ह्वाइट हाउसमा जेलेन्स्कीसँग ट्रम्पको व्यवहारले उठाएका प्रश्न

निहुँ कसले खोज्यो वा आक्रमणकारी को हो ? त्यो त घाम जत्तिकै छर्लङै छ । युक्रेन सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो कि हैन ? युक्रेनी सार्वभौमसत्ता, भौगोलिक अखण्डता र अक्षुण्णताको सम्मान रुस र बाँकी विश्वले गर्नु पर्छ कि पर्दैन ? 

Mar 1, 2025 - 15:40
 0
ह्वाइट हाउसमा जेलेन्स्कीसँग ट्रम्पको व्यवहारले उठाएका प्रश्न

काठमाडौं अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसको ओभल अफिसमा शुक्रबार युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग राष्ट्रपति डोनाल्ड ट्रम्पको भेटघाट भयो । यो भेटसँग विश्वका अपेक्षा फरक थिए । धेरैले सोचिरहेका थिए कि अमेरिका र युक्रेनबीच दुर्लभ खनिज पदार्थ उत्खनन तथा उपयोग सम्झौता हुन सक्दछ । 

३ वर्ष लामो युद्धमा युक्रेनलाई सहयोग गरेबापत ट्रम्पले दुलर्भ खनिज पदार्थ मागिरहेका थिए । तर, यो विषयले प्रवेश नै पाएन । बरु राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले जेलेन्स्कीसँग मिडियाको क्यामरा अगाडि जुन व्यवहार प्रदर्शन गरे त्यसले विश्वलाई उल्टै आश्चर्यचकित बनायो । यो दृष्य कुनै सार्वभौम राष्ट्र प्रमुखमाथिको दुर्व्यवहार र आफैँले बोलाएको अतिथिमाथिको अपमानजस्तो देखिन्थ्यो ।

न्युओर्क टाइम्सका स्तम्भकार थोमस एल. फ्रिडम्यानका शब्दमा ‘अमेरिकाको २५० वर्षको इतिहासमा कहिल्यै नभएको घटना’ हो यो ।

फ्रिडम्यान भन्छन् – ‘ट्रम्प–भान्सले जेलेन्स्कीलाई एम्बुसमा पारे । युरोपको ठूलो युद्धमा हाम्रा राष्ट्रपतिले लोकतान्त्रिक, आक्रमणपीडित र स्वतन्त्रता सेनानीविरुद्ध आक्रमणकारी, तानाशाह र हस्तक्षेपकारीको प्रष्ट पक्ष लिए ।’

ट्रम्प–भान्सको तर्क एक प्रकारले धम्कीजस्तो थियो । उनीहरू जेलेन्स्कीलाई सम्झाउन खोजेजस्तो गर्दै आफ्ना स्वार्थमा सहमत गराउन लागिपरेका थिए । यद्यपि, युक्रेन यदि युद्धविराम, शान्ति वार्ता र युद्ध अन्त्यका लागि सहमत हुने हो भने अमेरिकी प्रस्ताव र प्रारूप प्रष्ट थिएन । 

करिब ३ वर्ष लामो युद्धमा रुसले अधिनस्थ गरेका करिब २८ प्रतिशत भूभाग रुसलाई नै सुम्पेर शान्तिवार्ता गर्न युक्रेनलाई अमेरिकाको कुनै भूमिका आवश्यक पर्दैन । यस्तो लेनदेन त युक्रेन–रुसबीच नै सहजै हुनु सक्दछ । युक्रेनका लागि अमेरिकी भूमिकाको अर्थ त्यतिखेर मात्र रहन सक्दछ– जब युक्रेनको सुरक्षाबारे कुनै ठोस र मान्य प्रस्ताव अघि सर्दछ

जेडी भान्सले अहिलेसम्मका अमेरिकी सहयोगका लागि ट्रम्पलाई ‘धन्यवाद’ भन्न जेलेन्स्कीमाथि दबाब दिइरहे तर, ट्रम्पले भने तिनै सहयोग गरेबापत आफ्ना अग्रज जो बाइडनलाई ‘मूर्ख’ भनिरहेका थिए । ट्रम्पले भने– ‘जो बाइडनजस्तो मूर्ख मान्छेको कारणले हामीले ३ वर्षमा ३५० बिलियन डलर दिएका छौँ ।’ 

तर, ट्रम्प बाइडनको त्यही ‘मूर्खता’का लागि आफूलाई ‘धन्यवाद’ भनिनु पर्ने अनौठो तर्क गर्दै थिए । ट्रम्प यो भन्दै थिए कि युक्रेन अहिलेसम्म अमेरिकाको कारणले युद्धमा टिकेको हो । नत्र केही हप्ता पनि टिक्दैन ।

बदलामा जेलेन्स्कीले यो सम्झाएकी पुटिनले ३ दिन पनि नटिक्ने धम्की दिएका थिए तर युक्रेन ३ वर्ष टिकिसक्यो

