मुस्ताङ, अहो ! मुस्ताङ – ३

समतल छत, छतमाथि दाउरा । घासादेखि कोरलासम्मै ‘तल्लो मुस्ताङ’ र ‘उपल्लो मुस्ताङ’का परम्परागत मुस्ताङे घरहरूको बनौट उस्तै–उस्तै छ । पानी तर्काउने करालो छानोको सट्टा समतल छत भएका घरहरू निर्माण गर्ने संस्कृति सम्भवतः ‘बृष्टि छाया’ बाट सिर्जित भएको हुनुपर्छ । तराई–पहाडमा जस्तो मुसलधारे वर्षा हुने हो भने यस्तो प्रकारका छानाले कसरी थाम्न सक्थे होलान् र ? […]

May 24, 2025 - 08:02
 0
मुस्ताङ, अहो ! मुस्ताङ – ३

समतल छत, छतमाथि दाउरा । घासादेखि कोरलासम्मै ‘तल्लो मुस्ताङ’ र ‘उपल्लो मुस्ताङ’का परम्परागत मुस्ताङे घरहरूको बनौट उस्तै–उस्तै छ । पानी तर्काउने करालो छानोको सट्टा समतल छत भएका घरहरू निर्माण गर्ने संस्कृति सम्भवतः ‘बृष्टि छाया’ बाट सिर्जित भएको हुनुपर्छ । तराई–पहाडमा जस्तो मुसलधारे वर्षा हुने हो भने यस्तो प्रकारका छानाले कसरी थाम्न सक्थे होलान् र ?

कमेरो माटो खाँदेर लिपपोत गरी प्लाष्टर गरेजस्तो बनाएका घरको छतमै बाली सुकाउने, कुट्ने र थन्काउने गरिन्छ । घरको छतमा कलात्मक ढंगले राखिएका दाउराको चाङ सम्पन्नताको प्रतिक मानिँदो रहेछ । जुन घरको छतमा जति धेरै दाउरा, त्यति नै सम्पन्न, ठूलो र धनीको घर । धन जे जति भए पनि ‘सामाजिक सम्भ्रान्त’ । कुनैकुनै घरको छाना किनारमा त दाउरा यस्ता देखिन्छन् मानौँ कि ती शताब्दिऔं पुराना हुन् । मानौँ ती दाउरा मात्रै दाउरा होइनन्, पुरातात्विक महत्वका चीज हुन् जस्ता ।

अझ रोचक– घरको भान्छा कोठामाथि छतमा एक प्वाल राखिएको हुन्छ । दिउँसो त्यसबाट छिरेको प्रकाशले भान्सा कोठालाई उज्यालो दिन्छ । पानी परे वा हावा चले जस्तापाता, चेप्टो ढुंगा वा बोराले प्वाललाई टालिन्छ । यहाँसम्म कि लोमान्थाङको चार तले दरबार पनि यही शैलीमा बनेको छ ।

जोमसोम र मुक्तिनाथ वरिपरिका नयाँ निर्मितबाहेक मुस्ताङका शतप्रतिशत घर यस्तै छन् । तर, सडक बाटो र आधुनिकतासँगै यो भवन शैली कति टिक्ने हो वा हैन– भन्न सकिन्न ।

के मुस्ताङे घरको शैली अझै लामो टिक्न सक्ला ?

कागबेनीबाट मुक्तिनाथ र लोमान्थाङ जाने बाटो छुट्टिन्छ । हामीले फर्किँदा मात्र मुक्तिनाथ पस्ने निधो गर्यौँ र कालिगण्डकीको किनारैकिनार सिधै अगाडि हान्नियौँ ।

कहाँबाट सुरु हुन्छ होला यो कालिण्डकी ? बढो गज्जबको नदी रहेछ यो, हिमालतिर फराकिला बगर, पहाडतिर साँघुरा गहिरा खोँच । कसैले भन्यो– कालिगण्डकी दामोदर कुन्डमाथिको करिब ६००० मिटर उच्चाइको एक हिमनदीबाट सुरु हुन्छ । लोमान्थाङ क्षेत्रसम्म यसलाई गाउँअनुसार ‘छुअमा’, ‘निचुङ’ वा ‘चोरो’ खोला भनिँदो रहेछ । त्यसमुनि मात्र कालिगण्डकी । पहाडमा साँघुरिएर बग्ने यो नदी हिमालमा फराकिला बगर बनाएर रहरलाग्दो शैलीमा झर्दो रहेछ ।

