थिए ।

२१ वर्षको उमेरमा उनलाई भारतीय टोलीको कप्तानी दिइएको थियो ।

उनका बुवा अर्थात् शेफअली खानका हजुरबुवा इफ्तिखार अली खान पटौदी स्वतन्त्र हुनुअघि भारतीय टेस्ट टोलीका सदस्य थिए ।

शेफका आफन्तहरूमा पाकिस्तानी सेनामा कार्यरत मेजर जनरल शेर अली खान पटौदी पनि पर्छन् । पाकिस्तान क्रिकेट बोर्डका पूर्व अध्यक्ष शहरयार खान पनि शेफअली खानको आफन्त हुन् ।

मंसूर अली खानले २७ डिसेम्बर १९६९ मा चर्चित बलिउड अभिनेत्री शर्मिला टैगोरसँग विवाह गरेका थिए ।

१६ अगस्ट १९७० मा जन्मेका शेफले आफ्नो बाल्यकाल क्रिकेट र फिल्मबीच बिताएका थिए  ।

हिमाचल प्रदेशको लरेन्स स्कुलबाट प्रारम्भिक शिक्षा हासिल गरेका शेफअली खानले इङ्ल्यान्डको विन्चेस्टर कलेजबाट पनि अध्ययन गरेका थिए ।

द ग्रेट इन्डियन कपिल शो-२ को एक एपिसोडमा शेफले एक महान् क्रिकेटरको छोरा भएपनि क्रिकेटलाई आफ्नो करियर नबनाउने कुरा खुलाएका थिए ।

कारण थियो उनकी आमा शर्मिला टैगोर, जसले आराधना, अमर प्रेमजस्ता धेरै बलिउड फिल्ममा काम गरेकी थिइन् ।

यस कार्यक्रममा शेफले भनेका थिए, “मलाई आमा शर्मिला टैगोरबाट अभिनयको जीन विरासतमा मिलेको छ ।”

यसअघि पनि शेफले आफ्नो बुवाजस्तै खेल्न नसक्ने महसुस गरेर क्रिकेटतिर नगएको बताएका थिए ।

फिल्मी करियरमा आरोह अवरोह

शेफअली खानको ३० वर्ष लामो फिल्मी करियर उतार–चढावले भरिएको छ ।

उनले सन् १९९३ मा फिल्म ‘परम्परा’मार्फत बलिउडमा भाग्य जमाएका थिए । तर, यो फिल्मले खास केही गर्न सकेन ।

शेफले धेरै फ्लप फिल्मको सामना गर्नुपरेको थियो । ‘आशिक आवारा’मा उनको अभिनयको तारिफ भयो र फिल्मफेयर अवार्ड पनि पाए ।

यससँगै अभिनेताका रूपमा शेफको क्षमतामाथि पनि प्रश्न उठेको छ ।

एक अन्तर्वार्तामा शेफलाई सोधिएको थियो कि उनका आमाबुवा दुवैले सानै उमेरमा सफलता पाए तर, सफलता हासिल गर्न तपाईंले धेरै सङ्घर्ष गर्नुपर्‍यो ?

यसबारे शेफले भनेका थिए, “मसँग यसको जवाफ छैन तर, मलाई लाग्छ कि हरेक व्यक्तिको बाटो फरक हुन्छ । कम्तिमा मलाई थाहा छ कि मैले सही काम रोजेको छु । मलाई काम गर्दा धेरै रमाइलो लाग्छ । म पाउँछु भन्ने आशामा छु, म अहिले धेरै खुशी छु ।”

९० को दशकमा उनी रोमान्टिक एक्सन हिरोको रूपमा चलचित्रमा देखा परे । सन् २००० पछि उनले कमेडी पनि गर्न सक्ने देखाए । सन् २००१ मा ‘दिल चाहता है’ मा उनले यो कुरालाई पूरै प्रमाणित गरे ।

यो फिल्म हिट भयो र त्यसपछि उनको करियरले फरक मोड लियो । सन् २००६ को फिल्म ओमकारामा शेफको अभिनयले उनलाई केही गम्भीर अभिनेताहरूको सूचीमा समावेश गर्‍यो कि उनी कमेडीका साथसाथै गम्भीर पात्रहरू पनि खेल्न सक्छन् ।

यसपछि उनले हमशकल्स र ह्याप्पी एन्डिङ्स जस्ता फिल्महरू गरे, जसका लागि उनले निकै आलोचनाको सामना गर्नुपरेको थियो ।

उनी केही समय फिल्मबाट टाढा रहे र त्यसपछि रंगुनबाट फिल्म क्षेत्रमा फर्किए । यो फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेन तर, शेफको तारिफ त भयो ।

र त्यसपछि सन् २०१८ मा शेफले सेक्रेड गेम्सको रूपमा वेब सिरिजमा डेब्यू गरे । पुलिस अफिसर सरताज सिंहको उनको चरित्रको धेरै प्रशंसा भयो ।

स्पष्टवक्ता शेफ

शेफअली खान खुलेर आफ्नो विचार व्यक्त गर्न चर्चित छन् । उनले आफू अध्यात्मतर्फ कसरी झुकेको बताए ।

जब शेफको फिल्म भूत पुलिस २०२१ मा रिलिज हुन लागेको थियो, उनले भनेका थिए – ”यो आध्यात्मिक हो तर धार्मिक होइन । धेरै धर्मले मलाई सताउँछ ।”

