मोन्टी देशाईले २ वर्षमा सिँगारेको नेपाली क्रिकेट
काठमाडौं। “खेलाडीले पाउने नतिजा पछाडिको कथा बन्न मन छ,” नेपाल क्रिकेट सङ्घ (क्यान)ले औपचारिक रुपमा मुख्य प्रशिक्षक घोषणा गरेको दिन मोन्टी देशाईले भनेका थिए । पत्रकार सम्मेलनमा नेपाललाई रोज्नु पछिको कारण सोध्दा उनले नेपाली क्रिकेटरमा रहेको जितको भोकले आफूलाई तानेको बताएका थिए । विश्वभर खेलाडीको प्रतिभा पहिचान गर्ने खुबी भएको मानिएका र ब्याटिङ प्रशिक्षणमा ख्याति […]

काठमाडौं। “खेलाडीले पाउने नतिजा पछाडिको कथा बन्न मन छ,” नेपाल क्रिकेट सङ्घ (क्यान)ले औपचारिक रुपमा मुख्य प्रशिक्षक घोषणा गरेको दिन मोन्टी देशाईले भनेका थिए ।
पत्रकार सम्मेलनमा नेपाललाई रोज्नु पछिको कारण सोध्दा उनले नेपाली क्रिकेटरमा रहेको जितको भोकले आफूलाई तानेको बताएका थिए ।
विश्वभर खेलाडीको प्रतिभा पहिचान गर्ने खुबी भएको मानिएका र ब्याटिङ प्रशिक्षणमा ख्याति कमाएका मोन्टीलाई नेपाली क्रिकेटले आशाको नजरले हेरेको थियो । जुन आशा कहिले डगमगाएन ।
हुन त मोन्टी नेपाली क्रिकेटको लागि नयाँ नाम भने थिएन । सन् २०१७ मा उनले नेपाली यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टिममा ब्याटिङ कन्सल्टेन्टको जिम्मेवारी निर्वाह गरेका थिए । त्यसबेला एसीसी यू–१९ एसिया कपमा नेपालले भारतलाई पराजित गरेको थियो ।
उनले सन् २०१५ को आईसीसी टी–ट्वान्टी विश्वकप छनोटका क्रममा पनि नेपाली क्रिकेट टिमका लागि काम गरेका थिए । यसकारण पनि उनको नेपाली क्रिकेटप्रति छुट्टै लगाव थियो ।

नेपाली क्रिकेटसँगको आत्मियता बढ्नुको कारणबारे उनले भनेका थिए, “भावनाले उद्देश्यलाई पछ्याउँछ । नेपालले एकदिवसीय मान्यता पाउन गरेको सङ्घर्ष नजिकबाट देखेको छु।”
क्यानका सचिव पारस खड्कालगायतको खेलाडीको सङ्घर्षलाई पनि मोन्टीले त्यस कार्यक्रममा सम्झेका थिए । “नेपाली क्रिकेटमा शरद, पारस र वसन्तले गरेको योगदानबारे अवगत छु । अहिले नयाँ टोलीमा पनि त्यही भावना देखेको छु,” उनले भनेका थिए ।
वान बल ब्याटल र ह्यापी ड्रेसिङ रुपको अवधारणा अपनाएर नेपाली क्रिकेटको दिशा नै परिवर्तन गर्न मोन्टी सफल भए । उनको प्रशिक्षणकालमा नेपालले एकपछि अर्को सफलता प्राप्त गर्यो ।
उनले अनुभवी र युवा खेलाडीको एउटा सन्तुलित टोली निर्माण गरे । हरेक खेलाडीको व्यक्तिगत क्षमतालाई उजागर मात्र गरेनन्, टोलीलाई एकाग्र बनाएर जितका लागि तयार पनि पारे ।
ह्याप्पी ड्रेसिङ रुमले राष्ट्रिय टोलीमा ल्याएको एकता
मोन्टीको आगमनअघि राष्ट्रिय टोलीको एकतालाई लिएर निकै प्रश्न उठिरहेको थियो । नेपाली खेलाडीबीच एकता नभएको, टिम स्पिरिट आदिको कमी भएको हल्ला धेरै चलिरहेको थियो । टोलीको प्रदर्शन खस्किएको थियो । खेलाडीले पनि आफ्नो क्षमता पूर्ण रुपमा देखाउन सकेका थिएनन् ।
