‘दलितका कुरा गर्नेमा सबै सरकार अगाडि छन्, बजेट दिन पछि पर्छन्’

सीमान्तकृत समुदायका हकहितका कुरा ठूलो बजेट दिनेबेला जिरोको स्थिति पनि देखापर्छ ।यी समुदायलाई अघि बढाउनुपर्छ भन्न कुनैपनि सरकारले छुटाउँदैन । पर्याप्त बजेट दिने मामिलामा भने प्राय सरकार पछि फर्किन्छन् ।

May 25, 2025 - 12:23
 0
‘दलितका कुरा गर्नेमा सबै सरकार अगाडि छन्, बजेट दिन पछि पर्छन्’

प्रतिनिधिसभामा दुई किसिमका सांसद छन् । प्रत्यक्ष निर्वाचित र समानुपातिक । प्रत्यक्ष निर्वाचित सांसद आफ्नो निर्वाचन क्षेत्रका लागि उत्तरदायी हुन्छ र हुनुपर्छ । समानुपातिकको हकमा भने जिल्लाभरको निर्वाचन क्षेत्रबाट मत मागिने भएकाले सबैतिरका जनताका समस्या समाधानमा उत्तिकै ध्यान दिनुपर्ने हुन्छ । त्यसैले बजेटको सन्दर्भमा सांसदहरूलाई मापदण्ड बनाएर कुन- कुन आयोजनामा कति खर्च गर्न पाउने भन्ने व्यवस्था तोक्नु उपयुक्त हुन्छ भन्ने लाग्छ । सांसदहरूलाई नगदै विनियोजन गर्दा जनताको चाहना बमोजिमका योजना अघि बढाउन सकिन्थ्यो । सांसद विकास कोषको सैद्धान्तिक अवधारणा गलत छैन । तर यसमा विकृति निम्तिएपछि मुद्दा नै पर्‍यो ।

सम्मानित सर्वोच्च अदालतले समेत रोक लगाएको हुनाले त्यसलाई कार्यान्वयन गर्ने कुरा भएन । कानुनी राजमा न्यायपालिकाको आदेश उल्लंघन गरेर अघि बढ्नु पनि हुँदैन । गत सालका अर्थमन्त्री वर्षमान पुनले निर्वाचित र  समानुपातिक संसदलाई एक-एक गरेर आफ्नो क्षेत्रमा लगानी गर्नुपर्ने ठाउँका योजना ल्याउनुस् , त्यसलाई बजेटमा पारिनेछ भन्नुभयो ।  उहाँले सूचना दिएपछि योजनाहरू पनि परे । यसपटक पनि सांसदहरूलाई योजना ल्याउन भनियो । पहिले मन्त्रालयमा धायो । फाइल छोड्यो । त्यो फाइल नै गायब हुन्थ्यो । अहिले भने प्रविधिले अलि सहज बनाइदिएको छ । आफ्ना योजना तथा कार्यक्रमहरू एलएमआईएसमा प्रवृष्ट गर्ने प्रचलन आएपछि अलि सहज भएको छ ।

पहिला, जनताका समस्या समाधान गर्ने किसिमका योजनाका फाइल पेस गर्दा  त्यो हराउँथ्यो ।  जनतासँग लुकी लुकी हिँड्नुपर्थ्यो । यसपटक, सरकारले बजेट दिएन छ भने पनि जनतालाई निर्धक्कका साथ आफूले योजना प्रवृष्ट गराएको विषय जानकारी गराउन र प्रमाणका रूपमा पेस पनि गर्न सकिन्छ । प्राविधिक रूपमा योजना पेस भए पनि कार्यान्वयनका लागि बजेट नआउने समस्या अहिले पनि नभएको भने होइन । सांसदले योजना हाल्दा सम्बन्धित मन्त्रालयका मन्त्री र अर्थमन्त्रीबाट आश्वासन त प्राप्त हुन्छ तर बजेटमा छुट्ने अवस्था पनि उत्तिकै छ ।

बजेट निर्माणका क्रममा सीमान्तकृत समुदाय, आदिवासी जनजाति, महिला दलित लगायतका हकहितको कुरा गर्न कुनै सरकारले पनि छुटाउँदैनन्  । तर, उनीहरू बजेट दिनका निम्ति कन्जुस्याइँ गर्छन् ।

