मुख्यमन्त्री सिंहको ‘अप्रेसन अस्पताल’ : जनकपुरका डेढ दर्जन अवैध अस्पताल बन्द

जनकपुर । मधेस प्रदेसका मुख्यमन्त्री सतिश कुमार सिंहले चलाएको ‘अस्पताल अप्रेसन’ अभियानमा १८ वटा अवैध अस्पतालहरू बन्द भएका छन् । जनकपुरका निजी अस्पतालमा बिरामीमाथि ठगी भइरहेको र लापरवाहीका कारण ज्यान जाने गरेका घटनाहरू सार्वजनिक भएपछि मुख्यमन्त्री सिंहले थालेको अनुगमनमा अहिलेसम्म १८ वटा अस्पताल बन्द भएका हुन् । मुख्यमन्त्री सिंहसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीले अघिल्लो […]

Feb 19, 2025 - 14:55
 0
मुख्यमन्त्री सिंहको ‘अप्रेसन अस्पताल’ : जनकपुरका डेढ दर्जन अवैध अस्पताल बन्द

जनकपुर । मधेस प्रदेसका मुख्यमन्त्री सतिश कुमार सिंहले चलाएको ‘अस्पताल अप्रेसन’ अभियानमा १८ वटा अवैध अस्पतालहरू बन्द भएका छन् ।

जनकपुरका निजी अस्पतालमा बिरामीमाथि ठगी भइरहेको र लापरवाहीका कारण ज्यान जाने गरेका घटनाहरू सार्वजनिक भएपछि मुख्यमन्त्री सिंहले थालेको अनुगमनमा अहिलेसम्म १८ वटा अस्पताल बन्द भएका हुन् ।

मुख्यमन्त्री सिंहसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीले अघिल्लो हप्तादेखि थालेको निजी अस्पताल अनुगमनबाट दर्ता प्रक्रियाविना सञ्चालनमा आएका अस्पतालहरू बन्द गरिएका हुन् ।

अनुगमन समितिका सदस्य एवं मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरका अनुसार टोलीले ४० भन्दा बढी निजी अस्पताल अनुगमन गरिसकेको छ । जसमा ९ वटा अस्पताल मात्रै विधी र प्रक्रियामा सञ्चालन रहेका र बाँकी अवैध ढंगले सञ्चालनमा रहेको पाइएका हुन् ।

तीमध्ये जनकपुरमा रहेका मुस्कान अस्पताल, अरमान हस्पिटल, सहयोग हस्पिटल, जनकपुर मोर्डन हस्पिटल, माँ गायत्री मेमोरियल हस्पिटल, रामा मेमोरियल हस्पिटल, जनकपुर सिता हस्पिटल, बिएन हस्पिटल, ज्योति आँखा अस्पताल, जनकपुर गोल्डेन हस्पिटल, जनकपुर मधेश हस्पिटल, लाइफ केयर एण्ड रिसर्च सेन्टर, न्युरो सेन्टर, कृष्णा अस्पताल, जनकपुर गोदावरी हस्पिटल, जनक मेमोरियल हस्पिटल, गीताश्री इएनटी स्पेसियालिटी क्लिनिक प्रालि र जनकपुर मोडल अस्पताल दर्ताविना नै सञ्चालन भइरहेका थिए ।

यस्तै,  समर हस्पिटल, श्रीराम हस्पिटल, जनकपुर ग्राण्डी अस्पताल, साई मल्टिस्पेसियालिटी हस्पिटल एण्ड ट्रमा सेन्टर, ओम दीर्घायु अस्पताल, मिहीलाल एन्टरनेशनल, जनकपुर सुरक्षा अस्पताल, विनयतारा फाउण्डेशन, धनुषा अस्पताल, जनकपुर सिटी, नवजीवन अस्पताल, बैदेही अस्पताल, एडभान्स सिटी एण्ड डाइगनोष्टिक सेन्टर नवीकरण नगरिकनै सञ्चालन भइरहेको पाइएका छन् ।

