प्रधानमन्त्री भएको १० दिनमै नयाँ चुनाव घोषणा गर्ने मार्क कार्नीले बहुमत प्राप्त गर्ने सम्भावना कति ?

काठमाडाैं । क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले पद बहाल गरेको १० दिनमै अप्रिल २८ तारिखका लागि सङ्घीय संसदको नयाँ निर्वाचन मिति घोषणा गरेका छन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई अमेरिकाको ५१औं राज्य बन्न धम्की दिने र निर्यात शुल्क बृद्धि गरेको पेचिलो स्थितिबीच कार्नीले मतदातासँग बहुमत माग गर्दै नयाँ निर्वाचन घोषणा गरेका हुन् । ह्वाइट […]

Mar 25, 2025 - 07:44
 0
प्रधानमन्त्री भएको १० दिनमै नयाँ चुनाव घोषणा गर्ने मार्क कार्नीले बहुमत प्राप्त गर्ने सम्भावना कति ?

काठमाडाैं । क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले पद बहाल गरेको १० दिनमै अप्रिल २८ तारिखका लागि सङ्घीय संसदको नयाँ निर्वाचन मिति घोषणा गरेका छन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई अमेरिकाको ५१औं राज्य बन्न धम्की दिने र निर्यात शुल्क बृद्धि गरेको पेचिलो स्थितिबीच कार्नीले मतदातासँग बहुमत माग गर्दै नयाँ निर्वाचन घोषणा गरेका हुन् ।

ह्वाइट हाउसमा ट्रम्पको पुनरोदय र अमेरिका–क्यानडा सम्बन्ध बिग्रँदै गएपछि प्रधानमन्त्री जस्टिन ट्रुडोले पदबाट राजीनामा गरेका थिए । त्यो रिक्ततालाई पुर्दै क्यानडाको सत्तामा कार्नीको आकस्मिक उदय भएको थियो।

जनवरी ६ मा प्रधानमन्त्री जस्टिन ट्रुडोले सत्तारुढ दल लिबरल पार्टीको नेता र प्रधानमन्त्री दुवै पदबाट राजीनामाको घोषणा गरेपछि नयाँ पार्टी नेताका लागि भएको चुनावमा पूर्वबैङ्कर तथा केन्द्रीय बैङ्कका गभर्नर ५९ वर्षीय कार्नीले करिब ८६ प्रतिशत मत प्राप्त गरेका थिए । पार्टी नेतृत्वको लागि कार्नीले पाएको मतलाई ‘भीषण विजय’ मानिएको थियो ।

मार्च १४ उनले क्यानडाको २४औं प्रधानमन्त्री भएको शपथ लिए । तर, संसदमा लिबरल पार्टीको एकल बहुमत थिएन । ३४३ सिटको क्यानडाली हाउस अफ कमन्समा लिवरल पार्टीको १५३ सिट मात्र थियो । पार्टीले गठबन्धन सरकारको नेतृत्व गरिरहेको थियो । सरकारले विश्वासको मत गुमाउने र गठबन्धन भत्किने सम्भावना बढेपछि उनले नयाँ निर्वाचनको घोषणा गरेका हुन् ।

अर्कोतिर प्रधानमन्त्री कार्नी पार्टी नेता निर्वाचित भए पनि हाउस अफ कमन्सको सदस्य थिएनन् । यसकारणले पनि उनी छिट्टै नयाँ चुनावमा जान बाध्य भएको हुन् ।

योभन्दा महत्वपूर्ण कुरा अमेरिकी धम्कीको सामना गर्न क्यानडालाई बलियो जनसमर्थन र अनुमोदन प्राप्त नेतृत्व चाहिएको छ । ट्रम्पको धम्की र त्यसले सृजना गरेका चुनौतिबीच कार्नीले आफ्नो नेतृत्वलाई जनसमर्थनको कसीमा परीक्षण गर्न चाहेका छन् ।

