पत्रकारिता क्षेत्रको सवलीकरणका लागि झापाका स्थानीय तह प्रतिबद्ध

सन्तोष शर्माझापा, ६ चैत । झापाका स्थानीय तहले पत्रकारिताका क्षेत्रको सवलीकरणका लागि आ–आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । झापाको बिर्तामोडमा आज आयोजित ‘पत्रकारिता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिका विषयक अन्तरसम्वाद कार्यक्रम’मा यहाँका स्थानीय तहका जनप्रतिनिधिहरुले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको पत्रकारिता क्षेत्रको विकास र प्रबद्र्धनका लागि आफूहरुले सहयोग गरिरहेको [...] The post पत्रकारिता क्षेत्रको सवलीकरणका लागि झापाका स्थानीय तह प्रतिबद्ध appeared first on Jhapa Online.

Mar 19, 2025 - 14:03
 0
पत्रकारिता क्षेत्रको सवलीकरणका लागि झापाका स्थानीय तह प्रतिबद्ध

सन्तोष शर्मा
झापा, ६ चैत ।
झापाका स्थानीय तहले पत्रकारिताका क्षेत्रको सवलीकरणका लागि आ–आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

झापाको बिर्तामोडमा आज आयोजित ‘पत्रकारिता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिका विषयक अन्तरसम्वाद कार्यक्रम’मा यहाँका स्थानीय तहका जनप्रतिनिधिहरुले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको पत्रकारिता क्षेत्रको विकास र प्रबद्र्धनका लागि आफूहरुले सहयोग गरिरहेको र आगामी दिनमा समेत गर्ने उनीहरुले प्रतिबद्धता जनाए ।

अन्तरसम्वाद कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले स्थानीय सञ्चारमाध्यमलाई नगरपालिकाले लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउँदै आएको बताउनुभयो । “शुरुमा ६० लाख रुपैयाँ छुट्याएका थियौं”, उहाँले भन्नुभयो, “आर्थिक अभावका कारण अहिले ५० लाख छुट्याएका छौं ।”

सबै प्रकारको आन्दोलनमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्नुहुँदै उहाँले हाल मिडियाहरु धरासायी हुने अवस्था सिर्जना हुनु लोकतन्त्रकै उपहास भएको टिप्पणी गर्नुभयो ।

कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेले मिडियालाई विगतदेखि नै सहयोग गर्दै आएको बताउनुभयो । उहाँले मिडियाले ‘भ्यूज’लाई भन्दा ‘कन्टेन्ट’लाई महत्व दिनुपर्नेमा जोड दिनुभयो ।

बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले स्थानीय सञ्चारमाध्यमलाई गाउँपालिकाले सहयोग गरिरहेको बताउनुहुँदै मिडियाले जथाभावी एकलौटी ढंगले समाचार सम्प्रेषण गर्दा जनप्रतिनिधिहरुको बदनाम भइरहेको बताउनुभयो । “वास्तविकता नबुझी असम्बन्धित व्यक्तिको कुरालाई आधार बनाएर समाचार आउँछ”, उहाँले भन्नुभयो, “सरोकारवाला पक्षसँग बुझेर मात्र समाचार लेख्न म आग्रह गर्छु ।”

कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले सकारात्मक कार्यको प्रचार गर्नुपर्नेमा जोड दिनुभयो । “गलत भइरहेको छ भने त्यसलाई पनि लेख्नुपर्छ”, उहाँले भन्नुभयो, “सकारात्मक आलोचना जरुरी छ ।”

दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले नगरपालिकाले नीति तथा कार्यक्रममै समेटेर स्थानीय सञ्चारमाध्यमलाई वार्षिक रू ३० लाख उपलब्ध गराउँदै आएको बताउनुभयो । “पत्रकारहरुले राजनीतिक दलको प्रवक्ताका रुपमा समाचार लेख्नु हुँदैन”, उहाँले भन्नुभयो, “जनप्रतिनिधि र राजनीतिक दलप्रति वितृष्ण फैलाउने काम भइरहेको छ, यसको अन्त्य जरुरी छ ।”

कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले खोज पत्रकारिता गर्नुपर्नेमा जोड दिनुहुँदै जनप्रतिनिधिहरुले गरेका राम्रा–नराम्रा दुवै कामको खोजी गरिनुपर्ने बताउनुभयो । उहाँले स्थानीय सञ्चारमाध्यमलाई नगरपालिकाले सकेको सहयोग गर्दै आएको बताउनुभयो ।

शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्रा (रोशन)ले राष्ट्रियता र लोकतन्त्र मजबुद बनाउन मिडियाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले राष्ट्रियता कमजोर हुने खालका समाचार सामग्री प्रकाशित नगर्न सञ्चारकर्मीलाई आग्रहसमेत गर्नुभयो ।

