मोहनचन्द्र अधिकारीको आरोप : ओली, प्रचण्ड र माधव नेपाल कम्युनिष्ट नै होइनन्

रामेछाप । नेपालका पुराना कम्युनिष्ट नेता मोहनचन्द्र अधिकारीले देशमा समाजवाद स्थापनाका लागि सबै कम्युनिष्टहरू एक ठाउँमा आउनु पर्ने बताएका छन् । आइतबार मन्थलीमा आयोजित नेपालको जनतान्त्रिक आन्दोलनमा कृष्णलाल, गङ्गालाल र पुष्पलालका योगदान विषयक वृहत् विचार गोष्ठीमा बोल्दै अधिकारीले कम्युनिष्ट पार्टी फुटेर देशमा समाजवादी व्यवस्थाको कल्पना गर्न नसकिने बताए । उनले सबैलाई मिल्नसमेत आग्रह गरे । […]

Apr 6, 2025 - 14:18
 0
मोहनचन्द्र अधिकारीको आरोप : ओली, प्रचण्ड र माधव नेपाल कम्युनिष्ट नै होइनन्

रामेछाप । नेपालका पुराना कम्युनिष्ट नेता मोहनचन्द्र अधिकारीले देशमा समाजवाद स्थापनाका लागि सबै कम्युनिष्टहरू एक ठाउँमा आउनु पर्ने बताएका छन् ।

आइतबार मन्थलीमा आयोजित नेपालको जनतान्त्रिक आन्दोलनमा कृष्णलाल, गङ्गालाल र पुष्पलालका योगदान विषयक वृहत् विचार गोष्ठीमा बोल्दै अधिकारीले कम्युनिष्ट पार्टी फुटेर देशमा समाजवादी व्यवस्थाको कल्पना गर्न नसकिने बताए । उनले सबैलाई मिल्नसमेत आग्रह गरे । ‘मेरो विनम्र अनुरोध छ–यहाँहरू मिल्नुस्, श्रमजीवी जनताको सेवा गर्नुस्,’ उनले भने ।

पञ्चायत शासनमा १८ वर्षसम्म जेल परेका कम्युनिष्ट नेता अधिकारीले कम्युनिष्ट पार्टीको नेता जनताको सेवक बन्नु पर्नेमा जोड दिए । ‘श्रमजीवीको नेता कम्युनिष्ट होइन, श्रमजीवीको सेवक कम्युनिष्ट पार्टीको नेता बन्छ, श्रमजीवीको नेता बन्ने त दलाल हुन्’, उनले भने ।

नेपालमा अहिलेसम्म सत्तामा पुगेका कुनै पनि पार्टीहरू कम्युनिष्ट पार्टी नभएका अधिकारीले धारणा राखे । उनीहरू सबै दलाल बिचौलिया भएको उनको धारणा छ । केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल कोही पनि कम्युनिष्ट नभएको उनले आरोप लगाए ।

‘प्रचण्डले जनयुद्धको नाममा नेपाली जनतालाई लडाए र अन्तिममा विदेशी प्रभावमा परेर आन्दोलनलाई विसर्जन गरे,’ उनले भने । प्रचण्डलाई आफूले त्यतिबेलै सशस्त्र आन्दोलनमा नजान आग्रह गरेको भए पनि नटेरेर नेपाली जनताको रगत बगाउने काम गरेको उनको आरोप थियो ।

अधिकारीले देश बनाउने हो भने कम्युनिष्टहरू विभिन्न टुक्रामा विभाजित हुने नभएर एक भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register