निकुञ्जले बाटो छेक्यो, सिंहदरबार हेरेको हेरेई  

नवलपरासी।  मुलुकमा गणतन्त्र आयो, भनिन्छ सगसगै सिंहदरबार पनि गाउँगाउँमा आएको छ ।तर, नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँ पालिका ६ र ७ का स्थानीय जनतालाई भने यो भनाइले पटक्क काम गरेको छैन । स्थानीयलाई आफ्नै पालिका  कार्यालय पुग्न २० किमी छोटो बाटोको विकल्प हुँदा हुँदै दोब्बर दुरीका सडक पारको सास्ती खेपेर फरक जिल्ला र प्रदेश घुम्नुपर्ने […]

Jan 18, 2025 - 10:37
 0
निकुञ्जले बाटो छेक्यो, सिंहदरबार हेरेको हेरेई  

नवलपरासी। 

मुलुकमा गणतन्त्र आयो, भनिन्छ सगसगै सिंहदरबार पनि गाउँगाउँमा आएको छ ।तर, नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँ पालिका ६ र ७ का स्थानीय जनतालाई भने यो भनाइले पटक्क काम गरेको छैन ।

स्थानीयलाई आफ्नै पालिका  कार्यालय पुग्न २० किमी छोटो बाटोको विकल्प हुँदा हुँदै दोब्बर दुरीका सडक पारको सास्ती खेपेर फरक जिल्ला र प्रदेश घुम्नुपर्ने बाध्यता रहेको छ ।यो बाध्यताको कारण हो बाघ,गैँडा, गोही लयायतका वन्यजन्तु तथा जलचरको संरक्षण हेतु स्थापना भएको चितवन राष्ट्रिय निकुञ्ज त्रिवेणी बगुवन सडक सञ्चालनमा बाधक बनी रहनु ।

स्थानीय सिंहदरबारका प्रमुख घनश्याम गिरी भारतसँग सीमा जोडिएका आफ्नै पालिकाको २ ओटा वडा भेट्किने उक्त बाटो खुलाउन भरमग्दुर कोसिस गरिरहेको बताउँछन् ।पूर्व-पश्चिम राजमार्गको दुम्किबास स्थित ज्यामिरे चोकबाट बगुवन सम्म पालिका र प्रदेशको बजेटबाट पक्कि पहुँच  बनेको बताउँदै बाँकी सडक निर्माणमा निकुञ्ज बाधक बनी रहन नहुने गिरीको भनाई रहेको छ ।

अध्यक्ष गिरी भन्छन् सबै तिर भन्ने काम भएको छ, समय धेरै बितिसक्यो अब पनि पहुँच मार्ग खोल्न बाधा अड़चन आईरहे स्थानीयले टुलु टुलु हेरेर बस्न सक्दैनन् जनताले आफ्नो बाटो आफै खोल्छन् ।

त्यसै गरी  अर्को सिंहदरबार  गण्डकीका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले बगुवनसम्मको स्थलगत भ्रमण गर्दै त्रिवेणीको सभामा उत्तर कोरालादेखि दक्षिण त्रिवेणी सम्मको नाकालाई सडक संजालले जोड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

दुई दुई पटक मुख्यमन्त्री बनेका पाण्डे हुन् या खगराज अधिकारी पहिलेका पृथ्वी सुब्बा गुरूङ्ग र  कृष्णचन्द्र नेपाली समेतले प्रदेश सिंहदरबारको बागडोर लिएर पनि बघुवन त्रिवेणी सडक खोल्न हाल सम्म नसकेकै अवस्था छ ।

त्यसो त नेपाल सरकार भौतिक योजना तथा यातायात मन्त्रालय संघीय सिंहदरबारका बर्तमान मन्त्री देवेन्द्र दाहालले केही महिना अघि दुम्किबास,बघुवन र त्रिवेणी क्षेत्र घुमेर तत्काल सडक खोलिने भनी स्थानीय माझ दिएको आश्वासन यहाँ ताजै छ ।

स्थानीयहरू चुनावै पिच्छेका दलीय नारा र गाउँदेखि केन्द्र सम्मका सरकार प्रमुखबाट पटक पटक दिइने अधुरो आश्वासनले आजित भई सकेको त्रिवेणीका धनीराम चौधरी बताउँछन् ।

राज्य पुनर्संरचना भएको दशक पार भई सक्दा पनि गण्डकी प्रदेशको भारतसँग जोडिने एक मात्र बघुवन(त्रिवेणी मार्ग नखुल्दा स्थानीयले आँफुहरूलाई  लुम्बिनी प्रदेशमा गाभिदिए फरक नपर्ने भन्ने सम्मका कुरा खुलेरै व्यक्त गर्न थालेका छन् ।