यिनै बगरमा खोजिरहेका हुन्छन् मान्छे– शालिग्राम । शालिग्राम स्थानीय अर्थतन्त्रको एउटा आधार रहेछ मुस्ताङमा । त्यसो त सिजनमा यार्सागुम्बा संकलन पनि हुन्छ ।

रुप्से झरनामुनि कालिगण्डकी संसारकै गहिरा गल्छी बनाएर बग्दै थियो । छोक्ताङ खर्कदेखि बगरहरू फैलिएका देखिए । कालिगण्डकीमा स्थायी पुल बनाएर साध्यै नहुने । यति फराकिला बगरमा कहाँकहाँँ मात्र कति वटा पुल बनाउने ? वल्लोगाउँ पल्लो गाउँ गर्न अस्थायी फड्के साँघु वा पुलेसा गाउँलेले आफै बनाउँदा रहेछन् । सामाजिक कार्य र श्रमदानको एक ठूलो ‘इभेन्ट’ बन्ने रहेछ फड्के साँघु ।

बाटोमा ‘एक्ले भट्टी’ भन्ने ठाउँ भेटियो– ‘अपर डोल्पा’बाट आएको बाटो यहाँ जोडिँदो रहेछ । म मध्यपहाडीजस्तै पूर्व–पश्चिम ‘हिमाली राजमार्ग’ को पक्षधर मान्छे । धेरैले अझै हिमालमा पूर्व–पश्चिम राजमार्ग बनाउन हुँदैन, उत्तर–दक्षिण भए पुग्छ भनिरहेका छन् ।

ठीक यस्तै धारणा २ दशक अघिसम्म मध्यपहाडी राजमार्गबारे पनि थियो । २०५७ सालतिर काठमाडौंमा भएको एक गोष्ठी मलाई बारम्बार याद आउँछ । त्यसको शीर्षक थियो– भौगोलिक विकटता र माओवादी जनयुद्धको सम्बन्ध । मैले एक सहभागीका रूपमा देशमा ४ वटा पूर्वपश्चिम राजमार्ग चाहिन्छ भन्दा गोष्ठीका सहभागी ठूला पदका मान्छेहरू नै हाँसेका थिए । त्यतिखेरसम्म देशमा एउटा मात्र पूर्व–पश्चिम राजमार्ग थियो ।

२०६३ पछि यो धारणामा ठूलो परिवर्तन आयो । हुलाकी, मध्यपहाडी राजमार्ग बने । त्यतिखेर कल्पना नगरिएको चुरे राजमार्ग थपियो । अब छार्का र मुस्ताङ भोट सडकमार्गबाट जोडिएको छ । कुनै दिन यो ‘हिमाली राजमार्ग’ को खण्ड बन्ने छ भन्ने सोचेर मनमनै खुसी भएँ । यसरी नै कुनै दिन थोराङ र लार्के पास छिचोलिएला, यो क्षेत्रको हिमाली यात्रा सहज होला भन्ने कल्पनाले रोमाञ्चित भए । चुमम्यालीदेखि छार्का भोटसम्म पूर्व–पश्चिम यात्रा गर्नु मेरा अधुरा सपनामध्ये एक हो ।

कागबेनीबाट केही माथि उक्लिने बित्तिकै तलाङका झाडी र जंगली गुलाफका भुइँपोथ्रा गुंगरिएको कपाल भएको टाउकोजस्तो देखिने पहाडको क्षेत्र सुरु हुन्छ । यो क्षेत्रमा न सल्लाका रुख छन् न धुपी सल्लाका बोट । ‘भोटे पिपल’ भनिने बनस्पति पनि बिरलै देखिन्छ ।

रोशनजी भन्छन्– गाउँमा एलपी ग्यास र बिजुली आउनुअघि तलाङका पोथ्रा को ठूलो महत्व थियो । अन्यत्र मान्छे बञ्चरो बोकेर दाउरा काट्न जान्थे । यहाँ कोदाली बोकेर दाउरा खन्न निस्कन्थे । खनेर निकालेका तलाङका जरा सुकाएर बाल्थे ।

मुस्ताङ, अहो मुस्ताङ ! 