अनुगमनका क्रममा कागजी प्रक्रिया मात्रै पूरा गरी सञ्चालनमा रहेका अस्पताल पनि भेटिएका छन् । जसमा नैना अस्पताल, म्याक्स लाइफ, स्वस्तिक अस्पताल, हिरा हस्पिटल एण्ड रिसर्च सेन्टर, न्यूरो हस्पिटल एण्ड रिसर्च सेन्टर, कृष्ण मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर, जीवन ज्योति, केयर मेडिकल सेन्टर र अपोलो अस्पताल रहेका छन् ।

मुख्यमन्त्री सिंह र प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह सहितको टोलीले अनुगमनको क्रममा बन्द गराएका १८ अस्पताललाई दर्ता प्रक्रिया पूरा गरेर मात्र सञ्चालन गर्न दिने भएको छ ।

अनुगमन समितिका सदस्य ठाकुरका अनुसार १३ वटा अस्पताललाई नवीकरणका लागि दुई महिनाको समयावधि दिएको छ भने कुनै पनि निकायबाट स्वीकृति नलिएर सञ्चालन भएका १८ वटा अस्पताल बन्द गरिएको बताए । ‘बन्द भएका अस्पतालले दर्ता गरेर पुनः सञ्चालन गर्न सकिन्छ,’ उनले भने ।

निजी अस्पताल खोल्नका लागि स्वास्थ्य ऐन अनुसार अनुमति लिनुभन्दा अगाडी आवश्यक मापदण्डहरू पूरा गर्नुपर्ने प्रावधान छ । तर, जनकपुरधाममा रहेका अधिकांश नीजि अस्पतालहरूले मापदण्ड पूरा नगरेका कारणले सञ्चालन अनुमतिपत्र बेगर नै सञ्चालन भइरहेका अस्पतालबाट बिरामीमाथि ठगीका घटना बढ्न थालेपछि मुख्यमन्त्री सिंहले नगर क्षेत्रका करिब ४० अस्पतालको छड्के अनुगमन गरेका हुन् ।

जनकपुरमा यस्ता अस्पतालहरूका कारण बिरामीहरूले अकालमा ज्यान गुमाउनु परेका प्रसस्त उदाहरणहरू छन् । अवैध हिसाबले सञ्चालनमा रहेका ती अस्पतालले बिरामीलाई आकर्षित गर्नका लागि एम्बुलेन्स चालकदेखि बसपार्क, चोक तथा गाउँ गाउँमा प्रचार गर्ने व्यक्ति समेत परिचालन गर्ने गरेका पाइएका छन् ।

एक महिनासम्म बिरामीको खुलेन होस्

सर्लाहीकी बबिता कुमारी यादव पेट दुखेपछि जनकपुरको सूर्या अल्ट्रासाउन्डमा चेकजाँच गराउन पुग्छिन् । रिपोर्टमा पित्त थैलीमा पत्थरी देखिएको भन्दै त्यहाँका एकजना कर्मचारीले उनलाई मुस्कान अस्पतालमा शल्यक्रिया गराउनु पर्ने बताए ।

बबिता माघ ३ गते जनकपुर १४ मुजेलिमामा रहेको मुस्कान अस्पतालमा पुगिन् । उनको पित्तथैलीको शल्यक्रिया गर्नुपर्ने भनेपछि बिरामी पक्ष तयार भयो । शल्यक्रिया त भयो तर, चिकित्सहरूको टिमले होस फर्काउन सकेन ।

होस नखुलेपछि मुस्कान अस्पतालका डाक्टरहरूले उनका श्रीमानलाई अन्यत्रै लैजान भने । त्यसपछि परिवारले उनलाई ६ माघमा जनकपुरको जानकी हेल्थकेयरमा भर्ना गर्‍यो ।

जानकी हेल्थकेयरमा २९ माघसम्म उपचार हुँदा पनि बबिताको होस खुलेन । त्यसपछि उनलाई काठमाडौंको वीर अस्पतालमा पुर्‍याइयो । तर, वीरमा भेन्टिलेटर खाली नभएको भनेपछि उनलाई माघ ३० गते काठमाडौं मेडिकल कलेज (केएमसीमा) भर्ना गर्नुपर्ने स्थिति आयो ।

