जापानको ‘सपना’ त्यागेर ‘चिया’मा रमाइरहेकी सपना

शङ्खमुलको चियावालामा एउटा विदेश जाने सपना रोकिएको छ, तर त्यसको सट्टामा धेरै नेपाली युवालाई प्रेरित गर्ने नयाँ सपना जन्मिएको छ ।

Mar 15, 2025 - 05:56
 0
जापानको ‘सपना’ त्यागेर ‘चिया’मा रमाइरहेकी सपना

काठमाडौं काठमाडौंको शङ्खमूल चोकदेखि थोरै भित्र पसेपछि भेटिन्छ एउटा आकर्षक चिया पसल । पसलको बाहिरपट्टि काठको सानो बोर्ड लेखिएको छ “चियावाला” ।

बिहानैदेखि चिया पारखीको भीड लाग्ने ‘चियावाला’मा एक पटक पुगेका ग्राहक फर्कीफर्की जाने आउने गरेको सञ्चालक सपना खरेल बताउँछिन् ।  

सपना र उनका श्रीमान महेश खरेल बिहानैदेखि चियावालामा जुट्छन् । बुटवलको तिलोत्तमा नगरपालिकामा जन्मिएकी सपनाको एउटा सपना थियो जापान जाने । तर, समयले उनलाई ‘चियावाली’ बनाइदियो । अहिले उनी काठमाडौंको शङ्खमूलमा चियापारखीसँगै रमाइरहेकी छन् ।

अवसरको खोजीले काठमाडौं ल्यायो 

व्यवस्थापन सङ्कायमा स्नातक गरेकी सपनालाई अवसरको खोजीले बुटवलबाट काठमाडौंसम्म डोर्‍यायो । उनी भन्छिन्, “मेरो घर बुटवलको तिलोत्तमा नगरपालिका, पुर्खौली गाउँ गुल्मीको आँपचौर तर, हामी पहिला नै बसाइ सरेर बुटवल झरेका हौँ ।”

सपनालाई स्नातक सकेपछि  विदेश जाने रहर पलायो । उनले जापानी भाषा पढ्न थालिन् तर, समयले उनलाई अन्यत्रै पुर्‍यायो ।

जापान जाने सपना बुनेर कम्मर कसी भाषा पढिरहेकी सपनाको विवाह भयो । ‘म जापान जान भाषा पढ्दै थिएँ, तर बिहे भयो, त्यसपछि त जापान जाने कुरै भएन’ उनी विगत सम्झिँदै भन्छिन् ।

विवाहपश्चात्, सपनाले विदेश मोह त्यागिन् र सुरु गरिन बुटवलमै साडी पसल । व्यापार राम्रै चल्दै थियो, तर पसल खोलेको एक महिनापछि नै उनी सुत्केरी भइन् ।

सपनाका श्रीमान् महेश खरेल १० वर्ष दक्षिण कोरिया बसेपछि नेपाल फर्किए । महेशका भिनाजु गणेशदेव पाण्डेले विदेश जानुभन्दा यतै सबै आफन्त मिलेर ‘चियावाला’ ब्रान्ड विस्तार गर्ने योजना सुनाए । जसमा महेश र सपना पनि राजी भए । गणेशले काठमाडौंमा विगत केही वर्षयता नै ‘चियावाला’ ब्रान्ड स्थापित गरिसकेका थिए । त्यही ब्रान्डलाई नै महेश र सपनाले अघि बढाए ।

“भिनाजुले नै यो ‘ब्रान्ड’ दिनुभएको हो । यो चियावालाको नाम स्थापित गर्ने भिनाजु नै हुनुहुन्छ उहाँ फिल्म निर्देशक पनि हो । तर, यो ब्रान्चमा भने हाम्रै लगानी छ,” सपना गर्वका साथ भन्छिन् । 

उनकाअनुसार यो नामको ब्रान्ड अरूलाई दियो भने चियाको स्वादमा परिवर्तन आउन सक्ने भएकाले भिनाजु गणेशले पारिवारिक रूपमै अघि बढाउन खोजेका थिए । त्यसै कारण पनि सबै आफन्त मिलेर हालसम्म ‘चियावाला’को ५ वटा ब्रान्च खोलेको सपनाले सुनाइन् ।

पुराना घरका झल्को

चियावालामा चिया पिउँदै गर्दा त्यहाँ राखिएका सामग्रीले सबैको ध्यान खिच्छ । त्यहाँ बन्द गरिएको चाबीसहितको झ्यालको टेबुल, सीडी राखेर हेर्न मिल्ने डिभिडी प्लेयर, क्यासेट, पुरानो टिभी, झन्डै ७० वर्ष पुरानो बाक्सा, १२० वर्ष पुरानो करुवा, ३५ वर्ष पुरानो दूध दुहुने बाल्टी राखिएको छ ।

‘प्रत्येक सामानको आफ्नै कथा छ, र हामी हाम्रा ग्राहकलाई ती कथा बाँड्न रुचाउँछौँ’ सपना भन्छिन् ।  भित्तामा टाँसिएका तस्वीरहरू, हस्तलिखित शब्दहरू, सबैले ग्राहकको मन छुन्छन् ।

एउटा भित्तामा काठको टुक्रामा लेखिएको छ, “केही मीठो बात गर, वाईफाई त घरमा छँदै छ! ” यो वाक्यले आजको डिजिटल युगमा मानिसबीचको सम्बन्धको महत्त्व बुझाउँछ ।

