नेपालका चर्चित ९ ठूला नेता, जसले ‘कम्युनिष्ट विचार’ परित्याग गरे

पञ्चायतकालमा कम्युनिष्ट विचार परित्याग गर्नेहरूले राजावादी लाइन रोजेको देखिन्थ्यो । बहुदलीय लोकतन्त्रमा भने यस्ता नेताहरूको छनोट फरकफरक छ । यहाँ यस्तै चर्चित ९ ठूला नेताको सङ्क्षिप्त चर्चा गरिएको छ, जो जीवनको उत्तरार्द्धसम्म कम्युनिष्ट रहेनन् ।

Jan 20, 2025 - 07:24
 0
नेपालका चर्चित ९ ठूला नेता, जसले ‘कम्युनिष्ट विचार’ परित्याग गरे

काठमाडौं । ‘कम्युनिष्ट आन्दोलन’ नेपालको सबैभन्दा बलियो राजनीतिक विचार र आन्दोलनमध्ये एक मानिन्छ । देशमा राणाशासन हुँदै सन् २००६ साल वैशाख १० गते ‘नेपाल कम्युनिष्ट पार्टी’ गठन भएको थियो ।

पार्टीका संस्थापक महासचिव थिए – पुष्पलाल श्रेष्ठ । श्रेष्ठ १९९७ सालको शहीद काण्डका एक शहीद गङ्गालाल श्रेष्ठका भाइ हुन् ।

कम्युनिष्ट पार्टीको संस्थापक महासचिव बन्नुअघि उनी भारतको बनारसमा नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालय सचिव थिए । शहीद गङ्गालाल श्रेष्ठ भने टङ्कप्रसाद आचार्य नेतृत्वको प्रजा परिषद्‌प्रति आस्था राख्थे ।

पुष्पलालको प्रारम्भिक राजनीतिक रुझान प्रजा परिषद्‌मा थियो । तर, उनी काङ्ग्रेसको केन्द्रीय सचिव परित्याग गर्दै कम्युनिष्ट पार्टीको महासचिव हुन पुगे ।

यसरी अन्य दल परित्याग गरि कम्युनिष्ट खेमामा आएका पुष्पलाल जीवनभरि कम्युनिष्ट नै रहे । तर, संस्थापक महासचिव भएर पनि एकीकृत कम्युनिष्ट पार्टीको मूल नेता हुने अवसर भने उनले कहिल्यै पाएनन् ।

नेकपाको पहिलो महाधिवेशनले मनमोहन अधिकारीलाई महासचिव बनायो । दोस्रो महाधिवेशनले डा. केशरजङ्ग रायमाझी र तेस्रोले तुलसीलाल अमात्यलाई । त्यसपछि त पार्टी नै दर्जनौं टुक्रामा विभक्त भयो । घटक पिच्छे कयौँ अध्यक्ष र महासचिव भए, अहिले पनि छन् ।

रोचक कुरा – नेपालको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका र उल्लेखनीय योगदान गरेका, उच्च तहको साङ्गठनिक नेतृत्व तथा राजकीय पदको अवसर पाएका नेतामध्ये केहीले विचार नै परित्याग गरेको पाइन्छ ।

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठजस्तै पहिलो महाधिवेशनका महासचिव मनमोहन अधिकारी पनि आजीवन कम्युनिष्ट नै रहे । उनी एमालेको अध्यक्ष र देशको ‘प्रथम कम्युनिष्ट प्रधानमन्त्री’ बन्न पुगे ।

तेस्रो महाधिवेशनका महासचिव तुलसीलाल अमात्य पनि आजीवन कम्युनिष्ट नै रहेर मरे । तर, उनको नेतृत्वकालमा पार्टी टुक्राटुक्रा भयो । उनको समूहले भिन्नै विकास गर्न भने सकेन । अन्ततः उनले आफ्नो समूहलाई एमालेमा मिसाइ दिए ।

