गणतन्त्रवादी दलका नजरबाट राजावादी समर्थित र्‍याली नियाल्दा

काठमाडौं । आइतबार पूर्व राजा ज्ञानेन्द्र शाह पोखराबाट विमान चार्टर गरेर काठमाडौं ओर्लिए । विमानस्थलमा उनको स्वागतका लागि आउन राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राजावादी समूहले अपिल गरेका थिए । राजालाई स्वागत गर्न १० हजार भन्दा बढी समर्थक विमानस्थल पुगेको प्रहरीले जानकारी दिएको छ । ‘हामीले १० हजार भन्दा बढी समर्थक उपस्थित […]

Mar 9, 2025 - 16:18
 0
गणतन्त्रवादी दलका नजरबाट राजावादी समर्थित र्‍याली नियाल्दा

काठमाडौं । आइतबार पूर्व राजा ज्ञानेन्द्र शाह पोखराबाट विमान चार्टर गरेर काठमाडौं ओर्लिए । विमानस्थलमा उनको स्वागतका लागि आउन राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राजावादी समूहले अपिल गरेका थिए । राजालाई स्वागत गर्न १० हजार भन्दा बढी समर्थक विमानस्थल पुगेको प्रहरीले जानकारी दिएको छ ।

‘हामीले १० हजार भन्दा बढी समर्थक उपस्थित भएको अनुमान गरेका छौँ,’ काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले नेपालभ्युजसँग भने ।

फागुन ७ मा राजाको सन्देशपछि हौसिएका राजवादीहरू एयरपोर्टमा देखिएका जमातले थप उत्साही छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालभ्युजसँग भनेका छन्,’यो उपस्थितिले राजसंस्थाप्रतिको आकर्षण मात्रै होइन राजसंस्थाको मागलाई निषेध होइन सहकार्य गरेर अघि बढ्ने सन्देश दिएको छ ।’

राप्रपाको नजरमा राजसंस्थाप्रतिको आकर्षण देखिएको जमातलाई गणतन्त्रवादी दलहरूले चाहिँ कसरी नियाले होलान् त ?

सुरुमा मैले एमाले उपमहासचिव प्रदीप ज्ञवालीसँग कुराकानी गरे । उनले उपस्थित जमात तीन किसिमको रहेको बताए । पहिलो, पुरानो व्यवस्थामा प्रतिबद्ध पक्षधर । दोस्रो अस्थिरता सिर्जना गर्न उद्धत पक्ष र तेस्रो वर्तमान शासन प्रणालीप्रति असन्तुष्ट पक्ष। ‘यो भीडमा तीन किसिमका मानिस मिसिएका छन् । पश्चगामी व्यवस्थामा प्रतिबद्ध मानिसहरू, अस्थिरता बढाउन सकिन्छ भनेर मौका कुरिरहेकाहरू र तेस्रो वर्तमान शासन प्रणालीमा निरासा व्यक्त गरिरहेका मानिसहरू,’ उनले भने ।

भीडको सङ्ख्या जति नै भए पनि यसले मसानमा परिणत भइसकेको राजसंस्थालाई ब्युँताउन नसकिने उल्लेख गरे । ‘उपस्थित भीडले पश्चगमन पक्षधरहरूमा उत्साह थपिएको होला तर राजसंस्था अब फर्किन कुनै हिसाबले सम्भव छैन,’ उनले भने ।

ज्ञवालीले धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको भन्दै सरकारले भीडलाई नजरअन्दाज गर्न नमिल्ने सुझाव दिए । सरकारले शासन सञ्चालनमा सुशासनलाई सुदृढ बनाउँदै नागरिकलाई राम्रो डेलिभरी दिएर अघि बढे निराशाको न्यूनीकरण हुने र यसरी भीड सिर्जनाको परिस्थिति नआउने बताए ।’यो घटनाक्रमलाई सरकारले नजिकबाट निकाल्नुपर्छ । शान्ति सुरक्षा राम्रो बनाउनुपर्छ । सुशासनमा सुधार ल्याउँदै नागरिकलाई राम्रो डेलिभरीको गति बढाउँदै जाने हो भने सरकारप्रति नागरिक भरोसमा थप बलियो हुन्छ र असन्तुष्टिको न्यूनीकरण हुनेवित्तिकै यस्ता भीड जम्मा हुने कुरै हुँदैन,’ उनले भने ।

ज्ञवालीको धारणा बुझेपछि मैले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँग फोन संवाद गरेँ । पुनले सुरुमै चासो राखे-‘साँच्ची कति सङ्ख्यामा उपस्थित थिए राजवादीहरू?’