पसलमा ग्राहक कुर्दै सपना

अरू क्याफे वा रेस्टुरेन्टमा प्लास्टिकका कुर्सी पाइन्छन्, तर चियावालामा काठका मुढाहरू, खटिया, काम्लो, परालबाट बनाइएका चकटी र गुन्द्रीहरू छन् । “हामी हाम्रा ग्राहकलाई नेपाली परम्परा र संस्कृतिको अनुभव दिन चाहन्छौँ,“ उनी भन्छिन् ।

सयौँ प्रकारका चिया, सबैको फरक स्वाद

त्यसो त चियावालामा १०० भन्दा बढी प्रकारका चिया पाइन्छन् । तर पनि “घनश्याम चिया”, “मेरो खुसी चिया” र “तराई चिया” सबैभन्दा लोकप्रिय छन् । “एउटा ग्राहक दिनमा तीन पटकसम्म आउनुहुन्छ, केवल हाम्रो चियाको स्वाद लिनका लागि,” सपना गर्वका साथ भन्छिन् ।

चियावालाको विशेषता के हो त भन्ने प्रश्नमा उनी भन्छिन्, “हामी सबै प्रकारका चिया आफैँ बनाउँछौँ । एक स्टाफलाई चिया बनाउन सिकाउन कम्तीमा तीन महिना लाग्छ, त्यसैले हामी स्टाफलाई चिया बनाउन दिँदैनौँ ।” यही मेहनत र समर्पणका कारण उनीहरूको पसलमा दैनिक २०० भन्दा बढी कप चिया बिक्री हुन्छ ।

तराई चियाको नाम जस्तै यसलाई पकाउने विधि पनि फरक नै छ । यसो त उनीहरूलाई चियापत्तिहरू कहाँबाट आउँछ त्यो थाहा हुँदैन तर, तराई चिया बनाउन प्रयोग हुने सामग्री भने उनीहरू गुल्मीबाट ल्याउने गर्छन् ।

बटुक: चियावालाको अर्को विशेषता

चियावालामा चियाका साथै खाजाका परिकार पनि पाइन्छन् । तीमध्ये सबैभन्दा लोकप्रिय हो – बटुक । बटुक पश्चिम नेपालको विशेष खाजा हो, जुन विभिन्न दलहनबाट बनाइन्छ । बटुक विशेषगरी पाल्पा, बुटवल र गुल्मीमा लोकप्रिय छ ।

“हामी बटुकको स्वादलाई पश्चिम नेपालकै जस्तो बनाउन प्रयास गर्छौं, हाम्रा ग्राहकले यो मन पराउनुहुन्छ र दैनिक ३० प्लेटभन्दा बढी बिक्री हुन्छ,” उनी सुनाउँछिन् ।

बटुक बनाउँदै सपना

श्रम र समर्पणको फल

“हामीले चियावालामा झन्डै ३० लाख लगानी गरिसकेका छौँ, र आम्दानी पनि एकदमै राम्रो छ,“सपना खुसी हुँदै भन्छिन् । उनीहरूको दिनचर्या बिहान पाँच बजे नै सुरु हुन्छ । सपना छोराछोरीलाई खाना बनाएर खुवाएपछि पसलमा आउँछिन्, र दिनभरि ग्राहकलाई सेवा दिन्छिन् ।

‘बिहान पाँच बजे नै उठ्नु, बच्चाहरूको हेरचाह गर्नु, पसल सम्हाल्नु – यो सबै सजिलो छैन, तर जब ग्राहकहरू चिया पिएर मुस्कुराउँछन्, त्यसले सबै थकान बिर्साइदिन्छ ।’ सपना बताउँछिन् ।

जोखिम मोलेर सुरु गरेको व्यवसाय

चलिरहेको साडी पसल बेचेर काठमाडौंमा चिया बेच्ने भन्दा आफन्तहरूले मजाक उडाउँथे, तर अहिले तिनै आफन्तहरू उनीहरूको सफलता देखेर दङ्ग छन् ।

“कतिपयले त म पढेलेखेकी महिला भएर पनि चिया बेच्ने भनेर आश्चर्य मान्थे, तर म भन्छु – काम कुनै पनि सानो वा ठुलो हुँदैन, तपाईंले त्यसमा कति प्रेम र समर्पण राख्नुहुन्छ, त्यो महत्त्वपूर्ण हो,” सपना गर्वका साथ भन्छिन् ।

उनी अब स्नातकोत्तर अध्ययनको तयारीमा छन् । “पढ्न एकदमै मन छ, अब व्यवसायसँगै पढाइ पनि अघि बढाउने योजना छ,” उनी उत्साहित हुँदै भन्छिन् ।

देश छाड्ने लहर चलिरहेका बेला सपनाको यात्रा नेपाली युवाका लागि प्रेरणा हो ।  “विदेश जाने सपना त मेरो पनि थियो, तर अहिले म देख्छु कि स्वदेशमै पनि धेरै सम्भावनाहरू छन् ।” उनी भन्छिन् ।

आज, शङ्खमुलको चियावालामा एउटा विदेश जाने सपना रोकिएको छ, तर त्यसको सट्टामा धेरै नेपाली युवालाई प्रेरित गर्ने नयाँ सपना जन्मिएको छ । सपनाको यात्रामा केही सङ्घर्ष र चुनौती अवश्य थिए, तर अहिले उनको परिवार खुसी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register