तर, दोसो महाधिवेशनका महासचिव डा. केशरजङ्ग रायमाझीले भने कम्युनिष्ट विचार नै परित्याग गरेका थिए । त्यसो त चर्चित लेखक, कवि तथा साहित्यकारहरू भूपि शेरचन, मदनमणि दीक्षित, धनुषचन्द्र गौतम जीवनको प्रारम्भकालमा कम्युनिष्ट नेता थिए, जो पछि रहेनन् ।

देशको राजनीतिमा यस्तो संयोग परेका थुप्रै नेता, कार्यकर्ता छन् । यहाँ यस्तै चर्चित ९ ठूला नेताको सङ्क्षिप्त चर्चा गरिएको छ, जो जीवनको उत्तरार्द्धसम्म कम्युनिष्ट रहेनन् ।

१. डा. केशरजङ्ग रायमाझी

तानसेन, पाल्पाका केशरजङ्ग कलकत्तामा पढ्न जाँदा भारतीय नेता रत्नप्रसाद ब्राह्‍मणको सङ्गतले कम्युनिष्ट भएका थिए । उनी २०१४ सालमा काठमाडौं फोहरा दरबारमा भएको नेकपाको दोस्रो महाधिवेशनबाट महासचिव निर्वाचित भए ।

२०१७ सालको काण्ड हुँदा उनी मस्कोमा थिए । उनले त्यहीँबाट विज्ञप्ति प्रकाशित गरी राजा महेन्द्रको कदमलाई समर्थन गरेपछि पार्टी दरभङ्गा प्लेनमले उनलाई महासचिवबाट हटाएको थियो ।

उनी संसारका चर्चित कम्युनिष्ट नेता निकिता ख्रुश्चेभ, हो चि मिन्ह, माओ च तोङ, चाउ एन लाई, फिदेल क्यास्त्रो लगायतसँग समेत भेटघाट गर्ने अवसर पाएका नेता थिए ।

अन्य कम्युनिष्ट समूहले दुत्कारे पनि ‘संवैधानिक राजतन्त्र’को पैरवी गर्दै २०३७ सालसम्म उनले महासचिव भएर एउटा सानो कम्युनिष्ट समूह चलाइरहे । विष्णुबहादुर मानन्धरले त्यो गुटमा रायमाझीको नेतृत्व प्रतिस्थापन गरेका थिए ।

त्यसपछिका दिनमा भने उनी घोषित रूपमै राजावादी भए । २०४६ सालको जनआन्दोलन र पञ्चायतको अन्त्यपछि कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा उनी दरबारको तर्फबाट शिक्षामन्त्री थिए ।

रायमाझी २०५४ देखि २०६५ सालसम्म राजसभा स्थायी समितिका सभापति भए । नारायणहिटी दरबार हत्याकाण्ड हुँदा राजसभाको सभापति यिनै थिए । यिनकै सभापतित्वमा भएको बैठकले बेहोस दीपेन्द्र शाह र उनको निधनपछि ज्ञानेन्द्र शाहलाई राजा बनाउने निर्णय गरेको थियो ।

२. कमलराज रेग्मी

कमलराज २०१५ सालको देशको पहिलो संसदीय निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका विजयी ४ सांसदमध्ये एक थिए । उनले पाल्पा निर्वाचन क्षेत्रबाट नेकपाको टिकटमा प्रतिनिधि सभा सदस्यको निर्वाचन जितेका थिए ।

उनी पार्टीको पोलिटब्युरो सदस्यसमेत भए । तर, रायमाझीसँगै राजा महेन्द्रको २०१७ सालको कदमलाई समर्थन गरेको कारण उनलाई पार्टीबाट हटाइयो ।

त्यसपछि उनी पञ्चायती राजनीतिमा लागे । पञ्चायतकालमा उनले पञ्चायत नीति तथा जाँचबुझ समितिको सभापतिलगायतका उच्च राजकीय नियुक्ति पाएका थिए ।

