सबै काम छाडेर कुलमानको पछि लाग्दै ऊर्जामन्त्री खड्का, हटाउने नियतले फेरि सोधे स्पष्टिकरण
काठमाडौं । सबै काम छाडेर विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका पछि लागेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले फेरि स्पष्टिकरण सोधेका छन् । घिसिङलाई पदबाट किन नहटाउने भन्दै मन्त्री खड्काले मङ्गलबार २४ घण्टे स्पष्टिकरण सोधेका हुन् । मन्त्रिस्तरीय निर्णयबाट सोधिएको स्पष्टिकरणमा २४ घण्टाभित्र जवाफ दिन भनिएको प्राधिकरण स्रोतले जनाएको छ । यसपटक खड्काले कुलमानप्रति […]

काठमाडौं । सबै काम छाडेर विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका पछि लागेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले फेरि स्पष्टिकरण सोधेका छन् ।
घिसिङलाई पदबाट किन नहटाउने भन्दै मन्त्री खड्काले मङ्गलबार २४ घण्टे स्पष्टिकरण सोधेका हुन् । मन्त्रिस्तरीय निर्णयबाट सोधिएको स्पष्टिकरणमा २४ घण्टाभित्र जवाफ दिन भनिएको प्राधिकरण स्रोतले जनाएको छ ।
यसपटक खड्काले कुलमानप्रति नेपाल-भारत द्विपक्षीय बैठकमा सहभागी भएको विषय उठाएका छन् । उनले पत्रमा नेपाल–भारत द्विपक्षीय विद्युत् विनिमय समितिको बैठकमा कुन निकायको स्वीकृति लिएर गएको भनेर सोधेका छन् ।
‘नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ को अनुसूचीको विषय सङ्ख्या २० र २३ अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्मा पेस गर्नुपर्ने विषयमा मन्त्रालयको सहमति नलिई आर्थिक दायित्व बढ्ने गरी द्विपक्षीय वार्ताको माध्यमबाट तयार भएको सहमतिपत्रमा हस्ताक्षर गर्ने अख्तियारी तपाईंले कसरी पाउनुभयो ? यस विषयमा तपाईंलाई कारबाही किन नगर्ने ?’ भनेर पत्रमा सोधिएको छ ।
प्राधिकरणको सञ्चालक समितिको अध्यक्षमा खड्का नियुक्त भएयता निरन्तर कुलमानविरुद्ध लागिरहेका छन् । मन्त्री खड्काले अहिलेसम्म थुप्रेपटक स्पष्टिकरण सोधिसकेका छन् ।
यसअघि सोमबारको मन्त्रिपरिषद् बैठकमा उनले कुलमानलाई हटाउने प्रस्ताव लैजाने तयारी गरेका थिए । तर, शिर्षस्थ नेताले नमानेपछि उनी रोकिएका थिए ।
उनले अहिलेसम्म आन्तरिक भ्रमण काज, बिदा, अन्तर्राष्ट्रिय भ्रमणमा कति पटक गएको भन्ने विषयमा समेत कुलमानलाई स्पष्टिकरण सोधेका छन् ।
पछिल्लो पटक मङ्गलबार दिइएको पत्रमा यसअघि सोधिएका स्पष्टिकरणको जवाफ चित्तबुझ्दो नभएको समेत उल्लेख गरिएको छ ।
What's Your Reaction?






