बिदा भए प्रदीप नेपाल, कालजयी नै रहनेछन् शक्तिशाली उपन्यासकार सञ्जय थापा

प्रदीप नेपालभन्दा अघि उनको ख्याति सञ्जय थापाका नामले चुलिइसकेको थियो । भूमिगत कालमै उनले यति धेरै उपन्यास लेखे कि उनलाई ‘लेख्ने मेसिन’ जस्तै ठानिन्थ्यो । माले–एमाले धारको राजनीतिमा कुनै उल्लेखनीय घटना हुने बित्तिकै उनी त्यसलाई सानो ठूलो कथा वा उपन्यास बनाउँथे ।

May 6, 2025 - 14:17
 0
बिदा भए प्रदीप नेपाल, कालजयी नै रहनेछन् शक्तिशाली उपन्यासकार सञ्जय थापा

मान्छेको नियति नै हो सायद– दुर्लभ अपवादबाहेक कोही पनि सधैँ चर्चा र लोकप्रियताको शिखरमा बसिरहन सक्दैन । प्रदीप नेपाल–उत्तरार्धतिर सार्वजनिक जीवनमा कमै देखिन्थे । कमैले उनको बारे चासो राख्थे, चर्चा गर्थे । उनी पार्किन्सन्स लगायत अनेक रोगले पीडित थिए ।

तर, यो बिर्सन मिल्दैन कि उनी एक जमानाका चर्चित साहित्यकार र राजनीतिज्ञ थिए । ‘राजनीति’ र ‘साहित्य’ उनको जीवनमा एउटै सिक्काका दुई वटा पाटोजस्तो थिए । साहित्य राजनीतिभन्दा फरक कलात्मक र कालजयी हुनु पर्दछ भन्ने ढोङ प्रदीप नेपालले कहिल्यै गरेनन् । उनी यस्तो पाखण्डबाट पूर्णतः मुक्त थिए । उनी जस्तो राजनीति गर्थे, त्यस्तै साहित्य लेख्थे । राजनीतिमा जे गर्थे, कथा, उपन्यास र निबन्धमा तिनैलाई उतार्थे । आफ्नै जीवन र सहकर्मीबारे लेख्नु उनको साहित्यको मुख्य विशेषता थियो ।

२०४६ सालको निर्दलीय पञ्चायती व्यवस्था विरोधी आन्दोलन सफल भएपछि मात्र उनी भूमिगत राजनीतिक जीवनबाट सार्वजनिक भएका थिए । ‘सञ्जय थापाको बकपत्र’ लेख्दै आफूलाई प्रदीप नेपालका रूपमा चिनाएका थिए ।

प्रदीप नेपालभन्दा अघि उनको ख्याति सञ्जय थापाका नामले चुलिइसकेको थियो । भूमिगत कालमै उनले यति धेरै उपन्यास लेखे कि उनलाई ‘लेख्ने मेसिन’ जस्तै ठानिन्थ्यो । माले–एमाले धारको राजनीतिमा कुनै उल्लेखनीय घटना हुने बित्तिकै उनी त्यसलाई सानो ठूलो कथा वा उपन्यास बनाउँथे ।

२०२८ सालको झापा विद्रोहलाई आधारित बनाएर उनले ‘मुक्ति’ लेखे । २०३५ सालमा तत्कालीन नेकपा (माले) स्थापनाका कथा जोडेर ‘पार्टीकी आमा’ लेखे । झापाको सुरुङ्गा काण्ड र पार्टी विस्तारको परिवेशलाई चित्रण गरेर ‘खुइते कडेरिया’ लेखे ।

रत्नकुमार बान्तवाको जीवनीका आधारित ‘देउमाईको किनारमा’, हरि नेपालको बलिदानमाथि ‘नओइलाउने फूल’ र मदन भण्डारीमाथि ‘बर्बरिक’ लेखे ।

आफ्ना सहकर्मी, नेता, शहिद र योद्धामाथि मात्रै होइन – कुनै बेलाकी पार्टी कमरेड र जीवन सङ्गिनी झुमा देवानमाथि उनले उपन्यास लेखेका छन्–‘एक्काइसौँ शताब्दीकी सुम्निमा’ । झुमा देवानसँग प्रदीप नेपालको भेट उनी भूमिगत कालमा तत्कालीन नेकपा ( माले ) को मेची इन्चार्ज हुँदा इलामतिर भएको थियो । झुमाको पार्टी नाम– बिन्ती थियो । ‘कमरेड बिन्ती’ लाई पात्र बनाएर वा चिठ्ठी शैलीमा सम्बोधन गरेर उनले थुप्रै कथा लेखेका छन् ।

