ट्रम्पको दाबीजस्तै चीनले पानामा नहर चलाइरहेको छ ?

काठमाडौं । अमेरिकी राष्ट्रपतिको शपथ लिएपछि डोनाल्ड ट्रम्पले आफ्नो पहिलो भाषणमा पानामा नहर चीनले सञ्चालन गरिरहेको दाबी गरे । ‘पानामा नहर चीनले सञ्चालन गरिरहेको छ, हामीले चीनलाई दिएका होइनौँ, पानामालाई दियौँ र अब फिर्ता लिनेछौँ,’ उनले भने । ५१ माइल अर्थात् ८२ किलोमिटर लामो पानामा नहर मध्य अमेरिकाको बीचमा अवस्थित छ र प्रशान्त र एट्लान्टिक […]

Jan 24, 2025 - 10:31
 0
ट्रम्पको दाबीजस्तै चीनले पानामा नहर चलाइरहेको छ ?

काठमाडौं । अमेरिकी राष्ट्रपतिको शपथ लिएपछि डोनाल्ड ट्रम्पले आफ्नो पहिलो भाषणमा पानामा नहर चीनले सञ्चालन गरिरहेको दाबी गरे ।

‘पानामा नहर चीनले सञ्चालन गरिरहेको छ, हामीले चीनलाई दिएका होइनौँ, पानामालाई दियौँ र अब फिर्ता लिनेछौँ,’ उनले भने ।

५१ माइल अर्थात् ८२ किलोमिटर लामो पानामा नहर मध्य अमेरिकाको बीचमा अवस्थित छ र प्रशान्त र एट्लान्टिक महासागरलाई जोड्ने मुख्य लिङ्क हो ।

प्रत्येक वर्ष लगभग १४ हजारभन्दा बढी जहाजहरूले यो नहरलाई सर्टकटको रूपमा प्रयोग गर्छन् । यो नहर निर्माण हुनुअघि ती जहाजहरूले दक्षिण अमेरिका हुँदै लामो र महँगो यात्रा गर्नुपर्थ्यो ।

ट्रम्पले आफ्नो भाषणमा मध्य अमेरिकी देश र यसको नहरको उल्लेख गरेको यो पहिलो पटक भने होइन ।

करिब एक महिनाअघि क्रिसमस अर्थात् डिसेम्बर २५, २०२४ मा ट्रम्पले यसबारे सामाजिक सञ्जाल पोस्ट लेखेका थिए ।

उनले लेखेका थिए, “चीनका सैनिकहरूले मायालु तर अवैध रूपमा पानामा नहर चलाइरहेका छन् ।”

यद्यपि यो दाबी पानामा सिटी र चीनका अधिकारीहरूले तुरुन्तै अस्वीकार गरे ।

त्यतिखेर पानामाका राष्ट्रपति जोसे राउल मुलिनोले ट्रम्पको दाबीलाई “बकवास” भने र पानामा नहरमा चिनियाँ हस्तक्षेप नभएको दाबी गरे ।

यसबाहेक ट्रम्पले पानामा नहर हुँदै जाने अमेरिकी जहाजबाट चर्को शुल्क लिएको भन्दै बल प्रयोग गरेर नहर फिर्ता लिने धम्की पनि दिएका छन् । तर, यो दाबी पानामाका अधिकारीहरूले पनि अस्वीकार गरेका छन् ।

ट्रम्पको भाषणपछि पानामाका राष्ट्रपति मुलिनोले पानामा नहरमा आफ्नो सञ्चालनमा हस्तक्षेप गर्ने संसारको कुनै पनि देशको उपस्थिति नभएको कुरामा पुन: जोड दिए ।

पानामा नहर रणनीतिक रूपमा महत्त्वपूर्ण जलमार्ग हो । विश्वव्यापी सामुद्रिक व्यापारको करिब पाँच प्रतिशत यसबाट हुने गर्दछ । यो पानामा नहर प्राधिकरण द्वारा सञ्चालित छ र चिनियाँ सेनाद्वारा होइन । पानामा नहर प्राधिकरण पानामा सरकारको हो ।

यद्यपि, ट्रम्पको झुटो दाबीले नहर र यसको वरपरको पूर्वाधारमा चीनको ठूलो लगानीलाई लिएर केही अमेरिकी अधिकारीहरूको चिन्तालाई पनि झल्काउँछ ।

ऐतिहासिक रूपमा संयुक्त राज्यले प्यासिफिक महासागर र एट्लान्टिक महासागरलाई जोड्ने पानामा नहरको निर्माण र प्रशासनमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।

फ्रान्सले यो नहर निर्माण गर्न नसकेपछि अमेरिकाले यो परियोजना सम्पन्न गर्ने अधिकार प्राप्त गर्‍यो । नहरको निर्माण सन् १९१४ मा सम्पन्न भएको थियो ।

सन् १९७७ सम्म पानामा नहरमा अमेरिकाको अधिकार थियो । तर, तत्कालीन राष्ट्रपति जिमी कार्टरले पानामालाई हस्तान्तरण गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए । ट्रम्पले यो सम्झौतालाई ‘मूर्ख’ भनेका छन् ।

पानामा नहर प्राधिकरणले सन् १९९९ देखि एक्लै यो नहर सञ्चालन गर्दै आएको छ ।

अमेरिका र पानामाबीच भएको सन्धिको प्रावधान अनुसार यो ठाउँ कसैको अधिकार क्षेत्रमा पर्ने छैन । तर, सम्झौताअनुसार अमेरिकालाई कुनै पनि किसिमको खतराबाट नहरको तटस्थता जोगाउन सैन्य बल प्रयोग गर्ने अधिकार छ ।

चीनको भूमिका के ?

