किताब लेख्ने योजनामा रहेका रविले अझै फिर्ता पाएनन् ‘जेल डायरी’

काठमाडौं । सधैँजसो चर्चाको केन्द्रमा रहने रवि लामिछाने यतिखेर पनि चर्चामै छन् । तर, यतिखेर उनको चर्चाको कोण  फरक छ । टेलिभिजनदेखि संसद्‌सम्म संसद्‌देखि सिंहदरबारसम्म ‘हुँकार’ छाड्ने लामिछाने यतिखेर मौन छन् । उनको मौनताको कारण हो, सहकारी ठगीको मुद्दा । कार्तिक २ मा सहकारी ठगी मुद्दामा पक्राउ परे यता लामिछानेको दैनिकी हिरासतदेखि अदालत आउजाउमै बितिरहेको […]

Feb 27, 2025 - 08:46
 0
किताब लेख्ने योजनामा रहेका रविले अझै फिर्ता पाएनन् ‘जेल डायरी’

काठमाडौं । सधैँजसो चर्चाको केन्द्रमा रहने रवि लामिछाने यतिखेर पनि चर्चामै छन् । तर, यतिखेर उनको चर्चाको कोण  फरक छ । टेलिभिजनदेखि संसद्‌सम्म संसद्‌देखि सिंहदरबारसम्म ‘हुँकार’ छाड्ने लामिछाने यतिखेर मौन छन् ।

उनको मौनताको कारण हो, सहकारी ठगीको मुद्दा । कार्तिक २ मा सहकारी ठगी मुद्दामा पक्राउ परे यता लामिछानेको दैनिकी हिरासतदेखि अदालत आउजाउमै बितिरहेको छ ।

करिब तीन महिनाको हिरासत बसाइँपछि २५ पुसमा कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्‍यो । सहकारी ठगीमा लामिछानेविरुद्ध कास्की, काठमाडौं, चितवन, कपिलवस्तु र पर्सामा मुद्दा छ ।

कास्कीबाट राहत पाएलगत्तै लामिछाने काठमाडौं आइपुगे । काठमाडौं आएर पनि हिरासतकै बास भयो लामिछानेको । २ माघमा काठमाडौं जिल्ला अदालतले पनि उनलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दियो ।

काठमाडौंपछि उनी लागे रुपन्देही । १३ माघमा रुपन्देही जिल्ला अदालतले उनलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्‍यो ।

रुपन्देहीपछि उनी पुगे चितवन । चितवन जिल्ला अदालतमा उनी ५४ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भए ।

कास्की, काठमाडौं, रुपन्देही र चितवनबाट धरौटीमा रिहा भएपनि पर्सामा अझै मुद्दा अदालत पुगिसकेको छैन । जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार लामिछानेको मुद्दामा अझै अनुसन्धान चलिरहेको छ । २५ मङ्सिरमै लामिछानेले पर्सामा बयान दिइसकेका थिए । तर, अनुसन्धान भने अझै सकिएको छैन ।

जिल्ला प्रहरी कार्यालय पर्साकाअनुसार सहकारीका केही कागजात खोज्ने काम भइरहेको छ ।

अड्डा अदालत र मुद्दा मामिलाको यो गोल चक्करमा लामिछानेको सांसद पद निलम्बित भयो । यससँगै उनी पार्टीको सभापतिबाट पनि हटे । यतिखेर रास्वपाको कमाण्ड सम्हालिरहेका छन्, डोरप्रसाद(डीपी) अर्याल ।

माघ १८ मा लामिछानले आफ्नो निलम्बित सांसद पद फुकुवा गराउने प्रयास गरेका थिए । अदालतबाट धरौटीमा छुटेको हुँदा आफ्नो निलम्बन फुकुवा हुनुपर्ने माग पत्र बोकेर प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई भेट्न पुगेका थिए । घिमिरेले लामिछानेको पत्र बुझेपनि माग भने स्वीकार गरेनन् ।

चार वटा अदालतमा मुद्दा खेपिरहेका र पाँचौंमा अनुसन्धान भइरहेको अवस्थामा रवि लामिछाने के गर्दैछन् त ?

