आन्दोलनको सौन्दर्यशास्त्र

आन्दोलनहरू जब सिर्जनात्मक बन्छन्, तब तिनले समाजलाई अझ धेरै उद्धेलित, तरङ्गित र कलापूर्ण बनाउँदै लैजान्छन् । यहाँ विचार गर्नुपर्ने कुरा के छ भने, सौन्दर्य सधैँ कोमल हुन्छ भन्ने होइन । कहिलेकाहीँ सौन्दर्य विद्रोही हुन्छ ।

Apr 12, 2025 - 08:02
 0
आन्दोलनको सौन्दर्यशास्त्र

आज आन्दोलनको सौन्दर्य शास्त्रबारे कुरा गरौँ ।

केही दिन वा महिना अगाडिदेखि नै सहरमा दुईखाले झण्डा बोकेका मान्छेहरू सलबल सलबल देखापरिरहेका छन् । कतै सडकमा, कतै चोकमा । कतै मण्डलामा, कतै खुला चौर वा मैदानमा ।

बिम्बमा कुरा मिलाएर भन्दा उनीहरूका रङ्ग फरक छन् । एकखाले मान्छे छन् राता र अर्काखाले मान्छे छन् पहेँला । कतै कसैले बोकेका छन् राता झण्डा, कतै हावामा हल्लिएका छन् पहेँला झण्डा । हेर्दा मान्छे फरक, रङ्ग फरक र नारा फरक छन् । तर आश्चर्य, व्यवहार र चरित्र छ एउटै ।

विचार गरौँ त को हुन् यी मान्छेहरू, जो चोक, गल्ली र मूल सडकमा जम्मा हुन्छन् र आफ्ना पालनहारको जयजयकार गर्दछन् । उसैको फोटो बोक्छन् र उसैको नाममा जात्रा गर्दछन्, जो उनीहरूको मालिक हो । को हुन् यी मान्छेहरू, जो आफ्ना ख्वामितका विरोधीलाई फोटोमै पनि कालो मोसो दल्छन् र उसको पुत्लामा आगो झोसेर आत्मतिरेक हुन्छन् ।

यस्तो लाग्छ, ख्वामितको स्तुति गाउनु र विरोधीलाई श्राप दिनु उनीहरूको वृति हो ।

यी मान्छेहरू, जुन रङ्गको भएपनि उग्रनारा, असहिष्णु व्यवहार र अराजकता यिनका साझा चरित्र हुन् । विरोधीलाई सुनी नसक्नु गाली गर्नु र मान्छेलाई उत्तेजित बनाउनु उनीहरूको पेसा हो । यस्तो लाग्छ, यही कामका लागि मालिकले उनीहरूलाई वेतन दिन्छ र उनीहरू गुजारा चलाउँछन् ।

रातो र पहेँलो रङ्गका यी दुईथरी मान्छेहरू आफूलाई फरक नामबाट परिचय गराउँछन् । एकथरी आफूलाई भन्छन्, राजावादी । जो १८ वर्ष अगाडि दरबारको भित्ताबाट झरेको राजतन्त्रको फोटो बोकेर, त्यसलाई जीवन दिने प्रयत्न गरिरहेका छन् । अर्कोथरी छन् सत्तावादी, जो लोकतन्त्रलाई नेतातन्त्रमा सङ्कुचित गरेर सत्ताको चास्नीमा रमाइरहेका छन् । 

उनीहरू दुवैको मात्र परिचय फरक छ । तर, भीडमा रमाउनु उनीहरूको विकृत शौख हो । चर्को चर्को कराउनु उनीहरूको साझा स्वभाव । यस्तो हुन्छ कि, आन्दोलनका नाममा उनीहरू जहाँजहाँ जम्मा हुन्छन्, त्यहाँ दकसको वातावरण बन्छ । र, साम्राज्य चल्छ होहल्ला, अट्टहास र असहिष्णुताको ।

यी दुवैखाले मान्छेहरू जब भीडमा उभिएर आन्दोलनको घोषणा गर्दछन्, त्रास छाउँछ यत्रतत्र । मानौँ उज्यालो गायब भयो र अँध्यारो सर्वत्र फैलियो । त्यसपछि आन्दोलनका नाममा नाराबाजी हुन्छ । हानाहान हुन्छ । आगजनी र तोडफोड हुन्छ । अर्थात यस्तो हुन्छ कि उनीहरूका लागि आन्दोलन भनेको फगत तमासा, अराजकता र आतङ्क हो ।