000

१९७२ देखि सन् १९९२ सम्म यो क्षेत्रमा विदेशीलाई यात्रा गर्न पूर्णतः निषेध थियो । कारण थियो– खाम्पा विद्रोह । मुस्ताङका गाउँमा सन् १९६० को दशकमा ६ हजारभन्दा बढी खाम्पा लडाकु छरिएर बस्ने गरेको स्थानीयहरू अहिले पनि स्मरण गर्छन् । उनीहरूको सबैभन्दा ठूलो शिविर छैरो गाउँको कैसाङ थियो । लोमान्थाङ वरिपरिका गाउँमा करिब ३ हजार लडाकु थिए ।

खानका लागि अन्नपातको अभाव हुने मुस्ताङे गाउँमा खम्पा लडाकु गाउँलेका लागि ठूलो बोझ साबित भएका थिए । मुस्ताङमा सडक पुगेर अहिले आम नागरिकलाई सबैभन्दा फाइदा भनकै– अब सरकारी अनुदानको १०–२० पाथी चामल पर्खेर बस्नु पर्दैन ।

भलै यातायात खर्चका कारण केही महँगो पर्छ, तर देशका अरु भागमा जस्तै बजार छ । बजारमा आम रूपले पाइने समाना अब मुस्ताङका गाउँमा पनि पाइन्छन् । यसले स्थानीयतालाई कमजोर अवश्य बनाउला, तर अन्न अभाव, अनिकाल र कुपोषणभन्दा स्थानीयताको रक्षा पक्कै ठूला समस्या होइन । मान्छे बाँच्यो भने सभ्यता र संस्कृति पनि बाँच्ला !

त्यो बेला खम्पा विद्रोहीसँग सिआईएले दिएको बन्दुक र पैसा त हुन्थ्यो । तर, भोजन र आवासका लागि ती गाउँलेमाथि निर्भर थिए । गाउँलेका अन्नपात, चौरी, भेडा, च्याङग्रा खाइदिन्थे । बुढापाकाको कुरो सुन्दा– खाम्पा विद्रोही र मुस्ताङे स्थानीय बीचको सम्बन्ध राम्रो थिएन ।

अमेरिकामा जब हेनरी किसिञ्जर कूटनीतिको युग आयो, त्यसपछि मुस्ताङको राजनीति उलटफेर भयो । सन् १९७१ को जुलाईमा किसिञ्जर गोप्य रूपमा ‘पेकिङ’ पुगेर चीन–अमेरिका सम्बन्धलाई नयाँ मोड दिए । सन् १९७२ मा राष्ट्रपति रिचार्ड निक्सनले माओ त्से तुङलाई भेटे ।

चीनले संयुक्त राष्ट्र संघको भिटो मान्यता पायो । सीआईएले खाम्पा मामिलाबाट हात झिक्यो । चीनले नेपाललाई दबाब दिएपछि राजा वीरेन्द्र खाम्पा बिद्रोहीविरुद्ध सेना परिचालन गर्न बाध्य भए । यसरी खाम्पा विद्रोहीको दूर्भाग्यपूर्ण पतन भयो । एक जमानामा यी हिमाली क्षेत्रका एकदमै बलिया राजनीतिक तथा विद्रोही सैन्य शक्ति मानिन्थे ।

कैसाङ शिविरबाट घोडा चडेर छार्का र मुगुको बाटो हुँदै भागेका खम्पा नेता वाङ्दी दार्चुलामा मारिए । उनी भारततिर भाग्न चाहन्थे । रणनीतिक महत्वका साना क्षेत्रमा विश्व राजनीतिक शक्ति सन्तुलनको प्रभाव कसरी पर्छ भन्ने राम्रो उदाहरण हो– मुस्ताङ र खम्पा विद्रोह ।

