नियमन पर्खिरहेको आन्तरिक पर्यटन प्रवर्द्धनको सारथी

सरकारले त सामाजिक सञ्जालबारे सचेतना फैलाउनुपर्छ । गलत, भ्रामक सूचना कसरी चिर्ने भनेर काम गर्नुपर्छ । समग्रमा सामाजिक सञ्जालको सही सदुपयोग गर्नुपर्छ ।

May 1, 2025 - 06:01
 0
नियमन पर्खिरहेको आन्तरिक पर्यटन प्रवर्द्धनको सारथी

म पर्यटन व्यवसायी हुँ । आफ्नो व्यवसाय अभिवृद्धिका लागि के गर्दा हुन्छ भनेर उपायहरूको खोजी गरिरहेको हुन्छु । व्यक्तिगत प्रयोजनका लागि चलाइरहेको सामाजिक सञ्जाल अहिले मेरो पर्यटन व्यवसायका लागि प्रभावकारी साधन बनेको छ ।

मैले सन् २०१२ देखि सक्रिय भएर ट्विटर चलाउन सुरु गरेँ । पर्यटकीय स्थलको प्रवर्द्धनमा यत्तिको प्रभावकारी माध्यम आजसम्म मैले अर्को देखेको छैन । सन् २०१४–२०१५ मा सामाजिक सञ्जालबाट पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने ट्रेन्ड थिएन । तर, आज सामाजिक सञ्जालकै कारण कतिपय गन्तव्यमा विदेशी नआए पनि फरक नपर्ने माहौल सिर्जना भएको छ । चन्द्रागिरिमा हिउँ पर्‍यो भने मान्छे एकैपटक चन्द्रागिरि गइदिन्छन् । जबकि, चन्द्रागिरि केबलकारको क्षमता कति हो, त्यहाँ एक पटकमा कति मान्छे अट्छन् भन्ने थाह नै हुँदैन ।

सामाजिक सञ्जालकै प्रभावका कारण आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ । ट्राभल भ्लग र टिकटकजस्ता सामाजिक सञ्जालका कारणले पर्यटन प्रवर्द्धनमा धेरै सहयोग पुगेको छ । आजभोलि कहीँ जानु छ भने मान्छेहरू ट्राभल भ्लग हेर्ने गर्छन् । म आफैँले पनि सामाजिक सञ्जालमार्फत पर्यटकीय स्थलका विषयमा जानकारी दिइरहेको हुन्छु । हिमाल जानुभन्दा पहिले त्यो ठाउँको कुरा पत्ता लगाउनुस्, बुझेर जानुस् भनेर आग्रह गर्छु । त्यहाँको होटलवालाहरूसँग फोन गर्नुस्, गाइडसँग जाँदा त समस्या भएन, तर सोलो ट्राभलरलाई त विभिन्न लफडा खेप्नुपर्ने हुन्छ, सचेत रहनुस् भन्छु ।

सामाजिक सञ्जालमा कुनै ठाउँ भाइरल भयो, ट्रेन्डिङमा आयो भने सबै जना त्यतैतिर जाने लहर चलेको छ । सामाजिक सञ्जालले पर्यटकीय क्षेत्र झल्याकझुलुक देखाउँछ । तर त्यहाँ होटल, खाना र बस्नको अवस्था के कस्तो छ, त्यहाँ पुग्ने पूर्वाधार कस्तो छ भनेर कसैले भन्दैनन् ।

जस्तो केही समय अगाडि मानुङ्कोट भाइरल भयो । त्यहाँको क्यारिङ क्यापासिटी कति छ, त्यहाँ बास बस्न, खान पर्याप्त होटल छन् कि छैनन् भन्ने थाहा नहुँदा धेरैले दुःख पाए । कतिपयले यस्तो दुःखलाई एडभेन्चरस् भन्छन् । एडभेन्चरस र मूर्खतामा फरक छ ।