३. डिपी अधिकारी

नेकपा स्थापनाकै अवधिदेखि सक्रिय रहेका डिपी अधिकारी पार्टीको पोलिटब्युरोसम्म पुगेका थिए । उनले मूलतः कोशी पूर्वलाई आधार क्षेत्र बनाएर पार्टीको काम गरेका थिए । कम्युनिष्ट आन्दोलनमा उनी ठूला विद्वान, समीक्षक, साहित्यकार तथा दार्शनिक दख्खल राख्ने नेता मानिन्थे ।

 

उनको ‘धर्ती अझै बोल्दै छ’ नामको क्रान्तिकारी उपन्यास बहुचर्चित थियो । समालोचना क्षेत्रमा उनले भिन्नै उचाइ र स्थान बनाएका थिए । तर, २०३० को दशकमा उनी पञ्चायत प्रवेश गरेर मन्त्री भए । उनका ७ वटा साहित्यिक तथा राजनीतिक कृति प्रकाशित छन् । तर, कम्युनिष्ट नेता कार्यकर्ताले उनको विरलै सम्झना गर्दछन् ।

४. शैलेन्द्रकुमार उपाध्याय

कम्युनिष्ट पार्टीको पोलिटब्युरोसम्म पुगेका उपाध्यायले २०१७ सालको काण्डमा राजा महेन्द्रलाई समर्थन गरेका थिए ।

उनले पञ्चायतकालमा ठूल्ठूला उच्च पद हासिल गरे । उनी रक्षा तथा राजदरबार मामिलामन्त्री तथा संयुक्त राष्ट्र सङ्घमा नेपालको राजदूतसमेत भए ।

पञ्चायतकालको अन्तिम मरिचमान सिंह श्रेष्ठ नेतृत्वको सरकारमा उपाध्याय विदेशमन्त्री थिए । २०४६ सालको जनआन्दोलन चर्किँदै गएपछि उनले मन्त्री पदबाट राजीनामा गरे । उनको राजीनामाले मरिचमान सरकारलाई कमजोर पार्न र आन्दोलनकारीको आत्मबल उकास्न ठूलो मद्दत गरेको थियो ।

वयोवृद्ध उमेरमा सगरमाथा चढ्ने अभिलेख बनाउने आकाङ्क्षाले आरोहणमा गएका बेला ८२ वर्षको उमेरमा खुम्जुङमा उनको मृत्यु भएको थियो ।

५. निलाम्बर आचार्य

सल्यान गृहजिल्ला भएका निलाम्बर आचार्य पनि कुनै बेला देशको ठूलै कम्युनिष्ट नेता मानिन्थे । उनले सोभियतकालमा मस्कोमा पढेका थिए ।

रुसबाट फर्किएर उनी तत्कालीन सोभियत धुरी निकट मानिने विष्णुबहादुर मानन्धर नेतृत्वको कम्युनिष्ट समूहको पोलिटब्युरो सदस्य बने ।

कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा वाममोर्चाको तर्फबाट कानून तथा न्यायमन्त्री बने । तर, २०४८ सालको आम निर्वाचनपछि उनी नेपाली काङ्ग्रेस प्रवेश गरे ।

२०६४ सालको पहिलो संविधान सभामा उनलाई काङ्ग्रेसले मनोनित संविधानसभा सदस्य बनाएको थियो । उनी संवैधानिक समितिको सभापति पनि थिए । उनी श्रीलङ्का र भारतको राजदूतसमेत भए ।

६. अशोककुमार राई

खोटाङमा जन्मिएका र २०३० दशकमा तत्कालीन नेकपा (माले) बाट राजनीति सुरु गरेका अशोककुमार राई भूमिगत सङ्गठकका रुपमा पूर्वी नेपालमा लोकप्रिय थिए ।

