भारतमा नेपाली छात्राको मृत्युबारे संसद्मा बोल्न नपाएपछि सुमनाको आक्रोश : ‘यो देशमा सरकार छ ?’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भारतमा नेपाली विद्यार्थीको शङ्कास्पद मृत्युपछि भइरहेको घटनाबारे बोल्न समय माग गर्दा सभामुख देवराज घिमिरेले अस्वीकार गरेपछि सामाजिक सञ्जालबाट आक्रोश व्यक्त गरेकी छन् । बोल्न समय नपाएपछि सोमबारको प्रतिनिधि सभा बैठक छाडेर बाहिरिएकी श्रेष्ठले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेकी हुन् । भारतमा रहेका नेपाली विद्यार्थीसँग गरेको कुराकानीको अडिओसमेत […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भारतमा नेपाली विद्यार्थीको शङ्कास्पद मृत्युपछि भइरहेको घटनाबारे बोल्न समय माग गर्दा सभामुख देवराज घिमिरेले अस्वीकार गरेपछि सामाजिक सञ्जालबाट आक्रोश व्यक्त गरेकी छन् ।
बोल्न समय नपाएपछि सोमबारको प्रतिनिधि सभा बैठक छाडेर बाहिरिएकी श्रेष्ठले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेकी हुन् । भारतमा रहेका नेपाली विद्यार्थीसँग गरेको कुराकानीको अडिओसमेत राखेर उनले उल्लेख गरेकी छन्, “सभामुखलाई संसद्मा यसबारेमा आवाज उठाउँ भन्दा समय दिनुभएन ।”
उनले एक्समा लेखेकी छन्, “यो त आकस्मिक नै भएन भन्नु भो । संसद्मा आकस्मिक समय दिइयो- प्रधानमन्त्रीलाई कसरी प्रश्न सोध्ने भन्ने कक्षा सञ्चालनका लागि । हामी सांसदलाई झोले किन भनियो भन्ने गुनासो सुन्नलाई । हाम्रा विद्यार्थी विदेशमा मारिँदा र अनाहकमा सयौँले दु:ख पाउँदा त्यो कुरा संसद्मा प्रवेश नपाउने तर, मेरा नेतालाई किन यस्ता प्रश्न गरिस् भन्ने कुरा चै आकस्मिकमा रहने हो भने जसले झोले भने, सहि भने ।”
उनले थप लेखेकी छन्, “आज बिहान भारतको केआईआईटीको होस्टलमा एक जना नेपाली विद्यार्थी मृत फेला परेपछि न्यायका लागि आवाज उठाउँदा विश्वविद्यालयले त्यहाँका सबै नेपाली विद्यार्थीलाई निस्किएर जान भनि पठाएको छ। कैयौँ विद्यार्थीलाई रेलवे स्टेशन छाडिएको छ । विद्यार्थीहरू खालि हात अन्जान ठाँउमा अलपत्र छन् । भर्खरै एकजना अलपत्र परेका भाइले भन्नुभयो- दूतावासले यो कुरा माथिबाट डिल हुन्छ भन्छ । सरकारबाट कुनै पहल भएको छैन । यो देशमा सरकार छ ?”
प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ ‘ढ्यापढ्यापे’ विधिअनुसार सुमनाले समय मागेकी थिइन् तर, सभामुखले समय दिन अस्वीकार गरेका थिए ।
प्रतिनिधि सभाको नियमावलीको नियम १५ ले अघिल्लो बैठक र प्रारम्भ हुन लागेको बैठकबीचको अवधिमा सांसदले ढ्याप ढ्याप गरि समय माग गरेमा उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।
नियमावलीमा यस्तो व्यवस्था भएपनि प्रतिनिधि सभाको कार्यव्यवस्था समितिले भने सांसदले ढ्यापढ्याप गर्दैमा समय नपाउने निर्णय गरेको छ । आकस्मिक समयमा बोल्नका लागि सांसदले सभामुखसमक्ष पहिले नै नाम टिपाउनुपर्ने कार्यव्यवस्था समितिको निर्णय छ । सांसद सुमनाले पहिले नै नाम टिपाए पनि सभामुखले आज नबोल्न भनेको रास्वपाकी सचेतक निशा डाँगीले बताइन् ।
यो पनि पढ्नुहोस :
भारतमा नेपाली छात्राको मृत्यु : प्रशासनले विद्यार्थीलाई कलेजबाट निकालेर रेल स्टेशनमा पुर्यायो
What's Your Reaction?