मैले उनलाई एसएसपी  शेखर खनालले दिएको जानकारी सुनाएँ ।’प्रहरीले १० हजार भन्दा बढीको आकलन गरेको छ ।’

‘ओ हो! निकै सङ्ख्यामा पो भेला भएछन् त,’ उनले भने ।

उनको दृष्टिकोणमा यो निराशाको जमात हो । दलहरू सच्चिनुपर्ने जनाउ घण्टी पनि । प्रमुख प्रतिपक्षी दलका उपमहासचिव पुनले निराशाको जड जति सबै वर्तमान सरकारको टाउकोमा थोपारिदिए ।’खास गरी यत्रो जमात वर्तमान गठबन्धनप्रतिको निराशाको जमात हो । प्रधानमन्त्रीसँगको चरम निराशाको परिणाम हो । सुशासनको अभियान रोकेको छ । कुलमानसँग निहुँ खोजेको छ । सरकारले त आशा जगाउने काम पो गर्ने हो त ।, उनले भने,’भ्रष्टाचार बढाउने काम गरेको छ । कार्यकर्ता चोख्याउने काम गरेको छ । एयरपोर्टको भीड चरम फ्रस्टेसनको भीड हो,’ उनले भने ।

पुनले सरकारको आलोचना सकेपछि मैले उनलाई प्रश्न गरेँ,’वर्तमान शासन प्रणालीप्रति जनताको चरम निराशा बढ्नु अनि राजसंस्था मागको समर्थनमा जुलुस बढ्नुमा माओवादी केन्द्र पनि त भागीदार होला नि?’

पुनले आफूहरूको पालामा पनि राजावादीका कार्यक्रम भए पनि यस्तो भीड नदेखिएको प्रतिक्रिया दिए । आफ्नो दलले सुशासनलाई प्राथमिकतामा राखेकाले भीड जम्मा हुन नपाएको तर्क उनको थियो । ‘हाम्रो पालामा पनि त राजवादीहरूले आन्दोलनका विभिन्न प्रयास गरेका थिए । तर हामी सुशासनको पक्षमा थियौँ । जनतामा आशा जगाउने काम गरिरहेका थियौँ त्यही कारणले आजको जस्तो भीड जम्मा हुन पाएन,’ उनले भने  ।

पुनले पनि भीड जतिसुकै भेला गरे पनि राजसंस्था फर्किन सम्भव नभएको उल्लेख गरे ।’भीड जतिसुकै जम्मा भए पनि मुलुक पश्च गमनतर्फ अघि बढ्दैन । यही व्यवस्थाभित्रै सुधार खोजेर मुलुक अघि बढ्छ,’ उनले भने ।

यो भीड दलहरूलाई सच्चिनका लागि जनाउ घण्टी भएको उनले उल्लेख गरे । ‘गणतन्त्रवादी दलहरूले अब नागरिकलाई आशा बढाउने काममा ध्यान केन्द्रित गर्नुपर्छ। नागरिक आशावादी भएको परिस्थितिमा पश्चगमनकारीको पक्षमा लाग्ने जमात स्वतः कम हुन्छ,’ उनले भने ।

काङ्ग्रेस सह-महामन्त्री महेन्द्र यादवले यो भीडले दलहरूलाई शासन पद्धतिमा सुधारका लागि अग्रसर हुने सन्देश दिएको उल्लेख गरे । बहुसङ्ख्यक जनता समावेशिता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षधर रहेकाले पूर्व राजालाई स्वागत गर्न भीड जम्मा हुँदैमा व्यवस्थामा कुनै असर नपर्ने उनको मत छ ।’यो जमातले वर्तमान शासन प्रणालीमा सुधारको लागि दबाब पक्कै दिएको छ । बहुसङ्ख्यक जनता लोकतान्त्रिक गणतन्त्र र समावेशी प्रणालीमा प्रतिबद्धत छन् । यही व्यवस्थामा रहेर व्यवस्थाभित्रको सुधार खोज्नुपर्छ भन्ने जनमत छ । राजालाई स्वागत गर्न भीड जम्मा हुँदैमा केही हुँदैन तर शासन प्रणाली भने सुधार्न ढिला गर्नुहुँदैन,’ उनले भने ।

जनता समाजवादी नेपालका उपाध्यक्ष राजकिशोर यादवले सङ्घीय समावेशी प्रणालीलाई बलियो बनाउँदै सुशासनलाई सबल बनाउन नसक्दा पश्चगमनकारी सलबलाएको उल्लेख गरे ।’यो व्यवस्था भित्रै सुधारका आवश्यकताहरू छन् । नागरिकलाई अधिकार सम्पन्न बनाउँदै सङ्घीय समावेशी प्रणालीलाई बलियो बनाउने हो भने पश्चगमनका आवाज उठ्ने बित्तिकै नागरिक स्वयंमले प्रतिवाद गर्छन्,’ यादवले भने ।

गणतन्त्रवादीहरूले दलहरूले राजवादीहरूको पछिल्लो घटनाक्रमबारे आन्तरिक र सामूहिक छलफल गर्दैछन् । राजावादीहरूको गतिविधिविरुद्ध छुट्टाछुट्टै प्रतिवाद गरिरहेका दलहरूले सामूहिक प्रतिवादको तयारीमा लागेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register