पहलगाम आतङ्कवादी आक्रमण र त्यसको ५ दिनअघि पाकिस्तानी सेना प्रमुखको उत्तेजक भाषण

काठमाडौं । जम्मु–कश्मीरको पहलगाममा एक नेपालीसहित २७ जनाको ज्यान जाने गरी मङ्गलबार भएको आतङ्कवादी आक्रमण हुनु ठीक ५ दिनअघि पाकिस्तानका सेना प्रमुख जर्नेल सैयद असीम मुनिरले एक उत्तेजक भाषण गरेका थिए । अहिले जर्नेल मुनिरको उक्त भाषण र अप्रिल २२ को पहलगाम आतङ्कवादी हमलाबीच कुनै सम्बन्ध त छैन भनेर आशङ्का उत्पन्न भइरहेको छ । यद्यपि, […]

Apr 24, 2025 - 11:57
 0
पहलगाम आतङ्कवादी आक्रमण र त्यसको ५ दिनअघि पाकिस्तानी सेना प्रमुखको उत्तेजक भाषण

काठमाडौं । जम्मु–कश्मीरको पहलगाममा एक नेपालीसहित २७ जनाको ज्यान जाने गरी मङ्गलबार भएको आतङ्कवादी आक्रमण हुनु ठीक ५ दिनअघि पाकिस्तानका सेना प्रमुख जर्नेल सैयद असीम मुनिरले एक उत्तेजक भाषण गरेका थिए ।

अहिले जर्नेल मुनिरको उक्त भाषण र अप्रिल २२ को पहलगाम आतङ्कवादी हमलाबीच कुनै सम्बन्ध त छैन भनेर आशङ्का उत्पन्न भइरहेको छ । यद्यपि, पाकिस्तानले पहलगाम आक्रमणमा आफ्नो कुनै हात नभएको र त्यो भारतको आन्तरिक मामिला भएको स्पष्टीकरण दिइसकेको छ ।

सेना प्रमुख मुनिरले उक्त भाषणमा कश्मीरलाई पाकिस्तानको ‘घाँटीको नशा’को संज्ञा दिँदै ‘हिन्दू’ र ‘मुसलमान’ लाई दुई फरक राष्ट्रको रूपमा चित्रण गरेका थिए ।

अप्रिल १८ समुन्द्र पार गैर आवासीय पाकिस्तानीका लागि आयोजित एक राष्ट्रिय सम्मेलनमा इस्लामवादमा बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका थिए । उनले पाकिस्तानका अप्ठ्यारालाई पराजित गर्न आफूले ‘अल्लाहलाई वचन’ दिएको उग्र भावनात्मक कुरासमेत गरेका थिए ।

भारतले भने पहलगाम आतङ्ककारी आक्रमणका पछाडि पाकिस्तानको हात भएको ठहर गर्दै महत्त्वपूर्ण पाँचवटा निर्णय लिएको छ । ती निर्णयमा सिन्धु जल सम्झौता स्थगन, पाकिस्तानी नागरिकलाई भारतमा उपलब्ध हुँदै आएको सार्क भिसा छुट सुविधा खारेजी, अटेरी–बाघा चेकपोस्ट सिल, दिल्लीस्थित पाकिस्तानी उच्च आयोगमा तैनाथ रक्षा तथा सैन्य सल्लाहकारलाई ‘पर्सोना नन ग्राटा’ घोषणा गरी ७ दिनभित्र देश छोड्न आदेश तथा पाकिस्तानी उच्चायोगमा जनशक्ति कटौती छन् ।

अप्रिल १८ को करिब ९ मिनेट लामो भाषणमा पाकिस्तानी सेना प्रमुख असीम मुनिरले दिएका अभिव्यक्तिको संक्षेपीकरण यस्तो थियो –

तपाईंहरुले पाकिस्तानी सशस्त्र बलप्रति देखाउनु भएको यो भावना देखेर म वास्तवमै विनम्र भएको छु । तपाईंहरूले हामीप्रति देखाउनु भएको भावना र आवेग धेरै बलियो छ । म यो भन्न चाहन्छु कि तपाईंहरूको हामीप्रतिको भावनाभन्दा हाम्रो तपाईंहरूप्रतिको भावना अझ बलियो छ ।

तपाईंहरू पाकिस्तानको दूत मात्र होइन, पाकिस्तानको सिपाही र योद्धा पनि हो । पाकिस्तानको किरण हो । तपाईंहरू संसारको जुनसुकै देश र कुनामा भए पनि यो नबिर्सनु कि तपाईंहरू हामीसँग सम्बन्धित हुनुहुन्छ । पाकिस्तानसँग जोडिएको हुनुहुन्छ ।

तपाईंहरू एक सर्वोत्कृष्ट विचारधारा, एक सर्वोत्तम संस्कृतिसँग जोडिनुभएको छ । के तपाईंहरूलाई ‘प्रतिभा पलायन’ (ब्रेन ड्रेन) भन्न मिल्छ ? संसारको कुनाकुनामा पाकिस्तानी महान् भावना पुर्‍याउनु प्रतिभा पलायन होइन, ‘प्रतिभा लाभ’ (ब्रेन गेन) हो । यदि यो ‘प्रतिभा पलायन’ हो भने पनि हामीले सबै कालखण्डमा निरन्तर जारी राख्नुपर्दछ ।

