सुरु भयो नयाँ चरणको व्यापार युद्ध : कस्तो आउला परिणाम ?

ट्रम्पको आदेशले चीन, मेक्सिको र क्यानडा मात्र प्रभावित छैनन्, अमेरिकाका युरोपेली साझेदार समेत चिन्तित देखिन्छन् । चीनलाई रोक्ने अमेरिकी रणनीतिले विश्व आपूर्ति शृङ्खलामै असर पर्न सक्दछ ।

Feb 2, 2025 - 11:42
 0
सुरु भयो नयाँ चरणको व्यापार युद्ध : कस्तो आउला परिणाम ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडा र मेक्सिकोबाट हुने आयातमा २५% शुल्क लगाउने र चिनियाँ आयातमा १० प्रतिशत शुल्क वृद्धि गर्ने निर्णय लागू गर्न आदेश जारी गरे । योसँगै विश्व नयाँ चरणको व्यापार युद्धमा प्रवेश गरेको छ ।

अमेरिकी निर्णयको प्रतिवादस्वरूप क्यानडाले पनि अमेरिकी आयातमा २५ प्रतिशत शुल्क लगाउने निर्णय गरेको छ । शनिबारको घोषणापछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले राष्ट्रपति ट्रम्पसँग फोनवार्ताको प्रयत्न गरेका थिए । तर, ह्वाइट हाउसले कुनै ‘रेस्पोन्स’ नगरेपछि ट्रुडोले अमेरिकी आयातमाथि २५ प्रतिशत शुल्क लगाउने निर्णय लिएका हुन् ।

क्यानडाको यस्तो निर्णयले एक दिनमा मात्रै २० बिलियन डलर बराबरको अमेरिकी आयात प्रभावित हुने छ ।

ट्रम्प प्रशासनले मेक्सिको र क्यानडामाथि लागूऔषध ओसारपसार गरेको तथा अवैध आप्रवासन नियन्त्रण नगरेको आरोप लगाउँदै आएको छ ।

यता चीनले भने अमेरिकाविरुद्ध विश्व व्यापार सङ्गठन (डब्लुटिओ) मा मुद्दा हाल्ने भएको छ । चीनमाथि २५ प्रतिशत शुल्क पहिलेदेखि नै लागू थियो । १० प्रतिशत शुल्क वृद्धिगर्दा ३५ प्रतिशत पुगेको छ ।

चिनियाँ वाणिज्य मन्त्रालयले ट्रम्प प्रशासनको निर्णयलाई ‘स्वतन्त्र विश्व व्यापार सम्बन्धी सम्झौताको गम्भीर उल्लङ्घन’ भन्दै डब्लुटिओमा मुद्दा दर्ता गर्न लागेको हो ।

क्यानडाली प्रधानमन्त्री ट्रुडोले आफ्ना नागरिकलाई अमेरिकी सामान उपभोग कटौती गर्न आग्रह गरेका छन् । साथै, प्रधानमन्त्री ट्रुडोले यो प्रष्ट गरे कि, ‘क्यानडा अनिच्छावश यसो गर्न बाध्य भएको छ । हामी यहाँसम्म पुग्न चाहदैनथ्यौँ ।’

अमेरिका क्यानडाको सबैभन्दा ठूलो व्यापार साझेदार हो । साथै, दुई देशले संसारकै सबैभन्दा लामो सीमा साझेदारी गर्दछन् । राष्ट्रपतिमा निर्वाचित भएसँगै क्यानडालाई अमेरिकाको ५१ औं राज्य बन्न ट्रम्पले आग्रह गरेका थिए । उनको यस्तो आग्रह क्यानडाली सार्वभौमसत्ताको अवहेलना हो ।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनवामले शनिबार नै ‘प्रतिवाद शुल्क’ घोषणा गरिन् । राष्ट्रपति क्लाउडियाको आदेशअनुरूप मेक्सिकोको अर्थमन्त्रालयले फरकफरक वस्तुका अमेरिकी निर्यातमा फरकफरक ५ देखि २० प्रतिशतसम्मको शुल्क लगाउने छ ।

साथै, अमेरिकासँगको व्यापार तनावका कारण उत्पन्न हुनसक्ने आपूर्ति अवरोध र बजार अभावलाई दृष्टिगत गरी विकल्पमा अन्य देशसँग व्यापार तथा वाणिज्य साझेदारी गर्ने छ ।

मेक्सिकोको सत्तारुढ दलका एक नेता तथा सांसद रिकार्डो मोर्नियलले भनेका छन्, ‘यो स्वतन्त्र मेक्सिकोको इतिहासमै सबैभन्दा ठूलो प्रहार हो । एकतर्फी निर्णय स्वीकार गर्न सकिन्न ।’

ट्रम्पको आदेशले चीन, मेक्सिको र क्यानडा मात्र प्रभावित छैनन्, अमेरिकाका युरोपेली साझेदार समेत चिन्तित देखिन्छन् । ट्रम्पको चर्को महशुल निर्णयले युरोपेली निर्यात र अर्थतन्त्रसमेत प्रभावित गर्ने छ । कोलम्बियालगायतका मध्य अमेरिकी देशले यसको विरोध गरेका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियो भने स्थिति अनुकुलन गर्न मध्यअमेरिकी देश पनामा, डोमिनिकन रिपब्लिक, कोष्टारिका, ग्वाटेमाला र एलसाल्भाडोरको भ्रमणमा निस्केका छन् । पनामाले रुबियोसँग नहरबारे कुनै पनि प्रकारको वार्ता गर्न अस्वीकार गरेको छ ।

के हो व्यापार युद्ध ?