यही कारण हो कि प्रशान्तजी राजा महेन्द्रको तानाशाहीलाई अमेरिकामा ‘आइजेनआवर’ युगको नेपाल प्रभाव मान्दछन् । राष्ट्रवादी भनिएका राजा महेन्द्रले कालापानी क्षेत्रमा भारतीय सेना बस्न दिनु, नक्साको चुच्चो काट्न लगाउनु र खम्पा विद्रोहीलाई सीआईएले सहयोग गर्दा आँखा चिम्लिनु तत्कालीन विश्व शक्ति सन्तुलन र भूराजनीतिक प्रभावका चरम उदाहरण थिए ।

यसरी बन्द भएको ‘उपल्लो मुस्ताङ’ पञ्चायती व्यवस्थाको अन्त्यपछि बल्ल खुल्यो । संसारकै दुर्गम क्षेत्रजस्तो भएर बसेको उपल्लो मुस्ताङले विदेशी पर्यटकको आगमनमार्फत् ‘विश्व पहुँच’ प्राप्त गर्न थाले । पर्यटकको कारण स्थानीयको आर्थिक जीवनमा भिन्नता आयो ।

तर, अहिले पनि विदेशी पर्यटक कोरला नाकाभन्दा करिब १५ किमी तलको छोसेर क्षेत्रसम्म मात्र जान पाउँछन् । यसको कारण भने ‘चीनको खम्पा भय’ नै हो । विश्व राजनीति र शक्ति सन्तुलनमा यति धेरै परिवर्तन आइसक्दा पनि चीन तिब्बतलाई अझै संवेदनशील मामिला मान्दछ ।

000

ताङ्बे गाउँ पुग्दा न पुग्दा मुस्ताङे भूपरिदृष्य पूर्णत ‘हिमाली मरुभूमि’ भइसक्छ । मुस्ताङको सबैभन्दा अनौठो पाटो नै यस्को भूबनौट हो । जताततै बुद्ध आकृति खोपिएझैँ लाग्ने कलात्मक पिरामिडजस्ता राता वा सिन्दुरे रङका चट्टान र रातो बलौटे पहाडहरू । कतै खरानी रङका फुस्रा पहाड र हिमाली मैदान । हरियाली त कतैकतै स–साना टुक्राजस्ता भेटिन्छन् ।

ताङबे पुग्दा हुर्हुरी हावा चल्न थालिसेको थियो । गाडी बाहिरको तापक्रम ८ डिग्री सेल्सियस । ताङ्बेको निर्जन डाँडामा ढुंगाको पर्खालले छेकेको एक फराकिलो क्षेत्र देख्यौँ । के रहेछ भन्ने जिज्ञासाले गाडी रोकेर हेर्यौँ । नयाँ स्याउ बगैँचा बनाउने प्रयत्न भइरहेको रहेछ । स्याउ खेती अब मार्फा र जोमसोम वरिपरि मात्र होइन, माथि–माथिसम्म फैल्याउने प्रयास भइरहेको रहेछ ।

मुस्ताङ जिल्लाको एक अर्को रोचक तथ्याङ्क छ । जिल्लाको ३,५७३ वर्गकिमी क्षेत्रफलमध्ये जम्मा ९२ वर्गकिमी क्षेत्रफल मात्र नापी र लालपुर्जा वितरण भएको निजी जमिन छ । बाँकी सिङ्गो जिल्ला सरकारी जमिन हो । यस अर्थमा पनि मुस्ताङको भविष्य धेरै हदसम्म काठमाडौंको सत्ताको हातमा छ । चाहेर पनि त्यहाँ स्थानीय बासिन्दा र निजी क्षेत्रले धेरै चिज गर्न सक्दैनन् । अझै पनि मुस्ताङ एक प्रकारले ‘अवरोधित क्षेत्र’ नै हो ।

