निर्माण रोकिएको बुटवल मेडिकल कलेज बजेटको पर्खाइमा

लुम्बिनी । निर्माण रोकिएको रुपन्देहीको तिलोत्तमास्थित बुटवल मेडिकल कलेज यतिबेला बजेटको पर्खाइमा छ । आयोजनाको सुरुका दिनमा जग्गा प्राप्तिको सुनिश्चता नहुँदा सरकारले दिएको बजेट पनि चलाउन बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालयका अधिकृत चुडामणि मरासिनीले बताए । ‘आयोजनाको सुरुका दिनमा जग्गा प्राप्तिको सुनिश्चता नहुँदा सरकारले दिएको बजेट पनि चलाउन नसकिएको हो,’ उनी भन्छन् […]

May 22, 2025 - 02:10
 0
निर्माण रोकिएको बुटवल मेडिकल कलेज बजेटको पर्खाइमा

लुम्बिनी । निर्माण रोकिएको रुपन्देहीको तिलोत्तमास्थित बुटवल मेडिकल कलेज यतिबेला बजेटको पर्खाइमा छ ।

आयोजनाको सुरुका दिनमा जग्गा प्राप्तिको सुनिश्चता नहुँदा सरकारले दिएको बजेट पनि चलाउन बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालयका अधिकृत चुडामणि मरासिनीले बताए ।

‘आयोजनाको सुरुका दिनमा जग्गा प्राप्तिको सुनिश्चता नहुँदा सरकारले दिएको बजेट पनि चलाउन नसकिएको हो,’ उनी भन्छन् ।

चालु आर्थिक वर्षमा संघीय सरकारबाट १ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन भएता पनि खर्च गर्न नसकिएको उनको भनाइ छ । यद्यपि मेडिकल कलेज निर्माणका लागि सामुदायिक बनले जग्गा उपलब्ध गराएको छ । ‘सामुदायिक वनले जग्गा दिएसँगै यतिबेला वन मन्त्रालयले पनि रुख कटानको स्वीकृति दिएको छ । पहिलो चरणमा ५० बिघा जग्गामा सिमेन्टका पिल्लर उठाएर सीमा छुट्टयाउने काम सम्पन्न भएको छ,’ उनले थपे ।

सुरुमा २०० बिघा जग्गामा मेडिकल कलेज बनाउने गरी ईआईए गरिएको थियो । तर वन मन्त्रालयले २०० बिघा वन क्षेत्रमा अस्पताल बनाउन नमिल्ने भन्दै ५० बिघा जमिन मात्रै उपलब्ध गरायो । यसपछि ५० बिघा जग्गाको वातावरणीय व्यवस्थापन मूल्यांकन भई करिब ११ हजार ४०० रुख काट्नुपर्ने प्रतिवेदनमा देखियो । आवश्यकताअनुसार पहिलो चरणमा ८४१ वटा रुख काटेर मेडिकल कलेजको प्रशासनिक भवन निमार्ण कार्य गरिने तयारी भएको मरासिनी बताउँछन् ।

उनका अनुसार बुटवल मेडिकल कलेज एक हजार बेड (शय्या) क्षमताको हुनेछ । तर सुरुमा ६०० बेडको जनरल अस्पताल बनाउने गरी डीपीआर तयार पारिएको छ । ‘मेडिकल कलेज बनाउन मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक साढे १९ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ,’ उनी भन्छन् ।

हाल चालु आर्थिक वर्षको अन्त्य भएका कारण सबै काम रोकिएको छ । अब आव २०८२–८३ सुरु भएसँगै टेन्डर आह्वान गरी आवश्यक सबै कामको प्रक्रिया अगाडि बढ्ने मरासिनीको भनाइ छ ।

अब, मेडिकल कलेजको भौतिक संरचना ६ वर्षभित्र निर्माण गर्ने योजना रहेको आयोजना कार्यालयले जनाएको छ ।

सातै प्रदेशमा एक–एक वटा मेडिकल कलेज निर्माण गर्ने योजनाअनुसार ६ वर्षअघि संघीय सरकारले तिलोत्तमामा बुटवल मेडिकल कलेज बनाउने निर्णय गरेको थियो । फलस्वरुप निकै तामझामका साथ २०७५ साल चैत ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१, नयाँमिलमा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालय उद्घाटन गरेका थिए ।

उद्धाटन गर्दा आयोजनालाई कहाँको कति जग्गा दिने भन्ने कुनै टुङ्गो थिएन । त्यसैले २०७८ जेठ ३१ गते मन्त्रिपरिषद्को निर्णयअनुसार शंकरनगर सामुदायिक वनको ५० बिघा जग्गा बुटवल मेडिकल कलेज निर्माणका लागि दिने निर्णय गरेको थियो । तर लामो समयसम्म जग्गा विवाद भएपछि मेडिकल कलेज निमार्णको काम अगाडि बढ्न सकको थिएन् ।

केही महिनाअगाडि मात्रै शंकरनगर सामुदायिक वन उपभोक्ता समूहको विशेष साधारणसभाले बुटवल मेडिकल कलेजका लागि ५० बिघा जग्गा उपलब्ध गराउने प्रस्ताव पारित गरेको वन समितिका अध्यक्ष रवीन्द्र बस्नेतले बताए ।

‘समुदायले संरक्षण गरेको जंगल भएको र बुटवल मेडिकल कलेजलाई उक्त जग्गा भोगाधिकारका लागि सामुदायिक वनको सिफारिस आवश्यक पर्ने भएकाले सरकारले गरेको निर्णयलाई सहजरुपमा कार्यान्वयन गर्न गराउनका लागि समन्वयकारी भूमिका मात्र खेलेका हाैं,’ उनी भन्छन्, ‘सामुदायिक वनले लामो समयसम्म वन क्षेत्र मेडिकल कलेजलाई दिने निर्णय नगर्दा आयोजनाको काम राकिएको हो । हाम्राे तर्फबाट कुनै असहमति थिएन ।’

जिल्लामा हाल दुईवटा निजी क्षेत्रका मेडिकल कलेज छन् । भैरहवामा युनिभर्सल मेडिकल कलेज र देवदहमा देवदह मेडिकल कलेज सञ्चालनमा छन् । यस्तै बुटवलमा लुम्बिनी प्रादेशिक अस्पताल पनि छ । यीबाहेक रुपन्देहीमा केही निजी तथा सरकारी अस्पताल र मेडिकलसमेत छन् ।

यद्यपि निजी अस्पताल र मेडिकल कलेजको तुलनामा सस्तो पर्ने भएकाले सरकारी (बुटवल) मेडिकल कलेज सञ्चालन भएपछि सर्वसाधारण जनतालाई राहत पुग्ने अपेक्षा गरिएको सरोकारवालाको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register