निर्णायक आन्दोलनमा होमिदै राजवादी, सङ्गठित प्रतिवादमा उत्रिदै गणतन्त्रवादी

राजसंस्था पुनस्थापनाका लागि  राजावादी शक्तिहरूले सङ्गठित आन्दोलन अघि बढाउने भएपछि गणतन्त्रवादी दलहरूले पनि सङ्गठित प्रतिवाद गर्ने भएका छन् । गणतन्त्रवादी सत्तारूढ र प्रतिपक्षी दलले व्यवस्था रक्षाको लागि सङ्गठित प्रतिवादको निर्णय गरेका छन् । प्रतिपक्षी दलहरूले समेत समाजवादी मोर्चामार्फत सामूहिक प्रतिवाद गर्दैछन् । नेपाली काङ्ग्रेसको मङ्गलवार बसेको पदाधिकारी बैठकले संविधानको रक्षाका लागि पार्टी पङ्क्तिलाई उभ्याउने निष्कर्ष […]

Mar 18, 2025 - 14:38
 0
निर्णायक आन्दोलनमा होमिदै राजवादी, सङ्गठित प्रतिवादमा उत्रिदै गणतन्त्रवादी

राजसंस्था पुनस्थापनाका लागि  राजावादी शक्तिहरूले सङ्गठित आन्दोलन अघि बढाउने भएपछि गणतन्त्रवादी दलहरूले पनि सङ्गठित प्रतिवाद गर्ने भएका छन् ।

गणतन्त्रवादी सत्तारूढ र प्रतिपक्षी दलले व्यवस्था रक्षाको लागि सङ्गठित प्रतिवादको निर्णय गरेका छन् । प्रतिपक्षी दलहरूले समेत समाजवादी मोर्चामार्फत सामूहिक प्रतिवाद गर्दैछन् ।

नेपाली काङ्ग्रेसको मङ्गलवार बसेको पदाधिकारी बैठकले संविधानको रक्षाका लागि पार्टी पङ्क्तिलाई उभ्याउने निष्कर्ष निकालेको छ । यसबारे रणनीति तयारका लागि उसले चैत १० गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक समेत बोलाएको छ । ‘जनताले बनाएको संविधान अनुसार जनताले चुनेका प्रतिनिधिबाट शासन गर्ने व्यवस्थाको रक्षाका निम्ति सम्पूर्ण रूपमा क्रियाशील हुने साझा धारणा बनेको छ । त्यसको लागि आगामी रणनीति तयार गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ,’बैठकको निर्णयबारे पार्टी प्रवक्ता प्रकाशशरण महतले भने ।

राजावादीहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम सिर्जना गर्न खोजकाले त्यसको सशक्त प्रतिवाद आवश्यक रहेको निष्कर्ष पदाधिकारी बैठकको छ । ‘जनताले बनाएको संविधान र जनताले चुनेको प्रतिनिधिबाट भइरहेको शासन व्यवस्थामाथि चुनौती थप्ने काम राजावादीहरूले गरिरहेका छन्,’पार्टीका सहमहामन्त्री महेन्द्र यादवले भने,’काङ्ग्रेसको नेतृत्वमा घोषणा भएको संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एक ढिक्का भएर राजवादीका गतिविधिको प्रतिवाद गर्ने निर्णय भएको छ ।’

प्रतिवादको स्वरूपबारे काङ्ग्रेसले कार्यसम्पादन समितिमार्फत रणनीति बनाउने छ ।

सत्तारूढ नेकपा एमालेले पनि विशेष सङ्कल्प प्रस्ताव पारित गर्दै राजावादी गतिविधिको सङ्गठित प्रतिवाद गर्ने निर्णय गरिसकेको छ । एमालेले जनताको फैसलालाई उल्ट्याउने प्रयास सफल हुन नदिने र लोकतन्त्रलाई थप सुदृढ बनाउने सङ्कल्प प्रस्ताव पारित गरेको छ । सोमबार सचिवालय बैठकले पारित गरेको सङ्कल्प प्रस्तावमा भनिएको छ,’ हाम्रो पार्टी नेपालको संविधान र यसले संस्थागत गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्याय जस्ता उपलब्धिको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प गर्दछ । जनताको फैसलालाई उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन सक्दैन ।’

एमालेले संविधानको प्रभावकारी कार्यान्वयन, राजनीतिक स्थिरताको सुनिश्चितता, सुशासन, प्रभावकारी सेवा प्रवाह, आर्थिक विकास र सुधारको दिशामा सरकारलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