पानामा नहरको सञ्चालनमा चिनियाँ सरकार वा चिनियाँ सेनाले कुनै नियन्त्रण गरेको कुनै प्रमाण छैन । तर, पानामामा चिनियाँ कम्पनीहरूको निश्चित उपस्थिति छ ।

अक्टोबर २०२३ देखि सेप्टेम्बर २०२४ सम्म पानामाबाट गुज्रिएका जहाजमध्ये २१ दशमलव ४ प्रतिशत कार्गो चीनबाट आएको थियो । अमेरिकापछि चीन सबैभन्दा बढी पानामा नहर प्रयोग गर्ने देश हो ।

हालैका वर्षहरूमा चीनले नहरको किनारमा बन्दरगाह र टर्मिनलहरूमा पनि ठूलो लगानी गरेको छ ।

नहरसँगै रहेका पाँचवटा बन्दरगाहमध्ये दुईवटा चिनियाँ कम्पनी हचिसन पोर्ट होल्डिङ्सको सहायक कम्पनीले सन् १९९७ देखि सञ्चालन गर्दै आएको छ ।

यी दुई प्रशान्त महासागरको तटमा अवस्थित बाल्बोआ र एट्लान्टिक तटमा अवस्थित क्रिस्टोबल बन्दरगाह हुन् ।

पोर्ट अपरेटर सीके हचिसन होल्डिङ्सको सहायक कम्पनी हो, हङकङमा आधारित समूह हङकङका व्यापारी ली का-शिङले स्थापना गरेका थिए ।

यो कम्पनीले बेलायतसहित विश्वका २४ देशमा बन्दरगाह सञ्चालन गर्छ ।

सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडीजका अमेरिका कार्यक्रमका निर्देशक रायन बर्ग भन्छन् – ”यो चिनियाँ सरकारी कम्पनी होइन । तर, यो कम्पनीमाथि चीनको कत्तिको नियन्त्रण छ भन्ने विषयमा अमेरिकामा चिन्ता छ ।”

रणनीतिक रूपमा महत्त्वपूर्ण जानकारी पनि यी बन्दरगाहहरूबाट गुजरने जहाजमार्फत जान्छ, जुन धेरै उपयोगी हुनसक्छ ।

रायन बर्ग भन्छन्, “अमेरिका र चीनबीचको भूराजनीतिक तनाव बढ्दै गएको छ, जुन आर्थिक प्रकृतिको छ । यदि आपूर्ति शृङ्खलालाई लिएर द्वन्द्व उत्पन्न हुन्छ भने त्यस अवस्थामा यस्तो सूचना निकै उपयोगी सावित हुनसक्छ ।”

पानामा नहरमा पुस्तक लेखेका अक्रोन विश्वविद्यालयका प्रोफेसर एन्ड्र्यू थोमसकाअनुसार यी बन्दरगाह सञ्चालनका लागि बोलपत्रमा कम्पनीसँग कुनै प्रतिस्पर्धी थिएन ।

“त्यस समयमा अमेरिकाले यी बन्दरगाहहरूको वास्ता गरेनन् र हचिसनले कुनै विरोध वा आपत्तिको सामना गरेनन्” उनी भन्छन् ।

निजी र सरकारी स्वामित्वमा रहेका चिनियाँ कम्पनीहरूले पनि अरबौं डलरको लगानीबाट पानामामा आफ्नो उपस्थिति बलियो बनाएका छन्, जसमा क्रुज टर्मिनलहरू र नहरमाथिको पुलहरू छन् ।

एन्ड्रयु थोमसकाअनुसार “पानामामा धेरै चिनियाँ गतिविधिका कारण, सायद ट्रम्पले पानामा नहरको बारेमा यस्तो बयान दिए कि यो चीनले सञ्चालन गरिरहेको छ । तर, बन्दरगाह सञ्चालनको अर्थ चीनको स्वामित्व अधिकार छ भन्ने होइन ।”

चीनले बारम्बार ल्याटिन अमेरिकासँगको सम्बन्ध समानता, आपसी लाभ, नवप्रवर्तन, खुलापन र जनताको हितमा आधारित रहेको बताएको छ ।

पानामाको रणनीतिक स्थानका कारण चीनले केही वर्षदेखि देशमा आफ्नो प्रभावकारी उपस्थिति बढाउन प्रयास गरिरहेको छ । यसले परम्परागत रूपमा अमेरिकाको छिमेकी मानिने महादेशमा आफ्नो पकड बलियो बनाउन खोजिरहेको छ ।

सन् २०१७ मा पानामाले ताइवानसँगको कूटनीतिक सम्बन्ध अन्त्य गर्‍यो र चीनसँग आफ्नो औपचारिक सम्बन्ध स्थापना गर्‍यो । जुन चीनको लागि ठूलो कूटनीतिक विजय थियो ।

केही महिनापछि पानामा चीनको महत्वाकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा सामेल हुने पहिलो ल्याटिन अमेरिकी देश बन्यो । यो एक ट्रिलियन डलरको विश्वव्यापी पूर्वाधार र लगानी योजना हो ।

पानामा जस्तै डोमिनिकन रिपब्लिक, एल साल्भाडोर, निकारागुआ र होन्डुरसले पनि ताइवानसँगको सम्बन्ध तोडेर चीनसँग सम्बन्ध स्थापना गरेका छन् ।

चीनले पानामामा आफ्नो कन्फ्युसियस इन्स्टिच्युट खोलेर र रेल लाइन निर्माणमा आर्थिक सहयोग गरेर विस्तारै आफ्नो सफ्ट पावर विस्तार गरेको छ । चिनियाँ कम्पनीहरूले पानामाका पत्रकारहरूका लागि ‘मिडिया तालिम’ पनि आयोजना गरेका छन् ।

-बीबीसीबाट

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register