जब उनीहरू आन्दोलनको घोषणा गर्दछन्, तब विद्यार्थीहरू झोला बिसाउँछन्, शिक्षकहरू चक बिसाउँछन्, किताब बन्द हुन्छन् र त्यससँगै बन्द हुन्छन् राष्ट्रियगानका भाकाहरू ।

त्यसपछि, डाक्टरहरू सेतो कोट खोलेर सुस्केरा हाल्छन् । गृहिणीहरू मौन हुन्छन् । श्रमिकहरू मौन हुन्छन् । र, मात्र ब्वाँसाहरूको राज चल्छ सर्वत्र ।

जब उनीहरु आन्दोलनको घोषणा गर्दछन्, तरकारी सकिन्छ बजारमा । गोलभेडा कुहिन्छ बारीमा । दूध पोखिन्छ सडकमा । औषधि बोकेका ट्रकहरू बाटोमै रोकिन्छन् । एम्बुलेन्सहरू या त रोकिन्छन्, या त जल्छन् । यसरी उनीहरू जेलाइ आन्दोलन भन्छन्, मान्छेहरू त्यसबाट आतङ्कित हुन्छन् । त्यसपछि आन्दोलनको अनुहारमा दाग लाग्छ र बदनाम हुन्छ । 

आन्दोलनको सौन्दर्यः

प्रश्न आउँछ, के आन्दोलन वास्तवमै खराब चिज हो ?

वास्तवमा, आन्दोलन खराब चिज हुँदै होइन । यो मानव सभ्यताले आविष्कार गरेको सुन्दर परिघटना हो । आन्दोलनहरू हुन्छन् र नै न्याय प्रभावकारी बनेर आउँछ । आन्दोलनहरू हुन्छन्, त्यसैले सत्य अझ दृढ बन्दै जान्छ । आन्दोलनहरू हुन्छन् र नै मान्छेहरू अझ अधिकार सम्पन्न र राज्यहरू सभ्य हुँदैछन् ।

आन्दोलन नराम्रो कुरा हुँदै होइन । किनभने, जब आन्दोलनहरू हुन्छन्, लोकतन्त्र अझ बलियो बन्दै जान्छ । आन्दोलन प्रत्येक युगको एक शसक्त सम्बोधन हो, जसले समयलाई अँध्यारोबाट उज्यालोतिर जान प्रेरित गर्छ । आन्दोलनले युगलाई जीवन दिन्छ । आन्दोलनले युगलाई लय दिन्छ । त्यसैले आन्दोलन मानव सभ्यताको चालक तत्त्व हो ।

प्रश्न आउँछ, त्यसोभए पछिल्ला आन्दोलनसँग किन डराउँछन् मान्छेहरू ? किनभने जो राता र पहेँला मान्छेहरू अहिले आन्दोलनको आयोजना गरिरहेका छन्, उनीहरूले आन्दोलन बुझेकै छैनन् । अतः सहरमा यतिबेला, आन्दोलनका नाममा अराजकताको ताण्डव चलिरहेको छ । त्यसैले आन्दोलनसँग डराउँदैछन् मान्छेहरू ।

वस्तुतःः उनीहरू आन्दोलनसँग हैन, अराजकतासँग डराएका हुन् । 

जस्तो कि, अहिले जो आन्दोलनको नारा लगाइरहेका छन्, उनीहरू ठान्दछन्, चर्को बोल्नु आन्दोलन हो । भीड जम्मा हुनु र उग्र नारा लगाउनु आन्दोलन हो । टायर बाल्नु आन्दोलन हो । रेलिङ्ग भाँच्नु आन्दोलन हो । तोडफोड गर्नु र पुस्तकालय जलाउनु आन्दोलन हो । मान्छे मार्नु आन्दोलन हो र शहीदका नाममा अझ धेरै मान्छे मार्नु आन्दोलन हो ।

