के ‘डिपसिक’बाट चीन एआई प्रविधिमा अमेरिकाभन्दा अघि बढेको मान्न सकिन्छ ?

मलाई लाग्थ्यो कि तानाशाही राज्यले नवआविष्कारलाई अवरोध गर्दछ । तर, डिपसिकको सफलताले यो सोचलाई चुनौती दिन्छ । तर, यो बिर्सन मिल्दैन कि डिपसिक बिल्कुलै नयाँ चिनियाँ आविष्कार भने हैन ।

Feb 18, 2025 - 09:42
 0
के ‘डिपसिक’बाट चीन एआई प्रविधिमा अमेरिकाभन्दा अघि बढेको मान्न सकिन्छ ?

यो अनिश्चित र भ्रमित समय हो । हामी महाव्याधि, जलवायु परिवर्तन, प्रमुख अर्थतन्त्रमा सामाजिक बुढ्यौली (एजिङ) र बढ्दो भूराजनीतिक तनावसँग मात्र लडिरहेका छैनौँ । बरु हामीलाई यो थाहा छ कि कृत्रिम बौद्धिकता (एआई)ले संसारलाई परिवर्तन गर्न खोजिरहेको छ । यो हेर्न बाँकी छ कि यस्तो बदलाव कति छिटो र कसको फाइदाका लागि हुन्छ ?

एआई प्रविधिको आश्चर्यजनक क्षमताले सबैलाई चकित पारेको छ । यस्तो लाग्छ – यसभित्र मानव सञ्ज्ञानात्मक सबै क्षमता छ । यसको विकासक्रमको चरमोत्कर्षतिर आउने अति प्रतिभाशाली एआई हाम्रा सहायक बन्ने हुन् कि मालिक भन्ने बहस सृजना भएको छ ।

यदि एआईले वास्तविक अर्थतन्त्रमा कस्तो प्रभाव पारिरहेको छ भनेर हेर्ने हो भने त्यस्तो गतिलो योगदान देखिँदैन । एआईले क्रान्तिकारी उत्पादकत्व लाभ दिएको कुनै प्रमाण छैन । प्रविधिले गरेका वाचाअनुरूप जनशक्ति आवश्यकता कटौती भएको छैन । अहिले पनि थुप्रै रेडियोलोजिस्ट, पत्रकार, वकिल, एकाउन्टेन्ट, कार्यालय कर्मचारी र सवारी चालक चाहिरहेकै छ ।

आगामी दशकभित्र एआईले मानव श्रम आवश्यकताको ५ प्रतिशतभन्दा बढी प्रतिस्थापन गर्ने देखिन्न । निर्णय, बहुआयामिक तर्क क्षमता र सामाजिक सीप भएको एआई बन्न अझ धेरै समय लाग्ने छ । यद्यपि, यो अनुमान हो र अनुमान गलत हुने सम्भावना सधैँ हुन्छ ।

यो प्रविधि उद्योगभित्रका मान्छेको कुरा सुन्दा ‘गेम चेन्जर’ एआई छिट्टै आउन सक्दछ । तर, यो प्रविधि उद्योगभित्र महत्वाकाङ्क्षी पूर्वानुमानको इतिहास लामो छ । सन् १९५० को मध्यतिर एआईका हजुरबा मानिने मार्विन मिन्स्कीले केही वर्षभित्रै मेसिनले मानिसलाई उछिन्ने भविष्यवाणी गरेका थिए । तर, त्यसो भएन ।

सन् १९७० को दशकसम्म उनी यो जिद्दी गर्दै थिए – “३–८ वर्षमा औसत मानिसको प्रतिभा बराबर काम गर्न सक्ने मेसिन आउन सक्छ ।” 

यसको मतलब यस्तो मेसिन आउने छ, जसले सेक्सपियरको साहित्य पढ्न, कार चिल्लो पार्न, औपचारिक राजनीतिक खेल्न, मजाक गर्न र झगडा गर्न सक्दछ । त्यसपछि मेसिनले आफूले आफैँलाई नयाँ शिक्षा दिन थाल्नेछ । त्यसको केही महिनामा मेसिन अझ प्रतिभाशाली बन्नेछ र अर्को केही महिनामा अगणनीय शक्ति हासिल गर्ने छ ।

यस्ता पूर्वानुमान धेरैपटक भए, सेलाए । के यसपटक स्थिति फरक होला ? निःसन्देह पहिलेभन्दा धेरै क्षमतावान् एआई आइरहेका छन् । तर, यस्तो अहिलेसम्म भएको छैन कि दाबी गरिएको समयसीमा सही छ । एआई विकासकर्ताहरू लगानीकर्तालाई आकर्षित गर्न, आसन्न क्रान्तिकारी सफलताको छाप छोडिरहेका हुन्छन् । सफलतालाई अतिरञ्जित गरिरहेका हुन्छन् ।

