शक्तिशालीको क्षेत्रमा शौचालयदेखि भ्यू टावरसम्म, हाम्रोमा आधारभूत योजना पार्नै मुस्किल

नयाँ आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया चलिरहेको छ । संघीय सांसद भएका हिसाबले आम नागरिकको नजर यतिबेला हामी जनप्रतिनिधिमाथि छ । मानौँ त्यो बजेट नै हामीले बनाउने हो जस्तो गरी सांसदमाथि आम मतदाताहरूले अपेक्षा राखिरहेका हुन्छन् । तर यसको वास्तविकता भने बेग्लै छ । राजनीतिमा प्रवेश गर्नुअघि म दश वर्षसम्म शिक्षण पेसामा थिएँ । महोत्तरीको […]

May 22, 2025 - 08:38
 0
शक्तिशालीको क्षेत्रमा शौचालयदेखि भ्यू टावरसम्म, हाम्रोमा आधारभूत योजना पार्नै मुस्किल

नयाँ आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया चलिरहेको छ । संघीय सांसद भएका हिसाबले आम नागरिकको नजर यतिबेला हामी जनप्रतिनिधिमाथि छ । मानौँ त्यो बजेट नै हामीले बनाउने हो जस्तो गरी सांसदमाथि आम मतदाताहरूले अपेक्षा राखिरहेका हुन्छन् । तर यसको वास्तविकता भने बेग्लै छ ।

राजनीतिमा प्रवेश गर्नुअघि म दश वर्षसम्म शिक्षण पेसामा थिएँ । महोत्तरीको माटोमा जन्मे–हुर्केकी म, शिक्षणबाट प्राप्त अनुभव र सामाजिक सेवाको भावनालाई लिएर राजनीतिमा आएकी हुँ । समानुपातिक सांसदको रूपमा संघीय संसदमा प्रवेश गरेपछि मलाई लागेको थियो, यो अवसरले मलाई मेरो क्षेत्रका जनताको जीवनस्तर उकास्न र विकासका काममा योगदान दिन सहयोग गर्नेछ । तर, संसदको यो यात्राले मलाई धेरै कुरा सिकायो– खासगरी, सांसदको भूमिका, जनताको अपेक्षा र विकास निर्माणका लागि बजेट ल्याउने प्रक्रियामा रहेका कठिनाइहरू ।

संविधानले सांसदको मुख्य जिम्मेवारी कानुन निर्माणलाई बनाएको छ । समाजलाई व्यवस्थित र समृद्ध बनाउने आधार तयार गर्न भनेर हामी संसद्‍मा बसेर देशका लागि आवश्यक नीति, नियम र कानुन बनाउछौँ । तर, जनताको नजरमा सांसदको भूमिका फरक छ । जनताले सांसदलाई कानुन निर्माताभन्दा पनि आफ्नो क्षेत्रमा विकास निर्माणका योजना ल्याउने र कार्यान्वयन गर्ने व्यक्तिको रूपमा हेर्छन् । सडक, स्कुल, अस्पताल, खानेपानी, बिजुली, सिँचाइ जस्ता आधारभूत विकास निर्माणका काममा सांसदको सक्रियता र योगदान जनताले अपेक्षा गरेका हुन्छन् । र, जनताले हरेक भेटघाटमा पनि यिनै कुरा दोहोर्‍याइरहेका हुन्छन् ।

यो अपेक्षा स्वाभाविक पनि हो । जनताले आफ्नो क्षेत्रको सांसदलाई आफ्ना समस्या र आवश्यकताको प्रतिनिधिको रूपमा हेर्छन् । आफ्नो क्षेत्रको सांसदले सरकारसँग पहल गरेर बजेट ल्याउँछ, योजनाहरू पार्नेछ र गाउँ–ठाउँको विकास गर्छ भन्ने जनताको अपेक्षा हुन्छ । तर, यो अपेक्षा पूरा गर्न सांसदका लागि सजिलो छैन ।

सांसद भएपछि मलाई पनि मेरो क्षेत्रमा सडक बनाउँछु, स्कुलहरू सुधार गर्छु, स्वास्थ्य चौकीहरू बनाउँछु भन्ने लागेको थियो । तर, यो सोच जति सहज लाग्छ, कार्यान्वयन त्यति नै जटिल छ । सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका योजना ल्याउन सरकारसँग समन्वय गर्नुपर्छ । बजेट माग्न मन्त्रालयहरू, अर्थ मन्त्रालय र योजना आयोगसम्म धाउनुपर्छ । र, यहीँबाट सुरु हुन्छ चुनौती । सरकारले हामीजस्ता ‘लो–प्रोफाइल’ सांसदलाई प्राथमिकतामा राख्दैन । अर्थमन्त्रीले हाम्रा प्रस्तावहरू सुन्ने र ‘हुन्छ, हुन्छ’ भन्ने, तर बजेटमा नपार्ने प्रवृत्ति छ ।

मैले धेरैपटक मेरो क्षेत्रमा सडक मर्मत, खानेपानीको व्यवस्था, स्कुल भवन निर्माणका लागि अर्थ मन्त्रालय र सम्बन्धित मन्त्रीहरूसँग कुरा राखेकी छु । तर, हरेकपटक जवाफ उही हुन्छ – ‘हुन्छ, विचार गर्छौं ।’

अर्थमन्त्रीलाई भेट्न पनि निकै मिहिनेत गर्नुपर्छ । बल्लतल्ल भेट भए पनि हाम्रा कुरा सुनेर टाउको हल्लाउने र ‘बजेटमा समेट्ने कोसिस गर्छौं’ भन्ने आश्वासन दिने काममै सीमित हुन्छ । बजेट आउँदा हामीले माग गरेका योजनाहरू कागजमा समेटिँदैनन् । यस्तो अनुभवले मलाई बारम्बार निराश बनाएको छ ।