कुरैकुरामा हामीले एउटा अनुमान लगायौँ– मुस्ताङका सम्भावनाको सही उपयोग हुने हो भने देशको कुल जीडीपीको १० प्रतिशत योगदान एउटा यही जिल्लाले गर्न सक्ने रहेछ । रोशनजीलाई लाग्छ– मुस्ताङको कुल पर्यटकीय सम्भावनाको २० प्रतिशत पनि अहिलेसम्म उपयोग भएको छैन ।

बाटोमा चैले, चराङ, समर, स्याङ्बोचे आदि गाउँ भेटिए । स्याङबोचेमा हामीले जाँदा नास्ता खायौँ, फर्किँदा समरमा दालभात । तर, चराङको कथा भने अलिक बढी महत्वपूर्ण छ । यहीँबाट दामोदर कुण्ड जाने बाटो छुट्टिन्छ । यो बाटोमा ५६०० मिटर माथिका अग्ला भञ्ज्याङ भेटिन्छन् रे ! सुन्दै डर लाग्यो । दामोदर कुण्डको यात्रा निक्कै जोखिमपूर्ण हुने रहेछ ।

हामी भने अहिलेसम्म ४ हजार मिटर मुनि नै थियौँ । लोमान्थाङ करिब ३८०० मिटर उच्चाइमा छ । कोरला पुग्दा मात्र हो–४ हजार ६०० मिटर छोएको ।

१३औं शताब्दीमा तत्कालीन तिब्बती राज्यको प्रशासक बनेर छोरेङ त्सोङ गोम्पो नामका एक बुद्धिस्ट सन्त चराङ आएका थिए । उनी तिब्बती राज्यको तर्फबाट ‘ल्हो’ क्षेत्रको शासन प्रशासन हेर्थे । कर उठाएर तिब्बत पठाउँथे । उनैका नाति थिए– आमे पल । जो लोमान्थाङ राज्यका संस्थापक बने ।

आमे पल किशोर उमेरमा भेडा गोठालो गर्थे । एक दिन उनका भेडाको बथान चराङ गाउँ वरिपरिको चरनबाट हरायो । खोज्दै जाँदा उनले लोमान्थाङको उपत्यकामा आफ्ना भेडाको बथान चरिरहेको देखे । लोमान्थाङ उपत्यका देख्नेबित्तिकै उनको मनमा आयो– यहाँ राजधानी राखेर एउटा भिन्नै राज्य बनाउँछु ।

त्यसपछि उनले हजुरबा र बुवासँग विद्रोह गरे । चराङ क्षेत्रबाट उठेको कर तिब्बत पठाउन नदिएर त्यही स्रोतले भिन्नै ‘ल्हो सेना’ बनाए । उनै आमे पलले सन् १३८० मा पूर्वमा चुमनुम्री र पश्चिमा हुर्कोट उत्तरमा तिब्बतको सीमाना र दक्षिणमा म्याग्दीको तातोपानीसम्म सीमा भएको हिमाली राज्य बनाए । त्यसको राजधानी लोमान्थाङमा राखियो । त्यहाँ उनले मुस्ताङे जनताले घर बनाउने शैलीकै ४ तले विशाल ढुंगे दरबार बनाए ।

१८औं शताब्दिमा पश्चिमी राज्य जुम्लाले लोमान्थाङलाई जित्यो । सन् १८४६ मा रणबहादुर शाहको पालमा नेपालले जुम्ला जित्यो र सँगसँगै लोमान्थाङ पनि नेपालको भूभाग भयो ।

भनिन्छ– मुक्तिनाथ नजिकको झारकोट गाउँमा रणबहादुर शाह र तत्कालीन ‘ल्हो’ राजा वाङदेल दोर्जीबीच भेट भएको थियो  । यो भेटमा दोर्जीलाई नेपाली सेनाको कर्णेल पद र सुविधा दिने सहमति भयो । लोमान्थाङले काठमाडौंको सार्वभौमसत्ता स्वीकार गर्यो । २०६३ सालको जन–आन्दोलन अघिसम्म यो प्रचलन छँदै थियो ।

जिग्मे दोर्जी परबर विष्ट लोमान्थाङका अन्तिम राजा थिए । उनी नेपाली सेनाको मानार्थ कर्णेल मानिन्थे । उनका छोरा जिङ्मे सिंगी परवर विष्ट लामो समय अमेरिका बसेर अहिले गाउँ फर्किएका छन् रे ! ‘ल्हो’ मै होटल चलाएर बसेका छन् रे ! उनको नेपाली नाम भने अशोककुमार विष्ट हो रे !