पाकिस्तानको कहानी तपाईंहरूले आफ्ना बच्चालाई जरुर सुनाउन पर्दछ । ताकी तिनले पाकिस्तानको कथा कहिल्यै नभुलुन् । हामी जीवनका प्रत्येक सम्भाव्यताका आधारमा हिन्दू भन्दा फरक हौँ । हाम्रो धर्म फरक हो । हाम्रो चाल चलन र संस्कृति फरक हो । हाम्रो सपना फरक हो । हाम्रो महत्वाकांक्षा फरक हो । हाम्रो सोच फरक हो । यही भिन्नता नै दुई राष्ट्र सिद्धान्तको आधार हो ।

हामी दुई राष्ट्र हौँ । हामी एउटै राष्ट्र होइनौँ । हाम्रा पुर्खाले यो राष्ट्रको सृजना गर्न ठूलो मेहनत र बलिदान गरेका थिए । उनीहरूले यो राष्ट्र कसरी सृजना गरेका थिए भन्ने हामीलाई थाहा छ । र, यसको प्रतिरक्षा कसरी गर्नु पर्दछ भन्ने पनि थाहा छ । कृपया पाकिस्तानको कथा कहिल्यै नबिर्सनु होला । हाम्रा सन्तान र आउने पुस्ताको पाकिस्तानसँगको सम्बन्ध झन् बलियो हुनु पर्दछ, कमजोर होइन ।

अल्लाहले यो धर्तीमा आजसम्म दुई वटा रियासत बनाएका छन् । पहिलो त्यो हो जसलाई अहिले मदिना भनिन्छ । दोस्रो, यही तपाईं हाम्रो पाकिस्तान हो ।

यो एक महान् पाकिस्तानी राष्ट्र हो र बलुचिस्तान पाकिस्तानको भाग्य हो । पाकिस्तानको शिरको श्रीपेच हो । के आतङ्कवादीले हाम्रो भाग्य हामीबाट खोस्न सक्दछन् ? १० पुस्तामा पनि सक्दैनन् । त्यो पाकिस्तानी सेना जसलाई १३ लाख भारतीय सेनाले कहिल्यै हराउन सकेन, १५०० आतङ्कवादीले हराउँछन् ? यी आतङ्कवादीलाई हामी छिट्टै नर्कमा पुर्‍याउने छौँ । पाकिस्तानको पतन कहिल्यै हुनेछैन ।

कुरानभन्दा सत्य हाम्रा लागि केही पनि छैन । कश्मीर पाकिस्तानको घाँटीको नशा हो । हामी कश्मीरी दाजुभाइले भारतीय हस्तक्षेपविरुद्ध गरेको वीरतापूर्ण सङ्घर्ष कहिल्यै बिर्सन सक्दैनौँ । पाकिस्तानको उदय कहिले हुन्छ ? यो प्रश्न होइन, अब यो प्रश्न नै रहेन । पाकिस्तानको उदय हुन सुरु भइसक्यो । पाकिस्तानको उदय कति छिटो हुन्छ, अब त्यो मात्र प्रश्न हो ।

पाकिस्तानका पनि केही अप्ठ्यारा अवश्य छन्, तर अल्लाहसँग हामीले पाकिस्तानका लागि ती अप्ठ्यारालाई जित्ने वाचा गरेका छौँ ।

पाकिस्तानी सेना प्रमुखको यो भाषणको केही दिनपछि पहलगाममा आतङ्कवादीको हमला भएको थियो । उनले हिन्दू र मुस्लिमलाई दुई धर्म नभएर दुई राष्ट्रका रूपमा चित्रण गरेका थिए । पहलगाम हमलामा संलग्न आतङ्कवादीले ‘हिन्दू’लाई सोधिसोधी तारो बनाएका भिडिओ पीडितहरूले बताइरहेका छन् ।

कश्मीरका लागि भएका ‘वीरतापूर्ण सङ्घर्ष नबिर्सने’ भन्दै सेना प्रमुख मुनिरले कश्मीरमा हुने गरेका आतङ्कवादी तथा पृथकतावादी सशस्त्र क्रियाकलापलाई ‘मान्यता’ दिने र गौरवीकरण गर्ने गरेका थिए ।

साथै, बलुचिस्तानको पृथकतावादी संघर्षलाई भारतसँग जोडेर टिप्पणी गरेका थिए । सेना प्रमुख मुनिरले ‘पाकिस्तानको उदय सुरु भइसक्यो’ भनेर गर्न खोजेको सङ्केत अर्थपूर्ण छ । जबकि आर्थिक, सामाजिक र राजनीतिक रूपमा पाकिस्तान दिन प्रतिदिन झन्‌झन् कमजोर हुँदै गएको देखिन्छ ।

उनको यो भनाइका पछाडि कुनै विशेष सैन्य योजना त छैन भन्ने आशङ्कासमेत उत्पन्न भएको छ । दक्षिण एसियाली मामिलाका जानकार तथा रक्षा विज्ञहरू सेना प्रमुख मुनिरको उक्त दिनको भाषण स्वाभाविक र सन्तुलित नभएको बताउँछन् । उनी पाकिस्तानी जनतामा अतिराष्ट्रवादी तथा धार्मिक अन्धतावादी दृष्टिकोणलाई बढवा दिने प्रयत्न गरेको विश्लेषण भइरहेको छ । उनले पाकिस्तानलाई ‘अल्लाहले सृजना गरेको दोस्रो मदिना’को संज्ञा दिँदै मुस्लिम जनताको धार्मिक भावनाको दोहन गर्न खोजेका थिए ।

पाँच दिनअघिको पाकिस्तानी सेना प्रमुखको उत्तेजक भाषण र मङ्गलबारको पहलगाम आतङ्कवादी आक्रमणबीच प्रत्यक्ष वा अप्रत्यक्ष कुनै न कुनै प्रकारको सम्बन्ध हुन सक्ने आशङ्का गरिँदैछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register