उनी भूमिगतकालमा मालेका प्रभावशाली नेता मदन भण्डारीको निकटस्थ र विश्वासपात्र मानिन्थे । तर, २०४६ सालपछि भने भण्डारीसँग उनको दूरी बढ्दै गएको थियो ।

२०४५ सालमा पार्टीको महासचिव हुनुअघि भण्डारी कोशी इन्चार्ज थिए । उनले राईलाई कोशी इन्चार्ज बनाएर महासचिव पद सम्हालेका थिए ।

राईले २०४६ सालपछि दुईपटक एमालेबाट प्रतिनिधि सभाको चुनाव जिते साथै २०५१ सालको मनमोहन अधिकारीको ९ महिने प्रथम कम्युनिष्ट सरकारमा मन्त्रीसमेत भए ।

वि.सं २०५४ मा पार्टी विभाजन हुँदा वामदेव गौतमको पक्षमा लागेका राईले एमालेको आठौँ महाधिवेशनमा उपाध्यक्ष पदका लागि सर्वाधिक लोकप्रिय मत पाएका थिए ।

तर, दोस्रो संविधानसभा अवधिमा एमाले परित्याग गर्दै उनले भिन्नै सङ्घीय समाजवादी पार्टी बनाए । उनको नयाँ पार्टीले कम्युनिष्ट विचारलाई बोक्न छोड्यो । विशेषतः पहिचान र सङ्घीयताको मुद्दामा एमालेसँग बिमति राख्दै उनले पार्टी र विचार परित्याग गरेका थिए ।

उनी सङ्घीय समाजवादी पार्टीकै तर्फबाट दोस्रो संविधानसभा सदस्य बने । त्यसपछि उपेन्द्र यादव नेतृत्वको फोरमसँग पार्टी एकता गरे । 

उनी अहिले पनि सुनसरी – १ बाट प्रतिनिधि सभा सदस्य र विभाजित जसपाको अध्यक्ष छन् ।

७. डा.बाबुराम भट्टराई

२०३० को दशकमा मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल) बाट कम्युनिष्ट राजनीति सुरुवात गरेका डा.बाबुराम भट्टराईको कम्युनिष्ट आन्दोलन र पार्टीमा उल्लेखनीय भूमिका तथा योगदान रह्यो ।

२०४६ सालको जनआन्दोलनताका उनी साना वामपन्थी समूहको राष्ट्रिय जनआन्दोलन समितिका संयोजक थिए । उनी अध्यक्ष रहेको तत्कालीन नेकपा (माओवादी)को चुनावी मोर्चा संयुक्त जनमोर्चा २०४८ को आम चुनावमा ९ सिटसहित प्रतिनिधि सभाको तेस्रो ठूलो दल थियो ।

दश वर्षे  जनयुद्धमा उनी माओवादीमा प्रचण्ड पछिको दोस्रो महत्वपूर्ण नेता मानिन्थे । प्रचण्ड नेतृत्वको पहिलो माओवादी सरकारमा उनी उपप्रधान तथा अर्थमन्त्री थिए । 

माओवादीबाटै प्रधानमन्त्री तथा दोस्रो संविधान सभामा संवैधानिक समितिका सभापति समेत बनेका डा. भट्टराईले २०७२ असोजमा कम्युनिष्ट पार्टी र विचार दुवै परित्याग गरे ।

नयाँ युगको वैकल्पिक राजनीति गर्ने उद्घोषसहित नयाँ शक्ति पार्टी गठन गरेका उनी अहिले नेपाल समाजवादी पार्टीका अध्यक्ष छन् ।

८. उपेन्द्र यादव

कम्युनिष्ट राजनीतिमा उपेन्द्र यादवको भूमिका उच्च तहको नभए पनि मध्यम तहको कार्यकर्ताका रुपमा लामो र सङ्घर्षपूर्ण थियो ।

