मकवानपुर क्याम्पसले माग्यो २५ करोड

मकवानपुर बहुमुखी क्याम्पसले शैक्षिक भवन निर्माणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा सहरी विकास मन्त्रालयमार्फत नेपाल सरकारसमक्ष २५ करोड बजेट विनियोजन माग गर्दै प्रस्ताव पेश गरेको छ ।

Apr 3, 2025 - 18:29
 0
मकवानपुर क्याम्पसले माग्यो २५ करोड
हेटौंडा । 

मकवानपुर बहुमुखी क्याम्पसले शैक्षिक भवन निर्माणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा सहरी विकास मन्त्रालयमार्फत नेपाल सरकारसमक्ष २५ करोड बजेट विनियोजन माग गर्दै प्रस्ताव पेश गरेको छ ।

क्याम्पस प्रशासनका अनुसार हाल विद्यार्थी संख्या वृद्धिसँगै आधुनिक पूर्वाधारको आवश्यकता बढिरहेको छ, जसका कारण नयाँ भवन निर्माण अपरिहार्य भएको हो । क्याम्पस प्रमुख डा. यमबहादुर सिलवालका अनुसार मकवानपुर तथा छिमेकी जिल्लाका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको क्याम्पसमा हाल उपलब्ध भवन तथा संरचना अपर्याप्त भएका छन् । विशेषगरि, स्वायत्त शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार अभाव रहेको क्याम्पस प्रशासनको भनाइ छ ।

नेपालकै एक प्रमुख सामुदायिक क्याम्पसका रुपमा परिचित हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट क्युएए मान्यताप्राप्त गरिसकेको छ । ग्रामीण तथा विपन्न समुदायका विद्यार्थीहरुका लागि उच्चशिक्षाको प्रमुख केन्द्रका रुपमा रहेको क्याम्पसमा पर्याप्त कक्षाकोठा अभाव, जीर्ण भवनहरु र आधुनिक शिक्षणप्रविधि अभावका कारण अध्ययन–अध्यापनमा चुनौती उत्पन्न भएको क्याम्पस प्रशासनले जनाएको छ ।

क्याम्पस प्रशासनले रोजगारमुखी, उद्यमशीलता तथा प्राविधिक शिक्षाका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै स्वदेशमा रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । उक्त योजनालाई प्रभावकारी कार्यान्वयन गर्न नयाँ भवन आवश्यक भएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा सहरी विकास मन्त्रालयमार्फत बजेट माग गरिएको हो । परियोजनाले मकवानपुर बहुमुखी क्याम्पसलाई मात्र नभइ नेपाल सरकारको उच्चशिक्षा पूर्वाधार सुदृढीकरण तथा सहरी पूर्वाधार विकास अभियानलाई समेत टेवा पुग्ने विश्वास क्याम्पस प्रशासनले लिएको छ । आगामी आव २०८२÷०८३ को बजेट कार्यक्रममा उक्त योजना समावेश गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ ।

मकवानपुर बहुमुखी क्याम्पस हेटौंडाको शैक्षिक भवन निर्माण गर्न आवश्यक बजेट बिनियोजनका लागि कार्यबाहक प्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह र शिक्षामन्त्री विद्या भट्टराईसँग बिहीबार छुट्टाछुट्टै भएको छलफल सांसद् महेश बर्तौलाले बताए ।

छलफलमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, क्याम्पस सञ्चालक समिति अध्यक्ष अनन्त पौडेल, उपाध्यक्ष अशोक शाक्य, जिसस प्रमुख ललित घलान र क्याम्पस प्रमुख डा. सिलवालसहितको सहभागिता थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register