सन् २०१६ मा पहिलो पटक अमेरिकी राष्ट्रपति निर्वाचित भएका डोनाल्ड ट्रम्पले जब चिनियाँ बस्तुको आयातमा शुल्क वृद्धि र अन्य कानुनी अवरोध लागू गरे – सन् २०१८ को जनवरीदेखि त्यस प्रक्रियालाई ‘अमेरिका – चीन व्यापार युद्ध’ भन्न थालियो ।

सन् २०२० मा ट्रम्पको पराजय र डेमोक्रेटिक राष्ट्रपति जो बाइडनको विजयपछि यो युद्ध शिथिल भएको थियो । तर, ट्रम्पको नयाँ विजयसँगै फेरि अवस्था उल्टिएको हो । 

ट्रम्पले अमेरिकामा हुने मेक्सिको, क्यानडा र चिनियाँ निर्यातमा शुल्क वृद्धिको घोषणा चुनावी अभियानकै क्रममा गरिसकेका थिए । मङ्गलबारदेखि ट्रम्पका आदेश लागू हुने हुँदा यसलाई ‘व्यापार युद्ध’ फेरि फर्किएको अर्थमा लिइँदैछ ।

व्यापार असन्तुलन र स्वार्थबाट सृजित हुने राजनीतिक तनावलाई ‘व्यापार युद्ध’ भनिन्छ । व्यापार युद्ध अन्ततः वास्तविक सैन्य युद्धमा परिणत भएका विश्व इतिहासमा थुप्रै उदाहरण छन् ।

इतिहासमा व्यापार युद्ध

बेलायती साम्राज्यको उदय हुनु अघि सत्रौँ शताब्दीमा इष्‍ट इन्डिया कम्पनीलगायत संस्था व्यापारिक प्रयोजनले बनेका थिए । प्रकारान्तले ती साम्राज्य विस्तारका औजार, औपनिवेशिक शासन, राजनीतिक तनाव र स्वतन्त्रता सङ्ग्रामका लागि कारण बने ।

बेलायतले मात्र हैन, पोर्चुगल, फ्रान्स, जर्मनी, स्पेन, डेनमार्क र रुसले समेत विश्व व्यापार हिस्साका लागि ठूला सङ्घर्ष सृजना गरे । एसियाली शक्ति जापानले बारम्बार व्यापार युद्धको स्थिति सृजना गरेको पाइन्छ ।

उन्नाइसौँ शताब्दीमा चीनले बेलायत र फ्रान्ससँग दुई ठूला ‘अफिम युद्ध’ को सामना गर्नु परेको थियो । मूलतः यो व्यापार युद्ध नै थियो । चीनमा अफिमको निर्यात व्यापार गर्न पाइने वा नपाइने विवादले यो युद्ध भएको थियो । बेलायत चीनमा अफिम बेचेर पैसा कमाउन चाहन्थ्यो भने चीन आयात रोक्न चाहन्थ्यो ।

एक्काईसौँ शताब्दीमा व्यापार युद्धका थप नयाँ शृङ्खला थपिएका छन् । सन् २०१४ मा अमेरिकासँग ब्राजिल र मेक्सिकोले यस्तो स्थिति सामना गरेका थिए । जापान–दक्षिण कोरिया तनावलाई धेरैले व्यापार युद्धको उदाहरण मान्छन् । सन् २०१७ मा चीन–अष्ट्रेलियाबीच केही समय यस्तो समस्या देखिएको थियो ।

ट्रम्प प्रशासनका अपेक्षा

ट्रम्प प्रशासनका अपेक्षा भने फरक छन् । ट्रम्प यस्ता निर्णयलाई व्यापार युद्ध नभएर अमेरिकालाई दुःख दिने देशमाथिको दण्ड सजाय मान्दछन् । ट्रम्प विचारका समर्थकको भनाइमा शुल्क वृद्धिले अमेरिकालाई ३ वटा ठूला फाइदा हुनेछन् ।

पहिलो– अमेरिकी उद्योगले संरक्षण प्राप्त गर्ने छन् । अमेरिकाबाट विदेश पलायन भइरहेको लगानी फिर्ता हुन थाल्नेछ । अमेरिकी उद्योगले बजार मूल्य प्रतिस्पर्धा गर्न सहज हुनेछ । साथै, अमेरिकामा रोजगार, ज्याला र आयस्तर पनि बढ्नेछ ।

