पार्टीभित्र समर्थन फिर्ताको दबाबबीच एमाले-कांग्रेससँग उपेन्द्रको वार्ता

काठमाडौं । जनता समाजवादी नेपालभित्र एमाले-कांग्रेस गठबन्धनलाई दिएको समर्थन फिर्ताको दबाब बढिरहेको बेला अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनका प्रमुख नेतासँग वार्ता गरेका छन् । समर्थन फिर्ता लिने केन्द्रीय कार्यकारिणी समितिको निर्णय कार्यान्वयनमा संसदीय दलको ढिलाइले जसपा नेपालभित्र असन्तुष्टिसमेत चर्किएको छ । यस्ताे अवस्थामा बालुवाटार पुगेर अध्यक्ष यादवले सरकारसँग सच्चिने प्रतिवद्धता र संविधान संशोधनको स्पष्ट रोडम्याप […]

Jul 14, 2025 - 18:43
 0
पार्टीभित्र समर्थन फिर्ताको दबाबबीच एमाले-कांग्रेससँग उपेन्द्रको वार्ता

काठमाडौं । जनता समाजवादी नेपालभित्र एमाले-कांग्रेस गठबन्धनलाई दिएको समर्थन फिर्ताको दबाब बढिरहेको बेला अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनका प्रमुख नेतासँग वार्ता गरेका छन् । समर्थन फिर्ता लिने केन्द्रीय कार्यकारिणी समितिको निर्णय कार्यान्वयनमा संसदीय दलको ढिलाइले जसपा नेपालभित्र असन्तुष्टिसमेत चर्किएको छ । यस्ताे अवस्थामा बालुवाटार पुगेर अध्यक्ष यादवले सरकारसँग सच्चिने प्रतिवद्धता र संविधान संशोधनको स्पष्ट रोडम्याप खोजेका छन् ।

बालुवाटारमा अध्यक्ष नेपालले साेमबार राति प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग करिब एक घण्टा छलफल गरेका हुन् । जसपा नेपालको केन्द्रीय कार्यकारिणी बैठकले असार १० गते सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय लिएको थियो । यो निर्णय कार्यान्वयनका लागि संसदीय दललाई निर्देशनसमेत दिएको थियो । उक्त निर्णयको तीन साता वित्दा पनि जसपा नेपालको संसदीय दलको बैठक बसेको छैन ।

साेमबार राति बालुवाटारमा भएको वार्तामा सरकारलाई दिएको समर्थन कायमका लागि आग्रह गरिएको बैठकमा सहभागी कांग्रेस नेता गृहमन्त्री रमेश लेखकले नेपालभ्युजलाई जानकारी दिए । ‘समसामयिक राजनीतिक घटनाक्रमबारे हामीले छलफल गर्‍यौँ । समर्थन फिर्ता नलिन दुवै शीर्ष नेताको आग्रह छ,’ उनले भने । बैठकमा कांग्रेस-एमालेले भूमिसम्बन्धी विधेयकमा जसपा नेपालको सहयोगसमेत मागे । जसपा नेपालले सहयोग नगरे सो विधेयक राष्ट्रियसभाबाट पारित नहुने गणित छ ।

सत्तापक्षले विधेयक पेलेरै अगाडि बढाउन खोजेकोमा असहमति रहेको जवाफ यादवले दिए । ‘सहमतिका लागि तयार छौँ, विधेयकका मूलभूत विषयमा हाम्रा असहमति कायमै छन् । पेलेरै जाने नीति स्वीकार्य छैन’, उनले बैठक भने । भूमिसम्बन्धी विधेयक समितिमा लैजानुपर्ने पक्षमा कांग्रेस छ भने एमाले  संसद्‌बाट सिधै पारित गराउने कसरतमा छ ।

बालुवाटार बैठकमा प्रधानमन्त्री ओलीले जसपा नेपालका अध्यक्ष यादवलाई सरकारसँग रिसाउनुको कारण पनि सोधेका छन् । ‘उपेन्द्र जी के भयो किन रिसाएको ?’, प्रधानमन्त्रीको भनाइ उद्दृत गर्दै बैठकमा सहभागी जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादवले भने ।

त्यसपछि यादवले समर्थन प्राप्तिका लागि सरकारले गरेको प्रतिवद्धता पूरा नगरेको कारण यस्तो परिस्थिति निर्माण भएको जवाफ प्रधानमन्त्री ओलीलाई दिए । ‘संविधान संशोधनको विषय अलपत्र भयो । जे प्रतिवद्धतासहित तपाईंहरूले समर्थनको प्रस्ताव गर्नुभयो एक वर्षको अवधिमा पूरा भएन,’ अध्यक्ष यादवको भनाइ उद्दृत गर्दै उपाध्यक्ष राजकिशोरले नेपालभ्युजलाई जानकारी दिए ।

बैठकमा  ओली र देउवा दुवैले संयुक्त रूपमा स्थायित्वका लागि वर्तमान गठबन्धन आवश्यक रहेको भन्दै समर्थन कायमै राख्न यादवलाई आग्रह गरेका छन् । उनीहरूले गठबन्धनको कमीकजोरी सच्याउँदै अघि बढ्ने र यस गठबन्धनसँगै अघि बढ्न यादवलाई भनेका छन् । ‘गठबन्धन तलमाथि हुँदैन । कमीकमजोरी सच्याउँदै हामी अघि बढ्छौँ । तपाईंहरू पनि सँगै रहनुस् भन्ने संयुक्त प्रस्ताव कांग्रेस-एमालेबाट आयो,’ उपाध्यक्ष यादवले भने ।