सचिवालय बैठकमार्फत उसले तीन महिनादेखि सञ्चालन गर्दै आएको जागरण अभियानलाई व्यवस्था रक्षामा केन्द्रित गर्ने निर्णय पनि गरेको छ । ‘राजावादी गतिविधिको जनस्तरबाटै प्रतिवाद जरुरी रहेकाले सङ्गठित ढङ्गले पार्टी पङ्क्तिलाई अघि बढाउने र लोकतान्त्रिक गणतन्त्रको रक्षाको आवश्यकताबारे र राजवादीले फैलाइरहेको भ्रमलाई तल्लो तहसम्म चिर्नेगरी अघि बढ्ने निर्णय पार्टीको छ,’ सचिव रघुवीर महासेठको भनाइ छ ।

प्रतिपक्षी दलहरूले पनि समाजवादी मोर्चामार्फत प्रतिवादको तयारीमा लागेका छन् । उनीहरूले चैतको १५ गते राजधानीमा शक्ति प्रदर्शन सहितको सभा आयोजना गर्दैछन् । पश्चगमनकारीलाई मैदान खाली नरहेको सन्देश प्रवाहका लागि उनीहरूले शक्ति प्रदर्शन सहितको सभा गर्न लागेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूलाई प्रतिगमनका लागि मैदान खाली नरहेको देखाउन सभा गर्न लागेको बताएका छन् । गणतन्त्रमाथि प्रहार हुँदा त्यसको रक्षाको दायित्व पनि गणतन्त्रवादीहरूकै भएकाले व्यवस्थाप्रति प्रतिबद्ध आम नागरिकलाई पनि सभामा उपस्थित हुन उनले आग्रह गरेका छन् । ‘पश्चगमनकारीहरूलाई मैदान खाली छैन भन्ने सन्देश हामीले दिनैपर्छ । व्यवस्थाप्रति प्रतिबद्ध आम नागरिकहरूलाई पनि सभामा आउन म अपिल गर्छु,’ उनको भनाइ छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सडकमा व्यवस्था रक्षामा प्रतिवद्धहरूको शक्ति नदेखाए राजावादीहरूले गणतन्त्रवादीविरूद्ध थप भ्रम छर्ने उल्लेख गरेका छन् । ‘राजवादीहरूलाई गणतन्त्रवादीको शक्ति देखाउन आवश्यक छ । शक्ति नदेखाउने हो भने गणतन्त्रवादीहरू डराए भन्लान्,’ उनले भनेका छन् ।

छुट्टाछुट्टै आन्दोलन गर्दै राजावादी

यता राजावादीहरूले पनि छुट्टाछुट्टै आन्दोलनको तयारी गरेका छन् । राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष नवराज सुवेदी नेतृत्वको समूहले छुट्टै आन्दोलन गर्ने भएको छ भने राप्रपाले छुट्टै आन्दोलन घोषणा गरेको छ । राप्रपाले काठमाडौं उपत्यका केन्द्रित आन्दोलन अघि बढाउने निर्णय गरेको छ । सोमबार केन्द्रीय कार्यसमितिको बैठकमार्फत राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आन्दोलनमा उत्रिने निर्णय गरेको हो । राप्रपाले राजसंस्था पुनस्थापनाको पक्षमा निर्णायक आन्दोलन गर्ने निर्णय लिएको छ।अध्यक्ष लिङ्देनले भनेका छन्,’‘पार्टीका सबै गतिविधि अब आन्दोलन केन्द्रित गरेर जान्छौँ। काठमाडौं उपत्यका केन्द्रित आन्दोलन निर्णायक आन्दोलन हुनेछ ।’

लिङ्देनले समान विचार राख्ने राजनीतिक दल र समूहलाई आन्दोलनलाई साथ दिन आग्रह गरेका छन् ।

यता सुवेदीको समितिले पनि छिट्टै आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताएको छ । राजनीतिक दलहरूलाई राजसंस्था सहितको प्रजातन्त्रको नवीन समझदारी गर्न उसले सोमबार आग्रह गरेको थियो । यसमा राजनीतिक दल सहमत नभए राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन गर्ने चेतावनी समितिले दिएको थियो । समितिका संयोजक सुवेदीले छिट्टै आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताएका छन् ।’समितिले आफ्नो प्रस्ताव अघि सारिसकेको छ । राजसंस्था पुन स्थापनका लागि हामी एकताबद्ध रूपमा आन्दोलनका कार्यक्रम छिट्टै घोषणा गर्नेछौँ । समान एजेन्डामा हुने आन्दोलनमा समितिले पनि ऐक्यबद्धता जनाउनेछ,’ उनले भने ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register