तर, सुस्त गतिको एआई विकासक्रमले पनि थुप्रै चिन्ता बढाएको छ । डिपफेक, मतदाता तथा उपभोक्ता हेराफेरि, आम निगरानी आदि आइसवर्गको टुप्पोजस्तो मात्रै हुन् । डिजिटल प्रविधि स्वचालनमा यसले ठूलो काम गरिरहेको छ । कार्यस्थलमा उत्पादकत्व वृद्धिको कुनै प्रष्ट आधार बिनै डिजिटल स्वचालन प्रविधि प्रयोग भइरहेका छन् । तिनले श्रमिकको उत्पादकत्व कमै बढाएको छ । एआईले उत्पादकत्व वृद्धिमा कति मद्दत गर्छ वा गर्दैन भन्ने गणना बिनै हामफाल्ने काम भएको छ ।

एआईका नकारात्मक पक्ष पनि हामी अनदेखा गर्न सक्दैनौँ । ती हुन् – श्रम विस्थापन, गलत सूचना प्रवाह र हेराफेरि । श्रमिक, सामाजिक र राजनीतिक जीवनमा यसको ठूलो नकारात्मक असर छ । यसले सृजना गरेका मात्र हैन, गुमेका ठूला अवसरको समेत प्रतिनिधित्व गर्दछ ।

एआईप्रतिका हाम्रा सामाजिक अपेक्षा फरक छन् । ती हुन् – एआई श्रमिक वर्गको पूरक बनोस्, उत्पादकत्व, आयस्तर र जीवनस्तर सुधार गरोस्, डेटा र गोपनियताको सुरक्षा गरोस्, सूचना पर्यावरणमा सुधार गरोस् र लोकतन्त्रलाई सुदृढ गरोस् ।

एआई एक सूचना प्रविधि नै हो । पूर्वानुमानात्मक होस् वा सृजनशील उत्पादन क्षमता यसको कार्य सूचना माध्यम र सान्दर्भिक ढाँचा पहिचान र प्रदान गर्नु हो ।

आज हामी यस्तो युगमा बाँचिरहेका छौँ, जहाँ सूचनाको अत्याधिक उपलब्धता छ । तर, उपयोगी सूचना भने कम छन् वा चिन्न गाह्रो भइरहेको छ । चाहिने, नचाहिने सबै कुरा इन्टरनेटमा छ तर कुनै उद्देश्यमूलक कामका लागि चाहिने सूचना फेला पार्न भने गाह्रो छ ।

उपयोगी सूचनाले मात्र उत्पादनशीलता वृद्धि हुन सक्छ । आजको अर्थतन्त्रलाई चाहिएको मुख्य चिज यही हो । नर्स हुन् वा शिक्षक, प्लम्बर हुन् वा इलेक्ट्रिसियन वा अन्य कुनै आधुनिक कामदार जटिल समस्याको समाधान कसरी गर्ने भन्ने विषयमा ती सँग सूचना र तालिम कम छन् ।

कतिपय विद्यार्थी किन पछि पर्छन् वा अनुत्तीर्ण हुन्छन् ? कुन उपकरण र सवारी साधनलाई कस्तो मर्मतसम्भार चाहिन्छ ? हवाई जहाजजस्ता जटिल चिजका गल्ति कसरी पत्ता लगाउने र जोखिम कम गर्ने ? वास्तवमा यस्ता सूचना एआईले दिन सक्नुपर्ने हो । एआई श्रम प्रतिस्थापन गर्न हैन, श्रमिकलाई राम्रा उपयोगी सूचना दिएर उनीहरूको सेवाको माग र आय बढाउन प्रयोग गरिनुपर्ने हो । यस हुन नदिन ३ वटा प्रवृत्तिले अवरोध गरिरहेको छ ।

एक–एआईलाई मानव उपयोगी हैन, मान्छेभन्दा प्रतिभाशाली बनाउने भूत यो क्षेत्रमा सवार छ । यथार्थमा च्याटबोटले दिने उत्तरले मात्र सीपसँग सम्बन्धित समस्या हल हुँदैन । च्याटबोटले सेक्सपियरका श्लोक स्क्रिनमा लेख्ला, तर इलेक्ट्रिसियनलाई त्यसले कुनै मद्दत गर्दैन ।

दुई–हामी जुनस्तरमा एआईमा लगानी गर्न तयार छौँ, त्यो मान्छेमा लगानी गर्न किन तयार छैनौँ ? आज मानवीय क्षेत्रको लगानी कम हुँदै गएको छ । मान्छेको तालिम, ज्ञान, सीप र शिक्षामा लगानी बढाउँदा मेसिनभन्दा मान्छे झनै कति अघि निस्केला ? हामीले जति नै प्रतिभाशाली एआई किन नबनाउँ, त्यो मान्छेकै लागि त हो । मानिसको सशक्तीकरण र सहजताभन्दा एआईको अरु कुनै काम हुने छैन ।

