धोनीको कप्तानीमा उत्रिँदै चेन्नई, कोलकातालाई जित्नैपर्ने बाध्यता

काठमाडौं । आईपीएल (IPL) २०२५ मा आज चेन्नई सुपर किङ्ग्स (सीएसके)ले कोलकाता नाइट राइडर्सको सामना गर्दैछ । सिजनको २५औं खेल चेन्नईको एमए चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार साँझ ७:४५ बजेदेखि सुरु हुनेछ । एमएस धोनीले फेरि एकपटक चेन्नईको कप्तानी गर्दैछन् । रुतुराज गायकवाडको नेतृत्वमा रहेको चेन्नईको टोली अहिले खराब अवस्थाबाट गुज्रिरहेको छ । चेन्नईले हालको आईपीएलमा […]

Apr 11, 2025 - 06:20
 0
धोनीको कप्तानीमा उत्रिँदै चेन्नई, कोलकातालाई जित्नैपर्ने बाध्यता

काठमाडौं । आईपीएल (IPL) २०२५ मा आज चेन्नई सुपर किङ्ग्स (सीएसके)ले कोलकाता नाइट राइडर्सको सामना गर्दैछ ।

सिजनको २५औं खेल चेन्नईको एमए चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार साँझ ७:४५ बजेदेखि सुरु हुनेछ । एमएस धोनीले फेरि एकपटक चेन्नईको कप्तानी गर्दैछन् ।

रुतुराज गायकवाडको नेतृत्वमा रहेको चेन्नईको टोली अहिले खराब अवस्थाबाट गुज्रिरहेको छ । चेन्नईले हालको आईपीएलमा घरेलु मैदानमा दुई खेल खेलेको छ र दुवैमा हार व्यहोरेको छ ।

गायकवाड चोटका कारण आईपीएल २०२५ बाट बाहिरिएका छन्, त्यसैले उनको स्थानमा एमएस धोनीले कमान्ड सम्हाल्नेछन् । धोनी कप्तान बनेपछि चेन्नई जितको बाटोमा फर्कने फ्यानको आस छ ।

अङ्क तालिकालाई हेर्ने हो भने, कोलकाताको टोली ५ खेलमा दुई जित र तीन हारसहित छैटौं स्थानमा छ । चेन्नई ५ खेलमा एक जित र चार हारसहित नवौं स्थानमा छ ।

हेड टू हेडमा चेन्नई अगाडि

आईपीएलमा हालसम्म चेन्नई र कोलकाताबीच कुल ३१ खेल खेलिएको छ । त्यसमध्ये २० खेलमा चेन्नईले कोलकातालाई हराएको छ । बाँकी ११ खेलमा भने कोलकाताले चेन्नईलाई पराजित गरेको छ ।

चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा भने हालसम्म ११ खेल खेलिएको छ । त्यसमा पनि चेन्नई नै अगाडि देखिन्छ । आठ खेलमा चेन्नईले कोलकातालाई हराएको छ । तीन खेलमा भने कोलकाताले चेन्नईलाई पराजित गरेको छ ।

जारी संस्करणमा चेन्नईका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान रचिन रवीन्द्र हुन् । उनले पाँच खेलमा कुल एक सय ४५ रन बनाएका छन् । उनले मुम्बई इन्डियन्सविरुद्ध ६५ रन बनाएका थिए ।

सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा ऋतुराज गायकवाड दोस्रो स्थानमा छन् । उनले पाँच खेलमा कुल एक सय २२ रन बनाएका छन् । सर्वाधिक विकेट लिने बलर भने नुर अहमद हुन् । उनले ११ विकेट लिइसकेका छन् ।

यता, कोलकाताका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान अजिनक्या रहाणे हुन् । उनले पाँच खेलमा कुल एक सय ८४ रन बनाइसकेका छन् । उनले रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्ध ५६ र लखनउ सुपर जायन्ट्सविरुद्ध ६१ रन बनाएका थिए ।

कोलकाताका लागि दोस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यान भने अंगकृष रघुवंशी हुन् । उनले पाँच खेलमा कुल एक सय ३३ रन बनाएका छन् । उनले एक अर्धशतक पनि बनाएका छन् । सर्वाधिक विकेट लिने बलर वरुण चक्रवर्ती हुन् । उनले पाँच खेलमा ६ विकेट लिएका छन् ।

जारी सिजनको आईपीएलका खेलहरु खेलाइने अधिकांश स्टेडियमको पिच ब्याट्सम्यानलाई साथ दिने प्रकृतिका छन् । कोलकाता र चेन्नईबीच शुक्रबारको खेल हुने एमए चिदम्बर स्टेडियमको पिच भने स्पीन बलरहरुलाई साथ दिने प्रकृतिको छ ।

त्यसैले यो स्टेडियममा रन बनाउन ब्याट्सम्यानले निकै सङ्घर्ष गर्नुपर्ने स्थिति देखिन्छ । यो स्टेडियममा हालसम्म आईपीएलको कुल ८८ खेल खेलिएको छ । त्यसमध्ये ५१ खेलमा पहिले ब्याटिङ गर्ने टोली र ३७ खेलमा जवाफी ब्याटिङ गर्ने टोली विजयी भएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register