सोचौँ त अहिले यत्रतत्र जे भइरहेको छ, के त्यो साँच्चै आन्दोलन हो ? त्यो आन्दोलन होइन । त्यो अराजकता हो । त्यो त्रासको ताण्डव हो । किनभने आन्दोलन त्रास लिएर आउँदैन । त्यसैले उनीहरू आन्दोलनका नाममा जे गरिरहेका छन्, त्यो मात्र आतङ्क हो, मान्छे तर्साउने ।

तर, आन्दोलनले मान्छे तर्साउँदैन । त्यसैले आन्दोलनसँग कोही डराउनु पर्दैन । डराउनुपर्छ त मात्र आतङ्क र अराजकतासँग । आन्दोलन इतिहास निर्माणको एक दृढ र रचनात्मक प्रक्रिया हो । यो मानवताको उच्चतम् अभिव्यक्ति हो । यो त्रास हैन, सद्भाव र प्रेम हो ।

जब मानिसहरूले आफ्नो अधिकारका लागि लड्न प्रारम्भ गर्दछन्, तब त्यो सङ्घर्ष भित्रबाट परिवर्तनको ज्वाला प्रकट हुन्छ । स्वाभिमानको ज्वाला । आत्मगौरवको ज्वाला । स्वतन्त्रताको ज्वाला । त्यो ज्वालाभित्र एउटा सौन्दर्य लुकेको हुन्छ र त्यो सौन्दर्यले सारा समाजलाई आलोकित गर्छ ।

उदाहरणका लागि, महात्मा गान्धीको नेतृत्वमा भएको भारतीय स्वतन्त्रता आन्दोलन । नेल्सन मन्डेलाको नेतृत्वमा भएको दक्षिण अफ्रिकाको रङ्गभेद विरोधी आन्दोलन । यी अहिंसात्मक प्रतिरोधहरू आन्दोलनको सौन्दर्य बताउने अद्भूत उदाहरण हुन् ।

थप उदाहरणका रूपमा हाम्रा आफ्नै गौरवमय आन्दोलनहरू पनि सम्झन सकिन्छ । जस्तो कि नेपालमा भएका लोकतन्त्रका सबै आन्दोलनहरू । २००७ सालको प्रजातान्त्रिक आन्दोलन । ०४६ सालको आन्दोलन । २०६२-६३ को लोकतान्त्रिक जनआन्दोलन ।

यसको अर्थ के हो भने, आन्दोलनको आफ्नै सुन्दरता हुन्छ । आन्दोलनको आफ्नै गरिमा हुन्छ । आन्दोलनको आफ्नै ओज हुन्छ । अतः आन्दोलन सुन्दर चिज हो, तर अराजकता हुन्छ कुरूप । यी दुईमा यही फरक छ कि, आन्दोलनले मानव सभ्यतालाई उच्च बनाउँछ र अराजकताले मानवसभ्यताको गौरव र गरिमालाई नष्ट गर्छ ।

कुनै पनि आन्दोलन सफल र प्रभावशाली हुन त्यसले आफ्नै सौन्दर्य स्थापित गर्नुपर्छ । जसका लागि आवश्यक हुन्छ आफ्नै वैचारिकी, एजेण्डा, अनुशासन, नेतृत्व, आदी । अन्यथा, आन्दोलन अराजकतामा फेरिन्छ र कुरूप हुन्छ ।

त्यसबेला मात्र यो आन्दोलन जस्तो हुन्छ, जब यसमा सौन्दर्य रहन्छ । अन्यथा, आन्दोलनले आफ्नो सौन्दर्य गुमाउँछ, त्यो आन्दोलन रहँदैन, अराजकतामा फेरिन्छ । अथवा, त्यो फगत भीड बन्छ र लुटपाटमा निस्कन्छ । 

सौन्दर्य बिनाको आन्दोलन फगत भेडाहरूको (?) भीड हो ।

आन्दोलन र अराजकताको फरक नियालेर हेर्दा प्रष्ट देखिन्छ । आन्दोलनको आफ्नै विचार हुन्छ, तर अराजकताको कुनै विचार हुँदैन । आन्दोलनको आफ्नै एजेण्डा हुन्छ, अराजकताको कुनै एजेण्डा हुँदैन । आन्दोलन अनुशासित हुन्छ, तर अराजकताको ध्येय हुन्छ अनुशासन भत्काउनु हुन्छ ।

