महोत्तरीको लोहारपट्टीबाट ‘अन्त्योदय आन्दोलन’

काठमाडौंका शासक वर्गले बारम्बार गफ लगाउने जनता बस्ती कार्यक्रमलाई त्यहाँ ‘नीलो टिनवाला घर’ भनिँदोरहेछ । त्यस्ता घरको गुणस्तर असाध्यै निम्न कोटीको भएको गुनासो सुनिन्थ्यो । बाटो, ढलनिकास, पर्याप्त स्पेश र खानेपानी सुविधा बिनाका ‘टिनबाला झोपडी’ बनाएर आवास समस्या हल नहुने उनीहरूको तर्क थियो ।

May 24, 2025 - 06:26
 0
महोत्तरीको लोहारपट्टीबाट ‘अन्त्योदय आन्दोलन’

मधेश प्रदेशको राजधानी सहर जनकपुरधामको पश्चिमी भागमा महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका जोडिएको छ । सँगै अर्को पालिका छ– बलवा । जहाँ छन्, परम्परागत शैलीका घरहरू भएका बस्ती । जहाँ मेटिन्छ, मधेशको वास्तविक ग्रामिण जीवनको झल्को ।

त्यहीँ भेला भएका थिए देशका विभिन्न जिल्लाबाट ‘अन्त्योदय आन्दोलन’ को चिन्तन–शिविर सञ्चालन गर्न सहभागीहरू । उनीहरू लोहारपट्टीमा जेठ ३ र ४ गते दुई दिने शिविर सञ्चालन गरे । तेस्रो दिन जेठ ५ गते बलबाको अध्ययनपुरी टोलमा स्थानीयसँग अन्तरक्रिया गरे ।

के हो त ‘अन्त्योदय आन्दोलन’ ?

सुनसरीबाट सहभागी फूलकुमारी राम भन्छिन्, ‘समाजको सबैभन्दा अन्तिममा भएका मान्छेहरूको उदय नै अन्त्योदय हो । अन्त्योदय नभइकन सर्वोदय नहुने रहेछ ।’

संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ संविधानपछि पनि ‘भुइँमान्छे’हरूको, विशेषतः दलित, त्यसमा पनि मधेसी दलित समुदायको अवस्थामा उल्लेखनीय परिवर्तन नआएको हुँदा नयाँ जागरण र आन्दोलनको आवश्यकता परेको उनको बुझाइ थियो ।

रामले अगाडि भनिन्, ‘यो देशमा भाषण, आसन र राशनको कुरा धेरै भयो, तर दलित समुदायको शासनमा भूमिका भएन ।’ अन्त्योदय आन्दोलनले यस्तो खाडल पूरा गर्न नयाँ ढँगले चिन्तन गर्ने धारणा उनले राखिन् ।

शिविरका स्थानीय प्रबन्धक थिए – विपिन अधिकारी । शिविर र आन्दोलनको उद्देश्यबारे अधिकारी भन्छन्, ‘यो ‘नास्ता’ खाने होइन, ‘रास्ता’ देखाउने शिविर हो । आन्दोलनको ‘नयाँ रास्ता’ देखाउने कार्यक्रम सहरमै हुनुपर्छ र कथित भव्य हुनु पर्छ भन्ने छैन । हामी चना-चिउरा खाएरै देशको बारेमा, दलित समुदायको अवस्थाका बारेमा, समाजको अन्तिममा भएका नागरिकका बारेमा गाउँबाटै एउटा नयाँ आन्दोलनको घोषणा गर्न चाहन्छौँ ।’

अधिकारीले थपे, ‘आजसम्म हामीमाथि राजनीति भयो, राजनीतिमाथि हामी भएनौँ । किन यस्तो भयो ? अन्त्योदय चिन्तन शिविरले यसको उत्तर खोज्ने छ ।’

शिविरमा नेपाल मुसहर संघका केन्द्रीय उपाध्यक्ष शिव सदा पनि उपस्थित थिए । महोत्तरीकै स्थानीय बासिन्दा रहेका उनले चिन्तन शिविरमा भने, ‘महोत्तरीको मुसहर समुदायका ४० प्रतिशत नागरिकसँग अझै नागरिकता छैन । यसो भन्दा काठमाडौंका मान्छेले पत्याउँदैनन् । संविधानमै भूमीहिन दलित समुदायलाई एकपटकका लागि जमिनको स्वामित्व वितरण गर्ने कुरा लेखिएको छ, तर खै ? पहिले लाग्थ्यो संविधानमा नलेखेर हो, लेखेपछि शासक वर्ग लागू गर्न बाध्य हुनेछन् । तर, होइन रहेछ । संविधानमा लेखिएको त लागू गर्दैनन् अरु के आशा गर्नु ?’