३ वर्ष लामो अनपेक्षित युद्ध र जनधनको क्षतिपछि युक्रेन युद्धबाट त्यतिकै फिर्ता हुनु पर्ने कारण के हो त ? यसको कारणमा ट्रम्प जेलेन्स्कीलाई यो विश्वासमा लिन खोज्दै थिए कि युक्रेनको अवस्था राम्रो छैन । अमेरिका युक्रेनलाई जोगाउन चाहन्छ । युक्रेन समस्यामा छ । तर, अमेरिकी जनता पनि युक्रेनलाई थप पैसा दिन सक्दैनन् ।

युक्रेन समस्यामा छ भनेर बुझ्न जेलेन्स्कीलाई न ह्वाइट हाउस पुग्न जरुरी थियो न ट्रम्प, भान्सको ‘लेक्चर’ सुन्न । जो आफैँ मैदानमा ३ वर्षदेखि युद्धको सामना र नेतृत्व गर्दै छ– स्वाभाविक रूपमा समस्या र मजबुती पनि उसैलाई धेरै थाहा हुन्छ ।

युक्रेन समस्या अरु कसैलेभन्दा बढी युक्रेनीले नै बुझ्छन् । अरुले युद्धबारे सुनेका छन्, पढेका छन्, टिभी र भिडियो क्लिप हेरेका छन् । युक्रेनीले भोगेका छन्, व्यहोरेका छन् । सामना गरेका र लडेका छन् । युक्रेनी नागरिक र सेनामा राष्ट्रियता र देशभक्तिको भावना नभएको भए अमेरिकी, युरोपेली सहयोगले मात्र युद्ध धान्दैनथ्यो ।

अमेरिका युक्रेनलाई थप सहयोग गर्न चाहन्छ/चाहँदैन, त्यो अमेरिकी छनोट र निर्णयको विषय हो । युक्रेन आफ्नै बुताले अमेरिकी सहयोगबिनै लड्न चाहन्छ भने त्यो उसको छनोट र निर्णयको विषय बन्छ ।

टिप्पणीकार ठान्दछन् कि शुक्रबार ट्रम्प–भान्सले जेलेन्स्कीसँग गरेको व्यवहार कूटनीतिक दृष्टिकोणले पनि अनुपयुक्त र अमर्यादित थियो । कूटनीतिक संवादको एक त आफ्नै प्रकारको भाषा र शैली हुन्छ । अझ युक्रेन विद्यमान परिदृष्यको पीडित राष्ट्र हो । पीडितको मनोदशा केही असन्तुलित हुन सक्दछ । तिनलाई प्रेमपूर्ण सम्बोधन आवश्यक पर्दछ ।

ट्रम्प जेलेन्स्कीलाई यो भन्दै थिए कि युद्धका कथा धेरै नबताउँदा हुन्छ । युद्धग्रस्त देशबाट आएको मान्छेले युद्धको पीडा नसुनाएर के सुनाउँछ ?

अन्तर्राष्ट्रिय कूटनीतिमा बारम्बार पेचिला सवाल आउँछन् र अलिक जटिल प्रकृतिको चर्काचर्की संवाद पनि हुन सक्छ । के यस्तो चर्काचर्की मिडियाको क्यामेरासामु गरिन्छ ? विश्व कूटनीतिमा कस्तो सन्देश दिइएको छ ? कस्तो सभ्यता सिकाइरहेको छ ? भनेर पनि सायद सोच्न पर्ने हुन्छ ।

ट्रम्प–भान्सजेलेन्स्कीबीचको संवादको सबैभन्दा धेरै मज्जा सायद भ्लादिमिर पुटिनले उठाए होलान् । पुटिन संवादमा थिएनन् तर लाग्थ्यो, ट्रम्प–भान्सले नै पुटिनको कुरा बोलिरहेका छन् । जब अरु कसैले आफ्नो कुरा बोल्दिन्छ भने स्वयं आफैँ उपस्थित हुन किन जरुरी हुन्छ ?

युक्रेन युद्धबारे अहिले विश्व दृष्टिकोण व्यापक विभाजित छ । कतिपयले के ठान्दछन् भने युक्रेनले रुससँग जानाजान निहुँ खोजको हो । नेटोको उक्साहटमा परेको हो । अमेरिकाको ढाल बनेर रुससँग फोकटमा भिड्न गएको हो । तर, यो बिर्सन्छन् कि युक्रेनले नेटोको सदस्यताको चाहना राख्नु अघि नै सन् २०१४ मा क्रिमिया विलयन भइसकेको थियो । यो पनि बिर्सन्छन् कि सन् २०२२ को फेब्रुअरी २४ को आक्रमण किभले हैन, मस्कोले सुरु गरेको थियो ।