त्यही अवधिमा उनले पाँचथर र ताप्लेजुङग तिरको लिम्बु समाजको गहिरो अनुभव र अनुभूति गर्न पाए । त्यताको कथालाई उनले ‘पूर्वतिर’ उपन्यासमा चित्रण गरेका छन् ।

भोजपुरमा जन्मिएका प्रदीप नेपालको कोशिका पहाडी जिल्लाहरूको अनुभव ‘नन्दिता’ मा झल्किन्छ । उनी प्रसिद्ध कवि तथा गीतकार मञ्जुलका भाइ थिए ।

पारिजात, रामेश, मञ्जुल, रायन, अरिम आदिको संगतले उनी युवा वयमा केही समय ‘राल्फाली आन्दोलन’ को नजिक थिए । यही संगतले उनलाई विद्रोही, क्रान्तिकारी र कम्युनिस्ट पार्टीको नजिक बनाएको थियो ।

उनी झापा विद्रोहमा संलग्न थिएनन् । तर, काठमान्डौंमा पक्राउ परेका नेपाल नख्खु जेलमा झापाली बन्दीहरूसँगै भए । चर्चित नख्खु ‘जेल ब्रेक’ लाई लिएर उनले संस्मरणात्मक कृति ‘मुक्त आकाशको खोजी’ लेखे ।

पार्टी नेता हुँदाहुँदै पनि उनी नियमित स्तम्भ लेख्थे । रोगले थलिनु अघिसम्म यो काम उनले निरन्तर गरी रहे । उनका स्तम्भको विषय पनि पार्टी, राजनीति, मार्क्सवाद र कम्युनिस्ट विचार वरिपरि गुमेको हुन्थ्यो ।
२०३५ सालपछि नेपाल लामो समय माले–एमालेको केन्द्रीय समिति र पोलिटब्यूरो सदस्य रहे ।

२०४७ सालमा माले र मार्क्सवादी समूह एकता भई एमाले बन्दा केही समयले उनी पार्टी परित्यागको घोषणा गरेका थिए । मदन भण्डारीले फकाएर तुरुन्तै उनलाई केन्द्रीय समितिमा थपे । त्यसपछिका दिनमा उनलाई कतिपयले ‘मदन भण्डारीको हनुमान’ पनि भन्थे ।

एमालेको पाँचौँ महाधिवेशनमा उनी स्वयंसेवक सुरक्षा दस्ताको कमान्डर बने । विवादास्पद दासढुंगा दुर्घटनामा मदन भण्डारीको मृत्युपछि उनी माधवकुमार नेपालको नजिक भए । प्रदीप नेपाल विरोधी र बाह्य पक्षसँग मात्र होइन, पार्टीभित्रको अन्तर्विरोधमा पनि खुलेर तीखा आलोचना लेख्थे । सीपी मैनाली, साहाना प्रधान, वामदेव गौतम आदि नेताको विरुद्धमा नेपालले तिखा आलोचना लेखेका थिए । उस्तै प्रकृतिको झापा आन्दोलनको समर्थनमा त्यति धेरै साहित्य लेखेका नेपालले माओवादी जनयुद्धविरुद्ध भने ‘आकाशगङ्गाको तिरैतिर’ लेखे । उनको यो उपन्यास माओवादी जनयुद्धका विरोधीबीच निक्कै लोकप्रिय भयो ।

पार्टीको छैठौँ महाधिवेशनमा उनी माधव नेपाल–केपी ओली गुटका हस्ती बनेका थिए । सातौँ महाधिवेशनसम्म पनि पार्टीमा उनी शक्तिशाली नै मानिन्थे । आठौँ महाधिवेशनमा ईश्वर पोख्रेलसँग महासचिव पदमा पराजित भएपछि भने पार्टीमा उनको शक्ति ओरालो लाग्न थालेको थियो ।

पार्टी संरचनामा सधैँ शक्तिशाली रहे पनि उनले संसदीय निर्वाचनको टिकट भने कहिल्यै लिएनन् । उनको कुनै प्रस्ट गृह जिल्ला र निर्वाचन क्षेत्र थिएन । उनी जन्म जिल्ला भोजपुरमा चुनाव लड्न गएनन् । उनको रुचि काठमान्डौं–१ मा थियो ।
तर, यस निर्वाचन क्षेत्रको टिकट पाउन सकेनन् र राष्ट्रिय सभाको सदस्यमै सीमित भए ।

