भारतीय लेखिका बानु मुश्ताकको ‘हार्ट ल्याम्प’ लाई ‘इन्टरनेशनल बुकर’

एजेन्सी  ।  भारतीय लेखिका, वकिल तथा अभियन्ता बानु मुश्ताकले आफ्नो लघुकथा सङ्ग्रह ‘हार्ट ल्याम्प’ का लागि इन्टरनेशनल बुकर पुरस्कार जितेर इतिहास रचेकी छिन् । यो प्रतिष्ठित पुरस्कार जित्ने कन्नड भाषाको यो पहिलो कृति हो, जुन भारतको दक्षिणी राज्य कर्नाटकमा बोलिने भाषा हो । ‘हार्ट ल्याम्प’ मा सन् १९९० देखि २०२३ सम्म तीन दशकको अवधिमा मुश्ताकले […]

May 21, 2025 - 05:23
 0
भारतीय लेखिका बानु मुश्ताकको ‘हार्ट ल्याम्प’ लाई ‘इन्टरनेशनल बुकर’

एजेन्सी  ।  भारतीय लेखिका, वकिल तथा अभियन्ता बानु मुश्ताकले आफ्नो लघुकथा सङ्ग्रह ‘हार्ट ल्याम्प’ का लागि इन्टरनेशनल बुकर पुरस्कार जितेर इतिहास रचेकी छिन् ।

यो प्रतिष्ठित पुरस्कार जित्ने कन्नड भाषाको यो पहिलो कृति हो, जुन भारतको दक्षिणी राज्य कर्नाटकमा बोलिने भाषा हो ।

‘हार्ट ल्याम्प’ मा सन् १९९० देखि २०२३ सम्म तीन दशकको अवधिमा मुश्ताकले लेखेका १२ वटा लघुकथाहरू समावेश छन् । यस सङ्ग्रहले दक्षिणी भारतमा बस्ने मुस्लिम महिलाहरूको कठिनाइलाई मार्मिक रूपमा चित्रण गरेको छ । यसलाई दीपा भास्तीले अंग्रेजीमा अनुवाद गरेकी हुन् ।

मुश्ताकको लेखन शैली पुस्तक प्रेमीहरू माझ राम्रै परिचित भए पनि, बुकर इन्टरनेशनल जितले उनको जीवन र साहित्यिक कृतिलाई थप चर्चामा ल्याएको छ ।

उनका कथाहरूमा चित्रित महिलाहरूले धार्मिक रूढिवाद र गहिरो पितृसत्तात्मक समाजका कारण सामना गर्नुपरेका धेरै चुनौतीहरू उनको आफ्नै जीवनमा पनि प्रतिविम्बित हुन्छन् । यही आत्म-चेतनाले शायद मुश्ताकलाई केही उत्कृष्ट पात्र र कथानकहरू सिर्जना गर्न मद्दत गरेको छ ।

‘इन्डियन एक्सप्रेस’ले पुस्तकको समीक्षामा लेखेको छ, ‘साहित्यिक संस्कृतिमा जहाँ तडकभडकलाई पुरस्कार दिइन्छ, ‘हार्ट ल्याम्प’ ले किनारामा बाँचेका जीवन, नदेखिएका छनोटहरू, र केवल टिकिरहन लाग्ने शक्तिको मूल्यमा जोड दिन्छ । यही बानु मुश्ताकको शान्त शक्ति हो ।”

को हुन् बानु मुश्ताक ?

मुश्ताक कर्नाटकको एउटा सानो मुस्लिम बस्तीमा हुर्केकी थिइन् । उनी पनि अन्य केटीहरू जस्तै विद्यालयमा उर्दू भाषामा कुरान पढ्थिन् । तर उनका बुबा, जो सरकारी कर्मचारी थिए, उनीका लागि अझ धेरै चाहन्थे र आठ वर्षको उमेरमा उनलाई एउटा कन्भेन्ट स्कूलमा भर्ना गरे जहाँ पढाइको माध्यम राज्यको आधिकारिक भाषा – कन्नड थियो ।

मुश्ताकले कन्नडमा पोख्त हुन धेरै मेहनत गरिन्, तर यही ‘अपरिचित’ भाषा उनको साहित्यिक अभिव्यक्तिको माध्यम बन्यो । उनले विद्यालयमा पढ्दै गर्दा लेख्न सुरु गरिन् र आफ्ना साथीहरू विवाह गरेर बच्चा हुर्काउँदै गर्दा पनि कलेज जान रोजिन् ।

मुश्ताकको पहिलो कृति प्रकाशित हुन धेरै वर्ष लाग्यो र यो उनको जीवनको एक विशेष चुनौतीपूर्ण चरणमा भयो । २६ वर्षको उमेरमा आफ्नो रोजाइको पुरुषसँग विवाह गरेको एक वर्षपछि उनको लघुकथा एउटा स्थानीय पत्रिकामा छापिएको थियो । तर उनको प्रारम्भिक वैवाहिक जीवन द्वन्द्व र सङ्घर्षले भरिएको थियो, जसको बारेमा उनले धेरै अन्तर्वार्तामा खुलेर कुरा गरेकी छिन् ।

‘भोग’ पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले भनिन्, ‘म सधैं लेख्न चाहन्थें तर लेख्ने केही थिएन किनभने अचानक, प्रेम विवाहपछि मलाई बुर्का लगाउन र घरेलु काममा आफूलाई समर्पित गर्न भनियो । २९ वर्षको उमेरमा म प्रसवोत्तर डिप्रेसनबाट पीडित आमा भएँ।’ ‘द वीक’ पत्रिकालाई दिएको अर्को अन्तर्वार्तामा उनले आफूलाई घरको चार भित्ताभित्र सीमित जीवन बिताउन बाध्य पारिएको कुरा बताएकी थिइन् ।

‘एक पटक निराशाको एक क्षणमा मैले आगो लगाउने उद्देश्यले आफूमाथि सेतो पेट्रोल खन्याएँ,   भाग्यवश,  श्रीमान्ले  समयमै यो कुरा बुझे, मलाई अँगालो हाले, सलाई खोसे र हाम्रो बच्चालाई मेरो खुट्टामा राखेर बिन्ती गर्दै उनले भने,  ‘हामीलाई नछोड’ ,” अन्तर्वार्तामा उनले  बताइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register