शिक्षकमाथि दमनको संसद्‌मा विरोध, ऐन तत्काल जारी गर्न सरकारसँग माग

काठमाडौं । आन्दोलनरत शिक्षकमाथिको दमन भएको विषयमा प्रतिनिधि सभामा सांसदहरूले भर्त्सना गरेका छन् । सोमबारको बैठकमा प्रतिपक्षी र सत्तापक्ष दुवै सांसदले दमनको विरोध गरेका हुन् । आइतबार बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप हुँदा ६० जना शिक्षक घाइते भएका थिए ।  प्रमुख प्रतिपक्षी माओवादी केन्द्र उक्त घटनाको विरोध गरेको छ । शिक्षकहरुको माग सम्बोधनको सट्टा सरकारले […]

Apr 28, 2025 - 08:32
 0
शिक्षकमाथि दमनको संसद्‌मा विरोध, ऐन तत्काल जारी गर्न सरकारसँग माग

काठमाडौं । आन्दोलनरत शिक्षकमाथिको दमन भएको विषयमा प्रतिनिधि सभामा सांसदहरूले भर्त्सना गरेका छन् । सोमबारको बैठकमा प्रतिपक्षी र सत्तापक्ष दुवै सांसदले दमनको विरोध गरेका हुन् ।

आइतबार बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप हुँदा ६० जना शिक्षक घाइते भएका थिए ।  प्रमुख प्रतिपक्षी माओवादी केन्द्र उक्त घटनाको विरोध गरेको छ ।

शिक्षकहरुको माग सम्बोधनको सट्टा सरकारले दमन गरेको भन्दै माओवादी केन्द्रका सांसद जनार्दन शर्माले विरोध गरे । शिक्षकहरूलाई घर पठाउनुपर्नेमा सरकारले  काठमाडौंमा बस्न बाध्य बनाउँदा बालबालिकाको भविष्यमा समेत असर पुगेको बताए ।

‘सोध्दाखेरि अभिभावकहरूले हाम्रा मास्टरहरू सबैलाई सरकारले लगेर काठमाडौंमा राखिदिएको छ । अब हाम्रा केटाकेटी कहिले भिर पाखा रूखमा जान्छन् । पढ्ने कुरा त हरायो अब इनको उपचार गर्न नै थप ऋण बोक्नुपर्ने भनेर दुखेसो पोख्दै हुनुहुन्थ्यो,’ उनले भने ।

सांसद जनार्दन शर्मा

शिक्षकहरूले ऐन माग गरेकाले उनीहरूका जाय माग सम्बोधन हुनेगरी तत्काल ऐन जारी गर्नुपर्ने शर्माको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले सरकारले शिक्षकहरूमाथि दमन गरेको भन्दै यस्ता गतिविधिले सरकार  अधिनायकवादतर्फ अगाडि बढेको भान हुने उल्लेख गरिन् । ‘शिक्षाको बजेट कति छ सरकारले आएर भन्नुपर्‍यो । शिक्षकहरूलाई पनि भन्नुपर्‍यो र  पठनपाठनको वातावरण बनाउनुपर्‍यो ।  बच्चाहरुको पढ्ने अधिकार गुमिरहेको छ,’ उनले भनिन् ।

प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले शान्तिपूर्ण आन्दोलनमा  सरकारले घुसपैठ गराएको आरोप लगाइन् । ‘घुसपैठ गराएर शिक्षकहरूमाथि निर्मम रूपबाट लाठीचार्ज, पानीको फोहरा र अश्रुग्यास प्रहार गरेर ६२ जना शिक्षकहरुलाई घाइते बनाएको छ । साथै महिला शिक्षिकाहरूमाथि दुर्व्यहार र लाठी चार्ज भयो । सरकाले के चाहेको हो?’ उनको प्रश्न छ ।

सांसद रोशन कार्की

शिक्षा ऐन दिएर शिक्षकहरूलाई विद्यालयमा पठाउने वातावरण तत्काल निर्माण गर्न सरकारको ध्यानाकर्षण  गराएकी छिन् ।

सत्तारूढ  नेपाली काङ्ग्रेसकी सांसद कान्तिका सेजुवालले आमाको मुख हेर्ने दिनमा सरकारले गुरूहरूमाथि दमन गर्दा मर्माहित भएको बताइन् । ‘आमाको मुख हेर्ने दिनमा गुरूबा र गुरू आमा पिटिएको देख्दाखेरि मर्माहित भएको छु,’ उनले भनिन् ।

सत्तारूढ नेकपा (एमाले)का सांसद सूर्य थापाले पनि आइतबार शिक्षकहरूको आन्दोलनमा भएको घटना दुःखद् रहेको उल्लेख गरे । राष्ट्रसेवकमाथिको दमन उचित नभएको उनको भनाइ छ । ‘सुरक्षाकर्मी  र शिक्षक दुवै राष्ट्रसेवक हुन् । राष्ट्रसेवकहरूमाथि आन्दोलनका नाममा गरिने व्यवसहार होस् वा अरू जुनसुकै होस् । त्यो उचित होइन,’ उनले भने ।

सांसद सूर्य थापा

थापाले आन्दोलनरत शिक्षक र सुरक्षाकर्मी दुवैलाई संयमता अपनाउन आग्रह गरेका छन् । थापाले शिक्षा विधेयकलाई टुङ्ग्याउन संसद् गम्भीर रहेको उल्लेख गर्दै यस विषयमा शिक्षा मन्त्रीले संसदमा धारणा राख्नुपर्ने बताए ।

‘आफ्नो कार्यकालाभरि कानमा तेल हालेर सुत्ने । कुनै काम नगर्ने सरकारहरूले अहिले आएर शिक्षा विधेयक दिएर मात्रै जाने कुराकानी भइरहेको छ । उपसमितिमा भइरहेको कामलाई सरकारले, शिक्षा मन्त्रालयले शिक्षकहरू र सिंगो देशलाई जानकारी गराउनुर्छ,’ उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register