लामिछाने निकट मानिने रास्वपाका सह–कोषाध्यक्ष दीपक बोहोरा भन्छन्, “पर्साको मुद्दा पर्खिरहनु भएको छ ।”

मुद्दा मामिलाकै कारण लामिछानेले सार्वजनिक रुपमा बोल्न बन्द गरेका छन् । रास्वपा प्रमुख सचेतक सन्तोष परियारकाअनुसार लामिछाने पार्टीका गतिविधिमा सामेल छैनन् । उनी भन्छन्, “आजभोलि त घरमै हुनुहुन्छ ।”

रास्वपा नेता कार्यकर्ताहरु लामिछानेलाई भेट्न उनकै घरमा पुग्छन् । प्रत्यक्ष रुपमा पार्टीका गतिविधिमा सामेल नभएपनि लामिछानेले पार्टीका गतिविधि भने नियालि रहेका छन् । लामिछाने निकटस्थकाअनुसार उनी आवश्यकताअनुसार पार्टीलाई निर्देशन पनि दिन्छन् ।

पछिल्लो पटक लामिछाने गृहमन्त्री रहँदा प्रेस सल्लाहाकार रहेका प्रमोद न्यौपाने यतिखेर पनि लामिछानेसँगै छन् ।

कार्तिक २ मा लामिछाने पक्राउ परेयता भएका सबै घटनाक्रमको जानकारी न्यौपानेले फेसबुक लाइभ मार्फत दिँदै आएका छन् । न्यौपानेकाअनुसार लामिछाने यतिखेर परिवारसँग निजी समय व्यतित गर्दैछन् ।

“परिवारसँग निजी समय व्यतित गर्दै हुनुहुन्छ,” पर्साको मुद्दा पर्खिरहेको बताउँदै न्यौपाने भन्छन्, “आजभोलि सभापति घरतिरै हुनुहुन्छ । पर्सामा मुद्दा दर्ता भएको छैन, त्यही पर्खेर बसिरहनु भएको छ । पार्टीसँग सम्पर्कमा भएपनि राजनीतिक गतिविधिमा सामेल भने हुनुहुन्न । कार्यकर्ता, शुभेच्छुकहरु उहाँलाई भेट्न घरमै जान्छन् ।”

रास्वपा वृत्तमा रवि लामिछाने किताब लेख्दैछन् भन्ने हल्ला पनि छ । तर, न्यौपानेकाअनुसार किताब लेख्ने योजना बनेको भएपनि लामिछानेले लेख्न भने सुरु गरिसकेका छैनन् । उनले सुनाए, “लेख्ने सोच बनेको हो । तर, लेख्नै भने थालिसकेको होइन ।” आफ्ना राजनीतिक अनुभवहरु समेटेर किताब लेख्ने सोच भने बनाएका छन्, लामिछानेले ।

किताब लेख्नकै लागि भनेर लामिछानले हिरासत बसाइँका क्रममा डायरी लेख्न सुरु गरेका थिए । तर, लामिछानेको डायरी भने प्रहरीले ‘गायब’ पारेको छ ।

मङ्सिर २१ को दिनभर चितवनमा बयान सकिएपछि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा ल्याइयो । तर, रातारात नै लामिछानेलाई चितवनबाट कास्की लगियो । लामिछानेलाई रातारात चितवनबाट कास्की ल्याउने क्रममा प्रहरीले लामिछानेको डायरी खोसेको थियो । डायरीमा उनले हिरासत र अदालतका आफ्ना अनुभव लेख्ने गरेका थिए ।

प्रहरीले डायरी फिर्ता गरेपनि डायरी भित्रका लेखिएका पानाहरु भने फिर्ता नगरको बताउँछन्, न्यौपाने । डायरी लिन नपाइने ठाउँमा लामिछाने फोटोकपी पेपर मागेर लेख्ने गर्थे । त्यसरी लेखेको कागज उनी डायरीभित्रै राख्ने गर्थे । “ए फोर साइजको कागजमा लेखेर उहाँले डायरीभित्र राख्ने गर्नेु भएको थियो,” न्यौपाने सुनाउँछन्, “चौतर्फी दबाब भएपछि प्रहरीले डायरी फिर्ता गर्‍यो । तर, त्यहाँ भित्र लेखिएका कागज भने फिर्ता गरेन ।”

कास्कीबाट धरौटीमा रिहा भएपछि लामिछाने भनेका थिए, “बोल्ने समय आएपछि नबोल भनेपनि बोलौँला ।”

रुपन्देही अदालतबाट धरौटीमा रिहा भएर आउँदा पनि उनले भनेका थिए, “सबै प्रक्रियाहरु सकौँ, त्यसपछि भन्नुपर्ने कुराहरु धेरै छन् महसुस भएका कुराहरु कति छन्, त्यसलाई थाँती राखौँ । बोल्ने समय अहिले भएको छैन ।”

माघ १४ मा कास्की अदालतविरुद्ध उच्च अदालत पोखरा पुग्दा पनि लामिछानेले भनेका थिए, “बोल्ने बेला आएपछि बोलिहाल्छु, चिन्ता नगर्नुहोला, बेला आइहाल्छ, बेला आएपछि नबोल भनेपनि बोलौँला ।”

त्यसो भए लामिछानेको बोल्ने पालो कहिले आउँछ त ? “यो अदालती प्रक्रिया सबै सकिएपछि”, लामिछाने निकटस्थहरु भन्छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register