तेस्रो – व्यवधान उद्योगहरूको व्यावसायिक प्रारूप हो । एआई उद्योगले लगानीको आधारमा प्रतिफल प्राप्त गर्ने मनसाय राख्नु ठीकै होला तर, त्यसको पहुँच विस्तार हुन जरुरी छ । यो उद्योगको सबैभन्दा धेरै आय डिजिटल विज्ञापन, उपकरण तथा सेवा बिक्रीबाट आउने हो । यस्तो व्यावसायिक प्रारूपले पुँजी, डाटा र प्रतिभाको व्यापक केन्द्रिकरण गरिरहेको छ । एआई उद्योगमा हाम्रो मुख्य सरोकार मानवमैत्री एआई हुनु पर्ने हो । यसका लागि एआई भाष्यमै ठूलो भिन्नता जरुरी छ । यो काम अब सरकारले गर्नुपर्दछ ।

एआई क्षेत्रमा सरकारहरू बीच प्रतिस्पर्धा सुरु भएको छ । अहिले चिनियाँ डिपसिकको कारण एआईको दुनियाँमा अमेरिका र चीनबीच वर्चश्वको लडाइँको चर्चा चुलिएको छ ।

डिपसिक सुरु भएपछि एनभिडियालगायत धेरै अमेरिकी कम्पनीको सेयर मूल्यमा भारी गिरावट आयो । यसले केही जटिल प्रश्न खडा गर्दछ ।

चिनियाँ डिपसिक सुरु हुनुभन्दा अघि अमेरिकी कम्पनी विकल्पबारे विचार गर्न तयार थिएनन् । उनीहरूलाई आफ्ना उत्पादन, सेवा र व्यवसायिक प्रारूपमा अति आत्मविश्वास थियो । ती आफूलाई सर्वोत्कृष्ट र प्रतिस्पर्धीविहीन ठान्थे ।

चिनियाँ डिपसिक अमेरिकी एआई प्रारूपभन्दा धेरै भिन्न चाहिँ छैन । तर, बढी प्रभावकारी र सस्तो छ । यसले केही परिष्कृत विचार र सिकाइलाई जोड दिएको छ । अमेरिकी एआई कम्पनी सस्तो र अझ प्रभावकारी विकल्पतिर सोच्न मानिरहेका थिएनन् । अब या त उनीहरू यसो गर्न बाध्य हुनेछन् या तिनको अवसर चुक्ने छ ।

अर्को कुरा यो भनिदैछ कि चीन प्रविधि आविष्कारमा अमेरिकाभन्दा अघि बढेको छ । यसको अर्थ यो हुन्छ कि लोकतान्त्रिक मात्र हैन, सर्वसत्तावादी राज्य पनि नवविचारमा अघि बढ्न सक्दछ । लोकतान्त्रिक राज्यसँग प्रतिस्पर्धा मात्र हैन, जित्न सक्दछ ।

मलाई लाग्थ्यो कि तानाशाही राज्यले नवआविष्कारलाई अवरोध गर्दछ । तर, डिपसिकको सफलताले यो सोचलाई चुनौती दिन्छ । यो कति टिकाउ हुन्छ, त्यो भने प्रतीक्षाकै विषय हो । तर, यो बिर्सन मिल्दैन कि डिपसिक बिल्कुलै नयाँ चिनियाँ आविष्कार भने हैन । यो अमेरिका र युरोपले वर्षौँ लगाएर गरेको प्रगतिमा आधारित छ । यसका आधारभूत नियम अमेरिकामै विकसित भएर चीन पुगेका हुन् । अमेरिकी बिग टेक संस्थाले ट्रान्सफर्मर प्रारूप, चेन अफ थट रिजनिङडिस्टिलेशनको सुरुवात गरेको थियो । यही प्रविधि अघि बढेर एआईको आधार बसेको थियो ।

यस अर्थमा डिपसिकको सफलता आविष्कारको सफलताभन्दा बढी इन्जिनियरिङ्‌को सफलता हो । यस आधारमा भन्दा डिपसिकको सफलतालाई अमेरिकी सफलताभन्दा ठूलो र लोकतान्त्रिक राज्यमाथि सर्वसत्तावादी राज्यको विजय मान्न सकिन्न ।

भूराजनीतिक दृष्टिकोणबाट हेर्दा अमेरिकाले चीनलाई चिप्स निर्यात प्रतिबन्ध लगाएर रोक्ने जुन प्रयास गरेको थियो, त्यो असफल भएको छ । तर, डिपसिकले अहिले प्रयोग गरेको चिप्स प्रारूप पुरानो र कम शक्तिशाली हो, जो निर्यात प्रतिबन्ध अघि अमेरिकाबाटै प्राप्त गरेको थियो । चीनलाई यो प्रविधि अघि बढाउन भविष्यमा अझ शक्तिशाली चिप्स चाहिन्छ ।

जे होस्, एआई प्रविधिमा चीनले प्राप्त गरेको सफलताले उसको भूराजनीतिक दबदबालाई वृद्धि गर्दछ । अमेरिकी प्रविधि कम्पनीहरूको आत्मविश्वासलाई निःसन्देह हल्लाइ दिएको छ ।

(प्रोजेक्ट सिन्डिकेटबाट सम्पादित अनुवाद – लेखक अर्थशास्त्रतर्फ नोबल पुरस्कार विजेता हुन् )

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register