अहिले ‘ल्हो’ लाई ‘लो’ मात्र उच्चारण गर्न थालिएको छ । खासमा ‘ल्हो’ राजा र जनता जसले आफूलाई ‘लोवा’ भन्छन् उनीहरुले विष्ट थर लेख्न थालेको भने वि.स. २०२२ सालदेखि महेन्द्रको पालामा मात्र रहेछ । ‘लोवा’ हरू ‘विष्ट’ लाई महेन्द्र शाहले ‘क्षेत्री’ र ‘नेपालीकरण’ गर्न दिएको ‘सम्मानजक थर’ मान्दा रहेछन् ।

मुस्ताङ, अहो ! मुस्ताङ –२ 

000

वैशाख १७ गते साँझ हामी लोमान्थाङ पुग्दा लामो यात्राले लखतरान भएका थियौँ । लोमान्थाङ उपत्यका करिब ३८०० मिटर उचाइमा छ । मलाई हल्का लेक लागेको अनुभूति भयो । मुमारामजीलाई पनि त्यस्तै भएछ । तर, साथीहरूको मनोविज्ञान नबिग्रियोस भनेर समूहमा भनिन । तापक्रम ४ डिग्रीमा झरेको थियो । जाडोले जिउ काप्दै थियो । खान र सुत्नकै हतार भयो ।

१८ गते बिहानै लोमान्थाङमा आकास राम्ररी खुलेको, तर चिसो हावा चलिरहेको थियो । होटल गेटबाहिर उभिएर जीवनमा कहिल्यै नदेखेको ‘हिमाली मरुभूमि’ हेरियो । वरिपरि जताततै राता, फुस्रा र कमेरे डाँडाहरू । धुलैधुलोको संसारजस्तो । लाग्थ्यो– हामी अर्कै धर्ती, अर्कै संसारमा आएका छौँ । आफ्नै देशको भूभागको यो विचित्र भिन्नता जीवनकै अनौठो अनुभवजस्तो लाग्दै थियो । लाग्थ्यो– हामी काठमाडौं र बाँकी देशभन्दा बाहिर अर्कै ग्रहमा त छैनौँ ?

जोमसोममा जस्तै कोरलामा १२ बजेपछि चीसो हावा चल्ला भन्ने डरले हामी बिहान छिट्टै उठेर हिड्यौँ । लोमान्थाङदेखि कोरलासम्म करिब २४ किमी बाटो पठारै पठार । ४ हजार मिटर उचाइमा मधेशको समतल भूभागमा राम्रो गाभ्रेल बाटोमा मोटर कुदाएजस्तो अनुभूति ।

बीचमा ठिंगर र नेचुङ क्षेत्र । नेचुङ जहाँ नेपालको अन्तिम चेकपोस्ट र भन्सार कार्यालय छ । ठिंगरका फराकिला र निर्जन फाँटहरू देख्दा लाग्यो– यहाँ एक विशाल हिमाली शहर बनाए पुग्ने जमिन रहेछ । यहाँ मैले जीवनमा पहिलोपटक चरन गएका च्याङग्राका हुलहरू देखेँ । च्याङग्राका पाठापाठीहरूको हुल झनै दुर्लभ दृश्य बन्यो ।

पठार उक्लेपछि बल्ल बुझियो–‘हिमालपारि’ जानुको अर्थ । धौलागिरि, निलगिरि, अन्नपूर्ण आदि हिमाल अब उत्तरको साटो दक्षिणका देखिए र होचाजस्ता पनि ।

कोरलामा आफ्नोतिर चीनले कति छिटो ससानो सहर बसाइ सकेछ । करिब दुई/अढाई वर्षको करामत हो रे यो । त्यसअघि दुवैतिर उस्तै निर्जन पठार थिए । चेकपोस्ट मात्र थियो । चीनतिरको पठारमा ठूलठूला ट्रक कुद्दै गरेका देखिन्थे ।