जसियादेवी मरिक सर्लाहीको मलंगबाबाट चिन्तन–शिविरमा भाग लिन आएकी थिइन् । उनी सर्लाहीको स्थानीय राजनीति र दलित समुदायको किनारीकरणबारे कुरा गर्दै थिइन् । भन्दै थिइन्, ‘वडाध्यक्ष, मेयर, उपमेयरका उम्मेदवार चुनावको बेला भोटका लागि ‘माइबाप’ गर्छन् । दलित समुदायको भोट तिनलाई अछुत हुँदैन । तर, जब जित्छन्, समुदायका समस्या र गुनासोबाट सकेसम्म टाढिन खोज्छन् ।’

बाँचो रामको कथा अरुको भन्दा फरक छ । उनी आफै मिटर ब्याजपीडित हुन् । करिब १० वर्षअघि उनले साहुबाट ३ लाख रुपैयाँ ऋण लिएकी थिइन् । साहुले उनको घरबास भएको १० धुर जग्गा पास गराएर ऋणको धितो लिएको थियो । उनले ३ लाख ऋणको ५ लाख रुपैयाँभन्दा बढी तिरिसकिन् । तर, उनको जग्गाको ‘पास फिर्ता’ भएको छैन ।

काठमाडौंमा मिटरब्याजपीडितको आन्दोलनपछि सरकारले सिडिओ कार्यालयमा निवेदन दिन भन्यो । जलेश्वर गएर उनले निवेदन दिइन् । सीडीओ कार्यालयमा गरेको निवेदनको दर्ता नम्बर देखाउँदै उनी भन्छिन् ‘खै त सरकार ? एक वर्षभन्दा बढी भयो, तर कुनै कारबाही भएको छैन । उता साहुले जग्गा नातेदारको नाममा नामसारी गरी सक्यो ।’

कैलाश सदा महोत्तरीकै भंगाहका युवा हुन् । कैलास भारतको चेन्नइमा ज्यालादारी गरेर जीवन चलाइरहेका छन् । त्यहाँ कैलाशजस्तै ग्रामिण श्रमिकको ठूलो संख्या भारततिर छ । ती अधिकांश भारततिरै हुन्छन् । ज्यालादारी श्रमिकको कुनै औपचारिक छुट्टी हुँदैन । त्यसैले उनीहरू बेलाबेला पैसा पुर्याउन घर आउँछन् ।

अध्ययनपुरीमा भेटिएका खुशराम सदाले पनि ठीक यस्तै कुरा गरेका थिए । उनीहरूको एउटा समूह अहिले जालन्धरमा काम गर्छ । ती ३ दिनअघि मात्रै घर आएका थिए । केही दिनमा घर बस्ने न्यास्रो मेटिएपछि फेरि फर्किने निश्चित थियो । ‘यता सबैको यस्तै हो । देशका काम छैन, इन्डिया नै जाने हो । कहिले आउने, कहिले जाने कुनै टुंगो हुँदैन । मन लागुन्जेल बस्ने, मन लागे जाने, कब आया, कब गया,’ खुशरामले सुनाए ।

कैलाशले चिन्तन शिविरमा भने, ‘सबैको कुरा लड्नु पर्छ, संघर्ष गर्नु पर्छ भन्ने हुन्छ । आज सरकारमा पुगेका पार्टीका मान्छे पनि हिँजो त्यही भन्थे । लड्न त लड्ने, तर कोसँग कहिलेसम्म लड्ने ? लडेपछि प्राप्त हुने के हो ? उल्टै काम गरी खाने समय नाश हुने हो कि ? लड्न, संघर्ष गर्न, डराएको होइन, तर अब लडाइको नयाँ योजना हुनुपर्‍यो । अन्त्योदय आन्दोलन शिविरबाट त्यस्तो योजना बन्नु पर्‍यो ।’

सीतादेवी राम सुनसरीको भोक्राहा–नर्सिङबाट शिविरमा आएकी थिइन् । उनलाई लाग्छ, ‘यो देशमा खुट्टा तान्ने नेता धेरै भए, तर हात समातेर माथि तान्ने भएनन् । चुनाव र आन्दोलनका बेला सबैले राम्रै कुरा भन्छन्, तर पछि सबै एक से एक झोले, दोग्ला, चम्चा, धोकेबाज निस्कन्छन् । हरेक आन्दोलनपछि नेतालाई फाइदा हुन्छ । आन्दोलनकारीलाई धोका हुन्छ । कसलाई विश्वास गर्ने ?’

गीताकुमारी महरा सिरहाबाट कार्यक्रममा आएकी थिइन् । उनलाई देशको ‘निर्वाचन प्रणाली’ सबैभन्दा खराब छ भन्ने लाग्छ । उनी भन्छिन्, ‘यति धेरै पैसा खर्च हुने चुनाव गरिब र दलितले कसरी लड्न सक्छन् ? एक त कथित शक्तिशाली भनिएका पार्टीहरूले टिकट नै दिँदैनन् । कथाचित टिकट दिए चुनावमा खर्च गर्ने पैसा नै हुँदैन । त्योसँग पैसा छैन, त्यसैले जित्दैन भनेर अगाडि नै रोकिन्छ । अब पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानु पर्छ ।’