सामाजिक सञ्जालले मान्छेलाई एडभेन्चरस् देखाइदियो । तर, त्यससँगै जोडिएको मूर्खता देखाएन, जोखिम देखाएन । पोखरा गएपछि प्याराग्लाइडिङ गर्ने, बन्जी हान्ने भन्छन् । तर एडभेन्चरस् र सुरक्षाको एउटा सीमा हुन्छ भन्ने धरैले बुझ्दैनन् । आन्तरिक पर्यटनमा भने सामाजिक सञ्जालले व्यापक ठूलो क्रान्ति ल्याएको छ ।

यद्यपि, बाह्य पर्यटनमा यसको खासै योगदान देखिँदैन । जति पनि विदेशीहरू नेपाल घुम्न आउँछन् उनीहरू आफ्नै सुरमा आउँछन् । टिकटक वा ट्विटर हेरेर आएको भन्ने कमै हुन्छन् । आन्तरिक पर्यटकमा यसले निकै ठूलो प्रभाव पारेको छ । सामाजिक सञ्जालमार्फत ओइरिने पर्यटकका कारण व्यापार, व्यवसाय चलेको छ । तर, यो दिगो छैन ।

एउटा सिजनमा पर्यटकहरू ह्वात्तै आउँछन्, अर्को सिजनमा सुनसान हुन्छ । फेरि पनि नेपालीहरूले ट्राभल गर्न सिके, उनीहरूको आवतजावतले आर्थिक कारोबार बढ्यो । अर्थतन्त्र चलायमान भयो । केही मान्छेहरूले व्यापार थाले । यो राम्रो भएको छ । त्योसँगै दीर्घकालीन पर्यटन कसरी स्थापित गर्ने भनेर सोच्नुपर्ने हो, तर त्यो पाटोमा कसैलाई मतलब छैन ।

सोसल मिडियाले मान्छेहरूलाई कनेक्ट गराएको छ । यससँगै सोसल मिडिया निकै अराजक पनि भएको छ । घुम्न जानेहरूले ट्रेकिङ रुटका स्थानीयहरूको इच्छाविपरीत फोटो र भिडियो खिचिदिन्छन् । अनि त्यसलाई सामाजिक सञ्जालमा राखेर प्रचार गरेर भ्युज बटुल्छन् । त्यसले खिच्ने र भ्युज बटुल्नेलाई त फाइदा हुन्छ होला, तर जसको खिचिन्छ उसको गोपनीयताको ख्याल गरिँदैन । उसलाई कमजोर र गरिब देखाइन्छ । वास्तवमा उसको जीवन कसरी चलिरहेको हुन्छ र के भोगिरहेको हुन्छ भन्ने उसलाई मात्रै थाहा हुन्छ । यस्तोमा लिट्रेसीको अभाव छ भन्ने लाग्छ ।

सामाजिक सञ्जालमा झुट खबर फैलाउन निकै सजिलो छ । कतिपय मान्छेहरू यस्तै काम पनि गरेर बसेका छन् । राजनीतिक दल वा तिनका नेताका साइबर सेना छन् । ती साइबर सेनाले बेलाबेलामा सामाजिक सञ्जालको एल्गोरिदम नै कज्याउँछन् । यस्ता कतिपय अफवाहले समाजमा ठूलो सङ्कट पनि आउन सक्छ ।

त्यो पर्यटनमा मात्रै होइन, सामाजिक सञ्जालकै ट्रेन्ड पनि हो । उदाहरणका लागि एलिना चौहानको डिभोर्स हुने बेलामा उनको श्रीमान्‌को कोही अर्को युवतीसँगको भिडियो सार्वजनिक भयो । त्यसमा धेरै नकारात्मक प्रतिक्रियाहरू आए । प्रतिक्रिया दिनेहरूको प्रोफाइल हेर्दा उनीहरूले आफ्नी छोरीका फोटो हालेका हुन्छन् । कोही शिक्षक छन्, राम्रै पृष्ठभूमिका मान्छे छन् । तर तिनीहरूको प्रतिक्रिया हेर्ने हो भने त्यस्तो कसरी लेख्न सकेका होलान् जस्तो लाग्छ ।

