नेपाली फुटबलका स्वर्णकथा समेटिएको हिमेशको पुस्तक सार्वजनिक

काठमाडौं । खेल पत्रकार हिमेश रत्न बज्राचार्यको पुस्तक ‘स्वर्णकथा नेपाली फुटबलको’ लोकापर्ण भएको छ । आइतबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको पुस्तकका नेपाली फुटबलका रोचक र सूचनामूलक विषय समेटिएका छन् । सन् १९८४ मा काठमाडौंमा आयोजना भएको पहिलो दक्षिण एसियाली खेलकुदमा फुटबलतर्फ नेपालले जितेको पहिलो स्वर्ण पदक र सन् १९९३ बंगलादेशको ढाकामा आयोजना भएको साफ गेम्समा […]

Jun 1, 2025 - 12:52
 0
नेपाली फुटबलका स्वर्णकथा समेटिएको हिमेशको पुस्तक सार्वजनिक

काठमाडौं । खेल पत्रकार हिमेश रत्न बज्राचार्यको पुस्तक ‘स्वर्णकथा नेपाली फुटबलको’ लोकापर्ण भएको छ । आइतबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको पुस्तकका नेपाली फुटबलका रोचक र सूचनामूलक विषय समेटिएका छन् ।

सन् १९८४ मा काठमाडौंमा आयोजना भएको पहिलो दक्षिण एसियाली खेलकुदमा फुटबलतर्फ नेपालले जितेको पहिलो स्वर्ण पदक र सन् १९९३ बंगलादेशको ढाकामा आयोजना भएको साफ गेम्समा नेपालले जितेको अर्को स्वर्णको इतिहास स्वर्णकथामा समेटिएको छ ।

नेपालले जितेको स्वर्ण पदकका क्षणहरूका साथै नेपाली फुटबलको रोचक क्षण पनि पुस्तकमा  समावेश गरिएको  सञ्जिव शिल्पकारले बताए ।

‘पाँच वर्षअघि यो पाण्डुलिपि बुझाउनु भएको थियो । बीचमा उहाँले धेरैपटक सम्पादन पनि गर्नुभयो,’ स्वागत मन्तव्य दिँदै बुकहिलका प्रकाशक भूपेन्द्र खड्काले भने, ‘भाषाशैली भन्नुपर्दा औपचारिक नभई अनौपचारिक भाषाशैली शिल्पमा छ । पढ्दै जाने क्रममा चित्र निर्माण हुने शैलीमा पुस्तक तयार गरिएको छ । ’

हिमेशको कलमबाट लेखिएको नेपाली फुटबलको १०० वर्षको इतिहासले नेपाली खेलाडीदेखि प्रशिक्षकसम्मले पढ्दा आत्मबोधको साथै प्रेरणा पनि पाउने उनले बताए ।

हिमेशसँगको पत्रकारिताको सुरुवाती रिपोर्टिङका सहयात्री  खेल पत्रकार अजय फुयालले भने, ‘करिब २५ वर्षको खेल पत्रकारितामा सधैँ राइभल भएर काम गरियो । तर, हिमेशको सधैँ सानो डायरी बोकेर आयो सानो झिङ्गाजस्तो अक्षरमा डक्युमेन्टेसन गर्ने बानी थियो । हामी कहिल्यै नगर्ने ।’

फुटबलमा करिब २५ वर्षअघि सुरु भएको व्यावसायिक प्रतिस्पर्धा हालसम्म कायम भए पनि पुस्तक लोकापर्णसँगै सो प्रतिस्पर्धामा जित हासिल गरेको पत्रकार फुयालले बताए ।

आफ्नो दाईले हिमेशका लेखहरू पढ्न प्रेरित गरेको एथलिट सन्तोषी श्रेष्ठले बताइन् । ‘तिमी खेलकुदको न्युज मात्र पढ्छ्यौ र आफ्नो नाम मात्र काटेर राख्छ्यौ । खेलकुदमा पनि साहित्य छ हेर्ने गर,’ दाइको भनाइ उदृत गर्दै सन्तोषीले भनिन् । कसले लेख्छन् त भनेर सोध्दा दाइले हिमेश रत्न बज्रचार्यको नाम लिएको सन्तोषीले बताइन् । स्वर्णकथाले पढ्दा र पढाउँदा पनि फुटबल इतिहास महशुस हुने सन्तोषीले बताइन् ।

खेल साहित्यमा भएको रिक्ततालाई ‘भ्वाइड’ लाई स्वर्णकथाले पूर्ति गर्छ भन्ने विश्वास देशसंचारका प्रधान सम्पादक युवराज घिमिरेले बताए । तथ्यका आधारमा तयार पारिएको र विभिन्न टेक्निकल पाटोलाई समेटिएको पुस्तकलाई अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव राईले नेपाली फुटबलको दस्तावेजका रूपमा लिइने बताए ।

उनले ऐतिहासिक दस्तावेजका रूपमा रहेको स्वर्णकथाको केही प्रति किनेर विभिन्न जिल्लामा पठाउने सोच भएको  बताए ।

हिमेशको ‘रक अन’ शैली 

यसै वर्ष इङ्लिस प्रिमियर लिगको विजेता लिभरपुल फुटबल क्लबका हिमेश डाइहार्ट फ्यान पनि हुन् । इतिहास र बौद्ध धर्ममा स्नातकोत्तर गरेका हिमेशको पत्रकारितामा औपचारिक शिक्षा नभए पनि उनलाई नेपाली खेलकुद पत्रकारितामा प्यासनेट पत्रकारका रूपमा चिनिन्छ । उनको फरक शैलीको लेखन नै उनको पहिचान हो । त्यही शैलीले उनले लोकपर्णलाई पनि यादगार बनाए ।

अन्त्यमा धन्यवाद मन्तव्य दिन आउँछन् किताबका लेखक हिमेश । लेख्न रुचाउने तर कम बोल्न भएकोले पनि आफ्नो किताबको बारेमा उपस्थित श्रष्टाले बोलेको कुरा नै काफी भएको भन्दैँ मुस्कुराउँछन् ।

फुटबललाई आफ्नो फर्स्ट  लभ मान्ने हिमेश भन्छन्, ‘आजको कार्यक्रमलाई म ‘ड्रीम कम ट्रु’, भन्न चाहन्छु । हाम्रो कल्चरमा सानैदेखि फुटबल हेर्न रुचाउँथे । यसैमा कलम चलाउनु पाउँदा खुसी लाग्छ । फुटबल भनेको फर्स्ट  लभ भन्छ नि त्यस्तो विषय हो ।’

अन्ततः आफ्नो मन्तव्य टुङ्ग्याउनुअघि ‘यू विल नेभर वाक अलोन’ भन्दै रक अन शैलीमा हात उठाएर, सबैलाई लिभरपुलको एन्थम स्मारण गराउँदै ‘हट्के’ शैलीमा बिदा हुन्छन् हिमेश ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register