दोस्रो– अमेरिकाले विश्वका विभिन्न देशसँगको बढ्दो व्यापार घाटा कम गर्ने, व्यापार असन्तुलनलाई सन्तुलन गर्ने अवसर पाउने छ । अमेरिकाले पछिल्लो दशकमा ट्रिलियन डलरभन्दा बढीको व्यापार घाटा सामना गर्नु परिरहेको छ ।

तेस्रो– भूराजनीतिक तनावलाई राष्ट्रिय हित र सुरक्षाका लागि अनुकुलन गर्न सक्ने छ । यस्तो शुल्क वृद्धिले प्रतिस्पर्धी र शत्रु देशलाई दबाबमा राख्न अमेरिकालाई सजिलो हुनेछ । अमेरिकाले उपलब्ध गराएको बजार उपयोग गरी आर्थिक विकास गर्ने र अमेरिकासँगै जोरी खोज्ने वा अमेरिकी वर्चश्वको समकालीन विश्व व्यवस्था ध्वस्त पार्ने ती देशको रणनीति असफल हुनेछ ।

‘डब्लुटिओ भावना’ विपरित

अमेरिका विश्व व्यापार सङ्गठनको सदस्य राष्ट्र हो । विश्व व्यापार सङ्गठनको मान्यता वस्तु तथा सेवाको अन्तर्राष्ट्रिय प्रवाह सुनिश्चित गर्न भन्सार महशुल लगायतका शुल्क सकेसम्म कम गर्नु, वस्तु तथा सेवाको मूल्य कम गरी उपभोगमा उपभोक्ताको पहुँच बढाउनु हो । सन् १९९५ मा विश्व व्यापार सङ्गठन स्थापनाको उद्देश्य पनि त्यही थियो । ट्रम्प प्रशासनको शुल्क वृद्धिको नीति ‘डब्लुटिओ भावना’ विपरित छ ।

डब्लुटिओ पुँजी, श्रम, वस्तु, सेवा तथा प्रविधिको अन्तर्राष्ट्रिय प्रवाहलाई मानव कल्याणका लागि अत्यावश्यक मान्दछ । चीनले डब्लुटिओमा मुद्दा हाल्ने तयारी गरेर अन्तर्राष्ट्रिय सहमति सम्झाउने प्रयास गरेको छ ।

कस्तो आउला परिणाम ?

नयाँ चरणको व्यापार युद्धले कुनकुन देशको अर्थतन्त्रलाई कस्तो प्रभाव पर्दछ ? अझ विश्व अर्थतन्त्रमाथिको असर कस्तो हुन्छ ? तत्काल भन्न सकिने अवस्था छैन । तर, यसका परिणाम भने कसैका लागि पनि सुखद नहुन सक्छन् । 

आयातमा चर्को भन्सार शुल्कले अमेरिकी उपभोक्ता बजारमा महङ्गी बढ्ने छ । अमेरिकी श्रमिकको वास्तविक ज्याला र आयस्तर बढ्न नसकेको सन्दर्भमा उपभोग्य बस्तुको बजार मूल्य बढ्नु हितकर मानिने छैन । अमेरिकी बजारमा उपभोक्ता बस्तुको मूल्य अकासिएमा ट्रम्पको लोकप्रियतामा कमी आउन सक्नेछ ।

क्यानडा र मेक्सिको केही समय दबाबमा अवश्य पर्ने छन् । तर, तिनले नयाँ विकल्प खोज्न सक्नेछन् । अन्ततः यसले अमेरिकालाई नै घाटा गर्नेछ ।

चीनको विश्व व्यापार हिस्सा सङ्कुचन र अर्थतन्त्र शिथिल हुन सक्नेछ । तर, अमेरिकी रोजगारीको २० प्रतिशतभन्दा बढी हिस्सा अन्तर्राष्ट्रिय आयात र व्यापारसँग सम्बन्धित हुँदा ती रोजगारी जोखिममा पर्न वा कटौती हुन सक्छन्

अमेरिकी अर्थतन्त्र निरन्तर विशिष्टीकृत हुँदै गएको छ । अमेरिकी अर्थतन्त्रको मुख्य आधार सैन्य उद्योग, स्पेस उद्योग, अन्य ठूला उद्योग, प्रविधि र सेवा हुन् । ट्रम्पको संरक्षणवादी नीतिले साना तथा मझौला उद्योग सजिलै पुनर्स्थापित होलान् भन्न सकिन्न ।

विश्वको आपूर्ति शृङ्खलामा दोस्रो विश्वयुद्धपछि जापानले लिएको स्थान आज चीन, दक्षिण कोरिया र ताइवानले लिएका छन् । अमेरिकाको चीनलाई रोक्ने रणनीतिले विश्व आपूर्ति शृङ्खलामै असर पर्न सक्दछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register