तर, अहिलेको मिश्रित निर्वाचन प्रणालीको समानुपातिकतर्फका सांसद पनि ‘चेहरा’ मात्र बनेको, ‘आवाज’ बन्न नसेकेको गुनासो शिविरमा सुनियो । दलितको अनुहार त अहिले पनि संसद्‌मा छ तर, आवाज छैन । दलहरूले ‘ह्वीप’ लगाएर आवाजको दमन गरेका छन् ।

शिविरमा ‘अन्त्योदय आन्दोलन’ को दाबी के हुनु पर्छ भन्ने चर्चा भयो । शिविरको अन्त्यतिर १० बुँदे दाबी–पत्र पारित भयो । १० बुँदे दाबी पत्रमा नागरिकता, रासन कार्ड, भूस्वामित्व, आवास योजना, शिक्षा, स्वास्थ्यदेखि ‘क्षमा दिवस’ सम्मको कुरा छ ।

काठमाडौंका शासक वर्गले बारम्बार गफ लगाउने जनता बस्ती कार्यक्रमलाई त्यहाँ ‘नीलो टिनवाला घर’ भनिँदोरहेछ । त्यस्ता घरको गुणस्तर असाध्यै निम्न कोटीको भएको गुनासो सुनिन्थ्यो । बाटो, ढलनिकास, पर्याप्त स्पेश र खानेपानी सुविधा बिनाका ‘टिनबाला झोपडी’ बनाएर आवास समस्या हल नहुने उनीहरूको तर्क थियो ।

शिविरको अन्त्यतिर सहभागीले कैलाश महतोको संयोजकत्वमा ९ सदस्सीय ‘अन्त्योदय आन्दोलन’ परिचालन समिति बनाए । महतो मधेश आन्दोलनका एक हस्ती थिए । अहिले उनी कथित मुलधार मधेशकेन्द्रित दलको राजनीतिबाट बाहिर छन् । आफ्नो भिन्नै स्वाधिन मधेश जनअभियान सञ्चालन गरिरहेका छन् ।

महतोले अन्त्योदय आन्दोलन कसरी सञ्चालन हुनेछ भनेर केही योजना प्रस्तुत गरे । उनको भनाइमा प्रत्येक जिल्लामा ५० भन्दा बढी अभियानकर्ता निर्माण, मधेश र देशभरि बढीभन्दा बढी ‘बस्ती सभा’ गरिने छ । महतो भन्छन्, ‘हामी मधेश र देशका सबै दलित तथा समाजमा अन्तिम तप्कामा रहेका नागरिकको बस्तीमा १० बुँदे दाबी–पत्र पुर्याउछौँ । यसले एउटा ठूलो आन्दोलनको तयार गर्ने छ भन्ने हाम्रो विश्वास छ ।’

लोहारपट्टी चिन्तन शिविरको अन्तिम दिन बलुबा नगरपालिकाको अध्ययनपुरीमा समुदायस्तरको अन्तरक्रिया कार्यक्रम भएको थियो । अन्तरक्रियामा लोकतन्त्रपछि पनि दलित समुदायको उन्नतिको आशा गर्न सकिने ठाउँ नभएको गुनासो सुनिन्थे ।

टोलका अधिकांश बालबच्चा धुले सडकमा धुस्रैफुस्रै खेलिरहेका थिए । ती स्कुल गएका थिएनन् । टोलको नाम अध्ययनपुरी, तर अधिकांश बच्चा अध्ययन गरिरहेका थिएनन् ।

बस्तीका कमलेश सदाले भने, ‘मुसहर, चमार र डोमको मात्रै कुरा होइन, समाजको अन्तिममा परेको सबै समुदायको वर्गले अब अवसर पाउनु पर्छ । राज्य र सरकार यो उत्तरदायित्वबाट भागिरहेको छ ।’

चिन्तन शिविर र समुदायसँगको अन्तरक्रियामा काठमाडौं, वीरगञ्ज र जनकपुरबाट बोलाइएका केही लेखक, स्तम्भकार र अभियानकर्मीसमेत सामेल थिए ।

शिविरमा व्यक्त विचार, सवाल र योजनामाथि डा. रजत मिश्र, विकास ठाकुर, केशव दाहाल, प्रशान्त सिंह, डम्बर खतिवडा, गोबिन्द गुप्ता, जावेद इकवाल हैदर आदिले परामर्श गरे ।

‘नागरिक प्रथम’ का प्रवक्ता प्रशान्त सिंहले भने, ‘अन्त्योदय बिना सर्वोदय सम्भव छैन भन्ने गहिरो अनुभूति भएर नै हामी यो चिन्तन शिविरमा भाग लिन आएका हौँ । अब तपाइहरू यो राज्यको ‘सरोकारवाला’ होइन, ‘साझेदार’ बन्नु पर्छ । दलित समुदाय अब यो देशको ‘स्टेकहोल्डर’ होइन ‘शेयरहोल्डर’ बन्नु पर्छ । ‘अन्त्योदय आन्दोलन’ ले ‘ग्याप’लाई पूरा गर्ने विश्वास लिएको छु ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register