सरकार ढल्ने प्रचारबाजीमा माओवादी, प्रतिवादमा एमाले

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्‌को हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधनका क्रममा जोड दिएर भनेका थिए, ‘यो सरकार अहिल्यै ढल्दैन ।’ त्यसको अघिल्लो दिन मात्रै एमाले संसदीय दलको बैठकमा पनि उनले आफ्नो पार्टीका सांसदलाई ‘सरकार ढल्दैन है’ भनेर आश्वत तुल्याउने प्रयास गरेका थिए । ओलीले यो सरकार ढल्दैन भनिरहनुको कारण […]

Feb 3, 2025 - 09:39
 0
सरकार ढल्ने प्रचारबाजीमा माओवादी, प्रतिवादमा एमाले

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्‌को हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधनका क्रममा जोड दिएर भनेका थिए, ‘यो सरकार अहिल्यै ढल्दैन ।’

त्यसको अघिल्लो दिन मात्रै एमाले संसदीय दलको बैठकमा पनि उनले आफ्नो पार्टीका सांसदलाई ‘सरकार ढल्दैन है’ भनेर आश्वत तुल्याउने प्रयास गरेका थिए ।

ओलीले यो सरकार ढल्दैन भनिरहनुको कारण हो, प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्ति ‘यो सरकार ढलिहाल्छ ।’ केही दिनअघि मात्रै प्रचण्डले भनिदिएका थिए, ‘यो सरकार हामी हिँड्दाहिँड्दै ढल्छ ।’

केही समययता प्रमुख सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच यो दोहोरी निरन्तर चलिरहेको छ ।

माघ १८ मा हिउँदे अधिवेशनको पहिलो बैठकमा सरकार ढल्दैन भन्दै प्रधानमन्त्री ओलीले प्रतिवाद गरेका थिए । सोमबार अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष पौडेलले पनि शक्ति नभएकाहरूले सरकारको आयुबारे टिप्पणी गर्दै हिडेँको भनेर प्रतिवाद गर्नुपर्‍यो ।

माओवादी अध्यक्ष प्रचण्ड कहिले विपक्षी दलको बैठक राखेर प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने टिप्पणी गरिदिन्छन् । कहिले सरकार आफैँ ढल्ने प्रचारबाजी भनिदिन्छन् । उनी माओवादीलाई सत्तामा जान हतारो नरहेको दोहोर्‍याउँदै सरकारको आयुबारे टिप्पणी गर्न छुटाउँदैनन् ।

माघ ४ मा सिंहदरबारमा विपक्षी दलको बैठक राखेर उनले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका थिए । माघ १४ मा तेह्रथुम पुगेका प्रचण्डले यो सरकार आफैँ ढल्ने अभिव्यक्ति दिएका थिए । ‘कसैले केही नगरेपनि यो सकार आफैँ ढल्छ । हामीले ढाल्नै पर्दैन । हामी हिँड्दाहिँड्दै ढल्छ,’ उनको अभिव्यक्ति थियो ।

माघ ६ गते एमाले महासचिव शंकर पोखरेलले धनकुटा पुगेर ‘कसैले चाहँदैमा सरकार नढल्ने’ भनेर प्रतिवाद गरे । ‘बत्तिस सीट भएको पार्टीले एमाले र काङ्ग्रेसभन्दा ठूलो दम्भ देखाएकाले वर्तमान सरकार बनेको हो । कसैले चाहना राख्दैमा सरकार ढल्दैन,’ उनले भनेका थिए ।

सरकार गठन भएयता माओवादी केन्द्रले सरकारको आयुबारे गरेको यो पहिलो वा अन्तिम टिप्पणी होइन । र  एमालेले गरेको टिप्पणीको प्रतिवाद पनि पहिलो होइन । बरु एमाले नेताहरू प्रतिवादका क्रममा एकपछि अर्को आक्रोशित देखिन थालेका छन् ।

गत साता बसेको संसदीय दलको बैठकमा ओलीले  प्रचण्डले हरेक दिन र महिना सरकार ढल्छ भनेर टिप्पणी गरिरहेको भन्दै आक्रोश व्यक्त गरेका थिए । ‘दिनैपिच्छे सरकार ढल्छ भनेको छ । भाका सारेको छ । भोलि ढलेन पर्सी भनेको छ । पर्सी भएन अर्को हप्ता भने को छ । यो महिना ढलेन अर्को महिना सारकेको छ । दसैँमा ढलेन मंसिर भनेको छ,’ प्रचण्डको भनाइमा आक्रोशित हुँदै उनले भनेका थिए’ ‘०८४ मंसिरमा सरकार ढल्छ । त्योभन्दाअघि सरकारमाथिको रिस मात्रै हो ।’