तर, मोन्टीले अपनाएको ह्याप्पी ड्रेसिङ रुमको अवधारणाले मैदानबाहिरको वातावरण सुध्रिनुको साथै मैदान भित्रको खेलमा पनि क्रमिक सुधार हुँदै गयो । उनले टोलीमा खेलाडीलाई पनि आफ्नो व्यक्तिगत भूमिका पहिचान गराउन र एउटा युनिटको रुपमा खेल्न मानसिक रुपमा तयार गरे ।

हरेक खेलपछि उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई ड्रेसिङ रुममा सम्मान गरेर हौसला प्रदान गर्ने सुरुवात गरे । प्रयास सानो थियो, तर यसको असर निकै राम्रो सावित भयो । यसले नेपाली खेलाडीबीच आत्मियताको भावना स्थापित गर्न मद्दत गर्यो । अरुको सफलतामा खुशी र अरुको दुखमा साथ दिने प्रवृत्ति विकास भयो ।
यसको दुरुस्त उदाहरण मैदानमा पनि देख्न समर्थकले पाए । मैदानमा एकअर्कालाई सघाउने शैलीदेखि भुल हुँदा आत्मविश्वास दिने सम्मको दृश्यले खेलमा थप रौनकता आउन थाल्यो ।
यति मात्र नभई हरेक खेलपश्चात कुनै पनि खेलाडीको नकारात्मक टिप्पणी हुँदा मोन्टीले नै खेलाडीमा कमी नभएको केवल अवस्था फरक भएको भन्दै बचाउ गर्थे । कति पटक त खेलाडीको खराब प्रदर्शनको जिम्मेबारी आफूले बहन गरेर राम्रो प्रदर्शनको श्रेय भने खेलाडीलाई नै दिने गर्दथे ।
उनले खेलाडीलाई प्रशिक्षकको रुपमा मात्र नभई अभिभावकको रुपमा ग्रुम गर्ने आभास पनि गराउँथे । यसकारण पनि उनले नेपाली क्रिकेट टोलीलाई एक प्रकारले परिवार जस्तो बनाए ।
सङ्कटमा एकदिवसीय मान्यता जोगाउँदा
नेपाली टोलीलाई एकरूपता दिएपछि उनी प्रदर्शनमा केन्द्रित भए । मोन्टी जोडिँदा नेपालको क्रिकेट दयनीय अवस्थामा थियो । नेपालको अन्तर्राष्ट्रिय मान्यता सङ्कटमा थियो । विश्वकप क्रिकेट लिग–२ मा नेपालको अन्तिम १२ खेल बाँकी थियो । जसमध्ये ८ मा जित हासिल गरे मात्र एकदिवसीय मान्यता बचाउन सकिन्थ्यो ।
प्रशिक्षक मोन्टीको आगमनअघि नेपालले खेलेका ८ खेलमध्ये केवल १ मा जित हासिल गरेको थियो । यस्तो अवस्थामा नेपालले एकदिवसीय मान्यता कसरी जोगाउन सक्छ भन्ने चिन्ताको विषय थियो । क्रिकेट ओरालो लागिरहेको अवस्थामा मोन्टी जोडिएपछि नेपालको खेल सुध्रेन मात्र गति नै लिन थाल्यो ।
नेपालले अन्तिम १२ खेलमध्ये ११ मा जित हासिल गर्दै एकदिवसीय मान्यता बचाउन सफल भयो । त्यतिमात्रै होइन नेपाल विश्वकप क्वालिफायरमा समेत छनोट भयो ।
घरेलु मैदानमा यूएईलाई १७७ रनको कीर्तिमानी रनले पराजित गर्दै नेपालले एकदिवसीय मान्यता जोगाएको थियो । यो अवस्थामा नेपालले १० खेलमध्ये ९ मा जित हासिल गरेको थियो ।
एसीसी मेन्स प्रिमियर कपको च्याम्पियन
फाइनलमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले एसीसी मेन्स प्रिमियर कपको उपाधि जितेको थियो ।
