मोटरसाइकलसँग ठोक्किन्छन् चितुवा, बाख्रा खान गाउँ पसे बाघ

हेटौँडा । मकवानपुरगढी–३ का स्थानीय विशाल लुङ्वा बिहीबार साँझ चितुवाको आक्रमणबाट बालबाल बचे । उनले आफू मोटरसाइकलमा घर फर्कने क्रममा मकवानपुरगढी–३, कालीखोलामा चितुवाको आक्रमणमा परेको उनले बताएका छन् । मोटरसाइकलसँग ठोक्किएपछि चितुवा जङ्गलतर्फ भागेपछि आफू जोगिन सफल भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । यसअघि, बुधबार मकवानपुरगढी–६ मा बाघले स्थानीयको बाख्रा मारेको घटना सार्वजनिक […]

Apr 4, 2025 - 10:58
 0
मोटरसाइकलसँग ठोक्किन्छन् चितुवा, बाख्रा खान गाउँ पसे बाघ

हेटौँडा । मकवानपुरगढी–३ का स्थानीय विशाल लुङ्वा बिहीबार साँझ चितुवाको आक्रमणबाट बालबाल बचे । उनले आफू मोटरसाइकलमा घर फर्कने क्रममा मकवानपुरगढी–३, कालीखोलामा चितुवाको आक्रमणमा परेको उनले बताएका छन् । मोटरसाइकलसँग ठोक्किएपछि चितुवा जङ्गलतर्फ भागेपछि आफू जोगिन सफल भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

यसअघि, बुधबार मकवानपुरगढी–६ मा बाघले स्थानीयको बाख्रा मारेको घटना सार्वजनिक भएको थियो । यी त केही उदाहरण मात्रै हुन् । मकवानपुरमा पछिल्लो समय जङ्गली जनावरको आक्रमणका घटना बढेका छन् । यसले गर्दा स्थानीय त्रसित बनेका छन् । मकवानपुरगढी क्षेत्रमा चितुवा र बाघ देखिन थालेपछि स्थानीय बासिन्दा आतङ्कित बनेका हुन् । केही समयअघि हेटौँडा– १३ मा एउटा माउ र २ वटा बच्चा गरी ३ वटा चितुवा देखा परेका थिए ।

यस्तोमा डिभिजन वन कार्यालय मकवानपुरले जनतालाई सचेत रहन र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

आफ्नो वडामा देखिएको चितुवा ४ र ६ नम्बर वडामा समेत पुगेकोले आफूहरूले स्थानीयलाई सचेत गराएको मकवानपुरगढी वडा ३ का वडाध्यक्ष भागवत घिमिरले बताए । ‘इलाका वनसँग समन्वय गरेर चितुवा आवतजावत गर्ने सम्भावित स्थानमा सीसी क्यामेरा राखेर निगरानी गरिरहेका छौँ,’ उनले भने ।

पालिकाको वडा नं. ६ स्थित मोरङ्गे क्षेत्रमा आएको चितुवाले स्थानीय रामप्रसाद दाहालको गोठको बाच्छोमाथि आक्रमण गरेको थियो । यस्तै त्यसले वडा नं. ४ मा बाच्छो खाएको थियो भने वडा नं. ६ मा एउटा कुकुरलाई घाइते बनाएको थियो ।

घटनाबारे सतर्क गराउन आफूहरू माइकिङ गर्ने तयारीमा रहेको अध्यक्ष घिमिरेले बताए । त्यसैगरी चितुवाले ६ नं. वडा जनएकता टोलका नकुल सापकोटाको ब्राखा खोरबाट तानेर ६०० मिटर टाढा जङ्गलमा लगी मारेको मकवानपुर प्रहरीले जनाएको छ ।

डिभिजन वन कार्यालय हेटौँडाका प्रमुख राकेशप्रसाद चन्द्रवंशीका अनुसार पछिल्लो समयमा बाघ, हात्ती र गैँडाको समस्या छैन कम भएको छ । तर चितुवाले गर्ने आक्रमणको जोखिम बढेको छ । ‘यसबाट बच्न हामीले चितुवा हिड्ने बाटोमा पासो थापेका छौँ, त्यहाँबाट हामी समाउँछौँ,’ उनले थपे ।

चितुवाको गतिविधि बढिरहेकोले स्थानीयलाई सतर्क रहन सुझाएको प्रमुख चन्द्रवंशीले बताए । ‘राति यात्रा गर्दा सावधानी अपनाउन, एक्लै जङ्गल क्षेत्रतर्फ नजान, पशुचौपाया सुरक्षित राख्न र कुनै असामान्य गतिविधि देखिएमा तुरुन्तै सम्बन्धित निकायमा जानकारी गराउन भनेका छौँ,’ उनी भन्छन् ।

गत मङ्सिरमा मकवानपुरको मनहरी गाउँपालिका ६ मा राप्ती नगरपालिका १ दुवीचौर, चितवनका ४३ वर्षीय हरि पौडेललाई बाघले आक्रमण गरेको थियो । त्यसैगरी पुसमा मनहरी गाउँपालिका–५ वसन्तपुरकी ७२ वर्षीया कान्छीमाया रुम्बाको बाघले आक्रमणबाट गर्दा ज्यान गएको थियो । सोही बाघले ६ वटा बाख्रासमेत मारेको थियो ।

यस्तै सोही महिना मनहरी गाउँपालिका–६ स्थित लोथर खोला नजिक रहेको लामेदार मध्यवर्ती सामुदायिक वनमा गैँडाको आक्रमणमा परी ७० वर्षीया दिलमाया स्याङतान घाइते भएकी थिइन् ।

गत भदौमा मनहरीमै भैँसीले आक्रमण गर्दा बाघको ज्यान गएको थियो । मनहरी गाउँपालिका वडा नम्बर ६ प्रतापपुरका स्थानीय बलबहादुर राईको गोठमा बाँधेको भैँसीलाई बाघले आक्रमण गरेको थियो । तर भैँसीले प्रतिकार गर्दा बाघ मरेको थियो ।

यसरी २०७९ फागुनमा मकवानपुरमा जङ्गली हात्तीको आक्रमणबाट बकैया गाउँपालिका–५ पावसका ५० वर्षीय जनकलाल माझीको ज्यान गएको थियो । सोही समयमा हात्तीले मनहरी गाउँपालिका– ४ की ६४ वर्षीया राधा अधिकारीको ज्यान लिएको थियो ।

२०८० फागुनमा उत्तरी मकवानपुरको थाहा नगरपालिका– २ अङ्गारेटोलस्थित स्थानीय ६६ वर्षीय हेमन्तप्रसाद ढाकाल र उनको श्रीमती ६० वर्षीया साबित्री ढकाल चितुवाको आक्रमणबाट घाइते भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register