नेपालतिर भने अध्यागमनको ताला लागेको ‘प्रि–फेब्रिकेटिङ’ घर र १५ वटा जति निजी टेन्ट । गाडी रोकेर उत्रिने बित्तिकै ‘लोवा’ युवतीको एक समूह हाम्रोनजिक आएर भन्न थाल्यो–‘तपाईँहरूको गाडी हाम्रो भागमा पर्यो ।’

नेपालतर्फ टेन्टमा व्यापार गर्नेहरूले कोरला आउने प्रत्येक गाडीलाई आलोपालो भाग लगाएर ग्राहक बाँड्ने नियम बनाएका रहेछन । तीन युवती र एक युवा थिए । दुईको नाम सम्झिएँ– दावा र फुटी । ती सबैले पोखराबाट ‘प्लस टू’ पास गरेर पढाइ छोडेका थिए । भविष्यमा केही होला भन्ने आशाले टेन्टमा करिब एक वर्षयता व्यापार गर्दै थिए ।

यी तिब्बती लबजमा नेपाली बोल्थे । सुन्न खुबै मज्जा आउँथ्यो । हामी अल्मलिएको देखेर तिनले भने– ‘कुनै कर छैन, मन लागे किन्नु होला नलागे नकिन्नु होला । हाम्रो टेन्ट चाहिँ यो हो ।’ हामी उनीहरूकै टेन्टमा गयौँ । सामथ्र्यअनुरुप मन लागेका केही उपहार किन्यौँ । तिब्बती गीतको धुनमा उनीहरूसँगै एकछिन नाच्यौँ । इच्छाअनुसार चिया वा कफी खाएर फर्कियौँ ।

000

कोरलाबाट फर्के पनि हाम्रा लागि अझै तीनवटा गन्तव्य बाँकी नै थिए । छोसेर गुफा क्षेत्र, लोमान्थाङ दरबार र मुक्तिनाथ दर्शन ।

रातो चट्टानको पहाडमा गुफाभित्र गुम्बा । पहाडलाई नै भवनजस्तो बनाएर झ्याल हालिएको लो निफु गुम्बा र सिजा जोङ गुफा दुर्लभ लाग्यो ।

लोमान्थाङ दरबारको नाम ‘टाँस्सी ध्याफेल’ रहेछ । यसको अर्थ हुने रहेछ– भाग्यमानी दरबार । तर अहिले यो दरबार दूर्भाग्यग्रसित छ । यति जीर्ण भइसकेको छ कि संरक्षण नहुने हो भने केही वर्षमै भत्किन बेर छैन ।

लोमान्थाङलाई ‘पर्खाल बाहिर कि भित्र’ भनिँदो रहेछ । हामी बास बसेको होटल पर्खालबाहिर थियो । पर्खालभित्रको अर्थ हो– दरबारसँग जोडिएको प्राचीन सहर । अनौठो कुरा– पर्खालभित्रै दरबारसँग जोडेर करिब २०० परिवार भाइभारदार बस्न सक्ने गरी किल्ला बनाइएको छ । थुप्रै परिवार अहिले असुविधाले पर्खाल बाहिर घर बनाएर सरिसके । अझै केही परिवार भित्रै छन् ।

‘लोवा’ नागरिकको मुख्य पर्व ‘तिजी’ हो । जसको अर्थ– ‘विश्वशान्ति पूजा’ हुन्छ । यो पर्व मे महिनाको अन्तिम हप्तातिर पर्छ । तिजी उत्सव हुने ढुंगे आँगन दरबारकै मूल ढोका अगाडि पर्खालभित्रै छ । पर्खालभित्रै तीन ठूला गुम्बाहरू छन् । थुक्चेन, जम्बा र छोदेन गुम्बा । हामी यी गुम्बा हेर्न गयौँ, तर तीनवटै बन्द थिए । साँझ ५ बजेतिर मात्र खुल्ले नियम रहेछ ।