१८ माघमा बसेको संसद् बैठकमा पनि ओलीले सरकारको आयुबारे अनावश्यक प्रचारबाजी नगर्न चेतावनी दिए । एउटा भाइरल गीत ‘म त ढलेँ ढलेँ …’  को विषय उप्काएर राजनीतिक मञ्चमा यस्तो नसुहाउने टिप्पणी गर्दै ओलीले दिन रात सरकार ढल्ने प्रचारबाजीले कसैको हित नहुने बताए ।

‘आजै ढल्यो, भरे ढल्यो भनिँदै छ, ढल्यो, ढल्यो, ढल्यो, ढल्यो । यो गीत मनोरञ्जनका लागि पार्टी उत्सवमा सुहाउला । राजनीतिक मञ्चमा त्यति सुहाउँदैन,’ ओलीको भनाइ थियो, ‘०८४ सम्म सरकार टसमस गर्नेवाला छैन । दिनरात यस्ता हल्ला गरेर तीन वर्ष बिताउनु जनता र देशका लागि के फाइदा ?’

त्यसपछि सोमबार मात्रै रुपन्देहीमा एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले पनि त्यसको प्रतिवाद गरे । शक्ति नभएकाहरूले सरकार ढल्ने प्रचारबाजी गरिरहेको टिप्पणी उनको छ । ‘पछिल्ला दिनमा सरकार ढल्छ भन्ने अभिव्यक्ति कम सुनिन थालेको छ, ‘प्रचण्डलाइ लक्षित गर्दै उनले प्रश्न गरे, ‘जसको सरकार ढाल्ने शक्ति हुँदैन । उसले सरकार ढल्छ भन्दै हिँड्ने ?’

काङ्ग्रेस-एमालेले निकै अप्ठेरो परिस्थतिमा सरकारको जिम्मेवारी लिएको भन्दै वर्तमान सरकारले मुलुकलाई स्थिरतातर्फ अग्रसर गराउने उनले बताए । काङ्ग्रेस र एमालेबीचको सहकार्य सहमतिअनुसार नै अघि बढ्ने उनको भनाइ थियो । संविधानको रक्षा, विकास, सुशासनका लागि गठबन्धन सरकार अघि बढेकाले दिग्भ्रमित अभिव्यक्तिमा विश्वास नगर्न उनले आग्रह गरेका छन् ।

गत असारमा ७ बुँदे सहमतिमार्फत काङ्ग्रेस र एमालेको गठबन्धन सरकार निर्माण भएको थियो । सात बुँदे सहमतिको पूर्ण पालना गरेर अघि बढ्ने र ०८४ सालसम्मै वर्तमान गठबन्धन कायम रहने अभिव्यक्ति एमाले अध्यक्ष ओलीले बारम्बार दिइरहेका छन् । माघ १४ मा भक्तपुरको सुर्यविनायक नगरपालिकाको प्रमुख प्रशासकीय भवन उद्दघाटनमा पुगेका ओलीले एमाले काङ्ग्रेसबीचको सहमति अनुसार देउवालाई सत्ता हस्तान्तरण गर्ने दोहोर्‍याएका थिए । ‘अब १७/ १८ महिनापछि शेरबहादुर देउवाजीले सरकार चलाउनुहुन्छ । अहिले मैले नेपाली काङ्ग्रेसबाट पूरा साथ पाएको छु । नेकपा एमालेले पनि उहाँलाई पूरा साथ दिन्छ र सफल बनाउँछ ।’

७ बुँदे सहमतिमा रहेको संविधान संशोधनको बुँदालाई असर पर्नेगरी प्रधानमन्त्री ओलीले पार्टीको बैठकमा अभिव्यक्ति दिएका थिए । त्यस अभिव्यक्तिलाई लिएर गठबन्धनमा सङ्कट आइपरहेको भाष्य प्रुमख प्रतिपक्षी दलले निर्माण गरिरहेको थियो । गठबन्धनमा कुनैपनि सङ्कट नआएको र सौहार्द सम्बन्ध रहेको ओलीले बताउने गरेका छन् ।

माघ १४ मा सत्ता गठबन्धन दलको बालुवाटारमा बसेको बैठककमा ओलीले देउवालाई एकै मञ्चमा राखेर गठबन्धनमा खटपट नरहेको राजनीतिक सन्देश दिन खोजेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register