विनयी त्रिवेणी १ का एक स्थानीय बघुवन त्रिवेणी जोडिने करिव ८ किलो मिटर जंगल खण्ड परापूर्व कालदेखि चलि आएको प्राचीन बाटो भएको र यो नारायणी नदीको किनारै किनार विगतमा सञ्चालनमा रहेको बताउँछन् ।

हरेक वर्षको माघे ओैंसीका अवसरमा ३ दिन सम्म त्रिवेणीमा ठूलो मेला लाग्ने र नेपाल भारतका लाखौं तीर्थ यात्रीले स्नान,दान गरी यहाँका मठमन्दिर दर्शन गर्दै बजार गर्ने पुरानै चलन हो ।

नारायणी,स्वर्ण भद्रा र पूर्णभद्रा नदीहरूको पावन संगम त्रिवेणीमा गजेन्द्र मोक्ष गजग्राह क्षेत्र,वाल्मीकि आश्रम,शिवपुर गढी लगायत २ दर्जन बढी धार्मिक एवं पर्यटकीय महत्वका ऐतिहाँसिक स्थलहरू रहेकाछन् ।

माघे ओैँसी तथा मकर स्नानका साथै नुन मट्टीतेल, बस्त्र किन्न होस या पहाडका उत्पादन सुन्तला,अमिलो,सखर पिँडालु बेच्न सदियौं देखि गोर्खा,तनहुँ, स्याङ्जा,पाल्पा र चितवन तथा नवलपुरबासीले बघुवन(त्रिवेणीको यही बाटो प्रयोग गर्ने गरेको मध्यविन्दु २ कोल्हुवाका चन्द्रमणि घिमिरेले बताए ।
नेपालका पहाडी जिल्लाबाट दैनिक घरायसी खर्चका लागि नुन तेल गर्न चितवनको चारकोसे जंगल पार गरेर सहपुर,ठोरी जस्ता सिमावर्ती बजार गए जस्तै पूर्वी पाल्पा र नवलपुर तर्फका अधिकांश मानिस यही तमासपुर, बघुवनको बाटो भएरै त्रिवेणी पुग्ने गर्दथे ।

२०३०को दशकसंगै चितवन र नवलपरासी पूर्व दक्षिण तराईको जंगललाई समेटेर चितवन राष्ट्रिय निकुञ्ज स्थापना भए पनि त्यही निकुञ्ज भीत्रको माडी ठोरी सडक भने निरन्तर सञ्चालनमा रही आएको छ ।

यता त्रिवेणी नाका पुग्ने बघुवनको प्राचिन बाटो छेकेर चितवन राष्ट्रिय निकुञ्जले विभिन्न बाहना बनाई बाधक बनी रहेको स्थानीयहरूको भनाई छ ।
यसै सम्बन्धमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा।गणेश पन्त बघुवन त्रिवेणी खण्डको केही भूभाग निकुञ्ज क्षेत्रमा पर्ने भएकोले आवश्यक प्रक्रिया पूरा गरेर बाटोको निकास खोल्दा निकुञ्ज बाधक नरहेको बताउँछन् । 

त्यसो त स्थानीयले २०६३ साल ताकै यहाँको प्राचीन घोडेटो बाटोलाई त्रिवेणी दुम्किबास जनता मार्गका नाममा खनेर मोटरेवल स्तरमा छिचोलि सकेका थिए ।
तत्कालीन नवलपरासी दक्षिणका त्रिवेणी सुस्तासहितका १२ गाविस र नवलपुरबासीले मोटर चल्ने गरि स्वतस्फूर्त रूपले खनेको यो पहुँच मार्ग चितवन राष्ट्रिय निकुञ्जले रोकी दिदा स्थानीयलाई आउ जाउमा समस्या भएको छ भने बाटो खन्दा भएको राज्यको लगानी र जनताको श्रम पसिना व्यर्थ खेर गएको छ ।

जनताको प्रयासबाटै सडकको प्रारूप तयार भई सकेको यस पहुँच मार्गमा सम्बन्धित निकायले संचालन अनुमति दिएमा सडक निर्माणका आवश्यक प्रक्रिया पूरा गरी एकाध खहरेमा कजवे राखेकै भरमा यातायात सुचारु हुने स्थानीयहरू बताउँछन् ।

त्यसो त वन्य जन्तुको सुरक्षा प्रति हर्दम चिन्ता र चासो राख्ने स्थानीय जनता माझ स्थापित चितवन राष्ट्रिय निकुञ्जले आफ्ना सुरक्षा संयन्त्रको पूर्ण निगरानीमा बघुवन त्रिवेणी पहुँच मार्ग सञ्चालनमा सघाउनु पर्ने विनयी त्रिवेणीवासीको माग रहँदै आएको छ ।  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register