बजेट निर्माण गर्दा सरकारले राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै बनाउनुपर्ने हुन्छ । बजेट निर्माणको संस्कृति कस्तो भयो भने एउटा सरकारले अघि बढाएको परियोजना अर्कोले काटिदिने । सरकार भनेको त अभिछिन्न उत्तराधिकारी हो । एउटा सरकारले गौरवको आयोजना वा परियोजना अघि बढाउँछ, अर्को सरकारले त्यसलाई हटाइदिन्छ । सरकारका योजनालाई पार्टीका गौरवका रूपमा कसैले पनि अघि बढाउनु हुँदैन । कुनै पनि सरकारले त्यसो गर्नु उचित कार्य होइन ।

बजेट निर्माणका क्रममा सीमान्तकृत समुदाय, आदिवासी जनजाति, महिला दलित लगायतका हकहितको कुरा गर्न कुनै सरकारले पनि छुटाउँदैनन्  । तर, उनीहरू बजेट दिनका निम्ति कन्जुस्याइँ गर्छन् । कल्याणका कुरा गरेपछि त्यसमा बजेट दिनुपर्छ ।  सीमान्तकृत समुदायका हकहितका कुरा ठूलो, बजेट दिनेबेला जिरोको स्थिति पनि देखापर्छ । यी समुदायलाई अघि बढाउनुपर्छ भन्न कुनै पनि सरकारले छुटाउँदैन, पर्याप्त बजेट दिने मामिलामा भने प्राय सरकार पछि फर्किन्छन् ।

त्यसको उदाहरण पनि छ । दलित समुदायका समस्या समाधानका लागि र उनीहरूका मुद्दा एकै डालोमा राखेर हेर्नका निम्ति दलित प्राधिकरण स्थापनाको अवधारणा आयो । दलित समुदायका सीप, ज्ञान कला र अनुभवलाई प्राथामिकतामा राख्न, उनीहरूका सीप र कौशल थप तिखार्ने उद्देश्यले  प्राधिकरणको अवधारणा ल्याइएको थियो । आर्थिक वर्ष २०८१/०८२ मा त्यसमा २० करोड बजेट पनि आयो । पछि फेरि त्यसलाई त्यति महत्व दिइएन । यस्तै, नेपाल दलित प्राज्ञ तथा सांस्कृतिक प्रतिष्ठानलाई पनि सशक्त बनाउने कुरा थियो । यसको उद्देश्य दलित समुदायका संस्कृतिको प्रवर्द्धन र संरक्षण गर्ने, सांस्कृतिक धरोहरको उत्खनन गर्ने, ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षणका लागि संग्राहलय बनाउने कुरा थियो । त्यसमा गत साल १ करोड बजेट परेको थियो । तर यो कार्यान्वयनमा जान सकेन ।

सीमान्तकृत समुदायका हितका लागि थुप्रै शीर्षक हुन्छन् तर बजेट नहुने अवस्था छ । यसपटक मैले नारायणीको कटानका कारण जोखिममा रहेका चितवनका बस्तीका लागि बजेट माग गरेको छु । निर्धा जनता बस्ने चितवनका पहाडी क्षेत्रका बाटाहरूको स्तरोन्तिका लागि पनि पहल गरेको छु । दलित प्राधिकरण र प्रतिष्ठानका लागि राम्रो बजेट विनियोजन गर्न माग गरेको छु । योजना प्रवृष्ट भएपछि त्यसको सम्बोधन हुनुपर्छ । सांसदलाई आश्वासन दिने तर बजेट नदिने परिपाटीको अन्त्य हुनुपर्छ । योजना छनोटमा सुरूदेखि नै सांसदहरूलाई सक्रियता सहभागिता गराउनुर्छ।  नेताका पहुँच र शक्तिको आधारमा नभई जनताका प्राथामिकता र आवश्यकताका लागि बजेटको यथोचित र न्यायोचित विनियोजन आवश्यक छ ।

(नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीसँग गरिएको कुराकानीमा आधारित)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register