विकास निर्माणको बजेट वितरणमा ठूलो असमानता छ । प्रधानमन्त्री, मन्त्रीहरू र शक्तिशाली नेताहरूको क्षेत्रमा बजेटको ओइरो लाग्छ । ती क्षेत्रमा शौचालयदेखि भ्यू टावरसम्म, आवश्यक र अनावश्यक सबै योजनाका लागि करोडौँ रकम विनियोजन हुन्छ । तर, हामीजस्ता सामान्य सांसदले मागेका गाउँको बाटो पक्की गर्ने, स्कुलमा शौचालय बनाउने जस्ता आधारभूत योजनाहरूका लागि पनि बजेट पाउन मुस्किल हुन्छ ।

यो असमानता केवल बजेटमा मात्र होइन, संसद्‍देखि सरकारी कार्यालयसम्मको व्यवहारमा पनि देखिन्छ । शक्तिशाली नेताले बोलेको कुरा तुरुन्तै लागू हुन्छ । उनीहरूले मागेका योजना बजेटमा पर्छन्, तुरुन्तै कार्यान्वयन हुन्छन् । तर, देशका सबै क्षेत्रमा त शक्तिशाली नेता हुँदैनन् । हरेक क्षेत्रका जनताले आफ्नो सांसदबाट समान विकासको अपेक्षा राख्छन् ।

हामीजस्ता साना सांसदले यो अपेक्षा पूरा गर्न नसक्दा जनताको गुनासो सुन्नुपर्छ । ‘तपाईंले हाम्रो क्षेत्रमा के गर्नुभयो ?’ भन्ने प्रश्नले मन कटक्क हुन्छ । किनभने, हाम्रा हातमा स्रोत र शक्ति सीमित छ ।

समानुपातिक सांसदको अवस्था झन् जटिल छ । हामी प्रत्यक्ष निर्वाचित सांसदजस्तो कुनै निश्चित भूगोलको प्रतिनिधित्व गर्दैनौँ । तर, हामीलाई पनि जनताले आफ्नो क्षेत्रको विकासमा योगदान देओस् भन्ने अपेक्षा गर्छन् । मलाई त महोत्तरीका जनताले आफ्नो सांसदको रूपमा हेर्छन् र विकास योजनाको अपेक्षा गर्छन् । तर, सरकार र मन्त्रीहरूले समानुपातिक सांसदको कुरालाई गम्भीरतापूर्वक लिदैनन् । हाम्रा प्रस्तावहरू सुनेको नसुन्यै गर्छन् । संसदमा होस् वा बजेट निर्माणमा, हामीलाई दोस्रो दर्जाको व्यवहार गरिन्छ । यो व्यवहारले हामीलाई आफ्नो जिम्मेवारी पूरा गर्न थप कठिन बनाउँछ ।

मलाई लाग्छ, विकास बजेट वितरणमा पारदर्शिता र समानता ल्याउन जरुरी छ । बजेट विनियोजनलाई नेताको प्रभाव र शक्तिको आधारमा होइन, क्षेत्रको आवश्यकता र प्राथमिकताको आधारमा गर्नुपर्छ । हरेक सांसदलाई आफ्नो क्षेत्रका लागि निश्चित रकमको बजेट छुट्याउने व्यवस्था गर्न सकिन्छ । यसले हामीजस्ता साना सांसदलाई पनि जनताको अपेक्षा पूरा गर्न सहज हुनेछ ।

त्यस्तै, समानुपातिक सांसदको भूमिकालाई पनि स्पष्ट र सम्मानजनक बनाउनुपर्छ । हामीले प्रतिनिधित्व गर्ने समुदाय र क्षेत्रका लागि बजेट माग्ने अधिकार सुनिश्चित हुनुपर्छ । संसद् र सरकारले हाम्रा कुरालाई पनि उत्तिकै महत्त्व दिनुपर्छ । साथै, जनतामा पनि सांसदको भूमिकाबारे चेतना फैलाउन जरुरी छ । सांसद केवल विकास निर्माणका लागि होइन, नीति निर्माण र देशको समग्र प्रगतिका लागि पनि काम गर्छन् भन्ने बुझाउनुपर्छ ।

यी सबै चुनौतीका बावजुद, म आफ्नो क्षेत्र र जनताप्रति प्रतिबद्ध छु । म बारम्बार मन्त्रालय धाउँछु, अर्थमन्त्रीलाई भेट्छु, योजनाहरू प्रस्तुत गर्छु । मेरो क्षेत्रमा सडक, स्कुल, स्वास्थ्य चौकी, खानेपानीजस्ता आधारभूत आवश्यकताका लागि म निरन्तर लडिरहन्छु । मलाई थाहा छ, यो लडाइँ सजिलो छैन ।

राजनीति मेरो लागि सत्ताको खेल होइन, जनताको सेवा गर्ने माध्यम हो । म शिक्षक हुँदा पनि मेरो उद्देश्य समाजलाई सही दिशा दिनु थियो । सांसद भएपछि पनि मेरो सोच उही छ। मलाई लाग्छ, यदि हामी सबै सांसदले इमानदारीपूर्वक काम गर्‍यौं र सरकारले हाम्रा कुरा सुन्यो भने देशका हरेक कुनामा समान विकास सम्भव छ ।

(कुराकानीमा आधारित, सापकोटा जनमत पार्टीकी सांसदद हुन्)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register