यससँगै नेपालले पाकिस्तानमा हुने एसिया कपमा स्थान पक्का गरेको थियो । समूह एको विजेताको रुपमा अन्तिम चारमा स्थान बनाएको थियो ।
सेमिफाइनल खेलमा कुवेतसँगको खेल वर्षाका कारण नतिजाविहीन भएपछि नेपालले फाइनलमा स्थान पक्का गरेको थियो ।
एसिया कप
एसिया कपमा नेपाल नेपाल भारत र पाकिस्तानसँगै समूह ‘ए’मा थियो । टेस्ट मान्यता प्राप्त राष्ट्रहरुसँगको यो भिडन्त चुनौतीपूर्ण थियो । जहाँ नेपालले जित हासिल गर्न नसके पनि धेरैको ध्यानाकर्षण गर्न भने पक्कै सफलता पायो ।
खेलपश्चात पाकिस्तानका कप्तान बाबर आजमले नेपाली खेलाडीलाई प्रोत्साहन गर्दै

विशेष गरी भारतसँगको खेलले नेपाललाई अन्तराष्ट्रिय रूपमै चर्चित बनायो । प्रशिक्षक मोन्टीले अनुरोध गररे नेपाली टोलीलाई भारतीय ड्रेसिङ रुममा मेडल वितरण गरेका थिए ।
विराट कोहलीले आसिफ शेखलाई, हार्दिक पान्डेयाले सोमपाल कामी र भारतीय प्रशिक्षक राहुल द्रविडले दीपेन्द्रसिंह ऐरीलाई मेडल दिएका थिए ।
१० वर्षपछि विश्वकप क्रिकेटमा
नेपालले १० वर्षपछि सन् २०२४ मा टी-२० विश्वकप क्रिकेट खेल्यो । नेपाल विश्वकपमा जितविहीन रहे पनि चर्चा बटुल्न भने सफल भयो ।
नेपालले दुई टेष्ट टोली दक्षिण अफ्रिका र बङ्गलादेशलाई झण्डै पराजित गरेको थियो । तर, यहाँ अनुभवको कमी देखियो । जसका कारण दक्षिण अफ्रिकासँग १ र बङ्गलादेशसँग २१ रनले हारेपछि दोस्रो चरण पुग्न असफल भयो ।
विश्वकपमै नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको थियो भने श्रीलङ्कासँगको खेल वर्षाले रद्द भएको थियो ।
१० वर्षपछि विश्वकप क्रिकेटमा छनोट भएपछि नेपाली टीम (तस्वीर स्रोतः क्यान)
टिमको सङ्घर्ष र मोन्टीको बिदाई
पछिल्लो पटक भने नेपाली टिमले सङ्घर्ष गरिरहेको छ । लिग–२ का पछिल्ला १२ एकदिवसीय खेलमा नेपाल ८ खेलमा पराजित भयो । २ खेलमा जित हासिल गर्यो । १ खेल नतिजाविहीन रहँदा अर्को खेल भने रद्द भयो । यस क्रममा नेपाल लगातार ५ खेलमा पनि पराजित भएको थियो ।
नेपालको पछिल्लो एकदिवसीय प्रदर्शनलाई हेर्दा प्रश्न उठाउन सकिने धेरै ठाउँ छन् । के गर्दा प्रदर्शन सुधार्न सकिन्छ भन्ने चिन्ताको विषय नै बनेको छ ।
अब टिमले फरक प्रशिक्षक नै मागेको छ कि भन्ने पनि लागिरहेको थियो । शायद मोन्टीले पनि नेपाली टिमका लागि गर्न सक्ने सबै योगदान गरिसकेका थिए ।
छोटो समयमा उनले नेपाली क्रिकेटको आधार बलियो बनाएका छन् । अहिले नेपाल विश्वका जुनसुकै टिमसँग भिड्न सक्ने अवस्थामा पुगेको छ । यो सबै मोन्टीकै कारण सम्भव भएको हो ।
नेपाललाई आफ्नो दोस्रो घर नै बनाएका मोन्टीको नाम नेपाली क्रिकेट इतिहासमा सधैँ चम्किरहने छ ।
What's Your Reaction?