उनले २०३६ सालको हाराहारीमा पुष्पलाल समूहबाट कम्युनिष्ट राजनीति सुरु गरेका थिए । त्यस समूहको युवा मोर्चाको केन्द्रीय अध्यक्षसमेत भएका थिए । २०४६ सालपछि एमाले सुनसरीका नेता भए ।

तर, २०५४ सालपछि उनी एमालेबाट निष्क्रिय र माओवादीसँग नजिकिए । माओवादीमा उनी पूर्वी कमान्डको प्रदेशब्युरो सदस्यसम्म बने ।

अन्ततः माओवादीसँगै कम्युनिष्ट विचार पनि परित्याग गरी उनले मधेसी जनाधिकार फोरम गठन गरे । उनकै नेतृत्वमा २०६३ सालमा मधेस आन्दोलन भयो ।

अहिले उनी जसपाको अध्यक्ष छन् । उपेन्द्र यादवको राजनीतिक प्रगति भने कम्युनिष्ट पार्टी र विचारको परित्याग गरेपछि भएको देखिन्छ ।

९. डा.भीमबहादुर रावल

भर्खरै एमालेबाट निष्कासित भीम रावलले पनि कम्युनिष्ट विचार परित्याग गर्ने सङ्केत गरेका छन् । उनी कम्युनिष्ट विचार र आन्दोलनमा लामो र महत्त्वपूर्ण भूमिका निभाएका र त्यही पार्टीबाट उच्च राजकीय पद हासिल गर्ने नेतामध्ये एक हुन् ।

उनी २०३० को दशकमा तत्कालीन नेकपा (माले) मा लागेका थिए । २०४० को दशकमा उनले ‘नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास’ नामक पुस्तकसमेत लेखेका थिए ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि रावल तत्कालीन अन्तरिम सरकारका कृषि तथा वनमन्त्री झलनाथ खनालको सल्लाहकारका रुपमा राजकीय पदमा देखिए । 

पार्टीको छैटौँ महाधिवेशनपछि रावल निरन्तर माधव नेपालको निकट रहे । एमालेमा नेपालको करिब १५ वर्षे नेतृत्वकालमा सबैभन्दा धेरै राजकीय अवसर प्राप्त गर्ने र पार्टी शक्तिको अभ्यास गर्ने नेतामा रावल पनि पर्दछन् ।

उनी बारम्बार सांसद, मन्त्री र उपप्रधानमन्त्री भए । उनले एमालेको दशौँ महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरे ।

बिहीबार सामाजिक सञ्जालमा सार्वजनिक गरेको रावलको ‘मातृभूमि जागरण अभियान, नेपालको सङ्क्षिप्त चिनारी’ नामक प्रारम्भिक अवधारणापत्रमा कम्युनिष्ट विचार र सिद्धान्तको कुनै गन्ध छैन । ३ पेज लामो अवधारणापत्रमा ‘कम्युनिष्ट’ शब्द प्रयोगसमेत गरेका छैनन् न त उनले ‘मार्क्सवाद–लेनिनवाद–माओवाद’ जस्ता शास्त्रीय साम्यवादी सिद्धान्तको जिकिर गरेका छन् ।

…..

पञ्चायतकालमा कम्युनिष्ट विचार परित्याग गर्नेहरूले राजावादी लाइन रोजेको देखिन्थ्यो । बहुदलीय लोकतन्त्रमा भने यस्ता नेताहरूको छनोट फरकफरक छ ।

उपेन्द्र यादव र अशोक राईले पहिचानवादी राजनीति रोजेका छन् भने डा. बाबुराम भट्टराईले ‘वैकल्पिक राजनीति’ रोजेका छन् ।

निलाम्बर आचार्य काङ्ग्रेस भए भने रावलको छनोट अझै प्रष्ट भइसकेको छैन । तर, उनले राष्ट्रवादी दक्षिणपन्थी धार समात्ने सम्भावना बढी देखिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register