निहुँ कसले खोज्यो वा आक्रमणकारी को हो ? त्यो त घाम जत्तिकै छर्लङै छ । युक्रेन सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो कि हैन ? युक्रेनी सार्वभौमसत्ता, भौगोलिक अखण्डता र अक्षुण्णताको सम्मान रुस र बाँकी विश्वले गर्नु पर्छ कि पर्दैन ? यदि पर्दैन भने कुरा प्रष्ट भयो ।

जस्तो कि पुटिन युक्रेनलाई भिन्नै सार्वभौमसत्ता सम्पन्न राष्ट्र मान्दैनन् । ‘फेक नेसन’ भन्छन् । यसको अर्थ हो कि पुटिनको दृष्टिकोणमा कुनै भ्रम छैन । उनी घोषित आक्रमणकारी हुन् । उनी युक्रेनलाई एक भिन्नै राष्ट्र नै मान्दैनन् भने सार्वभौमसत्ताको सम्मानको प्रश्न नै उठ्दैन ।

तर, के अमेरिकाको दृष्टिकोण पनि त्यही हो ? कम्तिमा आजसम्म अमेरिकाले त्यसो भनेको थिएन । बाइडन ट्रम्पको आँखामा मूर्ख होलान् तर, उनले एक खास विश्व दृष्टिकोणको प्रतिनिधित्व भने गर्दथे । बाइडन–ह्यारिसको आँखामा युक्रेन एक सार्वभौमसत्ता सम्पन्न देश थियो ।

ट्रम्प–भान्स ठान्दछन् कि युक्रेन एक सार्वभौमसत्ता सम्पन्न देश पनि हो र उसले अमेरिकी दबाबमा रुससँग आत्मसमर्पण पनि गर्नु पर्दछ भने त्यो विरोधाभास बन्न पुग्दछ । एक सार्वभौम राष्ट्रले आफ्नो हारजित, भविष्य वा नियतिको निर्णय आफैँ गर्न सक्दछ । युक्रेन असाध्यै सानो, कमजोर, निम्छरो देश पनि हैन । युरोपको सबैभन्दा ठूलो क्षेत्रफल भएको देश हो ।

शुक्रबारको जेलेन्स्कीसँगको ट्रम्प र भान्सको व्यवहारपछि युरोप आक्रोशित देखिन्छ । सिङ्गो युरोपले युक्रेनलाई आफ्नो हिस्सा ठानेको छ । यसलाई युरोपेली सार्वभौमसत्ता र सुरक्षासँग जोडेर हेरेका छन् । ति सबैले वासिङ्टनप्रति बिमति राख्दै युक्रेनलाई तत्काल समर्थन गर्ने वक्तव्य दिएका छन्, जो समकालीन विश्व समीकरणमा अमेरिकी खेमाका देश मानिन्थे ।

क्यानडाली प्रधानमन्त्री जस्टिन ट्रुडोदेखि फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोँसम्म ट्रम्प–भान्स व्यवहारप्रति असन्तुष्ट देखिन्छन् ।

दोस्रो विश्वयुद्धको अन्त्यपछि पहिलोपटक युरोप र अमेरिकाबीच फरक प्रकृतिको ध्रुविकरण हुन खोजेको छ । यी दुवै खालेलाई ‘पश्चिमा देश’ को प्याकेजभित्र एउटै खेमामा राखेर हेर्ने गरिन्थ्यो । हुन सक्दछ अब युक्रेन युद्ध अमेरिकाको साटो युरोपेली सहयोगमा अघि बढ्छ ।

मानौँ कि युक्रेनलाई कसैले सहयोग गरेन, त्यसो भए युद्ध हार्ने सम्भावना बढ्छ, त्यस्तो बेला आत्मसमर्पण गर्नुभन्दा लडेर हार्नुले राष्ट्रको आत्मलाई जोगाई रहन सक्दछ । भोलिका दिनमा फेरि स्वतन्त्रता आन्दोलनको बिउ जोगिने नैतिक आधार बाँकी रहन्छ । सैन्य कारबाहीमा गराएर वा कुनै देशमा भौगोलिक एकीकरण गरेर मात्र कुनै राष्ट्रको आत्मा सधैँलाई मर्दैन ।

लडेर हारेको र कायरतापूर्वक आत्मसमर्पण गरेको राष्ट्रको इतिहास एकै प्रकारले लेखिँदैन, फरकफरक हुन्छ ।

जेलेन्स्की परिपक्क राजनेताको साटो एक ‘पपुलिस्ट कमेडियन’ नै हुन् सही तर, शुक्रबारको ओभल अफिसको घटनापछि विश्वभरि उनीप्रतिको सहानुभूति बढेको छ । साना र कमजोर राष्ट्रको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा अक्षुण्णता विश्वास गर्ने विश्व जनमतले युक्रेन र जेलेन्स्कीप्रति सकारात्मक भाव र समर्थनको भावना व्यक्त गरिरहेको छ ।

सहानुभूतिको यो लहरले पनि पुष्टि गर्दछ कि जेलेन्स्कीसँगको ट्रम्प–भान्सको व्यवहार उचित थिएन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register