ईश्वर र भूतको बारेमा चर्चा गर्दै शेफले समाचार एजेन्सी पीटीआईलाई भनेका थिए, “वास्तविक जीवनमा म नास्तिक हुँ । म धर्मनिरपेक्ष हुँ किनभने धेरै धर्मले मलाई सताउँछ । किनभने यो जीवनभन्दा मृत्युलाई बढी महत्त्व दिन्छ ।”

“मलाई लाग्छ धेरै धर्म एउटा सङ्गठन जस्तै हो, जसमा मेरो वा तपाईंको राम्रो भगवान् कोसँग सम्बन्धित धेरै समस्या छन् ।”

शेफले भनेका थिए , “म प्रार्थना गर्छु र आफ्नो ऊर्जा मेरो काममा केन्द्रित गर्छु । म बढी आध्यात्मिक छु ।”

तर, उनको सन् २०२३ फिल्म आदिपुरूष र ओटीटी श्रृङ्खला ताण्डवमा उनको क्यारेक्टरहरू पनि विवादमा परे । शेफले आदिपुरूष फिल्ममा लंकेश (रावण) को भूमिका निभाएका थिए, जसलाई धेरैले मन पराएनन् ।

व्यक्तिगत जीवन

शेफअली खानले सन् १९९१ मा अभिनेत्री अमृता सिंहसँग विवाह गरेका थिए । अमृता उनीभन्दा १२ वर्ष जेठी थिइन्, त्यसैले यो विवाहको धेरै चर्चा भयो । तर, १३ वर्षपछि सन् २००४ मा दुवैको सम्बन्धविच्छेद भयो ।

सन् २०१२ मा शेफले बलिउड अभिनेत्री करिना कपूरसँग विवाह गरे ।

करीनाले सन् २०१६ मा आफ्नो पहिलो छोरा तैमुर अली खानलाई जन्म दिएकी थिइन् र नाम सार्वजनिक हुनेबित्तिकै विवादमा परिन् । नामको विरोध गर्नेहरूले यो विदेशी आक्रमणकारी शासकको नाम भनेका थिए ।

तर, यो विवादबारे शेफले भनेका थिए, “मलाई यो नाम मनपर्‍यो । मैले यस नामको ऐतिहासिक महत्वबारे धेरै सोचिनँ ।”

नेटवर्थ

उनीसँग कति सम्पत्ति छ ? उनी कति विलासी जीवन बिताउँछन् भन्ने विषयप्रति चासो बढेको छ ।

रिपोर्टकाअनुसार शेफको नेटवर्थ करिब ५ हजार करोड भारु रहेको छ । यसमा उनको फिल्म, ब्रान्ड एन्डोर्समेन्ट, सम्पत्ति र अन्य व्यवसायहरूबाट कमाइ समावेश छ । उनीसँग धेरै बंगला र घर पनि छन् ।

पटौदी प्यालेसको मूल्य करिब ८०० करोड भारु रहेको बताइएको छ । यसबाहेक उनको मुम्बईको बान्द्रामा दुईवटा अपार्टमेन्ट छन् ।

पहिले पटौदी प्यालेस नीमराना होटल्सलाई भाडामा दिइएको थियो तर, पछि शेफले ८०० करोड भारु तिरेर फिर्ता लिएका थिए । शेफ आफैँले एक अन्तर्वार्तामा यसको खुलासा गरेका थिए ।

अब शेफको बान्द्रा अपार्टमेन्टको कुरा गरौं, यो बान्द्राको सतगुरु शरण अपार्टमेन्टमा अवस्थित छ । यही ठाउँमा शेफ आफ्नी पत्नी करीना र छोराछोरीसँग बस्छन् । सोही अपार्टमेन्टमा शेफमाथि एक चोरले धारिलो चक्कुले प्रहार गरेका थिए । यो अपार्टमेन्ट चार तलाको छ, प्रत्येक तलामा एक शानदार हल र तीन शयनकक्षहरू छन् । यसमा बच्चाहरूको लागि नर्सरी र थिएटरको लागि ठाउँ पनि छ ।

शेफको बान्द्रामा अर्को अपार्टमेन्ट छ, जसको नाम फर्च्युन हाइट्स छ । करिनासँग बिहेपछि उनी यही अपार्टमेन्टमा बस्दै आएका थिए । यस अपार्टमेन्टमा ११ वर्ष बसेपछि शेफ र करिना सतगुरु शरण अपार्टमेन्टमा सरेका थिए । यस अपार्टमेन्टको मूल्य १०३ करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ । उनको फर्च्युन हाइट्स अपार्टमेन्टको मूल्य अहिले करिब ५० करोड रुपैयाँ छ । यसलाई उनले भाडामा दिएका छन् ।

शेफ र करीनाको स्विट्जरल्याण्डको गस्टाडमा पनि ३३ करोड भारुको लक्जरी घर छ । यसबाहेक शेफले सन् २०१८ मा कपडाको लाइन लन्च गरेका थिए, जसबाट उनले करोडौं कमाउँछन् ।

उनी इन्डियन स्ट्रिट प्रिमियर लिगमा खेल्ने टाइगर्स अफ कोलकाता टिमका मालिक पनि हुन् ।

शेफसँग धेरै लक्जरी कारहरू छन्, जसमा मर्सिडीज बेन्ज एस क्लास ३५०डी, ल्यान्ड रोभर डिफेन्डर ११० र एक अडी क्यू ७ समावेश छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register