कुवेत बैठकले एनओसी विवाद समाधानतर्फ

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद समाधानतर्फ उन्मुख भएको छ । गत पुस १३ गते भएको एनओसीको साधारणसभाविरुद्ध पाँच खेल संघले अदालतमा मुद्धा दायर गरेपछि सुरु भएको विवाद अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को समन्वयमा सबै सरोकारवालाको सहमतिमा टुंगिने भएको हो । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए), एनओसी […]

Mar 12, 2025 - 13:21
 0
कुवेत बैठकले एनओसी विवाद समाधानतर्फ

काठमाडौं ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद समाधानतर्फ उन्मुख भएको छ ।

गत पुस १३ गते भएको एनओसीको साधारणसभाविरुद्ध पाँच खेल संघले अदालतमा मुद्धा दायर गरेपछि सुरु भएको विवाद अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को समन्वयमा सबै सरोकारवालाको सहमतिमा टुंगिने भएको हो । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए), एनओसी र पाँच संघहरुबीच कुवेतमा मंगलबार बसेको बैठकबाट उक्त सहमति बनेको नेपाल ओलम्पिक कमिटीले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । जसअनुसार ओसिए मुख्यालयमा मंगलबार ओसिएका महानिर्देशकको अध्यक्षतामा बसेको बैठकमा ओसिए तथा एनओसीए लगायत अन्य पाँच संघका प्रतिनिधिहरुले हस्ताक्षर गर्दै सहमति जनाएको उल्लेख छ ।

त्यस्तै, पाँच संघले एनओसीविरुद्ध अदालतमा दायर गरेको सम्पूर्ण मुद्दाहरु पनि बिनाशर्त फिर्ता लिने सहमति भएको छ । एनओसीमा देखिएको समस्या समाधानका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलम्पिक कमिटी अफ एसिया (ओसिए) ले कुवेत बैठकको आयोजना गरेका थिए । नेपाल मोर्डन पेन्ट्राथलन संघ, नेपाल इक्वेस्ट्रियन संघ, नेपाल रग्बी संघ, नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघ र नेपाल बेसबल तथा सफ्‌ट बल संघले गरी पाँच खेल संघले यसअघि नै एनओसीको सदस्यता पाउनुपर्ने माग राख्दै आएपनि लामो समयसम्म एनओसीले बेवास्ता गरेको भन्दै अदालतमा मुद्दा दायर गरेको थियो । यसअघि एनओसीको विवादित बनेको निर्वाचनको समयमा एनओसीले पाँच खेल संघलाई सदस्यता दिने निर्णय गरेपनि त्यो वैधानिकता नहुने भन्दै विशेष साधारण सभाबाटै सदस्यतासम्बन्धी निर्णय हुनुपर्ने पाँच संघको माग थियो ।

एनओसीको सोही निर्वाचनलाई नेपाल सरकारले पनि मान्यता नदिएपछि नेपालमा भइरहेको गतिविधिलाई नजिकबाट नियालिरहेको एनओसीएले तत्काल निर्वाचनको निर्णयलाई स्वागत गरेको थिएन । गत महिना चीनको हर्बिनमा सम्पन्न नवौं हिउँदे एसियाली खेलकुदमा नवनिर्वाचित एनओसीका अध्यक्ष र महासचिवलाई नेपालको प्रतिनिधिका रुपमा बोलाएर आइओसी तथा ओसिएले साधारणसभालाई मान्यता दिने संकेत गरेको थियो । हर्बिनमै आइओसीका निर्देशक जेम्स म्याकलोइड र ओसिएका महानिर्देशक हुसेनले एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठसँगको छलफलपछि ओसिएले आफै सरोकारवाला पक्षसँग छलफल गरि समस्या समाधान गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार मंगलबार कुवेतस्थित ओसिए मुख्यालयमा सबै सरोकारवालाबीच समस्या सुल्झाउने दुई बुँदे सम्झौता भएको एनओसीले जनाएको थियो ।

सोही अनुरुप आइओसीले यो समस्या समाधान गर्न एनओसी र खेल संघहरुलाई नै बोलाएर छलफल गरेको हो । गत पुस दोस्रो साता सम्पन्न साधारणसभाले अध्यक्षमा नेपाल स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठलाई निरन्तरता दिँदै १९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको थियो । साधारणसभाबाट महासचिवमा नेपाल र्याफ्टिङ एण्ड कनोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ सर्वसम्मत भएका थिए ।

एनओसीका महासचिव राजीव श्रेष्ठले सम्झौतापछि नेपाली खेलकुदले सकारात्मक निकास पाएको प्रतिक्रिया दिए । महासचिव श्रेष्ठले पछिल्लो घटनाक्रमसँगै पाँच संघले तत्काल अदालतबाट मुद्धा फिर्ता लिने बताए । एनओसीले थप पाँच खेल संघलाई सदस्यता दिने भएपछि एनओसीमा सदस्यता पाउने कुल खेल संघको संख्या ३२ पुग्ने भएको छ । यसअघि २७ खेल संघ मात्र एनओसीको सदस्य रहँदै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register