ओली र देउवाको समर्थनको निरन्तरताबारेको  संयुक्त प्रस्तावमा जवाफ दिँदै अध्यक्ष यादवले कमीकमजोरी सच्याउने विश्वासिलो प्रस्ताव अघि सार्न माग गरेका छन् । यस्तै, संविधान संशोधनका सम्बन्धमा स्पष्ट रोडम्याप ल्याउन पनि भनेका छन् । ‘संविधान संशोधनका सम्बन्धमा स्पष्ट रोडम्याप ल्याउनुस् । सच्चिने ठोस प्रतिवद्धता र प्रस्ताव अघि सार्नुस्, त्यसबारे हामी पार्टीमा थप छलफल गर्नेछौँ,’ देउवा र ओलीलाई उपेन्द्रले जवाफ दिएका छन् ।

उनले यस्तो जवाफ दिए पनि पार्टीभित्र भने समर्थन फिर्ता लिनुपर्ने दबाब छ । आफ्नो दल फुटाएर गएकाहरूलाई सरकारमा सहभागी गराएको र मधेश प्रदेशमा जसपा नेपालको सरकार ढालेर आफ्नो  प्रतिस्पर्धी दललाई सरकारको नेतृत्व गर्न दिने गठबन्धनसँग समर्थनको कुनै अर्थ नरहेको भन्दै फिर्ताको दबाब कार्यकर्तापंक्तिले यादवमाथि बढाइरहेका छन् । ‘संविधान संशोधनमा काम पनि नगर्ने, हामीबाट मधेश सरकारको नेतृत्व पनि खोस्ने र केन्द्रमा हाम्रो दल फुटाएकाहरूलाई सरकारमा राख्ने गठबन्धनलाई समर्थन दिन नहुने मत पार्टीभित्र बलियो छ,’  जसपा नेपालका एक सचिवले नेपालभ्युजसँग भने ।

जसपा नेपाल विभाजन गरेर अशोक राईको नेतृत्वमा गठन भएको जसपाबाट सकारमा प्रदीप यादव र नवलकिशोर साह सुडी मन्त्री छन् । मधेश प्रदेशमा जसपा नेपालका सरोजकुमार यादवको नेतृत्वमा रहेको सरकार कांग्रेस-एमाले गठबन्धन बनेसँगै ढलेको थियो । त्यहाँ जनमतका सतिश सिंहको नेतृत्वमा सरकार छ ।

संसदीय दलको बैठक बस्न नसक्दा पार्टीभित्रै समर्थन फिर्ताको निर्णय कार्यान्वयन नगरेर वार्गेनिङ भइरहेको आशंका केन्द्रीय कार्यकारिणी सदस्यले नै गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा एक सदस्यले महासचिव लालबाबु राउतको कार्यकक्षमा रहेका सचिवहरूसँग  यस्तै असन्तुष्टि पोख्दै भने, ‘पार्टीको सर्वोच्च निकाय केन्द्रीय कार्यकारिणी समिति हो । यसले गरेको निर्देशन पालना भइरहेको छैन । कतै केही बार्गेनिङ त भइरहेको होइन के हो सचिवज्युहरू भनिदिनुपर्‍यो ।’

यही असन्तुष्टि र आशंकालाई उद्दृत गर्दै नेपालभ्युजले अध्यक्ष यादवलाई  उनकै  कार्यकक्षमा प्रश्न गर्दा जसपा नेपालले कुनै बार्गेनिङ नगरेको र यो निर्णयबाट पछि नहट्ने बताएका थिए । ‘जसपा नेपालले कुनै बार्गेनिङ गरेको छैन । केही दिन ढिला हुँदा र सामाजिक सञ्जालमा भएका टिप्पणीका आधारमा कार्यकर्तापंक्तिलाई यस्तो पर्न गयो होला तर जसपा कुनै हालतमा निर्णयबाट ब्याक हुँदैन,’ नेपालभ्युजसँगको संवादमा यादवले भनेका छन् ।

एक वर्ष व्यर्थै खेर फाल्ने सरकारलाई समर्थन गर्नुको कुनै अर्थ छैन : उपेन्द्र यादव 

अध्यक्ष यादवले जनतासँग सरकारले प्रतिवद्धता जनाएका लक्ष्यमध्ये कुनै पनि पूरा गर्ने संभावना नरहेकाले सरकारलाई समर्थन दिइरहनुपर्ने कारण नरहेको बताएका थिए । एक वर्षको समय व्यर्थै फालेकाले सरकारलाई समर्थन गर्नुको कुनै अर्थ नरहेको निष्कर्ष उनको थियो ।  सोमबार बालुवाटार पुगेर भने यादवले सच्चिने प्रतिवद्धता र संविधान संशोधनको रोडम्याप चित्त बुझेमा सरकारलाई दिएको समर्थन कायमै रहनसक्ने संकेत गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register