राजावादीहरूको ‘राष्ट्रवादी नमस्कार’ र ‘जय राष्ट्रवाद’
‘राष्ट्रवादी नमस्कार,’ राप्रपाको बल्खु जनसभामा बारम्बार सुन्न पाइयो । नेपाली जनजीवनमा लोकप्रिय अभिवादन ‘नमस्कार’ शब्दका अघिल्तिर ‘राष्ट्रवादी’को फुर्को जोड्न सुरु गरेका रहेछन्, राजावादीले । बल्खुमा बारम्बार ‘राष्ट्रवादी नमस्कार’ सुनेपछि लाग्यो, हामीले भन्ने गरेको ‘नमस्कार’ कतै ‘अराष्ट्रिय’ पो हो कि ? नमस्कारका अगाडि ‘राष्ट्रवादी’ थपिए जसरी ‘जय नेपाल’बाट नेपाललाई ‘राष्ट्रवाद’ले विस्थापित गरेर ‘जय राष्ट्रवाद’ भइसकेको रहेछ […]

‘राष्ट्रवादी नमस्कार,’ राप्रपाको बल्खु जनसभामा बारम्बार सुन्न पाइयो । नेपाली जनजीवनमा लोकप्रिय अभिवादन ‘नमस्कार’ शब्दका अघिल्तिर ‘राष्ट्रवादी’को फुर्को जोड्न सुरु गरेका रहेछन्, राजावादीले । बल्खुमा बारम्बार ‘राष्ट्रवादी नमस्कार’ सुनेपछि लाग्यो, हामीले भन्ने गरेको ‘नमस्कार’ कतै ‘अराष्ट्रिय’ पो हो कि ?
नमस्कारका अगाडि ‘राष्ट्रवादी’ थपिए जसरी ‘जय नेपाल’बाट नेपाललाई ‘राष्ट्रवाद’ले विस्थापित गरेर ‘जय राष्ट्रवाद’ भइसकेको रहेछ ।
राष्ट्रिय झन्डाको बोलवाला रहेको बल्खुमा यत्रतत्र राष्ट्रवादको उच्चाट लाग्दो नारा सुनिन्थ्यो । बल्खुमा ३ सय देखि ५ सय रुपैयाँसम्ममा बिक्री भइरहेको ‘राष्ट्रिय झन्डा’ ‘झुक्न नदिनुहोस्, झन्डा उठाएर राख्नुहोस् साथीहरू’ भन्दै माइकिङ गर्दै थिए, राप्रपा नेताहरू ।
राजावादीलाई सडकमा ओराल्ने फागुन ७ को ज्ञानेन्द्र शाहको सम्बोधनको अन्त्य पनि ‘जय नेपाल’बाटै हुन्छ । आफ्ना सबै भाषण र सम्बोधनको अन्तमा ज्ञानेन्द्रले ‘जय नेपाल’ प्रयोग गर्छन् । तर, ज्ञानेन्द्रलाई सिंहासनमा फर्काउन सडकमा ओर्लिएकाहरूले भने ‘जय नेपाल’ शब्द रुचाएको देखिएन । उनीहरूलाई ‘नेपाल’को होइन ‘राष्ट्रवाद’को को माया बढ्ता छ । त्यसैले त नमस्कारलाई पनि राष्ट्रवादी बनाइदिए राजावादीहरूले ।
राजावादीहरूले ‘जय नेपाल’ लाई काँग्रेसी सम्बोधनका रूपमा बुझ्दा रहेछन् । आन्दोलन र राजा फर्काउने चटारोबीच ‘आफूलाई नारायणहीटीबाट हटाउने काँग्रेसको ‘जय नेपाल’ ज्ञानेन्द्रले किन प्रयोग गर्दा हुन ?’ भनेर राजावादीलाई सोच्ने फुर्सद कहाँ हुनु ।
ज्ञानेन्द्रले पनि त्याग्न नसकेको ‘जय नेपाल’को रोचक इतिहास छ । इतिहासमाथि गर्व गर्ने राजावादीले ‘जय नेपाल’को इतिहास भने कसो–कसो भुलेछन् ।
२००७ सालमा भारतबाट फर्केपछि राणा शासन अन्त्य भएको घोषणा गर्दा नै त्रिभुवन शाहले ‘जय नेपाल’ शब्द प्रयोग गरेका थिए । सरदार भीमबहादुर पाँडेको किताब ‘त्यस बखतको नेपाल’मा लेखिए अनुसार त्रिभुवन भारतबाट फर्केको दिनदेखि नै नेपालीको मुखमा जय नेपालको नारा झुन्डिएको हो ।
पुस्तकमा लेखिएको छ – “जय नेपालको नारा नेपालीको मुखमा झुन्डिएको पनि त्यसै दिनदेखि (४ फागुन) हो । गौचरनमा हवाई जहाजबाट श्री ५ त्रिभुवन ओर्लिबक्सँदा सबलाई प्रणाम गरिबक्सेकाले अनि त्यसै दिनदेखि नेपालमा सलाम स्वस्तिको सट्टा नमस्कार गर्ने र भेट हुँदा ‘जय नेपाल’ भन्ने चलन सुरु भयो ।”
‘राजा फर्काउन’ कस्सिएकाले राजाकै इतिहास भुल्दा ‘राजा फर्काउने’ इमानदार प्रयास गरेको भने देखिएन ।
