नारायणकाजीलाई अग्निले रोके, प्रचण्डले फकाए
काठमाडौं । झापाको कचनकवलबाट माओवादी केन्द्रले ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ सुरु गरेको छ । नेपालको होचो स्थानबाट सुरु गरिएको जागरण अभियानमा माओवादीका अधिकांश पदाधिकारी सहभागी छन् । कचनकवलमा भएको अभियानको उद्घाटन कार्यक्रममा सबै पदाधिकारीलाई पालैपालो बोल्ने समय छुट्ट्याएको थियो । आफ्नो बोल्ने पालो आएपछि माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मञ्चमा उभिए । औपचारिक सम्बोधनपछि […]

काठमाडौं । झापाको कचनकवलबाट माओवादी केन्द्रले ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ सुरु गरेको छ । नेपालको होचो स्थानबाट सुरु गरिएको जागरण अभियानमा माओवादीका अधिकांश पदाधिकारी सहभागी छन् ।
कचनकवलमा भएको अभियानको उद्घाटन कार्यक्रममा सबै पदाधिकारीलाई पालैपालो बोल्ने समय छुट्ट्याएको थियो ।
आफ्नो बोल्ने पालो आएपछि माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मञ्चमा उभिए । औपचारिक सम्बोधनपछि उनी सैद्धान्तिक कुरा गर्न थाले । श्रेष्ठले आफ्ना कुरा भनी सकेकै थिएनन् छेउमा आएर उभिए, माओवादी उपाध्यक्ष अग्नि सापकोटा ।
सापकोटा छेउमा ठिङ्ग उभिइरहेपछि श्रेष्ठले निको मानेनन् । उनले असहज महसुस गरे । बोली रहेका श्रेष्ठ सापकोटातिर फर्किए, सापकोटा चुपचाप उभिइरहे । अनि श्रेष्ठले माइकबाटै भने, ‘रोक्न खोजेको हो ?’ यतिन्जेलसम्म श्रेष्ठको छेउमा कार्यक्रम सञ्चालक पनि आइपुगे । एकातिर सापकोटा अर्कोतिर कार्यक्रम सञ्चालक उभिएपछि श्रेष्ठले मञ्चमा बसेका प्रचण्डतिर पुलुक्क हेर्दै सोधे, ‘समयको चाप छ ?’
अनि श्रेष्ठले कुरा बुझे । र, सैद्धान्तिक विषयवस्तुको भाषण अपूरै छाडे ।
‘समयको चाप छ । म केही कुरा भन्न चाहान्थेँ, सायद । सञ्चालकलाई कार्यक्रमको चाप भयोहोला । म बिदा हुन्छु लालसलाम,’ श्रेष्ठले भाषण टुंग्याए ।
मञ्चमा देखिएको यो दृश्यले कार्यक्रम स्थलमा उपस्थित कार्यकर्ताहरूलाई पनि एक छिन अन्योलमा पार्यो । एक सहभागीका अनुसार, श्रेष्ठले रोकिएर प्रचण्डलाई समयको चापबारे सोध्दा प्रचण्डले बोल्न सङ्केत गरेका थिए । तर, छेउमै उभिएका सापकोटा पर नसरेपछि परिस्थिति नबिग्रियोस् भनेर श्रेष्ठले भाषण टुङ्ग्याए ।
नेपालभ्युजसँगको कुराकानीमा श्रेष्ठले समयको चापका कारण आफूले मन्तव्य छोट्याएको बताए । ‘म बोलिरहेको थिएँ । उहाँ (अग्नि सापकोटा) आएर मेरो छेउमा निकै बेर उभिनुभयो, मलाई असहज महसुस भयो । फेरी कार्यक्रममा समयको पनि चाप थियो । उहाँ उभिएपछि मैले मन्तव्य अन्त्य गरेको हो,’ श्रेष्ठले भने ।
श्रेष्ठले अधुरै भाषण छाडेपछि बोल्ने पालो आयो प्रचण्डको । बोल्दा बोल्दै रोकिनुपर्दा श्रेष्ठ रिसाएको कुरा प्रचण्डले बुझेका थिए । त्यसैले आफ्नो सम्बोधनका क्रममा उनले समयको चापका कारण यस्तो हुन पुगेको प्रष्टीकरण दिए । सबै पदाधिकारीलाई बोल्ने अवसर दिएको हुँदा समय कम हुन गएको प्रचण्डको भनाइ थियो ।
प्रचण्डले बोल्दाबोल्दै श्रेष्ठलाई रोकेको विषयमा अग्नि सापकोटाले आत्मसमिक्षा गरेर क्षमा मागिसकेको कुरा पनि आफ्नो सम्बोधनमा सुनाए । श्रेष्ठलाई रोकिएको घटनमाथि पार्टीभित्र समीक्षा गरिने दाबी पनि उनले गरे ।
‘वरिष्ठ उपाध्यक्ष कमरेडले बोल्दै गर्दा अलिकति असहज जस्तो हुन गयो,’ प्रचण्डले कुरा मिलाउन खोजे, ‘अग्निजीले अलिकति आत्मसमिक्षा गरेर क्षमा चाहन्छु भनिसकेको हुनाले यसको हामी मूल्याङ्कन र समीक्षा गरौँला ।’
यो विषयलाई प्रचण्डले यत्तिमै सकेनन् । श्रेष्ठको असहजता फुकाउन खोज्दै उनले भने, ‘कमरेड वरिष्ठ उपाध्यक्षले बढो गम्भीर ढङ्गले सैद्धान्तिक रूपमा विषय राख्न बल गर्दै हुनुहुन्थ्यो । उहाँलाई नरोक्दा हुन्थ्यो भन्ने लागेको थियो मलाई ।’ तर, यतिन्जेलसम्म प्रचण्डकै भाषण सकिन लागिसकेको थियो ।
What's Your Reaction?