भनिन्छ, आन्दोलनको मुख्य दृष्टि हो विचार । अथवा, आन्दोलनको दीपपुञ्ज हो विचार । कुनै पनि आन्दोलन त्यतिबेला सुन्दर देखिन्छ, जब त्यो विचारले समृद्ध हुन्छ । आन्दोलन जब विचारले आलोकित हुन्छ, त्यो टाढैबाट उज्यालो देखिन्छ । र, त्यो जगमग जगमग हुनजान्छ ।

उदाहरणका लागि, नेल्सन मन्डेलाको नेतृत्वमा दक्षिण अफ्रिकामा भएको रङ्गभेद विरोधी आन्दोलन । जसले मानवतावादको यस्तो वैचारिकी दियो कि विश्व आलोकित भयो । गान्धीको नेतृत्वमा भएको भारतको स्वतन्त्रता सङ्ग्राम । अथवा, बेलायतको गौरवमय क्रान्ति आदी ।

यी विश्वचर्चित गैरवपूर्ण आन्दोलनहरू यसकारण सम्झिन योग्य र सुन्दर छन् कि यिनीहरू विचारले आलोकित छन् र छन् आफ्नो लक्ष्यमा प्रतिवद्ध ।

नेपालमै पनि ००७, ०४६ र ०६२-०६३ सालका आन्दोलन यसकारण ऐतिहासिक र सुन्दर थिए कि ति निश्चित विचारले आलोकित थिए । स्वतन्त्रता र स्वाभिमान ति आन्दोलनका जीवनधारा थिए । र, मान्छे थिए त्यसको सुन्दरताले मोहित ।

ति आन्दोलनहरू यसकारण सुन्दर थिए कि यिनले, लोकतन्त्रलाई स्थापित गरे र नागरिकलाई सार्वभौम बनाए ।

यसैगरी, आन्दोलनको अर्को महत्त्वपूर्ण गहना हो एजेण्डा । एजेण्डालाई आन्दोलनको चालक शक्ति वा इन्जिन पनि भन्न सकिन्छ । एजेण्डा बलियो छ भने आन्दोलन बलियो हुन्छ र गति लिन्छ । अन्यथा, यो अगाडि बढ्न सक्दैन ।

अथवा, यसो भन्न सकिन्छ, एजेण्डा रथको सुन्दर छानो हो । जो परैबाट देखिन्छ । जसले आन्दोलनलाई ओत दिन्छ । हावा हुरीबाट बचाउँछ । एजेण्डा सुन्दर छ भने, त्यसले स्वयं आन्दोलनको सुन्दरता बढाउँछ । र, परिवर्तनको वेगलाई आकार दिन्छ ।

अनुशासन आन्दोलनको अर्को गहना हो । जसरी चित्रकारले रङ्गहरूलाई अनुशासित ढङ्गले चलाएर सुन्दर आकृति बनाउँछ, अन्यथा रङ्ग लत्पतिन्छ र चित्र कुरूप बन्छ । ठीक कुरा त्यस्तै हो, अनुशासनले आन्दोलनको चित्रलाई सिँगार्छ ।

जस्तो, नारा के लगाउने ? सहभागीको चरित्र, व्यवहार र निष्ठा के हुन्छ ? आन्दोलनको नैतिक मूल्यलाई कसरी स्थापित गर्ने ? यी सबै अनुशासनका कुरा हुन् । उदाहरणका लागि गान्धीको शान्तिपूर्ण सत्याग्रह अनुशासनको एक सुन्दर नमुना मानिन्छ ।

नेपालमै पनि प्रतिबन्धित अवस्थामा विसं. ०४२ सालमा नेपाली काङ्ग्रेसले सत्याग्रह आयोजना गरेको थियो । तर, त्यही समयमा नेपालमा बमकाण्ड भयो । जसले सत्याग्रहको शिष्ट दबाबलाई मूल्यहीन बनाउन थाल्यो । यही भयले काङ्ग्रेसले सत्याग्रह रोकेको थियो । यो उदाहरणले आन्दोलनको चरित्र, अनुशासन र निष्ठा कति महत्त्वपूर्ण छ भन्ने बुझ्न अवश्य नै मद्दत गर्छ ।