सरकारले अहिले सामाजिक सञ्जाल नियमन गर्ने भनेर नियन्त्रण गर्ने खालको कानुन ल्याउन खोजेको छ । नियन्त्रण होइन, नियमन गर्नुपर्छ । सामाजिक सञ्जाल नियन्त्रण सम्भव पनि हुँदैन ।

नियमन गर्नु अगाडि मान्छेहरूमा मिडिया साक्षरता बढाउनुपर्छ । हाम्रो समाजमा सामाजिक सञ्जाल वा डिजिटल साक्षरता बिस्तारै बढ्दै छ । केही कुरा देख्ने बित्तिकै फोटो, भिडियो बनाएर सार्वजनिक गर्ने, महत्त्वपूर्ण कागजात, नागरिकता, सवारी साधनका कागजात सार्वजनिक गरिदिने, पीएनआर नम्बर सार्वजनिक गरिदिने चलन छ । मान्छेहरूले के बुझेका छैनन् भने पीएनआर नम्बरबाट कसैले चाह्यो भने तपाईंको टिकट रद्द गरिदिन सक्छ । तपाईंको नागरिकता जस्ता कागजातबाट फर्जी काम गर्न सक्छ ।

सामाजिक सञ्जालका विभिन्न प्लेटफर्म छन् । ती प्लेटफर्मको आ–आफ्नै विशेषता छ । र, तिनका प्रयोगकर्ता पनि फरक–फरक उमेर समूहका छन् । जस्तो म फेसबुकमा धेरै सक्रिय हुँदैन । त्यहाँ अरूले लेखेको मात्र पढ्छु, भिडियो हेर्छु ।

म ट्विटरमा सक्रिय हुन्छु, त्यसमा पनि म राजनीतिक विषयबाट टाढै रहन्छु । आफ्ना अनुभव लेख्छु, पर्यटनका कुरा गर्छु । फेसबुक, टिकटक, इन्स्टाग्राम, ट्विटरमा छुट्टाछुट्टै स्वाद छ । मान्छेले आफ्नो स्वादअनुसार माध्यमको छनोट गर्ने हो । ट्राभलरले ट्राभलकै कुरा खोज्छ । खानाको पारखीले खानेकुरा खोज्छ ।

सामाजिक सञ्जालमा झुट खबर फैलाउन निकै सजिलो छ । कतिपय मान्छेहरू यस्तै काम पनि गरेर बसेका छन् । राजनीतिक दल वा तिनका नेताका साइबर सेना छन् । ती साइबर सेनाले बेलाबेलामा सामाजिक सञ्जालको एल्गोरिदम नै कज्याउँछन् । यस्ता कतिपय अफवाहले समाजमा ठूलो सङ्कट पनि आउन सक्छ ।

जस्तो,  ‘कोही नेता भ्रष्टाचारी हो’ भन्दा उसलाई केही फरक पर्दैन होला । तर कुनै जातको वा धर्मको मान्छेले अर्को जात वा धर्मको मान्छेमाथि कुनै अपराध गर्‍यो भनेर अफवाह फैलायो भने त्यो निकै घातक हुन्छ । पछिल्लो समय यस्तै ट्रेन्ड चलेको छ । यस्तो कुरालाई नियमनसँगै नियन्त्रण गर्न जरुरी छ ।

अहिलेको कानुनमार्फत सरकारले सामाजिक सञ्जालको घाँटी थिचिदिएको छ । मैले लाइक गरेकै कारण मलाई पनि कारबाही गर्नु पनि कसरी जायज हुनसक्छ ?

सरकारले त सामाजिक सञ्जालबारे सचेतना फैलाउनुपर्छ । गलत, भ्रामक सूचना कसरी चिर्ने भनेर काम गर्नुपर्छ । समग्रमा सामाजिक सञ्जालको सही सदुपयोग गर्नुपर्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register