घोषित निर्वाचनमा उनको दलले विजय हासिल गर्न नसके दुई महिना नपुग्दै उनले प्रधानमन्त्री पद गुमाउन पर्नेछ ।

नयाँ पार्टी नेता र प्रधानमन्त्रीका रुपमा उनले ट्रुडोकालीन नीतिलाई नै अनुशरण गरिरहेका छन् । उनले दृढ भाषामा प्रष्ट ढङ्गले भनेका छन्, ‘ क्यानडा अमेरिकाभन्दा एक भिन्नै राष्ट्र हो, हामी कहिल्यै विलय हुने छैनौं ।’ साथै, उनले अमेरिकामाथि प्रतिरोध शुल्क पनि कायमै राखेका छन् ।

क्यानडा अमेरिकाको दशकौं लामो मुख्य व्यापार साझेदार हो । दुवै देश नाटोका सदस्य छन् । क्यानडा र अमेरिकाले संसारकै सबैभन्दा लामो स्थलसीमा साझेदारी गर्दछन् । मुख्य छिमेकी, नजिकको मित्र र एउटै सुरक्षा सम्झौताभित्र भएको देशबाट सार्वभौमसत्तामै खलल पर्ने चुनौती सामना गर्नु परेपछि क्यानडाली चुनावको मुख्य एजेन्डा नै यही हुने भएको छ ।

नयाँ चुनावको घोषणासँगै प्रधानमन्त्री कार्नीले भने– हामी देशको इतिहासमै सबैभन्दा ठूलो सङ्कट सामना गरिरहेका छौं । सबैभन्दा नजिकको छिमेकी र साझेदार देशले नै हामीलाई अन्यायपूर्ण शुल्क लगाएको छ । हाम्रो सार्वभौमत्ताको अपमान गर्दै धम्की दिएको छ । यस्तो बेला क्यानडाली जनता देशमा कस्तो नेतृत्व र सरकार चाहन्छन् भन्ने निर्वाचनबाट प्रष्ट जनादेश प्राप्त हुनेछ ।

उनले आफ्नो पार्टीलाई प्रष्ट बहुमत दिनसमेत मतदातासँग आग्रह गरे ।

मार्च ९ मा नयाँ पार्टी नेता निर्वाचित हुनुअघि कार्नी प्रधानमन्त्री ट्रुडोका आर्थिक सल्लाहकार थिए । उनीसँग क्यानडा र बैङ्क अफ इङ्ग्ल्यान्ड दुई देशका केन्द्रिय बैङ्कको गभर्नरको जिम्मेवारी सम्हालिसकेको अनुभव छ । सन् २००८ को वित्तीय सङ्कटबाट देशलाई जोगाएको जस उनलाई दिने गरिन्छ ।

कार्नीअघि ट्रुडोले १३ वर्ष लिबरल पार्टीको नेतृत्व गरेका थिए ।

लिबरल पार्टीको मुख्य प्रतिस्पर्धी दल कन्जर्भेटिभ पार्टी हो । यसका नेता अहिले ४५ वर्षीय पियरे मार्सेल पोइलीभ्रे छन । उनी सन् २०२२ यता विपक्षी दलको नेता रहँदै आएका छन् । सर्वेक्षणहरूले दुवै दलबीच नजिकको प्रतिस्पर्धा देखारहेका छन । साथै, कार्नी र पोइलीभ्रे दुवै नेताको लोकप्रियता पनि उस्तैउस्तै देखिन्छ ।

कन्जर्भेटिभ नेता पोइलीभ्रे कार्नीको तुलनामा बढी प्रखर वक्ता हुन् । कार्नीभन्दा उनी युवा पनि छन् । उनले देशभित्रको नेतृत्व परिवर्तनले मात्र बाह्य चुनौतीको सामना गर्न सकिने धारणा प्रस्तुत गर्दै आएका छन । उनले भन्ने गरेका छन्, ‘पहिलो देशभित्र परिवर्तन आवश्यक छ । त्यसपछि ट्रम्पलाई उचित जवाफ दिउँला । जब हामीले क्यानडालाई ठीकठाक पार्नेछौं, त्यो ट्रम्पका लागि आफैँमा खराब समाचार हुनेछ ।’

