लस एञ्जलसको दंगाबाट नेपाली समुदाय पनि प्रभावित, सुरक्षागार्ड तैनाथीपछि जनआक्रोश चुलियो

अमेरिका । अमेरिकाको लस एञ्जलस सहरमा आइतबार चर्किएको विरोध प्रदर्शनले नेपाली समुदायसमेत प्रभावित भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिविरुद्ध तीन दिनदेखि चलिरहेको प्रदर्शन आइतबार हिंसात्मक रूप लिएपछि सहर तनावग्रस्त बनेको छ। करीब ४० लाख जनसंख्या रहेको लस एञ्जलसको केन्द्र भागमा हजारौं प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन । विरोधका क्रममा प्रमुख राजमार्ग ‘फ्रीवे’ अवरुद्ध पारिएको थियो […]

Jun 9, 2025 - 06:54
 0
लस एञ्जलसको दंगाबाट नेपाली समुदाय पनि प्रभावित, सुरक्षागार्ड तैनाथीपछि जनआक्रोश चुलियो

अमेरिका ।

अमेरिकाको लस एञ्जलस सहरमा आइतबार चर्किएको विरोध प्रदर्शनले नेपाली समुदायसमेत प्रभावित भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिविरुद्ध तीन दिनदेखि चलिरहेको प्रदर्शन आइतबार हिंसात्मक रूप लिएपछि सहर तनावग्रस्त बनेको छ।

करीब ४० लाख जनसंख्या रहेको लस एञ्जलसको केन्द्र भागमा हजारौं प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन । विरोधका क्रममा प्रमुख राजमार्ग ‘फ्रीवे’ अवरुद्ध पारिएको थियो भने स्वचालित गाडीहरूमा आगजनी समेत गरिएको थियो । भिड नियन्त्रण गर्न सुरक्षाकर्मीहरूले अश्रुग्यास, रबरको गोली र विस्फोटक पदार्थ प्रयोग गरेपछि धेरै प्रदर्शनकारी साँझतिर तितरबितर भएका थिए।

तर, केही प्रदर्शनकारीहरू अझै सडकमा अड्डिएका थिए । उनीहरूले प्रहरीमाथि ढुंगा, कङ्क्रिटका टुक्रा र आतसबाजी हान्न थालेपछि क्यालिफोर्निया हाइवे गस्तीका अधिकृतहरू ओभरपासको तल भागमा ओत लाग्न बाध्य भएका थिए।

राष्ट्रपति ट्रम्पले असाधारण रूपमा तैनाथ गराएका करिब ३०० राष्ट्रिय सुरक्षागार्डले जनमानसमा आक्रोश र भय थपेको देखिएको छ। संघीय भवन र विशेष रूपमा डिटेन्सन सेन्टरको सुरक्षाका लागि तैनाथ गरिएका ती सुरक्षागार्डहरू बिहानैदेखि राइफल र दङ्गा नियन्त्रण ढालसहित सडकमा देखिएका थिए। प्रदर्शनकारीहरूले भने (घर फर्क)भन्ने नारासहित विरोधमा उत्रिएका थिए। लस एञ्जलस प्रहरी प्रमुख जिम म्याकडोनेलले प्रहरी बल प्रदर्शनकारीको संख्याले थिचिएको स्वीकार गरेका छन्।

यस दंगाको असर नेपाली समुदायमा समेत परेको छ। विशेष गरी दंगा फैलिएको क्षेत्रका वरिपरिका कलेजमा अध्ययनरत नेपाली विद्यार्थीहरू प्रभावित भएका छन्। ती क्षेत्रमा अधिकांश मेक्सिकन मूलका मानिसको बसोबास रहेको भए पनि अहिलेको अवस्था असुरक्षित बनेको छ। जनधनको क्षति बढ्ने चिन्तासँगै स्थानीय नेपालीहरू आफ्नो सुरक्षालाई लिएर सतर्क देखिएका छन्।

सहरका सडकहरू सुनसान भएका छन् र दैनिक आवतजावतमा समेत व्यापक असर परेको छ। स्थानीय प्रशासनले स्थितिलाई नियन्त्रणमा लिन प्रयास गरिरहेको भए पनि अवस्था अझै सामान्य भएको छैन।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register