मुठभेड उक्साउने ओली अभिव्यक्ति

काठमाडौं । ‘देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजे युवा संघले बाघले झम्टिए झै झम्टिन्छ । प्रतिगामी शक्ति टाउको जुधाउन आए सशक्त प्रतिवाद गरोस् ।’ चैत १५ मा राजावादी समूहले राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन गर्दै थियो । १३ गते राष्ट्रिय युवासंघको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले उर्दी जारी गरे । तीनकुनेमा […]

May 25, 2025 - 15:41
 0
मुठभेड उक्साउने ओली अभिव्यक्ति

काठमाडौं । ‘देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजे युवा संघले बाघले झम्टिए झै झम्टिन्छ । प्रतिगामी शक्ति टाउको जुधाउन आए सशक्त प्रतिवाद गरोस् ।’

चैत १५ मा राजावादी समूहले राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन गर्दै थियो । १३ गते राष्ट्रिय युवासंघको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले उर्दी जारी गरे ।

तीनकुनेमा चैत १५ मा भएको आन्दोलन निकै हिंसात्मक बन्न पुग्यो । गोली लागेर २० जना घाइते भए । दुई जनाको ज्यान गयो ।  जनधनको ठूलो क्षति भयो । बीमा प्राधिकरणमा करिब ५ करोड बराबरको बीमा दाबी परेको छ । यो आन्दोलनको नेतृत्व विवादास्पद् मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेका थिए । उक्त आन्दोलन हिंसात्मक बनेपछि एमाले अध्यक्ष ओलीको अभिव्यक्तिको हवला दिँदै राजसंस्था समर्थित दल र समूहले आन्दोलनमा घुसपैठ भएको बताउन थाले ।

उनीहरूले संसद्‌देखि सडकसम्मै आन्दोलनको घुसपैठमा एमालेलाई मुछेका थिए । तीनकुने प्रकरणमा आइतबार राप्रपाका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर राणा, व्यवसायी दुर्गा प्रसाईंलगायतविरुद्ध मुद्दा दायर भएको छ । तीमध्ये दुर्गा प्रसाईंसहित ८ जनालाई कर्तव्य ज्यान मुद्दा पनि जिल्ला अदालत काठमाडौंमा दर्ता भएको छ । तीनकुने घटनामा राज्यसंयन्त्रको चरम दमन र घुसपैठबारे न्यायिक छानबिन समितिका लागि राप्रपाले पटक-पटक माग गरे पनि छानबिन समिति बन्न सकेको छैन । तीनकुनेको राजावादी आन्दोलन हिंसात्मक बन्नुमा प्रधानमन्त्री ओलीको निर्देशन पनि उत्तिकै जिम्मेवार रहेको मत राजावादीहरूले राख्दै आएका छन् ।

चैत २६ गते बल्खुको सभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले तीनकुने घटनामा प्रधानमन्त्री ओली जिम्मेवार रहेको  जिकिर गरे । प्रहरी प्रमुख दीपक थापाको पृष्ठभूमि युवा संघको रहेकाले ओलीको उक्त अभिव्यक्ति पालनाका लागि दमन गरेको आरोपै लगाए । उनले भनेका थिए, ‘अहिले गृहमन्त्रीले आदेश दिए होलान् प्रहरी चले होलान् भनेको त एमालेको युवा संघको सहध्यक्ष पो रहेछन् । प्रहरी प्रहरी भएर बस्नुपर्छ कुनै राजनीतिक दलको भ्रातृ संगठन भएर बस्ने होइन ।’

वैशाख २८ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गरे । उक्त बैठकमा राजावादीहरूलाई ओलीले भने, ‘एक जना माननीयज्यूले बोल्नुभएको मैले सुनेँ । कि राजा ल्याउने सम्झौता गर, हैन भने ‘बंगलादेश बनाउँछु भनेकाे छ त्यत्रो गरेर बंगलादेशमा फर्केनन् त राजा । हामीलाई भाग रे । एउटा थोत्रो संस्थाको तर्फबाट मक्काएको, खिएको, सडेको संस्थाको तर्फबाट नेपाली जनतालाई लल्कार्ने ? नेपाली जनता भाग्दैनन् ।’

जेठ ६ गते राजावादीहरूको आन्दोलनको तयारी बैठक थियो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले ओलीलाई प्रत्युत्तर दिए । यसपटकको आन्दोलन निर्णायक हुने र राजसंस्था फर्काएर छाड्ने उल्लेख गरे । सम्झौता नगर्ने हो भने नेताहरू भाग्नुपर्ने र त्यसका लागि हेलिकोप्टर उपलब्ध गराउने उनको जवाफ थियो । ‘प्रधानमन्त्रीले उमेरका हिसाबले पनि भाग्न सकिँदैन भन्नुभयो । सम्झौता नगर्ने हो भने उहाँहरूलाई हेलिकोप्टरबाट जाने मौका दिनुपर्छ । हामी हेलिकोप्टरको सुविधा प्रयोगको छुट दिन्छौँ ।’

राप्रपा अध्यक्ष लिङ्देनको यो अभिव्यक्ति र व्यवस्थाविरोधी आन्दोलनलाई लक्षित गर्दै ओलीले यसपटक कार्यकर्ता पंक्तिलाई पनि उर्दी जारी गरेका छन् ।  ‘१५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ । त्यसका लागि तयार रहनू ।’