सन् २०१५ मा ट्रुडो सत्तामा आए यता कन्जर्भेटिभ पार्टी एक दशकदेखि विपक्षी भूमिकामा छ ।

विपक्षी नेता पोइलीभ्रे कर घटाउन, सरकारको आकार सानो पार्न, आर्थिक तथा सामाजिक सुरक्षा संरक्षण बढाउन, रोजगार बृद्धि गर्न र अर्थतन्त्र सुधार गर्न चाहन्छन् ।

कन्जर्भेटिभ नेताका कतिपय धारणा ट्रम्पसँग मिल्दाजुल्दा छन् । पोइलिभ्रे पनि ट्रम्पजस्तै एलजीटीटीक्यू प्लसका विरोधी हुन् । ट्रम्पजस्तै पोइलीभ्रे क्यानडामा महिला र पुरुष दुई लिङ्ग मात्र हुने कुरा गर्छन् । उनी वातावरणवादी बामपन्थको विरोधी रहँदै आएका छन् । ट्रम्पजस्तै उनी तेल र ग्यासको उत्पादन बढाउन चाहन्छन् ।

पोइलीभ्रेका नीतिले कार्नीलाई समेत दबाबमा राखेको छ । कार्नीले मतदातालाई कर कटौतीको आश्वासन दिएका छन् ।

क्यानडालीको संसदको तेस्रो ठूलो दल क्युबेक प्रदेशको क्षेत्रीय दल क्युबेकली ब्लक हो भने चौथो ठूलो दल एनडीपीका नेता शिख समुदायका जगमित सिंह छन् । क्यानडामा शिख समुदायको जनसङ्ख्या अनुपात दुई प्रतिशतभन्दा बढी छ । कतिपय निर्वाचन क्षेत्रमा यसले हारजितको निर्णायक भूमिका गर्दछ । यो पार्टीले जस्टिन ट्रुडोको अल्पमत सरकारलाई समर्थन गरेको थियो ।

क्यानडामा बहुमतको सरकार गठन गर्न हाउस अफ कमन्समा कुनै दलको १७२ सिट चाहिन्छ । कुनै पनि दलले बहुमत हासिल नगरे गठबन्धन सरकार बन्ने गर्दछ । गठबन्धन सरकार निर्माण गर्न तेस्रो र चौथो ठूलो दलको महत्वपूर्ण भूमिका हुन्छ ।

निर्वाचनमा बहुमत वा गठबन्धन सरकारका लागि अन्य दलको समर्थन हासिल गर्न नसके कार्नीले अप्रिलको चुनावपछि प्रधानमन्त्री पद गुमाउने छन् । त्यसो भए कार्नी क्यानडाली इतिहासमा सबैभन्दा छोटो समय मात्र प्रधानमन्त्री हुने व्यक्ति बन्नेछन् ।

तर, पार्टी नेतृत्वको चुनावमा हासिल गरेको भीषण विजयले कार्नीलाई आशावादी बनाएको छ । उनले मतदातासँग एकल बहुमतको माग गरिरहेका छन् । बलियो सरकारले मात्र अमेरिकी धम्कीको सामना र देशको सार्वभौमसत्ताको रक्षा गर्न सक्ने उनको तर्क छ ।

लामो समय सत्तामा रहेको कारण लिबरल पार्टीको लोकप्रियता घट्दै गएको गएको बताइएको थियो । तर, ट्रम्पका धम्कीले सृजना भएको राष्ट्रवादी भावनाको कारण क्यानडाली मतदातामा लिबरल पार्टीप्रति आकर्षण फेरि बढेको कतिपय सर्वेक्षणले देखाएका छन् ।

वास्तविक परिणाम कस्तो हुन्छ, त्यो निर्वाचनपछि नै प्रष्ट हुनेछ । -एजेन्सीकाे सहयाेगमा 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register