यसैगरी, नेतृत्व आन्दोलनको अर्को महत्त्वपूर्ण पक्ष हो । अर्थात, नेतृत्व भनेको आन्दोलनको अनुहारमा लगाएको टिका हो, जो परैबाट प्रष्ट देखिन्छ । जसरी एउटा निधारको टिकाले मान्छेको सौन्दर्यलाई बदल्छ, त्यसरी नै नेतृत्वले समग्र आन्दोलनको सौन्दर्य बदल्ने तागत राख्दछ ।

जगजाहेर छ, सही नेतृत्वबिना आन्दोलन सफल हुँदैन । अझ अगाडि बढेर के पनि भनिन्छ भने आन्दोलन सफल बनाउन उसैले त्यसको नेतृत्व गर्नुपर्छ, जसका लागि आन्दोलन भइरहेको छ ।

जस्तो, महिला अधिकार आन्दोलनमा महिलाको नेतृत्व । किसानहरूको आन्दोलनमा किसानकै नेतृत्व । जसको सवाल, उसको नेतृत्व भयो भने त्यो आन्दोलन सुन्दर देखिन्छ ।

र, यसै प्रसङ्गमा बुझ्नुपर्ने के पनि छ भने, आन्दोलनले दिन चाहेको म्यासेज र त्यसलाई बोक्ने नेतृत्व ठिक भए आन्दोलन सुन्दर देखिन्छ । अन्यथा, म्यासेज र म्यासेन्जरको सन्तुलन बनेन भने आन्दोलनले आफ्नो गरिमा गुमाउँछ ।

आन्दोलनको गरिमालाई स्थापित गर्ने अर्को महत्त्वपूर्ण पक्ष हो, यसको रचनात्मकता । त्यसैले आन्दोलनका लागि गीतहरू लेखिन्छन् । कथाहरू लेखिन्छन् । नाटकहरू लेखिन्छन् । प्रदर्शनहरूलाई रचनात्मक बनाउने प्रयत्न गरिन्छ । जब आन्दोलन रचनात्मक बन्दै जान्छ, त्यसले स्वभावतः आफ्नो लय, गति र गरिमा हासिल गर्छ र त्यो अझ सुन्दर बन्दै जान्छ ।

जब आन्दोलनमा गीत, कथा र कविताहरू प्रयोग हुन्छन् तब आन्दोलनहरू केवल आन्दोलनमात्र रहँदैनन्, ति मान्छेका सिर्जनात्मक अभिव्यक्ति बन्छन् । र, आन्दोलनहरू जब सिर्जनात्मक बन्छन्, तब तिनले समाजलाई अझ धेरै उद्धेलित, तरङ्गित र कलापूर्ण बनाउँदै लैजान्छन् ।

यहाँ विचार गर्नुपर्ने कुरा के छ भने, सौन्दर्य सधैँ कोमल हुन्छ भन्ने होइन । कहिलेकाहीँ सौन्दर्य विद्रोही हुन्छ । दबिएका सपनाहरू जब एकत्रित भएर आकाश चिर्ने स्वरमा बोल्न थाल्छन्, त्यहाँ अद्भूत सौन्दर्य प्रकट हुन्छ । यस्तो सौन्दर्य, जसले युगयुग सम्म स्वतन्त्रता, समानता र न्यायको मार्गलाई उज्यालो बनाउँदै लैजान्छ ।

अन्त्यमा कुरा के भने, आन्दोलन केवल सङ्घर्षको नाम मात्र होइन, यो समाज परिवर्तनको सुन्दर प्रयत्न हो । विचार, अनुशासन, नेतृत्व, तथा सिर्जनात्मक अभिव्यक्तिले गर्दा आन्दोलनहरू प्रभावकारी हुन्छन् र सुन्दर बन्छन् । त्यसैले, आन्दोलनलाई केवल हिंसात्मक विरोध वा प्रदर्शनको रूपमा मात्र हैन, समाज रूपान्तरणको सुन्दर अभिव्यक्तिको रूपमा सङ्गठित गर्नुपर्छ ।

नभूलौँ, आन्दोलनमा सौन्दर्य आवश्यक छ, अनिमात्रै त्यो प्रभावकारी हुन्छ ।

त्यसैले आन्दोलनलाई अराजकताबाट बचाऔँ । र, आन्दोलनलाई आन्दोलन जस्तै सुन्दर बनाऔँ ।

dahal.keshab@gmail.com

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register