दिनभरि ‘लो’ राज्यको राजधानी सहर ‘लोमान्थाङ’ घुमेर त्यो दिन पनि हामी त्यहीँ बस्यौँ । आम्ची ग्याल्चो विष्ट– सहरका प्रतिष्ठित नागरिक रहेछन् । उनी ‘राज वैद्य’ भनेजस्तो लोमान्थाङ दरबारका ‘राज आम्ची’ रहेछन् । त्यो पनि पुस्तौनी । उनकी दुई छोरी पालिका उपप्रमुख निर्वाचित भइसके । अघिल्लो चुनावमा कान्छी छोरीले उपाध्यक्ष जितेकी थिइन् । अहिले उनी अमेरिका बस्छिन् । अहिले जेठी छोरीले जितेकी छन् । यसलाई उनी आफ्नो पुस्तौनी प्रभाव मान्छन् ।

‘राज आम्ची’ ग्याल्चो विष्ट पर्खालबाहिर घर बनाएर बस्न थालेका छन् । पर्खालभित्र बस्न अब धेरै असुविधा भइसकेको उनको ठहर छ । पानी, बिजुली र ढलको मुख्य समस्या छ । भवन जीर्ण हुँदै गएका छन् । लोमान्थाङको इतिहास, संस्कृति, जनजीवन र राजनीतिबारे उनीबाट हामीले झण्डै दुई घण्टा कुरा सुन्यौँ ।

उनी भन्छन्, ‘लोवा’हरू धेरै बाहिर बस्ने भइसके । दरबारको पर्खालबाहिर मात्र होइन, लोमान्थाङबाहिर काठमाडौंमै १०० परिवार होलान् । विदेश उत्तिकै गएका छन् । मेरै छोरी अमेरिका छिन् ।’

‘गणतान्त्रिक सरकार’हरूले लोमान्थाङको विकास, सम्पदा र संस्कृति संरक्षणमा राम्रो ध्यान नदिएको उनको गुनासो छ । सरकारले ‘आम्ची उपचार’लाई मान्यता नदिएको भनेर पनि उनी रुष्ट थिए । ‘आयुर्वेद’लाई मान्यता दिने ‘आम्ची’लाई किन नदिने भन्ने उनको प्रश्न थियो । उनी ‘हिमालयन आम्ची एशोसिएसन’ नामक अन्तर्राष्ट्रिय संस्थाका राष्ट्रिय अध्यक्ष रहेछन् ।

लोमान्थाङका ‘लोवा’ माला जप्दै बजार घुमिरहेका देखिन्थे । दिउँसो अधिकांश घरका ढोकामा ताला लागेका थिए । ती दिनभरि दरबारभित्रको कुनै चोकमा भेला भएर ऊन कात्दै घाम ताप्दा रहेछन् । अभिवादनका लागि ‘टाँसी देलेक’ र ‘नमस्कार’ बराबर प्रयोग गर्थे ।

लोमान्थाङमा होटलको संख्या निरन्तर बढ्दो छ । तर, सरकार र एक्यापले विदेशी पर्यटकमाथि चर्को प्रवेश शुल्क लगाएको आक्रोश यहाँ पनि उस्तै छ । हामी बसेको सांग्रिला होटलकी युवती यार्चुङ विष्ट भन्छिन्, ‘सरकारले प्रवेश शुल्क धेरै लगाएपछि उहाँहरूसँग यहाँ आएर खर्च गर्ने पैसा नै थोरै हुन्छ । त्यही भएर विदेशी पर्यटकको संख्या घट्दै गइरहेको छ । बरु नेपाली नै बढ्दै गएको छ ।’

भोलिपल्ट बिहानै उवाको सातु खाएर हामीले लोमान्थाङ छोड्यौँ । सातुलाई ‘त्साम्पा’ भनिँदो रहेछ । मैले बारम्बार ‘चम्पा’ भनेजस्तो सुने । १० दिन लाग्ला सोचेको यात्रा आठ दिनमै पूरा भयो । फर्किँदा मुक्तिनाथ दर्शन गरेर ‘लेते’ बस्यौँ । यसरी हाम्रो ‘हिमालपारिको यात्रा’ पूरा भयो ।

समाप्त !

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register