सरकार र जनता मौन रहेको अवस्थामा राजावादीहरूले अनावश्यक फुर्ती देखाएकाले त्यस दिन काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने उनको उर्दी छ । एमाले  मूल धामी र राजावादी चामल फुकेर मन्साउने चटके धामी भन्दै उननले भनेका छन्, ‘चामल फुकेर मन्साउनेहरू ढ्याङ्ग्रो र मुजुरासहितको धामी उत्रिएपछि तितरवितिर हुन्छन् । एमाले ढ्याङ्ग्रोसहितको धामी हो,  ढ्याङ्ग्रो ठोकेर धामी आएपछि चामल फुकेर मन्साउनेहरू तितरवितर हुन्छन् ।’

प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई राप्रपाले मुठभेड र हिंसा प्रेरित भनेको छ । ‘प्रदर्शनका आयोजकले पूर्णत: शान्तिपूर्ण बनाउने प्रतिवद्धता बारम्बार दोहोऱ्याइरहँदा प्रधानमन्त्रीको कुर्सीमा बसेर मुठभेड र हिंसा प्रेरित गर्ने अभिव्यक्ति दिइनु कुनै पनि कोणबाट क्षम्य छैन । यसरी फैलाइएको उत्तेजनाका कारण कुनै अप्रिय घटना भए त्यसको सम्पूर्ण जिम्मेवारी सरकारको र प्रधानमन्त्री ओलीको हुनेछ,’ राप्रपाका सहप्रवक्ता शरदराज पाठकले भने ।

सुरक्षा मामिला जानकारहरूले पनि प्रधानमन्त्रीको अभिव्यक्तिले हिंसा भड्काउन सक्ने चिन्ता प्रकट गरेका छन् । प्रधानमन्त्रीको अभिव्यक्ति हिंसा र मुठभेड उक्साउने किसिमको रहेको पूर्वडीआईजी हेमन्त मल्ल बताउँछन् । कार्यकर्तालाई काठमाडौं नियन्त्रणमा लिनू भन्ने निर्देशन भिडाउने मनस्थितिबाट आएको उनी बताउँछन् । प्रधानमन्त्रीको कुर्सीमा बसेर यस्तो बोली बोल्न नमिल्ने उनको मत छ ।

‘प्रधानमन्त्री सबैको अभिभावक हो । कहिँ सुनुवाइ नभएपछि माग राख्ने ठाउँ सडक नै हो । सडकमा कोही उत्रियो भने शान्ति सुव्यवस्था कामय गर्ने जिम्मेवारी गृह प्रशासनको हो । सुरक्षा चुनौती खडा भए गृह प्रशासनलाई निर्देशन दिनुपर्ने ठाउँमा कार्यकर्तालाई काठमाडौं नियन्त्रणमा लिनू भनेर उहाँले आन्दोलनकारीलाई उक्साउने काम गर्नुभयो । उहाँका यस्ता बोलीले भिडन्त निम्त्याउने जोखिम उच्च हुन्छ,’ मल्लले भने ।

मल्लको भनाइसँग अर्का सुरक्षा मामिलाका जानकार उत्तम कार्की पनि सहमत छन् । पूर्वडीआइजी उत्तम कार्की प्रधानमन्त्रीको अभिव्यक्ति अराजक र हिंसा प्रेरित रहेको  बताउँछन् । राज्य संन्यत्रमा बस्नेले शान्ति सुव्यवस्था कायममा ध्यान दिनुपर्नेमा भिडन्त निम्त्याउन खोज्नु गैरजिम्मेवारी रहेको उनको मत छ । एमाले कार्यकर्तालाई काठमाडौं नियन्त्रणमा लिने उर्दी दिएका प्रधानमन्त्रीलाई उनी सोध्छन्, ‘राप्रपा, रास्वपा, माओवादी वा अन्य कुनै दलले काठमाडौं नियन्त्रणमा लिने खोजे भने के हुन्छ ? पार्टी विशेषको नियन्त्रणमा मुलुकको भूगोल हुनसक्छ? यस्तो अराजकता उक्साउन मिल्छ?’

राज्यसंयन्त्रमा बसेकाले नागरिकलाई शान्ति सुव्यवस्थाको सुनिश्चतता गर्छु भन्नुपर्नेमा उल्टै मुठभेड निम्त्याउन खोज्नु अराजकता रहेको उनको भनाइ छ । ‘आन्दोलनकारीको चरित्र अलि अराजक नै हुन्छ । प्रधानमन्त्रीको कुर्सीमा बसेर अराजकतालाई प्रेरित गर्ने अभिव्यक्ति दिनु लोकतान्त्रिक शासनको मर्यादाभित्र पर्दैन । हिंसा भड्काउने मनस्थितिले यो अभिव्यक्ति आएको छ,’ उनले भने ।

एमालेले भने अध्यक्ष ओलीको अभिव्यक्ति र निर्देशनलाई मुठभेड प्रेरित भन्नु अपव्याख्या रहेको बताएको छ । एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम सात दशकको बलिदान र संघर्षबाट प्राप्त गणतन्त्र रक्षाको दायित्व एमाले कार्यकर्ताहरूको हातमा रहेको सन्देश अध्यक्ष ओलीले प्रवाह गर्न खोजेको बताए ।

गणतन्त्रको खुसीयाली मनाउने दिनमा एमाले जताततै देखिनुपर्ने आशय उक्त अभिव्यक्तिमा रहेको उनको भनाइ छ । ‘गणतन्त्रविरूद्ध हुने कुनै पनि गतिविधि एमालेका निम्ति सह्य हुँदैन । प्राप्त उपलब्धि रक्षाका निम्ति एमाले सतिसालझै उभिन्छ । जेठ १५ लाई उत्सवका रूपमा मनाउँदै बाक्लो उपस्थिति जनाउने सन्दर्भममा उहाँले यस्तो भन्नुभएको हो । उहाँको अभिव्यक्ति मुठभेड प्रेरित भन्नु अपव्याख्या हो,’ उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register