यसबीचमा बिरामी र अस्पतालका बीचमा तनाव भएपछि यो विषय मुख्यमन्त्री सिंहसम्म पुग्यो । त्यसपछि सिंहले माघ २५ गते अस्पतालको अनुगमन गरे । अनुगमनका क्रममा थाहा भयो,  उक्त अस्पताल दर्ता विना नै अवैध रुपमा सञ्चालन भइरहेको रहेछ । त्यसपछि मुख्यमन्त्री सिंहले तुरुन्तै बन्द गर्न निर्देशन दिए ।

मुस्कान अस्पतालमा शल्यक्रिया गर्दा चरम लापरबाही गरेको भन्दै बबिताका बुबा ब्रह्मदेव यादवले माघ तेस्रो साता जिल्ला प्रहरी कार्यालय धनुषा र नेपाल मेडिकल काउन्सिलमा उजुरी दिए।  जिल्ला प्रहरी कार्यालय धनुषाले बबिताका परिवार र अस्पताल प्रतिनिधिहरूलाई राखेर दुईपटक छलफल गरायो । तर, हालसम्म अस्पताल सञ्चालक र चिकित्सकलाई कुनै कारबाही नभएको पीडित परिवारको गुनासो छ । अस्पतालमा सर्जनका रूपमा चिनाइएका ज्ञानकुमार साह नेतृत्वको टोलीले बबिताको शल्यक्रिया गरेको थियो ।

अहिले उनको काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचार भइरहेको छ । बबिताका श्रीमान अंगेशकुमार यादवले चिकित्सकले थोरै सुधार आएको भनिरहेको बताए पनि अझै होस नआएको बताए ।

मुख्यमन्त्री सिंहले बबिताको राम्रो अस्पतालमा लगेर उपचार गराउने प्रबन्ध मिलाउन मुस्कान अस्पताल सञ्चालकलाई निर्देशन दिएका थिए । तर, अस्पताल सञ्चालकले अटेर गरेपछि परिवारका सदस्यहरुले ऋण काढेर काठमाडौं पुर्‍याएका छन् । उनको उपचारमा अहिलेसम्म ११ लाखभन्दा बढी खर्च भइसकेको श्रीमान अंगेशले नेपालभ्युजलाई जानकारी दिए ।

उनी थप उपचारका लागि सुरुमा शल्यक्रिया गरिएको मुस्कान अस्पतालले वा सरकारले सहयोगको आशमा छन् ।

एम्बुलेन्स चालक बनेर अनुगमनमा मुख्यमन्त्री

यस्ता अस्पतालको जनकपुरमा विगविगी नै छ । यसको नियन्त्रण गर्ने हम्मे परेपछि मुख्यमन्त्री सिंहले आइतबार अनुगमनका क्रममा आफैं  एम्बुलेन्स चालक बनेर फोनमा कुराकानी गरेका थिए । उनले आफू एम्बुलेन्स चालक भएको भन्दै मोडल अस्पतालका सुरक्षा गार्डलाई फोन गरेका थिए ।

फोन वार्ताका क्रममा अस्पतालले उनलाई आकर्षित गर्ने र अनावश्यक शुल्क असुल्न खोजेको थियो । त्यसपछि उनले यसलाई निरन्तर जारी राखेका छन् । मुख्यमन्त्री सिंहले भने, ‘दलाली गरेर बिरामीलाई आर्थिक शोषण गर्ने कार्य सह्य हुँदैन । प्रदेश सरकारले यस्ता अनियमित गतिविधि नियन्त्रण गर्न कडाइका साथ लागेको छ ।’

जनकपुर उप–महानगरपालिकाले हालै गरेको एउटा अध्ययनले यहाँका दर्जनौँ निजी अस्पतालहरू वर्षौँदेखि दर्ताविनै सञ्चालनमा रहेको भेटिएका थिए । जनकपुरमा मात्रै करिब ६० वटा निजी अस्पताल छन् । तीमध्ये करिब ७५ प्रतिशत अस्पताल दर्ता विना सञ्चालनमा रहेका उपमहानगरकै तथ्यांकले देखाउँछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register