‘राजाको शासनमा देश स्वर्ग थियो, सब चिज अच्छा थियो, आज आएर देश बरबाद भयो’ भन्ने पुरानै न्यारेटिभ राजवादीहरूले बल्खुमा पनि दोहोर्याए । ‘राजा आऊ देश बचाउ’ भन्दै नाराबाजी गरिरहेका राजावादीबाट बल्खु क्षेत्रका दोकानदार भने त्रसित देखिए । चैत १५ गते तीनकुनेमा राजावादीले गरेको लुटपाटबाट डराएका बल्खु क्षेत्रका दोकानदारले सटरमा ताल्चा लगाएका थिए ।
‘जय राष्ट्रवाद’ र ‘राष्ट्रवादी नमस्कार’ टक्र्याउँदै राजावादीले बल्खुबाट धाक धम्की दिए । गणतन्त्रवादीलाई देश छाडेर भाग्नु, नभए राष्ट्रवादीहरूले थुतेर कुट्छन् भन्दै गणतन्त्रवादीलाई धम्क्याइन कुन्ती पोखरेलले । राष्ट्रवादको हुङ्कार लगाइरहेका प्रतिनिधि सभाका सांसद समेत रहेका दीपकबहादुर सिंहले त नेपाललाई बंगलादेश र श्रीलंका बनाउने धम्की दिए ।
आफू मातहतकाले नै यत्तिको धम्की दिइसकेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले यो भन्दा ठूलै धम्की दिनु परिगयो । उनले त भोक भोकै मार्छौँ भन्दिए । ‘म फेरी पनि भन्छु, नसुध्रने हो भने हामी पनि गोली चलाउँछौँ त भन्दिन, बालुवाटार घेरेर भात पानी बन्द गरिदिन सक्छौँ । यो कुरा याद राख,’ लिङदेनले चुनौती पेस गरे ।
बल्खुमा ‘मिस/डिस इन्फरमेसन’ युनिभर्सिटीबाट दीक्षित ज्ञानबहादुर शाहीले तथ्य र तर्कको उसतै ‘राष्ट्रवादी’ कक्टेल सुनाए ।
‘राष्ट्रवाद’को मात कतिसम्म छ भने राप्रपा सांसद बुद्धिमान तामाङले वैज्ञानिक तथ्यको धज्जी उडाएबाटै थाह हुन्छ ।
‘बच्चा पहिले आँ आँ मात्र गरेर कराउँथ्यो । अहिले बेस्सरी आँ आँ गरी कराउन थालेको छ रे ! किन थाहा छ तपाईंलाई ? त्यो कराउनुको कारण चाहिँ ए ! बाबा–आमा मलाई किन जन्माएको ? म जन्मिदा नै मेरो टाउकोमा ९० हजार ऋण थोपारिदिनु भयो तपाईंहरूले । त्यस कारणले म बोल्न सक्दैन । त्यसैले कराएको भन्छ रे,’ जीव विज्ञानलाई समेत राष्ट्रवादको बर्को ओढाएर लज्जित तुल्याइदिए तामाङले ।
‘राजावादीले’ राजा फर्काउने बल्खु भेलाका लागि छानेको मिति संयोग मात्र होइन होला । ३५ वर्ष अगाडि २६ चैत २०४६ मा राजाको प्रत्यक्ष शासन रहेको पञ्चायतको अन्त्य भएको दिन पनि थियो ।
राप्रपाले यही दिन रोजेर आफ्नो र ज्ञानेन्द्रको अभिष्टको सङ्केत गरेको छ । भलै, उनीहरूले सार्वजनिक खपतका लागि राजाका अगाडि ‘संवैधानिक, अभिभावकीय’ विशेषण जोडुन् ।
पञ्चायतका दुर्दिन भोग्नेहरू अझै जीवितै छन् । केही समय अगाडि गृहमन्त्री रमेश लेखकले राजाको शासनभन्दा लोकतन्त्र ठीक छ भन्दै भनेका थिए, ‘केही भएन, केही भएन, राजा चाहियो भन्दै हातहातमा मोबाइल लिएर भिडियो बनाएका छन् । राजाका पालामा यही मोबाइल थिएन ।’
२०६२ मा ज्ञानेन्द्रले टेलिफोन समेत बन्द गर्दिएका थिए । बल्खुमा पनि ‘राष्ट्रवादी’हरू सेल्फी, भिडियोमा मस्त थिए । पोज, पोजमा राजा फर्काउने अभियानको प्रचार गरिरहेका थिए ।
‘स्वर्ग झैँ हाम्रो देश
बनिसक्यो नर्क,
फर्क राजा फर्क
अब राजगद्दी मै फर्क….’
गीत बजाएर टिकटक बनाइरहेकाहरूले राजा फर्काउलान् भनेर यसै भन्न सकिन्न । तर, शब्दै पिच्छे ‘राष्ट्रवाद’को फुर्को भने अवश्य जोडेर शब्दकोश मोटो बनाउँछन् । ‘राजावादीलाई आग्रह ‘नमस्कार’ र ‘जय’ शब्दमा ‘राष्ट्रवाद’को भारी भरकम फुर्को जोडेर यी शब्दको राजनीतिकरण नगरौँ । ‘राजा’देखि ‘रैती’ सबैले ‘नमस्कार’ ‘जय नेपाल’ भनेको सुहाउँछ ।
What's Your Reaction?