“नगरपालिकाले २० लाख रुपैयाँ छुट्याएर स्थानीय सञ्चारमाध्यमको विकासका लागि काम गरिरहेको छ”, भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले भन्नुभयो, “सामाजिक सञ्जालका कारण घरघरमा पत्रकार हुने अवस्था आएको छ, यो विषयमा पत्रकार महासंघले विशेष योजना ल्याउन जरुरी छ ।”

बिना अनुमति महाकालीदेखिका पत्रिकामा सूचना छापेर बिल पठाउने गरेको अनुभव सुनाउनुहुँदै नगरप्रमुख पोखरेलले यस्तो गलत संस्कारको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नगरले चाँडै सञ्चारसम्बन्धी ऐन–कानून निमाण गरेर लागू गर्ने बताउनुभयो ।

हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले निश्चित मापदण्ड बनाएर स्थानीय सञ्चारमाध्यम व्यवस्थित गर्नुपर्ने बताउनुभयो । “दिन मन लागेर पनि दिन सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “पार्टी पत्रकारिता गरेर अरुलाई खुइल्याउने काम गर्नु हुँदैन ।”

झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले सत्य र निष्पक्ष समाचार लेख्नुपर्नेमा जोड दिनुहुँदै जनप्रतिनिधि र पत्रकार दुवै सुध्रिनुपर्ने उल्लेख गर्नुभयो ।

अर्जुनधारा नगरपालिकाका उपप्रमुख खड्गमाया पराजुलीलले स्थानीय सञ्चारमाध्यमलाई बजेट दिने गरेको बताउनुभयो । पत्रकारहरुले व्यक्तिगत कुरा सुनेर नभई तथ्यपरक समाचार लेख्नुपर्नेमा जोड दिनुभयो ।

स्थानीय सञ्चारमाध्यमलाई सूचना दिन चाहेर पनि दिन नसकिएको गौरादह नगरपालिकाका नगरप्रमुख छत्रपति सुवेदीले बताउनुभयो । “खरीद ऐनमा राष्ट्रिय मिडियामा सूचना दिनुपर्ने उल्लेख छ”, उहाँले भन्नुभयो, “त्यसलाई परिमार्जन गरेर स्थानीय मिडियालाई दिने नियम बनाउन जरुरी छ ।”

कार्यक्रममा अग्रज पत्रकार माधव विद्रोहीले स्थानीय तहहरुले महत्वपूर्ण काम गरिरहेको चर्चा गर्नुहुँदै उहाँले सामाजिक सञ्जालका कारण समाजमा निराशा बढेको बताउनुभयो । स्थानीय तहका सकारात्मक कुरालाई बाहिर ल्याएर आमनागरिकमा व्याप्त निराशा चिर्नुपर्ने उल्लेख गर्नुभयो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहकार्यमा पत्रकार महासंघ कोशी प्रदेशको आयोजना तथा पत्रकार महासंघ झापाको समन्वयमा भएको अन्तरसम्वाद कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुहुँदै पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्काले स्थानीय सञ्चारमाध्यम बन्द हुनुका साथै पत्रकार पलायन हुने क्रम बढेको बताउनुभयो ।

“स्थानीय सरकारको प्रवक्ताको रुपमा रहेको स्थानीय सञ्चारमाध्यमको सवलीकरण गर्न जरुरी छ”, उहाँले भन्नुभयो, “जसका लागि नीति निर्माण गर्न जरुरी छ, अन्तरसम्वादको माध्यमबाट स्थानीय सञ्चारमाध्यमको सवलीकरण कार्यक्रम गरेका हौं ।” कोशी प्रदेशका १४ वटै जिल्लामा कार्यक्रम गरिने उहाँले बताउनुभयो ।

कार्यक्रममा महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले प्रस्तुतीकरण दिनुहुँदै कोभिड महामारी पछि झापामा पाँच वटा दैनिक पत्रिका र आठ वटा एफमएम बन्द भएको बताउनुभयो । एक सय जना पत्रकार विस्थापित भएको र हाल महासंघमा दुई सय २० जना सदस्य रहेको बताउनुभयो ।

पत्रकार महासंघ कोशी प्रदेश महासचिव हेमा चेम्जोङले सञ्चालन गर्नुभएको कार्यक्रममा पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा स्थानीय तहका नगरप्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतको सहभागिता रहेको थियो ।

The post पत्रकारिता क्षेत्रको सवलीकरणका लागि झापाका स्थानीय तह प्रतिबद्ध appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register