२०५१ सालको मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा उनी सूचना तथा सञ्चार मन्त्री भए । रेडियो नेपालबाट ‘संस्कृतमा समाचार’ सुरु गरेका कारण उनी जनजाति समुदायमा आलोचनाका पात्र बने । त्यति खेरसम्म कुनै पनि जनजातीय भाषाले सरकारी सञ्चार माध्यममा स्थान पाएका थिएनन् ।

पछि उनी शिक्षामन्त्री पनि भए । तर, त्यो कालखण्डलाई धेरै स्मरण गर्दैनन् ।

२०३६ सालपछि देशमा माले–एमाले धारको राजनीति तीव्र विस्तार हुनुमा रामेश–मञ्जुलको गीत–सङ्गीत र मोदनाथ प्रश्रित–प्रदीप नेपालको साहित्यको धेरै ठूलो योगदान थियो भनिन्छ । नेपालको साहित्य लेखन बढो सरल थियो । कतिपय आलोचकले उनलाई पर्चा साहित्य लेखेको र राजनीतिक उद्देश्यलाई साहित्यको जामा पहिराएको आरोप लगाउँथे ।

उनको राजनीतिक जीवन निक्कै उतरचडावपूर्ण थियो । नख्खु जेल विद्रोहपछि पक्राउ नपरीकन उनी देशभित्रै भूमिगत बस्न सफल भएका थिए । २०४६ पछिको खुल्ला राजनीतिमा उनी सधैँ पार्टीको मूल नेतृत्वको वरिपरि रहे । माधव नेपाललाई केन्द्र मानेर सहयोग गरे ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा काठमान्डौं र रौतहट दुवै स्थानमा महासचिव माधव नेपालको पराजयपछि प्रदीप नेपालका लागि पनि नैतिक संकट सुरु भयो । नैतिकताका आधारमा माधव नेपालले पार्टी महासचिवबाट राजीनामा दिए । पार्टीको शक्ति झलनाथ खनालको हातमा गयो ।

खनालसँग प्रदीप नेपालको खासै पटरी मिल्दैनथ्यो । तसर्थ, २०६५ सालको आठौँ महाधिवेशनमा उनी केपी शर्मा ओलीको प्यानलबाट महासचिवको उम्मेदवार बनेका थिए । ओलीसँगै नेपालको पनि हार भयो । अध्यक्षमा झलनाथ खनाल र महासचिवमा ईश्वर पोख्रेलको जीत भयो । पछि ईश्वर पोख्रेल आफैँ केपी ओली गुटमा सामेल भए । सायद त्यसपछिका दिनमा ओलीका लागि पनि प्रदीप नेपालको महत्त्व झनै कम भयो ।

आठौँ महाधिवेशनमा सँगसँगै पराजित भएका केपी ओलीले त्यसपछिका दिनमा आफूलाई पुनर्स्थापित गरे, तर नेपाल भने निरन्तर कमजोर हुँदै गए ।

पार्टीमा प्रदीप नेपालको शक्तिको मूल आधार निरन्तर लेखन थियो । उनी बारम्बार पार्टी प्रचार विभाग प्रमुख बने । ‘नवयुग सहकारी’ स्थापना गरे । उनको कार्यकालमा पार्टी मुखपत्र ‘नवयुग’ र ‘मुक्ति मोर्चा’ नियमित र गुणस्तरीय ढङ्गले प्रकाशित हुन्थे ।

पछिल्लो पार्टी विभाजनमा उनी केही समय नेकपा (एकीकृत समाजवादी) तिर लागेका थिए । एकीकृत समाजवादीको पोलिटब्युरो सदस्यमा उनको नाम देखिएको थियो, तर बैठकमा भने भाग लिएनन् । पुनश्च: एमालेको सदस्यता नवीकरण गराएको खबर पनि आएका थिए ।

प्रदीप नेपालले भाइ समीर नेपालका अनुसार उनले आफ्नो शवमा कुनै पनि पार्टीको झन्डा नओढाउन इच्छा व्यक्त गरेका थिए । तसर्थ, पछिल्लो समय उनी कुन पार्टीलाई समर्थन गर्थे– अस्पष्ट रह्यो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register